समयलाई झुन्ड्याउँछु भन्नेहरू
आज फेरि फेरिएका छन्
बजारका रङ्गीचङ्गी क्यालेन्डरहरूजस्तै
र, म,
समयले खुद्रा किनेको मान्छे
नयाँ क्यालेन्डर झुन्ड्याएर हाटबाट फर्किएको छु
समय क्यालेन्डरमा बस्छ भनेर ।

यतिखेर,
शुभचिन्तकहरू शुभकामना बाँडिरहेछन्
म, शुभकामना रित्तिएको मान्छे
कसरी किन्न सक्छु र बजारका शुभकामना
कार्डहरू !
यी कार्डका मान्छेहरू फिल्मी तस्बिरहरू न हुन्
यी कार्डका फूलहरू कागजका फूलहरू न हुन्
कसरी उन्न सक्छु र यी कागजमा मुटुहरू !
कसरी टसाउन सक्छु र यी बनावटी
हार्दिकताहरू ?
र, कसरी पठाउन सक्छु र यी मायालु आँखाहरू ?

चराहरूले गीत गाउन छाडेका छन्
वसन्तमा कोइलीहरू रमाउन छाडेका छन्
बाँसलाई बाँसुरी नफुक्नेहरू
गाउँघरमा अँध्यारोसँगै धाउन थालेका छन्
यस त्रासदीय क्यालेन्डरको बगैँचामा
म कुन धुन गुनगुनाउन सक्छु र !
म कुन गीत गाउन सक्छु र !
भो, छाड यी फेसन च्यानलझैँ प्रायोजित
बहानाहरू !
भो, छाड यी औपचारिकतामा बिक्ने सस्ता शुभकामनाहरू !

नानीहरू नाना नपाएर रुन्छन्
नानीहरू चाचा नपाएर रुन्छन्
नानीहरू बुबुमाम-पापा नपाएर रुन्छन्
यो बूढाबुढीहरू डाँको छाडेर रोएको समय
क्यालेन्डरभरि छरिएका छन् शोकका धुनहरू
र, क्यालेन्डरभरि छापिएका कविताहरूजस्तै
मूक बूढाबूढीहरू हेरिरहेछन्
समयसँगै आँसुका लासहरू
म भने यतिखेर-
कवितामा देश पढिरहेछु ।

नेपाल साप्ताहिक
अंक १४०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *