Skip to content


अफशोच म पुतली हुन्थे
फुरफुर फुरफुर यता उता उडथेँ
जँहा मन लाग्यो, जता चाह्यो
निर्धक्क त्यहीँ पुग्थे
अफशोच म पुतली हुन्थे
कमसेकम यो भागदौडको दुनियाबाट कतै
स्वतन्त्रताको अनुभूति गर्न त पाउथे
अफशोच म पुतली हुन्थे

रातो, निलो, हरियो, कालो
रंगीबिरंगी हुलिया हुन्थ्यो
सबैको आकर्षण म बन्थे
मान्छेले समात्थे, मेरो सातोपुत्लो उड्थ्यो
मायाले सुम्सुम्याएर हत्केलामा राखी
फु गर्दै फेरि उडाइदिन्थे
अफशोच म पुतली हुन्थे
कमसेकम मान्छेले मान्छे मारिरहेको परिस्थितिमा
प्रकृतिको सर्वश्रेष्ठ प्राणीको हृदय जिती
नया जीवन प्राप्त गरेझै, निस्फिक्री
उस्कै वरिपरी मनलागी ढंगले फर्फराउन त पाउथे
अफशोच म पुतली हुन्थे

जुन फूल चाह्यो त्यहि बस्थे
कुनै एउटा खास हुन्थेन
त्यहीँ नै मेरो सबथोक हुन्थेन
त्यो फूलमा अर्को पुतली बस्दैमा
चसक्क मन दुख्थेन
त्यो ओइलाएर झर्दैमा म अधमरो हुने थिइन
अफशोच म पुतली हुन्थे
कमसेकम मेरो प्रेम येत्रतत्र छरपस्ट हुन्थ्यो
एउटैमा आकर्षित भैरहने
एकोहोरो प्रेमी त हुने थिइन
अफशोच म पुतली हुन्थे

सबै राम्रा
उत्तिकै आकर्षक सबै हुन्थे
ऊ राम्रो म राम्रो, राम्रो देखिन कै लागि
मरिहत्ते गर्नु पर्थेन
सबै उस्तै, सबै समान हुन्थे
अफशोच म पुतली हुन्थे
कमसेकम म कत्तिको राम्रो छु भनि जान्न
मैले सुन्दर प्रतियोगितामा भाग त लिनु पर्थेन
अफशोच म पुतली हुन्थे

उसले कति फूल चुस्यो
कस्ता कस्ता फूलमा बस्यो
अह कसैले कसैको चियो गर्थेंन
डाहा, इर्श्या, जलन हुन्थेन
कालो पुतली उत्तिकै राम्रो
सेतो, रातो, पहेलो त्येस्तै
रंगको विभेद के हो के हो
सबै समान, असमान कोहि हुन्थेन
उचनिचको कुरा हुदै हुन्थेन
अफशोच म पुतली हुन्थे
कमसेकम जातपात र रंग विभेदको कारण
कसैले मलाई अपहेलित त गर्ने थिएन
छि छि र दुर दुर त गर्ने थिएन
अफशोच म पुतली हुन्थे
अफशोच म पुतली हुन्थे

Leave a Reply

Your email address will not be published. Required fields are marked *