Skip to content

‘राजमति’ लोकगीतको भाषिक गुम्फन र विचलन पक्ष राजमति गीतको नेपाली शब्दानुवाद

  • by


राजमति कुमति जिके वःसा पिरति : राजमति कुमति मसित आए पिरति
हाय बाबा राजमतिचा : हाय् बाबा राजमति (चा)
राजमति मबिल धाःसा काशी वने त्यल : बुबा राजमति नदिएदेखि काशी जान लागेँ बुबा
हयाब्यु राजमतिचा ।।धु।। : ल्याइदेऊ राजमतिलाई ।।धु।।

सँ धाःसा कुलिकुलि मिखा धाःसा बालाबाला : कपाल भने घुम्रिएको, आँखा चाहिँ ठुला कोसे
सक्वमिया म्हयामचाला/ मचा ला साँखुलेकी : छोरीचेलीको त/ साँखुलेकी छोरीचेली हो कि
ख्वाः धाःसा तयू ख्वाः ख्वालय् निगः ती दु : रूप छ गोरो मुहार, मुहारमा दुई कोठी
ताहाननिया राजमतिचा ।।१।। : ताहाननीकी राजमति ।।१।।

खेँ ख्वलां ध्याक्वय् दँ, पसः बजि धू दँ छ : फुल-बोक्रा कुनामा थुप्य्रा, पसलको चिउरा धुलो उड्या
राजमति भुलुसुलु दँ : राजमति निन्याउरी झ्याउरी छ
राजमित गन दु यतुँबालय् छहृम दु : राजमति कहाँ छ यतुँवहालमा एउटी छ
हयाब्यु राजमतिचा ।।२।। : ल्याइदेऊ राजमतिलाई ।।२।।

न्हापा वःहृम तःहि्र थकुँ, लिपा वः हृम चिहि्र थकुँ : पहिला आउने ठूली ठकुर्नी, पछि आउने सानी ठकुर्नी
वयाँ लिपा राजमतिचा : त्यसपछि राजमति (चा)
तःहि्र थकुँ मयो जितः चिहि्र थकुँ मिले मजू : ठूली ठकुर्नी मनपर्दैन, सानी ठकुर्नी मेल खाँदैन
राजमति ब्याहा याना ब्यू ।।३।। राजमति बिहे गरिदेऊ ।।३।।

तःहि्र थकुँया तायो दु, चिहि्र थकुँया पायो दु : ठूली ठकुर्नीको तायो छ, सानी ठकुर्नीको पायो छ
राजमतिया विजःकलि दु : राजमतिको विजःकलि छ
विजकलि मदुहृम कला जित मयो बुबा विजकःलि : नभएकी स्वास्नी मलाई मन पर्दैन बुबा
हयाब्यू राजमितचा ।।४।। ल्याइदेऊ राजमति (चा) ।।४।।

थःनेया थँहिति, कोनेया कोहिति : माथिल्टोलको ठहिटी, तल्लो टोलको कोहिटी
बिचय्लाक मरुहिति : बिचमा पर्ने मरुहिटी
मरुहिति लः काःहृम तगो ल्वहँतय् लुफिँहानाः मरुहिटीमा पानी भरेकी ठूलो ढुङ्गोमा ठेस लागी
राजमति थसः पाल हृनाँ ।।५।। राजमति उत्तानो परी है ।।५।।

तिसानँ तियेकाः गुजराति पुयेकाः गहना लगाएर गुजराति बजाएर
राजमति ब्याहा यानाब्यु : राजमति बिहे गरिदेऊ
राजमित बिल धाःसा काशी वने मखु बुबा : राजमति दिए भने काशी जान्न बुबा
हयाब्यु राजमतिचा ।।६।। ल्याइदेऊ राजमतिलाई ।।६।।

चन्नालहृम लमिं याना हृमाँ हृमाँ धाय्क विया छ्वत : चण्डाल लमीले गर्दा नाइँ भन्दा पनि दिएर पठाए
लात मखुला सँझ्या मदुगु छेँय् : परी हैन सँझ्याल नभएको घरमा !
धिकार जनम राजमतिया करम : धिक्कार जन्म राजमतिको कर्म
बैसय् भाःत मदुहृम ।।७।। बैँसमा लोग्ने नभएकी ।।७।।

विषय प्रवेश

‘राजमति’ नेपालभाषाको एक लोकप्रिय प्रेम गीत हो, जुन गीतको मौलिक विशिष्ट धुनले राष्ट्रिय महत्त्व बहन गरेको छ । त्यसैले यो काठमाडौँ उपत्यकाली नेवार इतर जनजीवनमा समेत प्रचलित र प्रसिद्ध छ । यस गीतको भाषा आजभोलिको नेपालभाषाजस्तै आधुनिक देखिन्छ । यो सवासय-दुईसय वर्ष जति पुरानो मानिन्छ । तथापि यसको प्राचीनताको ठीक आकलन हुन सकेको छैन । गीतको प्रसङ्गले भने यो अझ पुरानो हुनुपर्ने देखिन्छ । गीतका शब्दहरूले के देखाउँछन् भने यो गीत अति लोकप्रिय भएकोले यसको विशिष्ट लय र धुनमा फरक नपर्ने गरी यसका शब्द-गेडामा समयानुकूल परिवर्तन वा अपभ्रंश हुँदै गएको देखिन्छ । यस कुराको पुष्ट्याइँ निम्न दुई कुराले दिन्छ- १. राणाकालको आरम्भसम्म नेपाल राज्यको राष्ट्रिय गीत र धुन थिएन । जङ्गबहादुरको बेलायत यात्राकालमा युरोपमा उनको स्वागतका लागि राष्ट्रिय धुन बजाउनु पर्दा मात्र नेपाल सरकारलाई आफ्नो राज्यको राष्ट्रिय गीत र धुन नभएको महसुस भयो तर तत्कालका लागि भने चतुर जङ्गबहादुरले कर्णप्रिय मधुर धुनको रूपमा कहलिएको राजमति गीतको धुन नै नेपालको राष्ट्रिय धुनका रूपमा बजाई आफ्नो देशको इज्जत राखेका थिए र उनको युरोप यात्राभर यो नै नेपालको राष्ट्रिय धुनका रूपमा बज्यो भन्ने भनाइ सर्वमान्यप्रायः भए तापनि यसको लिखित प्रमाण भने छैन । यस सर्वमान्य धारणाले यसको लोकप्रियता गैरनेवार जाति वा भाषामा पनि रहेको बुझिन्छ २. यस गीतमा प्रयुक्त बुबा र अन्य केही शब्दहरू समय व्यतिक्रमका विचलित रूप हुन् भन्ने कुरा यस गीतको सिङ्गो प्रसङ्गाले बताउँछ जुन तल प्रसङ्गात चर्चा छ ।

गीतको संरचनात्मक महत्त्व

यस गीतको शब्द संरचना निकै कसिलो छ, हरेक शब्द-अर्थ गम्भीर छन् । यसका कुनै शब्दले साहित्यक ओजको काम गरेका छन् भने कुनै शब्दले सांस्कृतिक-ऐतिहासिक ओज झल्काएका छन् । यसका शब्द गाम्भीर्यको विश्लेषण गर्ने क्रममा यहाँ आफै स्पष्ट रहेका साहित्यक ओजका शब्द तथा संस्कृति र इतिहास सङ्केतक शब्दको चर्चा नगरी अर्थबाधा भएका र विचलित अर्थ बुझिने शब्दको मात्र विश्लेषण गर्ने यहाँ प्रयास गरिएको छ ।

यो गीत एक जना प्रेमीले आफ्नी मन परेकी केटी विवाह गरिदेऊ भनेर याचना गरिरहेको आत्मकथनात्मक संरचनामा छ । प्रेमीले प्रेमिकालाई प्रेम याचना गर्नु साधारण कुरा हो तर यहाँ बाबु अर्थात् पितासित प्रेम याचना गरिरहेको अनौठो संरचना देखिन्छ । के यसले तत्कालीन संस्कृतिको झलक दिएको हो ? तर वास्तवमा यो बुबा शब्द गीतमा समयक्रममा विचलित भएर प्रयुक्त भएको शब्द हो भन्ने यस लेखकको ठनाइ हो जुन तल सविस्तार चर्चा गरिएको छ । यदि यस्तो नमान्न्े हो भने सामान्य संरचनामा यहाँ बाबुलाई नै लाउके बनाएर विवाह गर्ने प्रयत्न भएको देखिन्छ । वर्तमान शब्द संरचनामा देखिने कुरा निम्न हुन्

गीतमा ८ श्लोक छन् । पहिलो श्लोकमा नायकले आफ्ना बुबालाई राजमति विवाह गरिदिइएन भने आफू काशी जान लागेको धम्की छ । दोस्रोमा राजमतिको सौन्दर्य वर्णन र थलोको परिचय छ । तेस्रोमा नायिकाको शारीरिक दशाको बयान छ तर यो उसको शारीरिक अवस्थाको मात्र नभएर मानसिक स्थितिको उजागर पनि हो । यस श्लोकको सम्बन्ध अन्तिम श्लोकसित छ । चौथो श्लोकमा बाबुलाई अङगुलिनिर्देश गरी नायिका चिनाइरहेको छ । पाँचौँ श्लोकमा नायिका र उसका दिदीबहिनीका गहनाको वर्णन छ । यसको सम्बन्ध सातौँ श्लोकको सम्पन्नता द्यौतनसित छ । छैटौँ श्लोकमा काठमाडौँ सहरको प्रमुख धाराको चर्चाका साथै नायिका पानी लिन जाँदाको अवस्थाको वर्णन छ । सातौँ श्लोकमा नायिकासित सम्पन्न तवरले विवाह गरिदिनका लागि अनुरोध छ । अन्तिम श्लोकमा नायिकाको विवाह अरू नै कुनै असम्पन्न व्यक्तिसित भएको, छिट्टै पति वियोग भएको र नायिकाको कर्म खोटो भएको दुःखान्त सङ्केत छ ।

यसरी यो एउटा दुःखान्त संरचनाको गीत भए पनि दुःखान्त एकाएक सृजना भएकोले दुःखान्त कसिलो छैनझैँ देखिन्छ । यसो हुनाको कारण यो लामो काव्य नभएकोले पनि हो तर सानो आकारको गीत भए तापनि दुःखान्तको सङ्केत आरम्भदेखि नै छ र यसका शब्द संरचना नितान्त कसिला छन् र दुखान्तको चरणबद्ध विकास भएको छ । पहिलोदेखि सातौँसम्मको कथानक विकास धिमा गतिमा भएको देखिन्छ भने अन्तिम श्लोकमा कथानक हृवात्तै परिवर्तन भएको देखिन्छ र यो अन्तिम श्लोक भएकोले बिचमा के भएको थियो भन्ने अनुमान गर्नुपर्ने हुन्छ । वास्तवमा यसको आरम्भिक र चरणबद्ध दुःखान्त सङ्केत यसका शब्द विचलनले ओझेलमा पारेको हो ।

राजमति गीतको साहित्यिक-शाब्दिक विवेचना

राजमति किन कुमति

पहिलो पङ्क्तिमा नै राजमति कुमति भन्ने शब्द परेको छ । दोस्रो पङ्क्तिमा मसित आए पिरती पनि भनिएको छ । सुरुमै आएको यो कुमति शब्द अनुप्रासिकताका लागि मात्र आएको जस्तो देखिन्छ । यदि अनुप्रासका लागि मात्र होइन भने यो कुमति किन भन्ने प्रश्न प्रायःले उठाउने अर्थात् राजमतिबारे गम्भीरतापूर्वक सोच्ने जोकोहीले सर्वप्रथम सोध्ने गरेको पाइन्छ । वास्तवमा कुमति यो गीतको सार कथन हो जुन कुरा गीतको कृतिपरक विवेचनाबाट बुझिन्छ । राजमतिलाई मन पराउने पुरुष यस गीतको नायक हो र नायिका राजमति स्वयम् । नायक म पात्रले राजमतिलाई हृदयदेखि मन पराएको भए पनि उसप्रति सहृदयी कोही पनि भएको देखिँदैन, राजमतिको शारीरिक अवस्था हेर्दा उसको नायकप्रति रुचि भएझैँ अनुमान लगाउन सकिन्छ । जे होस्, ‘राजमति कुमति मसित आए पिरती’ को शब्दगत व्याकरणिक संरचनाले प्रत्यक्षतः कुमति राजमतिको विशेषणपद हो अर्थात् राजमति नै कुमति भएकी हो भन्ने अभिधेयार्थ बुझाउँछ, किनभने नायकले अतिव मनपराएको कारण उससित गए (मसित आए) पिरती हुने थियो, तर त्यस्तो आशक्त नायकलाई बेवास्ता गरेकी हुनाले नायिका मति बिग्रेकी कुमति हो तर यो सरल अभिधेयार्थमा दोस्रो श्लोकको ‘राजमति निन्याउरी-झ्याउरी छ’ भन्ने पङ्क्तिले बाधा पर्छ र व्यङ्गयार्थ खोज्नुपर्ने हुन्छ । अभिधेयार्थले मात्र उत्कृष्ट साहित्य बन्दैन भन्ने कुरा पनि यहाँ मननीय हुन्छ । यस पङ्क्तिले के देखाउँछ भने नायिकाको घरमा विवाहका लागि लमीहरूको धुइरो लागेको छ । त्यसैले ऊ निन्याउरी-झ्याउरी भएकी छ किनभने उसलाई प्रस्तावित बग्रेल्ती केटाहरूप्रति रुचि छैन र नायिकाको विवाह उसले नाइँ भन्दाभन्दै भएको छ (अन्तिम श्लोक)! त्यसैले साहित्यिक अर्थ हो नायिकाको रुचि पनि गीतको नायक नै हो, तर नायककहाँबाट विवाहको प्रस्ताव गएको छैन, प्रस्ताव गएको भए नायकले पछिल्ला श्लोकहरूमा नायिकाको हुलिया दिँदै अनेकविधि गुनासो गरिरहनु पर्ने थिएन । यसरी नायिका कुमति होइन, विचरी ऊ त मध्ययुगीन नेपाली समाजको विवश, निरीह, आफ्नो सम्पूर्ण भाग्य अभिभावकको पोल्टामा रहेका समस्त तथाकथित कुलीन नारी वर्गकी प्रतिनिधि निहत्था पात्र हो । अतः उसको विवाह लमीको झुक्यानमा परी कसैसित भयो (अन्तिम श्लोक) र गीतमा वणिर्त सम्पूर्ण दुःखद घटना भयो ।

यसरी कुमति (मति बिग्रेकी) राजमति भन्ने अर्थ बाधा भएपछि व्यङ्गयार्थ के हुन्छ त भने हरे बाबा विचरी राजमति मसित आएदेखि फलिफापमय पिरती हुने छ! हे कुमतिहरू हो ! राजमति मसित आए (परे दुवैबीच) पिरती हुन्छ, तर त्यसो नभएकोले (हाय) हरे बाबा, राजमति (श्लोकपङ्क्ति १ र २)े । यसरी कुमति शब्दले पिरतीको बेकदर गर्ने कट्टरपन्थी सामन्ती समाजलाई सम्बोधन गरिएको व्यङ्गयार्थ कुट शब्द बनेको छ । गीतको सार कथ्यको काम गरी यो वियोगान्त, दुखद गीत हो भन्ने कुराको सङ्केत गीतको सुरुमा नै गरिएको छ जुन साहित्यिक ओज र दुःखान्त चेतनाका लागि आवश्यक कुरा हो । त्यसैले कुमति शब्द आरम्भमा नै काव्यको मूल भावको कुट सङ्केत मान्न सकिन्छ ।

ख. बाबा र बुबा शब्द

यहीँनिर गीतमा प्रयुक्त बुबा शब्दका बारेमा पनि मनन गर्नु पर्ने हुन्छ । बुबा शब्द नेपालभाषामा प्रवेश गरेको आधुनिक कालमा हो । अन्यथा नेपालभाषामा बुबा अर्थी प्राचीन शब्द अबु, अबुजु, अब्जु, अबा, अब्बा, बा हुन् । बुबा शब्द नेपाल दरबारमा खस भाषाको वर्चस्व भएपछि त्यहाँ सम्पर्कमा रहेका नेवार दरबारिया भारदारियाहरू हुँदै नेवार भाषामा प्रयुक्त भएको हो । यो शब्द नै यस गीतको खास शब्द मान्ने हो भने यो गीत आधुनिक कालमा बनेको हो तर यसमा प्रयुक्त ‘थकुँ’ शब्दले यो गीत साह्रै नयाँ कालको झैँ प्रतीत हुँदैन । गीतको करुणाभावमय कथानकले के देखाउँछ भने वास्तवमा ‘बाबा’ शब्द विचलन गरी कुनै कालका लोकगायकहरूले बाबाको ठाउँमा बुबा गाइदिएको देखिन्छ र गीतको कथानकले नै विकृत रूप लिन पुगेको देखिन्छ । त्यसरी नै गीतका अरू शब्दमा पनि परिवर्तन भएको छ । बाबा (बाःबाः) शब्दले वक्ताले आफ्नो भावना अरू समक्ष हृदयान्तरण गर्न नसकेको दयनीय मनोदशाको विवशता र असहायपनको अभिव्यक्ति दिन्छ । यस अर्थमा यस गीतका बुबा शब्द जतिलाई बाबा शब्दमा परिणत गर्न सकिन्छ र त्यसो गर्दा गीत बढी अर्थपूर्ण र भावविभोरमय पनि हुन्छ । यदि बुबा शब्द नै आधिकारिक मान्ने हो भने गीतमा अर्को समस्या पनि आउँछ, यहाँ नायकले आफ्नो विवाह राजमतिसित गरिदिन आफ्नो पितासित जोरजुलुम गरिरहेको छ । के तत्कालीन नेवार समाजका युवक पितासित यस्तै धम्कीपूर्ण व्यवहार गर्थे ? के गीतले यही कुरा झल्काएको हो ? त्यो हैसियत तत्कालीन छोरासित थियो ? यस अर्थमा यो गीत मतिहीन छोराले बाबुसित झिँजोलिरहेको सङ्कुचित भावको ठहर्छ । परन्तु बुबाको ठाउँमा बाबा राखेमा यस गीतले गुढ-गम्भीर भाव ग्रहण गर्दछ । त्यो हो प्रेमको महानतालाई आत्मसात गर हे कुमति समाज वा समुदाय हो !’ भन्ने हो । यस्तो अर्थ दिन गीतको तेस्रो पङ्क्तिको बुबा शब्द हटाई यसो भन्नु पर्ने हुन्छ ‘राजमति दिइएन भने काशी जान लागेँ बाबा (बाःबाः)’ । यहाँ बाबा शब्दले कायलनामा द्योतक थप अर्थ पनि बहन गर्छ । बाबा शब्दको एउटा अर्थ बुबा पनि हो र अर्को अर्थ हैरानी वा थकानबोधक अभिव्यक्ति पनि हो भन्ने कुराको हेक्का राख्नुपर्छ । अर्थको पर्यायपनले गर्दा कुनै लोकगायकले साहित्यिक अर्थ गम्भीरताको बेवास्ता गरी बाबा शब्दलाई हल्कासित बुबामा परिणत गरिदिएको देखिन्छ ।

ग. द्वँ र दँ शब्दको विचलनको प्रभाव

यस लोकगीतमा आधुनिककालमा आएर अरू केही शब्दको पनि विचलन भएको छ भन्ने कुरा गीतमा आएका तीन ओटा ‘दँ’ शब्दले पनि देखाउँछ । पहिलो दँ भनेको पक्का पनि ‘द्वँ’ हो, ‘दँ’ होइन । दोस्रो चाहिँ दँ र द्वँ दुवै हुनसक्छ भने तेस्रो चाहिँ दँ नै हो । यसरी तेस्रो दँको सामीप्य दोषका कारण द्वँ पनि दँमा परिणत हुन गएको कुरा भाषिक अर्थगत दृष्टिले प्रमाणित हुन्छ । द्वँ भनेको थुप्रो, रास वा खात हो, (कुनामा फुलको बोक्राको रास छ) । दँ भनेको चाहिँ उडेको भन्ने अर्थ हो । त्यसैले गीतको दोस्रो ‘दँ’ को अर्थ पसलको धुलो भएको च्यूराको धुलो उडेको छ भन्ने अर्थ लगाउन सकिन्छ अथवा ‘द्वँ’ सम्झेर पसलको चिउराको धुलोको रास छ भन्ने अर्थ पनि लगाउन सकिन्छ । तेस्रो दँ चाहिँ दँ नै हो जसको अर्थ उडेको भन्ने नै हो अर्थात् राजमति फुङ्ग उडेकी छ (अर्थात् निन्याउरी धुस्रीफुस्री छ) । यो द्वँ र दँ शब्द यहाँ अर्थ गम्भीर भएर आएको छ, जसले कथानकको दुःखान्त विकासको क्रमिक गतिलाई वर्णनै नगरी आलङ्कारिक सांस्कृतिक पदावलीबाट अव्यक्त तर भावगम्भीर वर्णन गरिएको छ । कुनामा फुलका बोक्रा थुप्रेको छ (खेँ ख्वलां ध्याक्वय् दँ/द्वँ), पसलको चिउराको धुलो उडेको छ वा धुलो थुप्रेको छ (पसः बजि धू दँ) भन्नाको सङ्केत नायिकाको घरमा थरीथरी लमीहरूको ओइरो लागेको छ भन्ने हो । नेपालभाषामा लमीलाई आलङ्कारिक रीतले हेँ खेँ ध्वँमा (हाँस फुल बज्यै) भन्ने गरिन्छ । आजको जस्तो बजारिया खाना सजिलै उपलब्ध नहुने विगतको नेवारी संस्कृतिमा पाहुनालाई फूल र रक्सीले स्वागत गरिने चलन थियो । विवाहको कुरा लिएर आउने लमीहरूलाई हाँसको फुल, चिउरा राखेर पाहुना सत्कार गरिन्थ्यो । हाँसको फुल महँगो हुने हुँदा यो बढी सम्मानसूचक भएको होइन, कतिपय नेवारले कुखुराको मासु र फुल खाँदैन थिए । जस्तै ब्राहृमण र वज्राचार्य, बौद्धमार्गी प्रधान इत्यादि । पहिला पुरोहित्याइँ गर्ने वर्गकै महिलाहरू आफ्ना जजमानहरूको घरघर चहारेर लमीको काम गर्ने हुँदा उनीहरूलाई हेँ खेँ ध्वँमा भनिएको हो । लमी अरू पनि हुन सक्छन् र कुखुराको फुल राखेर पनि पाहुना सत्कार गर्न सकिने भयो तर लमीलाई व्यङ्गयार्थ हाँस फुल बज्यै भन्ने नै कायम रह्यो । यही व्यङ्गयार्थ शब्दकै उल्लेख नगरी वर्णनद्वारा यस गीतमा सङ्केत गरिएको छ र यस सङ्केतद्वारा नायिकाको बिग्रँदो मनोदशालाई पनि दँ शब्दबाट नै सङ्केत गरिएको छ । राजमति ‘भुलुसुलु दँ’ (फुङ्ग उडेकी छ) भन्ने तुकबन्दीमय पदावलीले उनी-नायिकालाई मन नपर्ने वरका कुरा लिएर मात्र लमीहरूको ओइरो लागेको छ या त नायिकालाई विवाहको मन छैन या मनपर्ने मनचाही नायककहाँबाट मगनी भएन भन्ने अर्थ सविस्तारमा बुझिन्छ । अन्तिम अर्थ गीतको कथानक विकासको छाँटले दिने अर्थ हो र यो अर्थले कथानकको दुःखान्त विकासको चरण पनि धान्छ तर लोकगायकहरूले गीतको तीव्र लयगत विशेषताका कारण यस्ता अनेक अर्थ गाम्भीर्यलाई नबुझी वा बेवास्ता गर्दै शब्दगत विचलित उच्चारणमा गीत गाउँदै आए ।

घ. विचलित शब्द बिजकलि

बिजकलि भनेको कल्ली गहनाको एक प्रकार हो भन्ने कुरा त स्पष्ट हुन्छ तर कस्तो प्रकार भन्नेमा वर्तमानमा अस्पष्ट भएको छ किनभने कल्ली लगाउने चलन हराइसकेको छ । बिजकलि वास्तवमा बीजोकलि बी (नाग) : जो (जोडी) : कलि (कल्ली) अर्थात् जोडी नाग बुट्टा भएको कल्लीको अपभ्रंश रूप हो ।

नेपालभाषाको यस प्रचलित गीतमा देखिएका भाषिक विचलनलाई वास्तवमा आधिकारिक संस्थाहरूले मनन गरी यसको सम्भावित प्राचीन रूपको आकलन गरी सुरक्षित राखिनु आवश्यक छ । यस गीतका शब्दहरूले नेपालको खास गरी काठमाडौँको पुरानो इतिहास पनि निकै उजागर गर्दछ जुन खुट्याउन यसका शब्दहरूको सांस्कृतिकऐतिहासिक विश्लेषण गर्नुपर्ने हुन्छ ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *