एउटा सिगरेट सल्किरहेछ । म चुपचाप छु । मेरो औंलाको कापबाट निस्केको एक मुस्लो धुँवाले कोठा धुँवामय भयो । धुँवा नसकिँदै अगरबत्ती सल्काउँछु । धुपको मधुर बास्ना र सिगरेटको धुँवा ठक्कर खान्छन् । भित्तामा एउटा माकुरा देख्छु/हेरिरहन्छु/ध्यानस्त मुद्रामा त्यो एकै स्थानमा घन्टौं बस्न सक्छ । यदि संसारमा पापी पेट नभइदिँदो हो त त्यो माकुराले एउटै स्थानमा बसेर सारा उमेर बिताइदिँदो हो…। मेरो अघि लडिरहेका छन् शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’, पारिजातको ‘शिरीषको फूल’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल ?,’ टाल्स्टयको ‘अन्ना करेनिना’…।
अकस्मात् हालै मदन पुरस्कार प्राप्त झमक घिमिरेको किताब ‘जीवन काँडा कि फूल ?’ समात्छु । आवरणमै लेखिकाको निर्दोष हाँसो प्रिन्ट भएको छ । शक्तिशाली कलम बोकेका स्वास्नीमानिस कवि या लेखकको कमी भएको यस देशमा त्यो पुस्तकले मदन पुरस्कार पाउनु नारी लेखन क्षेत्रमा निश्चय नै खुसीको कुरा हो । पुस्तकको पाना पल्टाउनतिर मन जाँदैन । बरू म मनको तरङ्गमा हराउन थाल्छु । सबै अक्षरहरू कतै गायब भए र त्यहाँ एउटा स्पष्ट अनुहार देखियो झमक घिमिरेको । काठमान्डुमा आपतकालीन जीवन बिताउने म केही समयअघि झमक बस्ने राजधानीको डेरा खोज्दै उनीसामु पुगेको थिएँ, सामान्य अन्तर्वार्ताका लागि । हो, त्यही बिहानी समय र झमकको सम्झना सल्बलाइरहेका छन् मेरो मगजमा ।
—
झमकको सानो अनुहारमा कालो फ्रेमसहितको चस्माभित्र चिम्सा आँखा चम्किला देखिएका छन् । उनको निर्दोष आँखाले आदर्श दुनियाँको सपना देखिरहेजस्तो लाग्छ । मुखबाट कुनै स्पष्ट आवाज निकाल्न नसक्ने, खुट्टाको सहायताले घिस्रेर हिँड्ने एउटी लेखिका आफ्ना सबै काम आफैँ गर्दैछिन् । दुई खुट्टा नै उनका लागि सबैभन्दा महत्त्वूर्ण अङ्ग हो सायद । साहित्य पनि खुट्टाले नै लेख्ने उनले दुई खुट्टाको सहायताले खाना खाइन् । घिसिँ्रदै बाथरुमको ढोकामा पुगेकी उनी त्यसैको आड लागेर खुट्टाले नै दाँत माझ्न थालिन् । खुट्टाले जग समातिन्, मुख कुल्ला गरिन् ।
‘शुभ प्रभात झमकजी ।’
‘शुभ प्रभात,’ झमकले खुट्टाको औंलाले च्याप्प कलम समातिन्, कापीमाथि कुर्कुच्चो राखिन् र लेखिन् ।
‘सन्चै हुनुहुन्छ ?’ लामो समय उनलाई नियालेपछि मेरो पहिलो प्रश्न फुत्कियो । उनका खुट्टा बिस्तारै कापीमा सल्बलाउन थाले । र, ती खुट्टाले सुन्दर अक्षरमा लेखे-‘सन्चै छु । जसोतसो बाँचिएकै छ ।’
कापीमा सल्बलाइरहेका छन् झमकका खुट्टा तर लाग्छ, उनको मनले अर्कै यात्रा गरिरहेको छ । झर्कोलाग्दो शारीरिक अवस्था, जीवनले थोपरिदिएको कष्ट ‘प्लस’ बाध्यतालाई आफ्नो कडा इच्छाशक्तिले दमन गर्छिन् उनी । तीन दशकदेखि यस धर्तीमा बाँचिरहे पनि उनलाई यो जिन्दगी मन पर्दैन । कतिपय मानिस यस्तो अवस्थाबाट तर्सेर जिन्दगीबाटै सन्न्यास लिन्छन् । तर झमक भने त्यसरी भाग्दिनन्, बरू कडा सङ्घर्ष गर्छिन् । भन्छिन्-यो विवश जिन्दगी बाँच्नुको लत लागिसक्यो ।
उनका जीवनका सबै भोगाइ हेलेन केलर र एनी सलिभानसँग मिल्छन्, जसबारे विश्वमा सैयौं कृति लेखिएका छन् । उनको जीवन कथाले केही वर्षअघिको चर्चित भारतीय फिल्म ब्ल्याक सम्झाउँछ । ‘जीवन काँडा कि फूल’ को एक ठाउँमा झमकले आफूलाई अरूले दिएको उपमा भीरफूल, सुनगाभा आदि उल्लेख गरेकी छिन् । झमक जीवनपथमा धेरैपटक आफू चढ्दै, लड्दै, साह्रै निरास हुँदै, फेरि होश सम्हाल्दै यो उज्यालोमा आइपुगेकी हुन् । उनको जीवनयात्रा पढ्दा एउटा कठिन सङ्घर्षपथ लाग्छ ।
सानैमा झमकले थाहा पाइन्-आफ्ना धेरै अङ्ग चल्दैनन्, हात चल्दैन, ओठ चल्दैन । अङ्ग सबै छन् तर तिनले काम गर्दैनन् । यो थाहा पाउँदाका उनका दिन साह्रै कहालीलाग्दा थिए । परिवार-समाजले ती सानी नानीप्रति अभिव्यक्त गरेका धारणा र विचार, देखाएका व्यवहारले झमकलाई झन् दुःखी बनायो । घृणा, निराशा, जलन र अव्यक्त छटपटीले निकै रोएकी थिएँ’, उनी भन्छिन् । झमकको गाउँमा अन्धविश्वास, अभाव, गरिबी अग्लो पहाड बनेर आकाश छोउँलाझैं ठडिएको थियो । त्यो पहाडलाई छेडेर बाहिर निस्किन नसक्दाको स्थिति, त्यो अन्योल, छटपटी र अन्धकार सम्झँदा झमकलाई अहिले पनि साह्रै कहाली लाग्छ रे ।
उतिबेला झमकका बुबा घरको फलैंचामा रामायण पढ्थे । झमक पिँढीमा घिसि्रँदै बल्ल-बल्ल फलैंचा उक्लिन्थिन् र बाबुको काखमा लुटुपटु गर्न थाल्थिन् । बाबुले पढ्दै गरेका रमायणका ठुल्ठुला अक्षर साह्रै गौरसँग हेर्थिन् । उनलाई बिस्तारै लाग्न थाल्यो-‘यी अक्षरहरू मैले पनि पढ्न पाए ?’
जिन्दगीले १७ वसन्त पार गरिसकेपछि झमकले एक्कासी आफ्नो जीवनमा लागेको कालो बादल छेडिन् र उज्यालोमा आइन् तर एक्लै । नितान्त आफ्नै प्रयासले । उनको जीवन-सङ्घर्ष अकल्पनीय छ । उनको जीवन भोगाई कोही पनि आम-मानिससँग मेल खाँदैन ।
‘जीवन किन बाँच्नु जस्तो पनि लाग्थ्यो,’ आँखा ठुल्ठुला बनाउँदै उनले लेखिन्, ‘त्यसबेलासम्म म सबैको आँखामा काँडासरि बसेको थिएँ । मेरो जन्म एउटा श्रापजस्तो थियो तर जब मैले लेख्न सिकेँ, खुला आँगन मेरो नोटबुक बन्यो । साना-साना ढुङ्गा, माटो र मेरा औंलाहरू मेरो पेन्सिल र इरेजर बने’, उनी सम्झनाका दैलो उघार्छिन्, ‘त्यसबेला मैले मेरो जिन्दगीमा नयाँ रङ्ग थपिएको देखेँ ।’ त्यसपछि कहिल्यै रोकिएन उनको कलम । कविता र निबन्ध गरेर उनका दश पुस्तक प्रकाशित छन् ।
उनले बाँचिरहेको यो ‘जिन्दगी’ कस्तो लाग्छ झमकलाई ? प्रश्नले उनमा कुनै उत्सुकता ल्याएन । सोधिसकेपछि लाग्यो बेकारमा सोधेछु तर प्रश्न सुनेर केही छिन घोरिएकी झमकका खुट्टाले बिस्तारै कलम समाए र लेख्न थाले, ‘जीवन विविध देशान्तरीय सतत खोज रहेछ, समय बाँचेर हामी बाँचिदिएका हौं, हामीमा समय बाँचेको हुन्न । हामी जिन्दगीलाई विभिन्न रूपमा अर्थ्याउँछौं र जिन्दगीको खोजीमा मात्रै लाग्छौं । जीवनकै लागि मानिसहरू धेरैखाले जोखिम उठाउँछन् तर यो जिन्दगी कतै फेला पर्दैन ।’ यति लेखिसकेपछि टक्क अडिएकी झमकलाई लेख्न दिक्क भयो कि कुन्नि मलाई हेरिन् र फेरि लेखिन्, ‘भयो छोड यो जिन्दगीको कुरै नगर ।’
मैले फेरि उस्तै प्रश्न लेखेपछि झमक थोरै रिसाएजस्ती भइन् । र, जिन्दगीकै बारे केही लेखिन् । ‘कहिलेकाहीँ यो जिन्दगी बुढेसकालको समयजस्तै गह्रुङ्गो’ लाग्छ उनलाई । ‘भयानक कष्ट र पीडाभित्र पलपल छट्पटिएर बाँचे म’, झमकले भनिन्, ‘म धेरैपटक रोएको छु आफ्नै जिन्दगी सम्झेर ।’ ‘जीवन काँडा कि फूल’को एक पृष्ठमा उनी लेख्छिन्,-‘एउटा बोझिलो जीवन जसरी भए पनि बाँचेँभन्दा अहिले बिरलै मान्छेले पत्याउलान् । सत्य एकदमै तीतो हुन्छ, वास्तविकता पनि उत्तिकै खल्लो । कहिलेकाहीँ स्मृतिका पानाहरू पल्टाएर हेर्दा म स्वयमले धेरैपटक आँसु चुहाएकी छु । हुन पनि म कत्ति अभागी, भाग्यरेखाहरू कोरिएर आमाको गर्भबाट भँुइमा खसेकी रहिछु ।’
उनको आत्मवृतान्त पूरै पढिसक्दा थाहा लाग्छ-उनको जीवन विवशताजस्तो, एउटा झर्कोलाग्दो समय-रेखाबीच गुज्रिएछ । कति दुःखी रहेछ उनको समय । बुद्ध, गान्धी, मार्क्स सबै जीवनको खोजीमा हिँडे । झमक दुःखी छैनन् । झमकले देखेको जिन्दगी-अस्पष्ट र किरिङमिरिङ रेखाजस्तो हो । हरेक मौसम छन्दोबद्ध होस् वा अरुचिपूर्ण उनको जीवन बाँचेकै छ । उनको जिन्दगीमा पीडाको अध्याय वास्ता नगर्ने हो भने मात्र उनी सुखी मान्छे हुन् । झमकको अशक्तताले देखाउँछ-उनको जीवन अरूले बाँचेको भन्दा नितान्त फरक छ र कष्टमय पनि छ । उनीभित्र मनोरम कल्पना, महत्त्वकाङ्क्षाहरू र सुन्दर भविष्य पनि छ । झमक अशक्तताको भीषण राक्षसविरुद्ध लडिन् र लडाईंलाई नै जीवन मूल्य स्वीकारिन् ।
वि.सं.२०६३ मा बेमौसमका आस्थाहरूको प्रकाशनपछि तीन/चार वर्षसम्म उनले कडा साधना गरिन् र जीवन काँडा कि फूल निस्कन सम्भव भयो । त्यसयता देशले जत्ति नै उतार-चढाव झमकले पनि आफ्नो जीवनमा भोगिन् । ‘हरेक बिहान नयाँ सूर्यसँगै नयाँ योजना बनाउँथेँ’, उनले भनिन् । दिन, महिना र वर्षहरू बित्दै जाँदा योजना र रहरहरू पनि थपिँदै जान्छन् । ‘प्रत्येक वर्ष किनारा लाग्न नपाउँदै नयाँ वर्षमा गर्ने कामका योजनाहरू, रहरहरू र सपनाहरूका बारेमा सोच्थेँ’, झमकले भनिन्, ‘मलाई सधैं लेख्नु थियो र पढ्नु थियो । त्यसैले वर्षहरू बितेकोमा शोकगीत होइन डायरीमा उत्साह र जोश लेख्थेँ ।’
उनी लेख्छिन्, जिन्दगीको खोजीमा । के खोजिरहन्छिन् यी सुन्दरी ? थाहा छैन । जीवनमा हिँड्दाहिँड्दै धेरै कुरा छुट्दै जान्छन्-धेरै घुम्तीहरू, आफन्तका मायाहरू । जति दौडे पनि ‘जिन्दगीको सन्तुष्टि’ फेला पर्दैन भन्ने उनलाई थाहा छ तर दौडनु बाध्यता हो, एक किसिमले उनी दौडिरहेकी छन्, तर उनका प्रतिस्पर्धी कोही छैन । उनी स्वयं एक हुन् जसको अर्को अवतार कतै देखिँदैन ।
झमक सानै हुँदा उनको नचल्ने शरीर देखेर मान्छेहरू उनलाई साक्षात सरस्वतीको रूप ठानेर भेटी चढाएर ढोग्थे, फलफूल ल्याएर चढाउँथे, कसैले यो साक्षात भगवानको रूप भन्थे । ‘म उनीहरूलाई विनम्रतापूर्वक भन्थेँ-‘म कुनै देउताको रूप होइन, म मान्छे भएरै बाँच्न चाहन्छु’, उनी भन्छिन्, ‘साँच्चै मैले कहिल्यै भगवानको स्वरूप देखेकी छैन । तर, आफैँलाई देउताको स्वरूप भनेर पुजिँदा आफैंलाई अचम्म लाग्यो । देउता भन्ने चिज मान्छे आफैँले कल्पना गरेर सृष्टि गरेको रहेछ ।’
पश्चिमाहरूको एउटा भनाइ छ-‘ईर्श्वरको, नैतिकताको र सत्यको विषयमा नपस्नू, तिमी पार पाउन सक्नेछैनौ ।’ झमक भगवानका तस्बिर देखेर सधैं एउटै प्रश्न गर्थिन् रे-ध्यानमग्न बसेका मुहम्मद, क्रसमा झुन्ड्याइएका येशु, शिष्यहरूलाई ज्ञान दिइरहेका बुद्ध या गोपिनीहरूसँग नाचिरहेका कृष्ण साह्रै सुन्दर छन् । कहिलेकाहीँ उनको मनमा प्रश्न उठ्थ्यो-देउताहरू किन कुरूप हुन नसकेका ?’ ‘मान्छेले देउताको रूपको कहिल्यै नराम्रो कल्पना गर्नै सकेन’, उनले भनिन्, ‘सकोस् पनि कसरी उसलाई देउतैले सृष्टि गरेको भन्ने सानैदेखि सिकाइएको छ ।’ तर उनले यी प्रश्नको उत्तर पाएकी छैनन्-एउटा देउता मान्नेले अर्को देउता मान्ने मान्छेसँग किन झगडा गर्छ ? कहिलेकाहीँ यी प्रश्नबारे उनी घन्टौं टोलाउँछिन् र निष्कर्ष निकाल्छिन्-यो संसार विचित्रको छ ।
तर, उनी ‘भगवानको अस्तित्व’लाई अस्वीकार गर्छिन् । ‘भगवान भन्ने नै हुँदैन’, उनी भन्छिन्, ‘त्यो मान्छेको मनमा गढेर बसेको विश्वास मात्र हो ।’ तर, झमक मानिसले मान्ने धर्मप्रति भने सहिष्णु छिन् । ‘समाजमा वैचारिक अनेकता र विविधता हुन्छ’, उनले भनिन्, ‘मलाई संस्कृतिप्रति गहिरो प्रेम छ । तर तीभित्र हुर्किरहेको विकार मन पर्दैन ।’
एक ठाउँमा रुसोले लेखेका छन्-हामीसँग गरिएको एउटा उपहास हो जिन्दगी । कति ठूलो षड्यन्त्र भएको रहेछ हामीसँग कि जीवन नै उपहासमा परिणत हुन्छ । झमककोे जीवनी हेर्दा लाग्छ, संसार त्यसैले भोग गर्नेरहेछ, जसले आफ्ना इच्छाशक्तिले कष्टहरूको दमन गर्छ ।
—
यी कवयित्री कहिले मौनतामा कुनै पूर्व समयको सयर गरिरहन्छिन् मनबाटै । कहिले गफ गरिरहेकी हुन्छिन्, दिमागसँग । उनी केही सोध्छिन् मनलाई, मनले त्यसको जवाफ दिन्छ । आफ्नै मनसँग मात्रै गफ गरिरहने कवि, कहिले लाग्छ, निकै एकाङ्की स्वभावकी छिन् । तर, उनलाई लाग्छ- कहिल्यै झुठो नबोली, इमान्दारीपूर्वक, सत्यको बाटोमा हिँडिरह्यो भने मनसँग गहिरोगरी साक्षात्कार हुनसक्छ ।
झमक भेटिएको प्रभातको सम्झनाले म निकैबेर फ्ल्यासब्याकमा पस्छु । तर, त्यो दिन मैले झमकलाई भन्ने मौका नै पाइनँ कि, मलाई जबरजस्ती कनेर लेख्नेहरूसँग र बागमतीको ‘नाली’मा फ्याक्न लायक खेलौनाजस्ता काँचा, झिनामसिना, जसले पनि स्थापना गर्ने यहाँका ‘केही’ साहित्यिक पुरस्कारसँग विश्वास छैन । झमक, अहिले मेरो कोठाभरि तिम्रो तरुण अनुहार हाँसिरहेको छ । तिम्रा कलिला मुस्कानहरू मेरो थोत्रो कम्प्युटरको किबोर्डबाट फुत्तफुत्त आइरहेका अक्षरहरूमा मिसिइरहेछन् । मेरो कोठामा अझै सिगरेटको धुँवा रङ्गमगिइरहेछ । भित्तामा माकुरा उस्तै छ, केही ढुकिरहेजस्तो । यथावत पल्टिइरहेछ, ‘जीवन काँडा कि फूल ?’, ‘शिरीषको फूल’…।
प्रस्तुति : दीपक सापकोटा
मधुपर्क २०६८ मंसीर
