Skip to content


ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो
जाँदैन वाचा खेर पर्ख लिन आउँला ।

स्वर र सङ्गीतका बेजोड प्रतिभा नारायणगोपाल र तारादेवीको युगल स्वरमा यो गीत गुञ्जिन थालेको ४७/४८ वर्ष अघिदेखि नै हो । गीतका शब्द, सङ्गीत र स्वरको त्रिवेणी मिलेकै कारण जनजिब्रोमा उतिबेलादेखि हालसम्मै उत्तिकै तरोताजा शक्ति र सामर्थ्यका साथ गीत रहेको छ । गायकहरू अस्ताइसके, गीतका रचयिताको पनि ठट्टैठट्टामा बैँसले मात्रै नभएर उमेरले नै नेटो काट्दैछ । खुट्टा दुखेर हिँडडुल गर्न दिनदिन असजिलो हुँदै आइरहेछ, सानैदेखि लागेको चुरोटको लत यथावत छ, दाँतले मुखको शोभा छोड्दा छन्, तैपनि बोलीको तुजूक र सिर्जनाको सामर्थ्य भने रत्तिभर डगमगाएको छैन । पुरानै बानी अनुसारकै निस्फिक्री हाँसोका साथ उहाँ निष्कर्ष निकाल्नुहुन्छ-आखिर जीवन भन्नु नै ठट्टैठट्टाको घर रहेछ ।

झट्ट सुन्दा उहाँको नाम र थरका बीचमा लागेको शमशेर अमिल्दोझैँ लाग्दछ । कुराकानीको क्रमलाई यहीँबाटै प्रारम्भ गरौँ लाग्यो मलाई- ‘यो सन्दर्भ पनि रोचकै छ । मेरा बाजेका दुई फुपू थिए । चन्द्रशमशेरका भाइ धीरशमशेरले फुपूहरू बिहे गरेछन् । उनले नै एउटी श्रीमतीका ससुरालीलाई जङ्ग राख्न र अर्कोतिरकालाई शमशेर राख्न आदेश दिएछन् । खासमा हामी सिंह थापा हौँ । मेरा बराजु केशरसिंह थापा हुन् र बाजेबाट राणाको आदेशले शमशेर भइएको हो । राणाको बोलीको भरमा थर परिवर्तन गर्नुपरेको थियो पुर्खाले । नमानेको भए डाँडा कटाइदिने आदेश पनि हुनसक्थ्यो । यसैको परिणाम म रत्नशमशेर थापा भएको छु ।’

भन्नेहरूले उहाँलाई ज्यादाजसो त गीतकार रत्नशमशेर नै भन्छन् तर उहाँ स्वयं भने आफू कवि रत्नशमशेर मन पराउनुहुन्छ । लेखनका हिसावले पनि पहिले कविताबाटै चिनिन थालेपछि मात्रै उहाँले गीत लेख्न थाल्नुभएको थियो । उहाँका गीतले एकपछि अर्को गर्दै झन्झन् चर्चा पाउन थालेपछि कवि व्यक्तित्व छोपिएको जस्तो देखिए पनि उहाँ भन्नुहुन्छ-कवि हृदय नभएकाले त राम्रो गीत लेख्नै सक्तैन । उहाँका गीत मन पराएर गाउनेहरू-नारायणगोपाल, तारादेवी, प्रेमध्वज प्रधान, माणिकरत्न, शुभबहादुर, दीप श्रेष्ठलगायतका धेरै छन् चर्चाको शिखरमा पुगेकाहरू । ‘गोरेटो त्यो गाउँको लौन आज खोजीखोजी थाकेँ’ बोलको गीत प्रेमध्वज प्रधानले गाएर प्रथम भएका थिए भने ‘घुम्तीमा नआउहै, आँखा तिमी जुधाउन’ र ‘ए कान्छा ठट्टैमा यो…..’ गीतको त झन् कुरै भएन ।

वि.सं. १९९६ साउन २३ मा पिता तीर्थशमशेर र माता तुलाकुमारीबाट कमलपोखरीस्थित उहाँ जन्मिएको घरमा अहिले उहाँका काका बस्दै आउनुभएको छ । त्यसैको छेउमा आफ्नो पिताजीको एक्लो छोरो भएकाले तीन बहिनीहरूको अभिभावकको रूपमा पुख्र्यौंली विरासत धान्दै आउनुभएको छ । अविवाहित एउटी बहिनीलाई उहाँले अंशियार बनाउनुभएको छ । आना-पैसामा टुक्राटुक्रा भएको काठमाडौँमा अझै पनि उहाँहरूको कम्पाउन्ड फुटबल ग्राउन्डझैँ फराकिलो छ । लटरम्म फलेका अम्बा छानीछानी टिप्तै-खाँदै गरी अघाएपछि रत्न दाइलाई भनेँ- दाइ, तपाइर्ं त जमिन्दार पो हुनुहुँदोरहेछ । लामो हाँसोलाई रोक्न खोज्दै उहाँले भन्नुभयो-तिमीले त यतिमात्रै भन्यौ, अरूले त सामन्ती नै भनिसकेका छन् नि ! मेरा बराजुको हातबाट टीका थाप्न चन्द्रशमशेरहरू आउँथे अरे । ढिकुटीको साँचो खोलिदिएर भाञ्जाभाञ्जीहरूलाई मन लागेजति लान दिन्थे अरे । पछि पाण्डे र थापाहरूको लडाइँमा चाकडीदारहरूले कुरा लगाइदिएर राणाहरूले तीन/तीन पटकसम्म सर्वस्वहरण गरिएका पुर्खाको सन्तानसँग के रहनु ? पछि बाजेले दुःखले जोडेका हुन् । सिराहा-सप्तरीमा केही विगाहा जमिन छ, त्यसैको आम्दानीबाट पेटपालो हुँदै आएकोमा अब त जमिन हुने जतिलाई ‘सामन्त’ भनिदिएर कमाउनेहरूलाई उचाल्नसम्म उचालिदिएका छन् । उब्जनी जति सर्वस्व कमाउनेले खान्छन् र विगाहाको छ मन धान दिन्छन् । त्यो पनि भएन भनेर कुनै साल त दिँदैनन् पनि । हामीले केही गर्न सक्दैनौँ, उनीहरूको स्वेच्छामा दान थापेजस्तो अवस्था छ, अनि उल्टै हामी नै सामन्त ! अझ भन्नेहरूले त रत्नशमशेर लोभी छ, यत्रो जमिन छ, एक टुक्रो बेचेर गाडी चढे भइहाल्छ नि, के लख्रकलख्रक हिँडेको पनि भनेका छन् । आफूले कमाएको छैन, बाबुबाजेको माटो बेचेर रत्नशमशेरले गाडी चढेको सुहाउँछ ?

उहाँले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ तर स्नातकोत्तर सकेको प्रमाणपत्र भने हात पार्न सक्नुभएन । सातौँपत्रसम्म पूरा गर्नुभयो, आमाको असामयिक स्वर्गारोहणका कारण आठौँपत्र जाँच दिन पाउनुभएन । कारण स्पष्ट गरेर जाँच दिन पाउँभन्दा मानिएन । त्यसबीच धेरै पेपरबाजी भयो, तत्समयका पत्रपत्रिकाहरूमा यो विषयले ठूलै स्थान पायो । त्रिभुवन विश्वविद्यालयको परीक्षा व्यवस्थापनले पनि जाँच नलिने अड्डी नै लियो । त्यसपछि उहाँले पनि दोहोर्‍याएर जाँचै नदिने अड्डी लिनुभयो । कुरा धेरै छन्, भैगो यो विषयलाई छोडौँ भनेर उहाँले टुङ्ग्याउन चाहे पनि मैले भनिहालेँ- रत्नशमशेर घमण्डी हो ?

‘हो, मलाई कसैकसैले घमण्डी पनि भन्छन् तर म घमण्डी होइन र छैन पनि । स्वाभिमान र घमण्डमा फरक छ । रत्नशमशेर स्वाभिमानी अवश्य हो । यही कुराको भेद छुट्याउन नसक्नेले भनेका हुन् घमण्डी । वि.सं. २०१० मा म्याट्रिक पास गरेपछि विज्ञान विषय लिएर पढ्न थालेँ । कोचिङ पढाएँ, स्कुल पढाएँ । आफ्नै मान्छे तत्कालीन शाही नेपाल वायुसेवा निगममा डाइरेक्टर हुँदा जागिर लगाइदिन्छु भनेर बोलाएका पनि थिए! गइनँ । मोरङ सुगर मिलमा २ वर्ष जागिर खाएँ तर ७ दिने बिदामा आएपछि फर्किएर गइनँ । प्रलोभन धेरै आए तर लोभिइनँ । लेख्न थालिसकेको थिएँ, यही लेख्ने सोखले गर्दा कतै केहीमा बाँधिन चाहिँन । मेरा गीतबाट चर्चामा आएकाहरू धेरै छन् तर मान्छेमा हुने बैगुनीपनले गर्दा बिर्सिन्छन् । भन्छन् नि-खोलो तर्‍यो, लौरो बिर्सियो । आफूसँग सङ्गत टुटाउनेहरूलाई म पनि फेरि फर्किएर हेर्दिनँ । कसैले नमागी गीत-कविता पनि दिन्न । आफ्ना सिर्जनामा विश्वस्थ छु । बरू थोरै लेख्छु, नखस्किने दृढतामा अडिग छु ।’

उहाँले वि.सं. २००८ सालबाटै अर्थात् बाह्रवर्षे उमेरदेखि नै कविता लेख्न थाल्नुभएको बताउनुहुन्छ । यता आफ्नै घरमा काकाहरू तबला-हार्मोनियम बजाएर शास्त्रीय र अर्धशास्त्रीय गीतहरू उतिबेलै गाउने गर्थे । रत्नशमशेरलाई पनि गीत- सङ्गीतले लोभ्याउन थालेछ । लोभको प्रसङ्ग अघि बढाउनुहुन्छ उहाँ- पढाइमा फुर्सद मिल्नासाथ गानाबजाना चल्ने ठाउँमा पुगिहाल्थेँ र मग्न भएर सुन्ने गर्थें । लुकीचोरी तबला पनि बजाउन थालेँ । मेरो लगाव थाहा पाएपछि काकाहरूले फुर्क्याउन थाल्नुभयो र गीत-सङ्गीतको सुरताल पनि धेरथोर बुझ्न थालेँ । यसरी वि.सं. २००९ सालबाटै गीत पनि लेख्न थालेँ । मैले लामा कविता पनि लेखेको छु । नाटक, कथा पनि छापिएका छन् तर छोटा सिर्जनामै रमाउँछु म । लामा सिर्जनामा घोरिएर निरन्तर लेखिरहने धैर्यता ममा छैन । कथा लेख्दालेख्दै लेख्न छोडेर समकालीन मित्र सोमध्वज विष्ट, कुमार ज्ञवालीहरूलाई कथाका प्लट बनाइदिनेसम्म गरेँ । ज्यादै करमा परेपछि नजिकका मित्रका बारेमा संस्मरणहरू पनि लेखेको छु । भूपी शेरचन, माणिकरत्न, अमर गुरुङ, तारादेवी, अरुणा लामा आदि बढी सङ्गतभएकाहरूका प्रकाशित छन् पनि तर ममा अल्छीपन ज्यादै छ । २०२० सालमा ओभानो सिउँदो र २०२६ सालमा रुझेको परेला गीतसङ्ग्रह प्रकाशित गरेथेँ । त्यस्तै, २०३६ सालमा चकलाभरिको घाम र २०६० सालमा ताराका काँचा रङ नामक कवितासङ्ग्रह प्रकाशित छन् । वि.सं.२०४२ मा ‘दोभान’ शीर्षकमा उहाँका गीतहरूको एलबम निकालेको थियो म्युजिक नेपालले । यसमा स्वर धेरैको भए पनि सङ्गीत चाहिँ अमर गुरुङको एकल रहेको छ । अहिले बल्ल शुभेच्छुकहरूले अर्को एलबमको तयारी गर्दैछन् । कविता, गीत, ताङ्का, हाइकुलगायतका सिर्जनाहरूका पाण्डुलिपि तयार छन् तर प्रकाशकको अभाव छ । मुखले ठिक्क पार्नेहरू धेरै छन्, कामले अघि आउनेहरू भेटिँदैनन् ।

उहाँले कविता र गीत बराबरजस्तै लेख्नुभएको छ तर धेरैजसोले गीतकार रत्नशमशेर थापा भनिदिँदा चित्त दुख्छ अरे उहाँको । चित्त दुखाईको सन्दर्भ अघि बढाउनुहुन्छ- हो त नि, भनाइमै त्यस्तै झल्किन्छ । ऊ आफू कवि भएकोले पहिलो दर्जामा अनि म रत्नशमशेर चाहिँ गीतकार भएकाले दोस्रो दर्जामा हुनुपर्नेझैँ गरी बोल्दछन् । तिनीहरूलाई भन्न मन लाग्छ- ल तिमी कवि हौ तर एउटा राम्रो गीत लेखेर देखाउ त ! गीतलेखनलाई हलुकारूपमा लिइदिनु भएन । गीत पनि कविताकै अङ्ग हो । गेयात्मकता र लयात्मकताका लागि मात्रा-अनुप्रास मिलाउँदा सीमित पङ्क्तिमा बाँधिनुपर्ने बाध्यताका कारण कविताभन्दा गीत लेख्न कठिन हुन्छ । अनि किन हेपाइतीजस्तो व्यवहार देखाउनु ।

उहाँलाई आफ्ना सिर्जनाहरू अधिकांश कण्ठस्थ छन् । स्वागत गीत, भजन, गजल, ठुमरीलगायतका धेरै प्रकारका गीतहरू थापाले लेख्नुभएको छ । गीत लेख्दा स्वतन्त्ररूपमा, सिनेमाको कथाले मागेअनुसार, सङ्गीतको ट्युनमा, जसरी पनि गीतमा आफूलाई पोख्नुभएको छ । भन्नुहुन्छ- स्वतन्त्ररूपमै लेख्न सजिलो हुन्छ, ट्युनमा एक किसिमको बन्धन हुन्छ । सङ्गीतकारको सजिलोका लागि विशेषगरी सिनेमाहरूमा ट्युनमा लेखिदिन अनुरोध गर्छन् । कुनै सङ्गीतकारले राम्रो ट्युन बनाएका छन् भने सुनाएर लौन यसमा गीत लेखिदिनु पर्‍यो पनि भन्छन् । विशेषगरी अमर गुरुङका ट्युनमा धेरै लेखेको छु । उस्तै पर्दा पन्ध्र मिनेटमै गीत तयार पार्न पनि सक्छु । गायक तथा सङ्गीतकार दीपक जङ्गमका लागि रेडियो नेपालमा रेकर्डिङकै बेलामा पनि गीत लेखेको छु । छातीभरि व्यथाहरू….बोलको त्यो गीत पनि चर्चित नै छ ।

पछिल्लो समयमा आएर रत्नशमशेर थापा हाइकु, ताङ्का, चोकालगायतका छोटाभन्दा छोटा सिर्जनामा पनि लागि पर्नुभएको छ । हुन त यी आयातीत सिर्जना चल्तीमा आउनुभन्दा पहिले पनि उहाँ मुक्तक, छोटा कविताहरू लेख्नुहुन्थ्यो । उहाँको विचारमा -हाइकु, ताङ्काजस्ता यी छोटा सिर्जना पनि मर्मस्पर्शी र अर्थबोधक हुन्छन् । नयाँलाई म पनि किन नलेखौँ त भनेर लेख्न थालेको हुँ । हाइकु त बाटो हिँड्दाहिँड्दै पनि एक दर्जन तयार पार्न सक्छु ।

उहाँको समकालीन पुस्तामा सिर्जना, गायन र सङ्गीतका क्षेत्रमा ख्याति कमाएकाहरू धेरै छन् । अझ त्यसमा पनि धेरैजसो त बितेर गइसके । हरिभक्त कटुवाल, भूपी शेरचन, नारायणगोपाल, रमेश धिताल, सोमध्वज विष्ट, कुमार ज्ञवाली, प्रेमध्वज प्रधान, माणिकरत्न, शुभबहादुरहरू उहाँका सङ्गातीका रूपमा थिए । कतिपयहरू खानपिनका अम्मलीका कारण बदनाम पनि भए, छिट्टै बितेर गए पनि । तर उहाँमा चुरोट र चियाको भन्दा अरूको लत बसेन । उहाँ भन्नुहुन्छ- रक्सीजन्य पदार्थ त मैले चाखेकै छैन । उनीहरू पिएर रमाइलो गर्थे, म नपिएरै पनि उनीहरूभन्दा बढी रमाइलो गरिदिन्थेँ । सुरुसुरुमा कर गरे तर मैले नमानेपछि, उही त हो नि मेरो झडङ्गे स्वभाव, खाँदैन यो भन्थे र केही भन्दैनथे ।

उहाँसँग संस्मरणका पोकैपोका छन् । दिल्ली विश्वविद्यालयमा उहाँको संयोजनमा कवि सम्मेलन भएको, त्यतिबेलाका कल्चरल एटाइचि धुस्वाँ सायमिसँगका प्रसङ्ग, सन् १९७४ मा ‘मनको बाँध’ सिनेमाको गीत रेकर्डिङमा दिल्ली कर्णाटप्लेसमा बस्दाका रमाइला कुराहरू, दुई पटक गरी दुई वर्ष दिल्लीमा बिताएको समयका कुराहरू, यहाँ आएपछि अमर गुरुङसँग जोडिएका रमाइला पक्षहरू, गीतका धुन सुनेर ठाउँका ठाउँ गीत लेख्दा सङ्गीतकार र गायकहरू छक्क परेर तिलमिलाएका कुराहरू, कति छन् कति उहाँको मस्तिष्कको भकारीमा । यी सबै अक्षरमा उतार्न सके एउटा सिङ्गो कालखण्डको दस्तावेज बन्ने थियो तर उही त हो अल्छीपन । भन्नुहुन्छ- मबाट गम्भीर भएर घण्टौँ घोत्लिएर लेख्न अब सम्भव छैन । तिमीहरू जस्ताले लेखिदियौ भने मात्रै हो । मकहाँ आउँदा आगो लिन आएजस्तो हतारमा आउन भएन । आउन पाएको छैन, हतारिन्छौ ! तर उहाँले यसो भनिरहँदा हातको घडी हेरेँ मैले, चार घण्टा बितिसकेको थियो र पनि भन्दै हुनुहुन्थ्यो-जाबो चार घण्टा ।

रत्नशमशेर थापाको हाँसोमै सन्तुष्टि झल्किन्छ । जागिर खानुभएन, ठूलो कमाइ गर्नुभएन तै पनि जीवनप्रति र लेखनबाट पूर्णसन्तुष्ट छु भन्दै सन्तुष्टिका आधारहरू बताउनुहुन्छ-घरपरिवार पुर्खाको सम्पत्तिबाट चलिरहेकै छ । भन्छन् नि-घाँटी हेरी हाड निल्नु । हो, म निर्धक्क छु । लागेको कुरा लेख्छु । कसैको करबलमा परेर लेखिएन, लोकप्रियताको लोभ र सोख पनि पालिएन । आत्मसन्तुष्टिमै रमाउने भएकाले मेरो कुनै गुनासो छैन । म अव्यावहारिक छु, विन्दास स्वभाव छ मेरो । कसैको चार पैसाको लोभ गरिएन । जति दिन बाँचिन्छ, ठाडो शिर गरेरै बाँच्न चाहन्छु ।

तल्लो तल्लाको भित्र पस्तापस्तैको उहाँको कोठामा भित्ताभरि, झ्यालका तख्तीमा र टेबुलमा चाङ् लगाइएका असरल्ल सम्मानपत्र, प्रशंसापत्र, मायाको चिनो ज्यादा र पुरस्कार पाएका प्रमाणपत्र, ताम्रपत्र कम देखिन्छन् । युगकवि सिद्धिचरण पुरस्कार, मुक्ति पुरस्कार, मधुपर्क सम्मान- पुरस्कार, छिन्नलता पुरस्कार, हरिहरशास्त्री पुरस्कारजस्ता रकमका केही पुरस्कारबाहेक अरू धेरैजसो ‘नमोःनारायणका ढेरी’ नै हुन् भन्दा हुन्छ । यी सबैलाई एकमुष्टमा उहाँले नाम दिनुभएको छ -भित्ताको शोभा ।

झ्वाँकै झ्वाँकमा एकदिन श्रीमतीलाई भन्नु पनि भएथ्यो अरे- यी सबैलाई बोरामा हालेर राखिदेऊ ! यो त कुनै क्षणको आवेगको बोली थियो भन्दै उहाँ भन्नुहुन्छ- सम्मान भनेको श्रद्धा पनि हो । दिएपछि नाइँनास्ति गर्न मिलेन । ऊ त्यहाँ छन् गीतमा तीन पटक ‘लाइफ टाइम एचिभ’ पाएको छु इमेजबाट, हिट्सबाट र कालिका एफ.एम.बाट तर तिमीले भनेजस्तै ‘नमोः नारायणका ढेरी’ मात्रै । कस्तो अचम्म ! दुईचार हजार रुपियाँ स्रष्टालाई छुट्याउन नसक्नेले एचिभ बाँड्छन् !

उहाँमा देशलाई प्रतीक मानेर एउटा लामो कविता लेख्ने सोच पलाएको त निक्कै पहिलेदेखि नै हो । लेख्न थालेको पनि हो तर त्यसै अधूरो रहेको छ । यसलाई उहाँले गद्यकाव्य नाम दिनुभएको छ र सोखको रूपमा मनमनैमा पाल्नुभएको छ । उहाँको बानी नै यस्तै छ, सोचेर, घोरिएर लेख्न मन नगर्ने । लेखेर पनि आफूलाई चित्त बुझेन भने च्यातेर फाल्नुहुन्छ । अब त खुट्टा दुख्ने, आँखा पनि धमिलिँदै आएका र सोचले पनि यस्तै त रहेछ नि भन्ने बुझाएकोले यो गम्भीर कार्य-हेरौँ के हुन्छ मै रहेको छ ।

आफूले लेख्नु त छँदैछ, अरूले लेखेका पढ्नुमा पनि बेग्लै आनन्द हुन्छ । समकालीन पुस्ताका सिर्जना र अझ पछिल्लो भाइपुस्ताले चर्चा-हल्लीखल्ली मच्चाइरहेको उहाँले पनि विचार-विश्लेषण त गरिरहनुभएको छ तर ‘ला पढ्’ भनेर दिएका कृतिबाहेक उहाँ आफ्नो पैसाले किताब किनेर त्यति पढ्दिन भन्नुहुन्छ । यसका कारणहरूमा-किनेर पढिसकेपछि त्यसलाई के गर्ने भन्ने मूल समस्या हो राख्ने ठाउँको अभाव छ । दोस्रोमा अर्थको कुरा पनि आउँछ । तेस्रो, युवापुस्ताको लेखन अलिक उट्पट्याङको पनि हुन्छ । पुस्तान्तरका कारण त्यति चाख हुँदैन पनि । फुर्सदको पनि कुरा आउँछ । कार्यक्रमहरूमा आउने निम्ता मान्नै पर्‍यो । अब त कार्यक्रमहरूमा हिँड्नै पनि निक्कै कम गरेको बताउनुहुन्छ उहाँ ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *