Skip to content

‘शब्दको चौतारीतिर फर्किएर’ हेर्दा

  • by


युवा पुस्ताका निरन्तर साधनारत एवं सक्रिय कवि मणिराज सिंहको चौथो कविता कृति ‘शब्दको चौतारीतिर फर्किएर’ (२०६८) समसामयिक विषयवस्तुमा आधारित सैँतीसवटा कविताहरूको सँगालो हो । वरिष्ठ समालोचक एवं निबन्धकार प्रा.डा. तारानाथ शर्माको शुभकामना मन्तव्य, ठेट समालोचक हरि अधिकारीको भूमिका मन्तव्य, स्रष्टाको लेखकीय मन्तव्य तथा कमला रिसालाको प्रकाशकीय भनाइसहित जम्मा चौहत्तर पृष्ठमा विस्तारित प्रस्तुत कविता सङ्ग्रहलाई लेखकले ‘डायरी साहित्य’ भन्न रुचाएका छन् । गद्य शैलीमा रचित प्रस्तुत कविता सङ्ग्रहका सम्पूर्ण कविताहरूको सर्सरी अध्ययन गर्दा वर्तमान जीवनका (त्यसमा पनि नेपाली जीवनका) दुःख, पीडा, अशान्ति, अव्यवस्था, अस्तव्यस्तता, आश्वासन-आशा, निराशा, विश्वास, धोका आदि मर्मस्पर्शी पक्षहरू उद्घाटित भएको पाइन्छ । नेपालका (वर्तमान) राजनेताहरूको आठै आश्वासन, युवा पुीताको आक्रोश र पलायन, प्रत्येक व्यक्तिले देशप्रतिको दायित्व पूरा नगरी अधिकार मात्रै खोज्ने प्रवृत्तिप्रति कवि सिंहले औँलो ठड्याएका छन् । सङ्ग्रहका केही कवितामा भविष्यप्रति एकदम आशावादिता प्रकट गरी सबैलाई सकारात्मक सन्देश प्रवाह गरिएको छ । विभिन्न विम्ब-प्रतीक, अलङ्कारको माध्यमबाट यस सङ्ग्रहका कवितालाई सरस र मर्मस्पर्शी बनाइएको छ । यो सङ्ग्रहको सबल र स्तुत्य पक्ष हो ।

सफल र स्तुत्य कृति हुँदाहुँदै पनि यस सङ्ग्रहका आफ्नै हठ र कमजोरी देखिएका छन् । कतिपय वरिष्ठ समालोचकहरूले समालोचना गरेर ‘राम्रो’ भन्दैमा राम्रो र ‘नराम्रो’ भन्दैमा नराम्रो ठानिने मान्यताबाट यो सङ्ग्रह अछुतो हुन सकेको छैन । यस्तोम मान्यताबाट आमपाठकको स्वतन्त्र विश्लेषण, लेखकको उत्तरोत्तर प्रगति एवं स्वयं समालोचकलाई समेत नकारात्मक प्रभाव पर्छ कि ? त्यस्तै यस सङ्ग्रहलाई ‘डायरी साहित्य’ भनेकोमा सहमत हुन सकिन्न कि ? किनभने डायरी साहित्य भन्न पनि केही आधार त चाहिएलान् नि ! यसमा त्यस्ता आधार के छन् ? कागजको साइज हेरेको हो भने डायरीको साइज यसै पुस्तकको जत्रै हुन्छ भन्ने छ र ! आइ.एस.वि. नम्बर राखिएको पुस्तकलाई त्यत्तिकै नामाकरण गर्न मिल्छ र अबका कृतिहरू प्रकाशनमा ल्याउँदा यस्ता कतिपय पक्षलाई ध्यान दिनु जरुरी देखिन्छ ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *