Skip to content


मान्छेका हातहरूमा
असीमित शक्ति लुकेको हुन्छ
दुई हात उठाएर
जानिन भन्ने बित्तिकै
आत्मसमर्पण गरेको बुझिन्छ
चोर औँलो देखाएर
हेर्लास् भन्ने बित्तिकै
अनिष्टको सङ्केत बुझिन्छ ।
दुई हात हुनेबित्तिकै
घमण्डको घण्टी पनि बजेको छ
दुई हात झुकाउने बित्तिकै
कतिको अस्तित्व समाप्त भएको छ
हातहरूले मुठी कसेर चुनौती दियो भने
सम्राट पनि झुक्नसक्छ
हातहरुले डण्डी या हतियार समायो भने
वनको सिंह पनि तर्सिन सक्छ
हातमा कत्रो शक्ति छ
एक थप्पड दियो भने
फटाहाले बयान बदल्न थाल्छ
अब यसो गर्दिन भनेर
कसम खान तयार हुन्छ ।
हातहरूकै करामतले
विश्वका आश्चर्यलाग्दा पिरामिड
र सम्राटका दरबारहरु बनिए
हातहरूकै पराक्रमले
बन्दुक र सङ्गीन चलाएर
अनेकौँ युद्धहरू जितिए ।
अबका हातहरूले
दमनका नङ्ग्राहरु भाँच्दै
वलिदान र उत्सर्गको रगतले
सिङ्गो मुलुकको जिउँदो इतिहास लेख्नुपर्छ
एकपल्ट सबैले मुठी कसेर
राष्ट्र उचाल्ने
कसम खानुपर्छ

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *