कथा हो, परापूर्वकालको । तर, अपूर्वतालले मिल्दोजुल्दो भइदिएछ, अहिलेको गणतन्त्रमय नेपालका लागि पनि ।हिमवत्खण्डको आर्यावर्त भन्ने पहाडीप्रदेशको एकान्त कन्दरामा एकजना बालब्रहृमचारी साधु बस्थे । जङ्गलको कहालिलाग्दो बिहड झाडीभित्र निस्फिक्री रमाएर घुम्थे । वर्षा, बिजुली र आँधीबेहरी आउँदा पहरामा ओतिन्थे । घाम चर्किँदा रूखका छहारी ओडारमा सियाँल ताप्थे । झरना, छहराको पानीमा नुहाइधुवाइ गर्थे । त्यहीँ पानी पिउँथे पनि । जङ्गली अन्नपात र फलफूल पाउँदा खान्थे । नपाउँदा गिट्ठा, भ्याकुर, गोलकाँक्री आदि कन्दमुल खाएर रमाउँथे । त्यही पनि नपाएर साँच्चिकै अनिकाल आइलागे घाँसका मुन्टा, दुबो, चरीअमिलो, जलुकी, बेथे आदि झारपात चबाएर सन्तुष्टि लिन्थे । सन्तोषको अवतार भन्न सुहाउनेे साधु सघैँ हट्टाकट्टा र हृष्टपुष्ट देखिन्थे ।
एकान्तवासी शान्तिप्रिय ती सन्त महात्मा नियमित रूपमा स्वाध्ययन र वन विचरणमा रमाइरहेका थिए । केही समयपछि घुमफिर गर्दै जाँदा गाउँ-बस्ती छेउछाउ पुग्दै गएछन् । फलस्वरूप घाँस काट्न, दाउरा खोज्न वनमा आउने गाउँले युवती र गाई हेर्ने गोठालाको आँखामा पर्दै गएछन् । अत्यन्तै सुन्दर, खाइलाग्दा लक्का जवान थिए- ती साधु । गाउँले किशोरी उनलाई देख्तै मोहित बनेर दिनप्रतिदिन नजिक बन्न थाले । वरपर घेरा हाल्न थाले । उनलाई स्पर्शमात्र गर्न पनि तँछाडमछाड गर्दै मरिहत्ते गर्थे सबै । निहुँ-पिहुँ झिकेर कसैले हात हेराउन थाले । कसैले ग्रहदशाबारे जान्न बुझ्न धुलौटो कोराउन थाले । साधुको अपूर्व ज्ञान र त्रिकाल जान्ने भविष्य वक्ताको छवि गाउँगाउँ फैलियो । हुँदाहुँदै गाउँबाट सहर र त्यहाँबाट महानगर अनि पूरै देशभरि उनको सुकीर्ति छ्याप्छ्याप्ती भयो । अनेकथरी चर्तिकला, इन्द्रजाल र भविष्यद्रष्टाका रूपमा नानाथरी नामले बढाएको ख्याति जङ्गलको डढेलोझैँ सङ्ग्रालियो । उनले जे भन्यो त्यही पुग्छ र जे आशीर्वाद दियो त्यही सतप्रतिशत लाग्छ रे भन्ने हल्लाले पत्रपत्रिका, रेडियो, टिभीलगायत सञ्चारसामग्री छपक्कै ढाकिए ।
राजनीति गर्दागर्दा वल्ड्याङ खाएका असफल नेताले स्वामी सेवामा सफलताको मेवा देखे । पन्डोराको बाकस खुल्ने चाबी देखे ।
घाटा खाँदै आएका व्यापारी साधुको आशीर्वादमा मालामाल बन्ने मेसो खोजेर रमाए ।
राजपाठ बिग्रिएका राजघरानाले स्वामीको सेवाबाटै पुनः सिंहासन प्राप्त गर्ने सपना देखे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका नाना नौथरी गिरोहले बाबाकै इसारामा हातको सफाइ सफल हुने ठम्याए ।
निर्माणकार्यमा लागेका ठेकदारले विनाकाम बजेट हजम पार्ने कर्तुतका लागि बाबाबाटै अचूक आशीर्वाद प्राप्त हुने ठाने ।
अनि सबै मिलेर बाबाको आश्रम पनि गाउँ-सहरको बीचमा सबैलाई पायक पर्ने ठाउँ छानेर रातारात तयार पारे । कुनै सरकारी निर्णय र गजेट चाहिएन । योजना आयोग नियोग कुनै केहीको दरकार परेन । बजेटको कुनै कमी भएन । अलि दिनभित्रै सबै लोभीपापी मिलेर हबेली नै ठड्याए ।
आश्रम एकाएक सर्वगुणसम्पन्न राजर्र्ष्िर् आश्रममा परिणत हुन पुग्यो । चेलाचेली भरिए । आशीर्वाद थाप्न आउने ठेकेदार, व्यापारी, नेता र नायकको उपहारले आश्रमभरि अन्न, फलफूल, सुन-चाँदी र जुहारतको उरुङ लाग्यो । घरबार नहुने सर्वहारा, किसान, उत्पीडित आदिवासी सबैको आश्रयदाता सहारास्थल बन्न पुग्यो- त्यो आश्रम । त्यसै आश्रमलाई व्यवस्थित गर्न चेलाचपेटादेखि राज्य पक्षका प्रहरी प्रशासन, मन्त्री सबै तम्सिएर लागे ।
केही समयपछि एक दिन एकाएक गायब भइदिएछन् स्वामीजी त । उनी कहाँ गए, कसैलाई अत्तोपत्तो भएन । हप्तौँ, महिनौँको सत्प्रयास त्यसै खेर गयो । केही तातोपानी लागेन । स्वामीजीको अत्तोपत्तो भएन ।
दुई-चार महिना त्यत्तिकै बितेछन् ।
एकदिन बिहानै तपतप पानी चुहाउँदै गोरुको साँप्रो कँाधमा हालेर स्वाँ-स्वाँ गर्दै आश्रममा देखापरेछन् स्वामीजी त । रातो सिङ्गो साँप्रो काँधमा बोकेका उनै सात्त्विक महापुरुष स्वामीजीलाई देख्ता सबै भक्त चेलाचेली स्तब्ध त हुने नै भए । त्यस्तो अवर्णनीय घटनाले शोकाकूल र भावविहृवल बनेर सम्पूर्ण आश्रम जगत् झोक्रायो । आस्थाको लहरो खँगारियो । तनावको तातो राप डढ्यौलो बनेर बस्ती, सहर जताततै सँगालियो ।
उनको हालत देखेर सबै बेहाल थिए । शोकको वर्षा खप्न नसकेर केही बेरपछि एउटा अत्यन्त प्रियचाहिँ शिष्यले आँट गरेर मुख फोरिहालेछन् –
चेला- भिक्षो मांस निषेवणम् किमुचितम् ?
स्वामीजी मांस भक्षण गर्नु के उचित कुरा हो ?
स्वामी- किम् तेन मदयमविना ?
मदिराविना के काम त्यो जाबो मासु ?
चेला- मदयम चापी तब प्रियम् ?
हजुरका लागि मदिरा पनि प्रिय भइसक्यो ? मदिरा पनि ग्रहण गर्नुहुन्छ ?
स्वामी- प्रियमहो वाराङ्नाभी सह ।
बाराङ्ना- (वेश्या)हरूसँग बसेर मदिरा पान गर्दा यस्तो आनन्द हुन्छ । के भन्ने अब ?
चेला- वेश्या द्रव्यरुचि कुतस्तव धनम् ?
वेश्याहरूले त धन-दौलत चाहन्छन् । तपाईं कहाँबाट ल्याउनुहुन्छ ?
स्वामी- चौर्येण दयुतेन वा ।
चोरी, जुवा वा क्यासिनो कतैबाट जोहो गर्नुपर्छ ।
चेला- चौर्यदयुतमपि प्रियम् हि भवतो ?
चोरी, जुवा पनि तपाईँको प्रिय कर्म भइसक्यो ?
स्वामी- भ्रष्टस्य कान्या गति ?
बिग्रिनु बिग्रिएर भ्रष्ट भइसकेपछि अरू के नै उपाय रहन्छ त बाँकी ?
‘कसरी भ्रष्ट हुनुभयो त स्वमीजी ?’ चेला अझै खोस्रँदै थिए । स्वामीजी पनि खुल्दै थिए, ‘मलाई सहरमा ल्याएर को-कोसँग सङ्गत गरायौ । क-कसको अन्नजल खुवायौ तिमीहरूले ? त्यही अन्नजलबाट उत्पन्न तामसपूर्ण रसादिका अनेक तत्त्वको बाढी उम्लिँदै छ मेरो रगत-मासुमा । सप्रिनुको आनन्द भन्नु यही रहेछ बाबु । अरू केही सार्वभौम सत्य रहेनछ यो जगत्मा । बुझ्यौ ?’
बोल्दाबोल्दैका साधु आनन्द पान गरेर एकछिन लट्ठिएछन् । अनि मजैसँग झोँक्किएछन् पनि ।
चेला केही प्रतिवाद नगरी लुरुलुरु बाटा लागेछन् ।
(भान्डागारबाट साभार)
शनिबार, गोरखापत्र
पुस ९, २०६८
