Skip to content

कसको इच्छा पूरा गर्छौ बाबुराम ?

  • by


कसको इच्छा पूरा गर्छौ बाबुराम ? /म डिग्री पास छु
२५-३० हजारको जागिर ढुक्कसँग खान चाहन्छु
मेरी श्रीमती स्टाफ नर्स छिन्/कम्तीमा २० हजारको जागिर खोज्छिन्
मेरो एउटा छोरो छ/ऊ राम्रो स्कुलमा पढ्न चाहन्छ
अनि, मेरी एउटी छोरी छिन्/उनी पनि राम्रो स्कुल चाहन्छिन्
जहाँबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तरीय शिक्षा/सर्टिफिकेट प्राप्त होस्
मेरो दाइ भेटनरी डाक्टर हुनुहुन्छ
उहाँ ढुक्कसँग आफ्नो व्यवसाय चलाउन चाहनुहुन्छ
मेरी भाउजू गृहिणी हुनुहुन्छ
फिल्डमा गएका बेला श्रीमान्को सकुशल फिर्तीको कामना गर्नुहुन्छ
मेरो बुबा अलिक रोगी हुनुहुन्छ/स्तरीय उपचारको खोजीमा हुनुहुन्छ
हामीलाई हुर्काउँदाहुर्काउँदै हुर्मत भइसकेकी बूढी आमा हुनुहुन्छ
बुबा-आमा बुढेसकालको सहज जीवन यापनबारे चिन्तित हुनुहुन्छ
मेरा दुइटा भाइ छन्
एउटा देशमा राम्रो कामको खोजीमा छ/अर्को भाइ दिन-दिनै
साइबर धाएर विदेशी कलेजको खोजी गर्छ
कसको इच्छा पूरा गर्छौ बाबुराम ?

मेरो भिनाजु इन्जिनियर हुनुहुन्छ
उहाँ एउटा असल जागिर खाएर कन्सल्ट्यान्सी चलाउन चाहनुहुन्छ
मेरो फुपाजू डाक्टर हुनुहुन्छ
उहाँ सरकारी हस्पिटलको जागिर खाँदै, रोगीको सेवा गर्न चाहनुहुन्छ
मेरो एक जना ज्वाइँ ठेकेदार हुनुहुन्छ
उहाँ आफ्नो ग्रेड अनुसारको ठेक्का मिलोस् भन्ने चाहनुहुन्छ
मेरो ठूलो बुबाको छोरा चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ/बैँकको जागिरको खोजीमा हुनुहुन्छ
मेरी आफ्नै साली असल शिक्षिका छिन्/उनी निर्धक्क केटाकेटी पढाउन चाहन्छिन्
कसको इच्छा पूरा गर्छौ बाबुराम ?

आज गाउँमा शान्ति छैन/देशमा रोजगारको अवसर छैन
दक्ष जनशक्तिको सम्मान छैन
आमनागरिकमा देशप्रतिको आशा र भरोसा छैन
त्यति मात्र होइन/चुलोमा बाल्ने ग्यास छैन
अँध्यारो हटाउने बिजुली छैन/भाँडोमा हाल्ने रासन छैन
देशमा ढुक्कको शासन छैन/खोलामा तर्ने पुल छैन
छ त केवल अभाव छ, महामारी छ, बाढीपहिरो छ
हत्या छ, लुटपाट छ, जताततै त्रासैत्रास छ
अन्योल छ, अन्याय छ, भ्रष्टाचार र ढिलासुस्ती छ
मनपरी छ, दादागिरी छ अनि ठूल्ठूला गर्जन छन्
विदेशी हस्तक्षेप छ, सिमाना अतिक्रमित छ/कहीँ नभएको जात्रा छ
के यो सब समाधान गर्न सक्छौ बाबुराम ?

भोको कालीकोट रासन मागिरहेछ/सुन्दर पोखरा पर्यटक मागिरहेछ
फोहोरी काठमाडौँ स्वास्थ्य मागिरहेछ/असुरक्षित तराई सुरक्षा मागिरहेछ
विकट पहाड सुविधा मागिरहेछ
कति धेरै छन् यहाँ, आ-आफ्ना राज्य माग्ने
तिम्रै आफन्त होलान् शरण माग्ने/कार्यकर्ता होलान् गतिलो जागिर माग्ने
के यो सबको इच्छा पूरा गर्छौ बाबुराम ?

तिम्रो मीठो बोलीले कसैको पेट भरिँदैन
तिम्रो देश-विदेशको दौडाहाले कसैको धोती फेरिँदैन
सहयोगका नाममा विदेशी हस्तक्षेप बढ्ला
तर यस चालाले स्वाभिमान जोगिँदैन
म यहीँ जीविका चलाउन चाहन्छु
के गर्न सक्छौ बाबुराम मेरा लागि ?

नेपाल साप्ताहिक अंक ४७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *