टुट्टी सक्यो नाता हाम्रो
छुट्टी सक्यो साथ पनि,
कहिलेसम्म बस्ला माया
मनमा मिठो याद बनी ।।१।।
एकैछिन टाढा हुदाँ म
मलाई खोज्दै भौतारिन्थ्यौ,
तिमीले मलाई छाड्यौ भनी
रिसाई मसँग बटारिन्थ्यौ ।।२।।
तिमीले भुल्यौ काखमा मेरो
रुदै गरेका बात पनि,
कहिलेसम्म बस्ला माया
मनमा मिठो याद बनी ।।३।।
कसिलो हाम्रो सम्बन्धको डोर
यतिकै खुकुलो भै गयो,
तिमी जाँदा छचल्किएका आँसु
टम्म गहभरी रहिरह्यो ।।४।।
गन्तव्यसम्म पुराउने अब
छुटे तिम्रो हात पनि,
कहिलेसम्म बस्ला माया
मनमा मिठो याद बनी ।।५।।
आँखा चिम्म गर्दा पनि
तिम्रै प्रतिविम्व मनमा कल्पन्छु,
सँग सँगै हिडे्का हामी
लेक–बेसी सधैं सम्झन्छु ।।६।।
सम्झी तिमीलाई कोल्टो र्फेदै
तित्दैछन् काला रात पनि,
कहिलेसम्म बस्ला माया
मनमा मिठो याद बनी ।।७।।
………दर्पण
