पत्रकार एवं साहित्यकार स्व वासु रिमाल ‘यात्री’ आफ्ना लेख, निबन्ध, समालोचना, कविता एवं दार्शनिक चिन्तनका कारण नेपाली साहित्यमा परििचत छन् । उनको निधनको एक वर्षपछि प्रकाशित स्मृति विम्बभित्र वासु रिमाल ‘यात्री’ स्मृतिग्रन्थले उनलाई अझ फराकिलो ढंगले चिनाउने प्रयत्न गरेको छ ।
रिमाललाई सकेसम्म नजिकबाट चिन्ने र उनका समकालीन साहित्यिक एवं अन्य व्यक्तित्वका विचारलाई ग्रन्थमा स्थान दिइएको छ । ग्रन्थमा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, पत्रकार, सामाजिक कार्यकर्ता र केही वेदान्तविद्का ४३ नेपाली र ३ अंग्रेजी आलेख, परिवारका १२ सदस्यको सम्झना-विम्ब र दुई कविताका साथ परििशष्ट समावेश गरिएको छ । स्मृतिग्रन्थले रिमालका अप्रकाशित/अनुलेख्य धेरै कुरा प्रकाशमा ल्याएको छ । यसरी विभिन्न कोण र क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गरिएको छ ।
६९ वर्षको उमेरमा मस्तिष्कघातबाट ०६६ सालमा दिवंगत रिमालको नेपाली साहित्यप्रतिको त्याग, तपस्या, साधना र अनुसन्धानको अभिलेख बनेको यस स्मृतिग्रन्थले नेपाली साहित्यमा रिमाललाई कालान्तरसम्म बचाइरहनेछ । त्यसैका आधारमा उनी आमनेपाली र अझ खासगरी नेपाली साहित्याकाशमा युगयुगसम्म सम्झिइरहनेछन् ।
विश्वका महान् व्यक्तिहरू जीवनीसंग्रह, केही साहित्यिक चिन्तन समालोचनासंग्रहका अतिरिक्त पछिल्लो समयमा प्रकाशित वेदान्त विश्वकोश १ र २ उनका चर्चित कृति हुन् । त्यसैगरी, विदेह द्वैमासिकको संस्थापक सम्पादक रहेका उनले बालक बालपत्रिकाको पनि सम्पादन गरेका थिए । उनकै सम्पादन र सक्रियतामा रासस शैली पुस्तिका पनि प्रकाशित भएको थियो ।
यसमा स्मृति लेखहरूको संग्रह मात्र होइन, वासु रिमालका केही रचनालाई पनि ठाउँ दिइएको छ । वासुका केही हस्तलिखित कविता, अन्तिम दैनिकीका उद्गारलाई पनि स्थान दिइएको छ । वासु रिमाललाई चिन्न, उनको व्यक्तित्व र कृतित्वलाई एकै ठाउँमा पढ्न अवश्य पनि यस ग्रन्थले सघाउ पुर्याउने आशा गर्न सकिन्छ । नेपाली साहित्य, संस्कृति र पत्रकारतिाको क्षेत्रमा अजर/अमर वासु रिमाल ‘यात्री’का बारेमा प्रकाशित यस स्मृतिग्रन्थले मूलतः उनी सरल जीवन र उच्च चिन्तनका धनी रहेको पुष्टि गरेको छ । उनको यही चिनारीको वरपिरि नै यस ग्रन्थका सबै आलेखका आशय लुकेका छन् भन्दा अत्युक्ति हुँदैन ।
ईश्वरी ज्ञवाली
नेपाल साप्ताहिक अंक ४७३
