तपाईंलाई सायद विश्वास नलाग्ला, कहीँ बाघसँग खेल्न सकिन्छ र ? खोर भए पनि बाघ आखिर बाघ नै हो। त्यो हिंस्रक जनावरको के भर ? मलाई पनि सुरुमा त्यस्तै लागेको थियो। तर, तालिमप्राप्त बाघसँग खेल्न सकिँदो रहेछ। थाइल्यान्डको चियाङमाई सहरको ‘टाइगर किङ्डम’का बाघ-बघिनीहरू मान्छेसँग खेल्दा पनि रहेछन्। टाइगर किङ्डम हेर्न देशविदेशबाट थुपै दर्शक त्यहाँ आउँदा रहेछन् र थाइल्यान्डले त्यसबाट राम्रै आम्दानी पनि गर्दोरहेछ।
थाइल्यान्डको केही दिनको बसाइमा छोटो समय चियाङमाई घुम्ने मौका पाएको थिएँ मैले पनि। एउटा सेमिनारमा भाग लिने क्रममा बैँककबाट थाई एयरवेजको उडानबाट झन्डै एक घन्टाको दूरीमा रहेको सुन्दर सहर चियाङमाई पुग्दा मलाई आफ्नै देशको कुनै सुन्दर उपत्यका, अझ भनौँ पोखरा पुगेजस्तो लाग्यो। जताततै हरयिाली, स-साना पहाड, सुन्दर सफा सडकहरू, लहलहाउँदा खेत, लटरम्म बालीहरू। अन्तर्राष्ट्रिय सहरको झल्को दिने अग्लाअग्ला भवनहरू। तर, हाम्रो पोखरामा जस्ता तालहरू भने देखिएनन्। चियाङमाई विमानस्थलमा एक जना थाई केटी मेरो नामको कार्ड लिएर बाहिर उभिइरहेकी देखेँ अनि मैले हात हल्लाएँ। मैले आफ्नो परचिय दिएपछि उनले पनि आफ्नो परचिय दिइन्। कति मिजासिली र भद्र ! जति बोल्दै गयो शिर झुकाएर लजालु पाराले बोल्ने। उनी सेमिनार आयोजक संस्थाबाट आएकी रहिछन्।
“डू यू ह्याभ अ म्याप अफ चियाङमाई ?” मैले सोधेँ। “नो ह्याभ,” उनको उत्तर सुनेपछि मलाई भित्रभित्रै हाँसो उठ्यो। धेरै थाइल्यान्डबासी प्रश्नको उत्तर दिँदा प्रायः सीधा उत्तर दिने गर्छन्, त्यसरी नै। ‘क्यान यू …’ भनेर केही सोधेमा ‘नो क्यान’ वा ‘क्यान्नन्’ भनेर जवाफ दिने गर्छन्। अलि अनौठो पनि लाग्छ। सायद तपाइर्ंहरू धेरैले थाइल्यान्डमा यस्तो अनुभव गर्नुभएको होला। भाषाको करामत नै होला, राम्ररी नजानेपछि के लाग्छ र ?
हाम्रो कार सहरको बीचोबीच हुँदै ‘डाउनडाउन’मै रहेको होटल ‘अमारी रन्िकोम’मा पुगेर अडियो। होटलमा ‘चेकइन’ गरेर म आफ्नो कोठातिर जानुअघि ती थाई सुन्दरीले कार्यक्रमको सेड्युल दिएर मसँग बिदा भएर गइन्।
भोलिपल्टदेखि सेमिनार सुरु भयो तर बिहान-बेलुका भने चियाङमाई घुम्ने क्रम हरेक दिन जारी रह्यो। पाकिस्तानका अझम अली, श्रीलंकाका दिसा नाइके र बेलायतका रवर्ट पनि त्यही होटलमा बसेका रहेछन् र दिसा नाइकेबाहेक अरूचाहिँ त्यही सेमिनारमा सहभागी थिए मजस्तै। हामीहरू प्रायः सँगै घुम्ने गर्थ्यौं। लन्च र डिनरको समयमा अझम अलि कन्जरभेटिभ थियो, मासु खान नमान्ने, दिनमा तीन-चारपटक नमाज पढ्ने। कट्टर मुसलमान रहेछ अझम। हामीहरू उसलाई जिस्क्याउने गर्थ्यौं बैँककमा। यो सहर सुन्दर, रमाइलो र घुम्न सहज, मान्छेहरू पनि रसिला र सहयोगी लाग्थ्यो। बैँकक जति व्यस्त, त्यति नै भीडभाडयुक्त पनि। साँझ पर्यो कि रवर्ट र दिसा नाइके मसाज र नाइट क्लब जाने कुरा गर्थे। मसाज पनि थरीथरीका। तर, राम्राराम्रा तरुनी भएका थाई ट्रेडिसनल मसाज सेन्टर छानीछानी जान खोज्थ्यो रवर्ट। यस्ता ट्रेडिसनल मसाज सेन्टर खुला कोठामा सबैले देख्ने गरी सञ्चालन गरिएको हुँदा अन्यथा अर्थ लगाउन भने मिल्दैनथ्यो। सहर एकदम व्यस्त देखिन्थ्यो, जतिजति रात छिप्पिँदै जान्थ्यो, सहर झन्झन् जवान भएको महसुस हुन्थ्यो
शनिबारको दिन सप्ताहान्तको छुट्टी भएकाले हाम्रो सेमिनार आयोजक संस्थाले चियाङमाईभन्दा अलि टाढै रहेको ‘टाइगर माउन्टेन’ घुमाउने योजना बनाएको रहेछ । जस्तो ः बाघसँग खेल्न पाइन्छ भन्ने सुन्दा अचम्म लाग्थ्यो। सीधै झम्ट्यो भने ? घाँटीमा पञ्जा जमाएर रगत चुस्यो भने ? एक मनले त नजाउँ पनि लागेको थियो। तर, सबै जना जाँदा किन नजाने ? मनमा उत्सुकता पनि थियो। नभन्दै हामी सहभागीहरू पुग्यौँ त्यहाँ।
बिहान ९ बजेदेखि राती ९ बजेसम्म खुल्ने चियाङमाईको मेरमि भन्ने ठाउँमा रहेको यो टाइगर माउन्टेनमा विभिन्न उमेर समूहका तालिमप्राप्त बाघ/बघिनीहरूलाई केज (खोर)मा राखिएको रहेछ । अत्यन्त व्यवस्थित रहेछ यो ठाउँ। टिकट काटेर भित्र छिर्यौँ हामी। प्रत्येक उमेर समूहका खोरमा एक-दुई जना गाइड हुँदा रहेछन्, लामालामा छडी लिएर बसेका। कुनै बाघले आगन्तुकलाई आक्रमण गर्न खोजेमा बाघको नाक, टाउकोमा छडीले हिर्काइदिँदा रहेछन् गाइडले। हामीलाई सबैभन्दा धेरै उमेर भएका बाघ/बघिनीहरू भएको खोरमा लगियो । खोर भनिए पनि झन्डै खुला ठाउँजस्तै लाग्ने ठाउँमा आगन्तुकहरूले बाघ/बघिनीहरूसँग साक्षात्कार गर्न पाइने रहेछ । हामी १४/१५ जना विभिन्न समूहमा बाँडिएर बाघहरू हेर्दै, छुँदै, सुम्सुम्याउँदै गयौँ। बेलाबेलामा गाइड छडीले बाघलाई हिर्काउँथ्यो। अमेरकिाकी न्यान्सी डरले छेउ नै पर्दिन थिइन्। रवर्टलाई झन्डै झम्टिएकी थिई एउटी बघिनीले। यही क्रममा वयस्क बाघ हुँदै अलि कम उमेरका बाघ/बघिनीसँग घुमाउँदै लगियो हामीलाई। सबैभन्दा सानो उमेरका बाघ/बघिनीको खोरमै हामीलाई जान भनियो, गाइड पनि सँगै थिए । ती बाघ कोही मस्तसँग सुतिरहेका, कोही खेलिरहेका थिए। हामीहरू पनि एक-दुई जना गरेर पालैपालो खोरमै छिर्यौँ र बाघहरूसँग खेल्यौँ। मलाई सुरुमा त धेरै डर लाग्यो, कोपरहिाल्छ कि भनेर। यो विरानो ठाउँमा बाघको आक्रमणमा परेर मरियो भने ? तर, ती बाघ त साथीजस्तै गरेर खेल्दा रहेछन् मान्छेसँग । कतिपय बाघ त मान्छेको शरीरमा चढ्ने, मान्छेको गाला चाट्ने पनि गर्दा रहेछन् बाबै नि ! त्यही बेलामा घाँटीमा पञ्जा गाड्यो भने ?
पर्यटकहरू घुम्दै फोटो खिच्दै गर्दै थिए, हामीले पनि केही फोटोहरू खिच्यौँ। अत्यन्त रोमाञ्चक क्षण थियो त्यो। केही घन्टा त्यहाँ बिताएर हामी चियाङमाई फर्कियौँ।
चियाङमाईमा घुम्नलायक थुप्रै ठाउँ छन् । सफारी पार्क, दोई, सुथेम र र्याफ्टिङ्, नेसनल पार्क आदि, आदि। सबै ठाउँमा घुम्ने अवसर त मिलेन तर पनि जति घुमियो निकै नै रमाइलो अनुभूति भयो।
यो समेत गरी मैले आठपटकसम्म थाइल्यान्डको भ्रमण गरेछु तर यसपटकको चियाङमाई बसाइजस्तो रमाइलो कहिल्यै भएको थिएन। साँच्चि नै स्मरणीय रह्यो यो यात्रा। जीवनमा सधैँ नै हतार हुँदोरहेछ। समय कहिल्यै नपुग्ने, समयले कहिल्यै नपर्खने ! कतिपय मीठा यात्राहरू सम्झँदा लाग्छ, फेरि त्यो समय फर्केर आए हुन्थ्यो।
सेमिनार सकिएपछि बैँकक फर्कें। एकरात वायरलेस रोडस्थित होटल सेन्टर पोइन्टमा बिताएर भोलिपल्ट बैँककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ फर्किएँ, रमाइला र मीठा यादहरू सँगाल्दै। मलाई लाग्छ, त्यहाँ पाहुनालाई जुन हार्दिक आतिथ्य दिइयो, हामीकहाँ पनि त्यस परम्परालाई अनुकरण गर्न सके कस्तो राम्रो हुन्थ्यो !
नेपाल साप्ताहिक अंक ४७१
