एक जना अधबैँसे व्यक्ति म बसेको ठाउँमा आइपुगे र खुट्टा समाते। “सा’ब, मेरी छोरीलाई बचाइदिनूस्, ऊ मर्न आँटी।” उनले दुवै हात जोडेर मसँग अनुरोध गरे, उनको बिरामी छोरीलाई बचाउनका लागि।
म कुनै मेडिकल डाक्टर होइन। म कुनै वैद्य नि होइन। उनको छोरीलाई हेरेर मैले कसरी भन्न सक्छु, उनलाई यो रोग छ। म कसरी औषधी दिनसक्छु बिरामीलाई? मसँग रोगसम्बन्धी कुनै औषधी नै छैन।
म एलडीओ अर्थात् स्थानीय विकास अधिकारी। दुर्गम हुम्लाको पनि दुर्गम गाउँ छिप्रा पुगेका बेला राति बास बसेको घरमा ती व्यक्ति आएर मलाई जसरी अनुरोध गरे, त्यसलाई अस्वीकार गर्नु मेरो मान्यता र मानवीय धर्मको विपरीत हुन्थ्यो।
तिनी यस्तै ५०-५५ वर्षका देखिन्थे तर खास उमेर ४० को हाराहारीमा रहेछ। ख्याउटे कालो वर्णको अनुहार, दुइटा गहिरा खोबिल्टाभित्र पिर्लिकपिर्लिक गर्ने आँखा, जिङ्गि्रंग कपाल, पाँच-सात ठाउँ टालेको दौरा र सुरुवाल, कम्मरमा पटुका र फाटेको टोपीले ढाकेको टाउको। यो सब हेर्दा उनको दयनीय आर्थिक विपन्नताको अनुमान सहजै लगाउन सकिन्थ्यो। यस अर्थमा भन्नुपर्दा, उनी नेपाल र नेपालीको वास्तविक प्रतिनिधि थिए।
दियालोले बाटो देखाउँदै उनी अगाडि हिँडे। म र मेरा साथमा दुई जना व्यक्ति पनि उनका पछाडिपछाडि हिँड्दै गयौँ। उनी पटकपटक लामो सुस्केरा छोडिरहन्थे। उनी बाटोमा यसरी अगाडि बढिरहेका थिए, मानौँ उनलाई हामी पछाडि छौँ भन्ने हेक्का नै थिएन। उनको गति पछ्याउन मलाई हम्मेहम्मे परिरहेको थियो। वास्तवमा मैले उनलाई कसरी पछ्याउन सक्थेँ र? काठमाडौँमा हुर्केको मान्छे, हुम्ला पुग्नु नै धेरै ठूलो कुरा थियो मेरा लागि। त्यसमा पनि पहाड चढेको भनेको कहिल्यै होइन। उकालो चढेको कुरा गर्ने हो भने स्वयम्भू र मनकामनाको उकालो एक-दुईपटक उक्लियो। त्यत्ति हो।
हुम्ला जानु मेरा लागि साहसिलो पाइला थियो। नेपालको सामाजिक, आर्थिक र भौगोलिक यथार्थलाई काठमाडौँले प्रतिनिधित्व गर्दैन। काठमाडौँलाई हेरेर मात्रै नेपालको चित्र कोर्न र यसको स्पन्दनलाई अनुभूत गर्न सकिन्न भन्ने अनुभव गरेर नै वास्तविकताको नाभी छाम्न हिँडेको म, जस्तोसुकै कठिनाइसँग जुध्न मनोवैज्ञानिक रूपमा तयारै थिएँ।
तथापि, म अँधेरो र उकालो बाटोलाई ताछ्दै उक्लिँदै थिएँ। आधा घन्टाको उकालोमा तीनपटक त भुइँमा लडेँ, पाइला ठम्याउन नसकेर। मसँगै हिँड्ने सहयोगीले काठको लौरो दिँदै भने, “सा’ब, यो लौरो टेकेर हिँड्नूस्, सजिलो हुन्छ।”
म लौरो लिएर उक्लिन थालेँ, विस्तारैविस्तारै। जाडोको मौसम भए पनि पसिनाले शरीर निथ्रुक्क भइसकेको थियो।
दियालोको उज्यालोले कोठाको अँधेरोलाई चिर्न खोजेजस्तो थियो। कोठाको एउटा कुनामा बिरामी महिला सुतिरहेकी थिइन्। अँगेनोमा सल्लाको दाउराको आगो बलिरहेको थियो। निस्सासिने खालको गन्धले कोठा पुत्ताइरहेको थियो। तथापि, आगोले न्यानो फ्याँकिरहेको थियो। पूरै कोठाभित्र उज्यालो नपरे पनि बिरामी सुतेको भुइँमा मन्द प्रकाश थियो र त्यही प्रकाशभित्र बिरामी भनिएकी महिलाको अनुहार स्पष्ट देखिन्थ्यो।
“ए ठूलीकी आमा, सा’ब आ’का छन्। लिउ बिछा त,” भानबहादुरले आफ्नी श्रीमतीलाई अह्राए।
श्रीमतीको हातबाट लिउ लिए र टकटक्याउँदै भुइँमा बिच्छाए उनी आफैँले। पोरोभरि धूलैधूलो पस्यो। हातले नाक बन्द गरे। हाछ्यूँ आउलाजस्तो भयो तर आएन। उनले मैलो करुवाभरि पानी ल्याएर दिए। मलाई करुवाको त्यो पानी खाने आँट आएन। यद्यपि, उकालोको हिँडाइले प्यास लागेको थियो र आफ्नै झोलाबाट तुम्लेट झिकेर पानी पिएँ।
“सा’बहरूलाई हाम्ले खान्याजस्तो पानी चल्दैन। के गर्न्या सा’ब दुःखारीको अरू के छ र दिन्या?” भानबहादुरले मैले पानी नखाएकामा खासै आश्चर्य मानेनन्। बरु आफैँले मुख आँ आँ गर्दै करुवाको टुटीबाट पानी खान थाले, क्याँकल्याँक, क्याँकल्याँक …। उनको रुद्रघन्टी तलमाथि तलमाथि गरिरहेको थियो इन्जिनको पिस्टनझैँ।
“सा’ब, यो छोरी १७ वर्षकी भई। तीन वर्षअगाडि ब्या गरििदया हो। १४ वर्षको उमेरमा। ज्वाइँको घर, पल्लो गाउँ हो। बिरामी भएर घरमा आ’की छ। मर्न आँटी-उपाय गर्दिनुपर्यो हजुर!” शिरको टोपी दुई हातले झिकेर मेरो गोडाको छेउमा राख्दै उनले छोरीको जीवनको भीख मागे। आँखाबाट बरर्र आँसु झारे र भने, “हामी गरिबलाई हेर्न्या कोई नाई सा’ब! जो छन्, माथि नै छन्। ह्याँ कोई आउन्या पनि नाइँ। कख्खामा गएर बिन्ती बिसाउन्या हो?”
उनको करुण व्यथाले मेरो भित्रको मनलाई बेस्कन हुँडेल्यो। तर, मैले त्यहाँ गर्न सक्ने खासै केही थिएन। मैले सोधेँ, “छोरीलाई के भएको छ?”
जवाफ दिए, “सा’ब, छोरी दोजिया भएको १० मैना भै गया। ऐलेसम्म बच्चा जन्म्या नाइँ।” बिरामीको पेटतिर देखाउँदै भने, “हेर्नूस्, उसको हालत !”
अर्धचेतमा भएकी ती महिलाको आँखा हेरेँ, रगत थिएन। आँखा भित्र धसिएका थिए। गालाको दुइटा हड्डी ख्वात्तै बाहिर निस्केका थिए। गाला स्याप्पै सुकेका थिए। मुस्किलले थुक निलिरहेकी छ जस्तो लाग्थ्यो। उसको गालामा हात राख्दा आँखाबाट बगेका तातो आँसुले मेरो संवेदनालाई चिमोटिरहेको थियो। ती महिलाको उमेर मेरी छोरीकै उमेर बराबर भए पनि उनको हालतले उनलाई उमेरभन्दा धेरै बूढी बनाएको थियो। हात लगेर विस्तारै पेटको दायाँबायाँ चलाएँ। पेटमाथि कान राखेर सुन्न खोजेँ। अहँ, त्यहाँ कुनै हलचल थिएन। कुनै जीवन थिएन। त्यो एउटा गम्भीर अवस्था थियो। तत्काल उपचार नपाए बिरामीको जीवन जान सक्ने स्थिति थियो। स्वास्थ्यसम्बन्धी मेरो सामान्य ज्ञानले त्यही कुरा देखिरहेको थियो।
मैल भानबहादुरलाई अलि छेउमा ल्याएर भनेँ, “स्थिति गम्भीर छ। नेपालगन्जसम्म जाने-आउने प्लेनको टिकट काट्ने व्यवस्था म गर्छु। बिरामीलाई लिएर भोलि बिहानै सिमीकोट जानूस्। पर्सिको प्लेन चढेर नेपालगन्ज पुग्नूस्। अस्पतालमा तत्कालै उपचार भयो भने छोरीको स्वास्थ्य समस्या हल हुन्छ। तर, ढिलो नगर्नूस्।”
मेडिकल किटबक्स झिकेर भिटामिन बी कम्प्लेक्सको १० चक्की दिएँ। उनको अनुहारमा सानो चमक देखियो। त्यसले मलाई समेत तत्क्षणको दुइटा त्यान्द्रा बालेर माघ महिनाको जाडो कटाउन खोज्नुजस्तै थियो। फिल्डतिर जाँदा औषधीको किटबक्स बोक्ने बानीले राम्रै गर्दोरहेछ भन्ने लाग्यो यतिखेर। तर, मैले दिएको औषधीले केही गर्नेवाला थिएन। त्यो मैले मात्र होइन, भानबहादुरले पनि बुझेका थिए। यति हुँदाहुँदै केही चमत्कार भइहाल्छ कि भन्नेसम्म उनले सोचेका हुन सक्छन्। त्यो बेग्लै कुरा हो।
उनलाई उनकी छोरीको व्यथाको संवेदनशीलता र गम्भीरताका बारेमा राम्रैसँग बुझ्ने गरी भनेँ, “हेर्नूस्, भानबहादुरजी, ज्यानभन्दा ठूलो कुरो अरू केही होइन। पेटको बच्चा जीवित छ जस्तो मलाई लाग्दैन। अपरेसन गर्नुपर्छ होला। छोरीको ज्यान बचाउने काम नै अहिलेको प्रमुख काम हो। त्यसैले यसैमा तपाईं लाग्नूस्।” म हिँड्न खोजेँ।
बिरामी छोरीले मतिर हेरनि्। आँखाबाट बरर्र आँसु खसालिन्। विस्तारै बोलिन्, “सा’ब, म मर्ने भएँ।” छेउमै बसिरहेकी उनकी आमा रुन लागिन्, “सा’ब, क्यै गर्न सकिएन।”
कामै नलाग्ने सान्त्वनाका शब्दहरू नै मैले बाँड्ने औषधीका ट्याब्लेट थिए त्यहाँ। त्यही बाँडेँ र हिँड्न लागेँ।
हिँड्नुअघि वायुसेवा निगमका स्टेसन इन्चार्जलाई चिट्ठी लेखेर भानबहादुरको हातमा राख्दै भनेँ, “यो चिट्ठी सिमीकोट पुगेर स्टेसन इन्चार्जलाई दिनूस्। तपाईंसहित तीन जनाको जाने-आउने टिकट उनले दिनेछन्। पैसा तिर्नुपर्दैन। म तिरििदउँला। बाटो खर्चका लागि एक हजार रुपियाँ लिनूस्।”
उनका आँखाबाट फेरि आँसु खसे, “सा’बको जय होस् !” लाली, श्रीनगर, मैला हुँदै एक सातापछि फर्कँदा त्यही गाउँमा पुनः मेरो बास भयो। भानबहादुरकी छोरीको स्थिति कस्तो होला भन्ने लागिरहेको थियो। मलाई लाग्यो, अहिले नेपालगन्जमा उनको उपचार राम्रोसँग भइरहेको होला। म अनुमान गरिरहेको थिएँ।
बास बसेको घरमा एक साताअगाडिको कुरा सम्झाउँदै मैले सोधेँ, “भानबहादुरकी छोरीलाई नेपालगन्जबाट कहिले ल्याउँछन्? क्यै खबर आ’ छ?”
घरबेटीले भने, “काँ सा’ब, भानबहादुरको ज्वाइँले छोरीलाई लग्नै दिएन। उसकी छोरी त हिजै मरी।”
“मरी?” मेरो मुखबाट एक्कासि निस्क्यो। “नेपालगन्ज लगेनन् उनीहरूले?” मैले सोधेँ।
भानबहादुरको ज्वाइँले आफ्नी श्रीमतीलाई नेपालगन्ज लगेर लाग्ने खर्चको हिसाबकिताब गरेछ। उसको हिसाबले कम्तीमा पनि २० हजारजति खर्च लाग्ने ठहरेछ। अनि उसले भनेछ, स्वास्नीको उपचारमा २० हजार खर्च गर्नुभन्दा ऊ मरेपछि अर्की स्वास्नी ल्याउँदा सस्तो पर्छ ! अर्की स्वास्नी ल्याउँदा १० हजारजति खर्च गरे पुग्छ रे ! बीस-बीस हजार खर्च गरेर बिरामी स्वास्नी बाँच्छे भन्ने के ठेगान? स्वास्नी त हो- एउटी जान्छे, अर्की आउँछे रे!
मेरा आँखा रसाएर आए।
अहिले म सोल्टी होटलको मेघा हलमा बसिरहेको छु। ‘महिला उत्थान’ नामक संस्थाले आयोजन गरेको दुर्गमका महिला सचेतना कार्यक्रमको उद्घाटन गर्न मन्त्रीसहित सम्भ्रान्तवर्गका महिलाहरू डायसमा बसिरहेका छन्। भाग लिने महिलाहरू सुकिला छन्, टाढैबाट अत्तरको वासना आउँछ। अंग्रेजीमा कुरा गर्दैछन्, एकापसमा। छेउमा लन्च तयार छ र हल्का पेय पदार्थ बोकेर वेट्रेसहरू आदेशको पर्खाइमा छन्, सर्भका लागि। श्रोताहरूमा अधिकांश पुरुष नै देखिन्छन्। हुम्ला, डोल्पा, मुगुको काल्पनिक चित्र कोरेर डायसमा बसेकाहरूले त्यहाँका महिलाको उत्थान गर्नेसम्बन्धी भाषण गर्दै थिए। मन्त्रीले उद्घाटन गरेको कार्यक्रमको पृष्ठभागमा अंग्रेजीमा लेखिएको थियो, ‘वी मेक टुमारो हैपेन।’
नेपाल साप्ताहिक अंक ४७०
