Skip to content


कहिले बाढीको पीडामा,
कहिले खडेरीको चपेटामा,
असार मुस्किलले रोपियो,
मङ्सिर फलाउने आशामा ।
यसपाला चौथी आएन गाउमा,
न त काटिए उखुका लाक्राहरू,
न काटिए दसैका केराका घारीहरू ।
दसै त आयो,
आएनन् परदेशिएका लाठेहरू,
न त बाटियो लठारो,
न काटिए पिङ्का लिङ्गाहरू,
न त बनाइयो सिमलका हा“गामा पिङ् ।
तिहारमा मखमली र सयपत्री,
टम्मै फुल्यो कान्लाभरि,
तर यसपालि माला उनिएन,
रित्तै बसे दिदीबहिनीका हात ।
स-साना भाइबहिनीहरू,
थोरै रमाए द्यौसी र भैलोमा,
यसपाला ढेका१ बाटिएन गाउमा,
भिजाएर पराल काम चलाइयो ।
सोरैया२ बिटाहरू बाधिएनन् धानका,
सिङ्गै बासको मियो पनि गाडिएन,
सुनिएनन् खमारभा दाइगीतहरू,
सिसौको छोटो मियोले चलाइयो काम
त्यसैले गोरुको पाना३ तिर्न सकेन रतियाले,
गाउमा यस्तै भयो यसपालि,
असार रोपे पनि मङ्सिर फलेन ।

१. परालको धान बाध्नका लागि प्रयोग गरिने डोरी
२. १६ बिटा धानको बोझाको समूह
३. आफनो गोरु नहुने किसानले अर्काका गोरु जोतेबापत तिर्नुपर्ने ८ मन धान -गोरुको पारिश्रमिक

नेपाल साप्ताहिक
अंक ११४

Leave a Reply

Your email address will not be published. Required fields are marked *