Skip to content


रोबोटको निधार, छाती, कुम र घुँडामा जडित हरिया, राता र पहेँला बल्बहरू जल्न थाले, पल्याक-पुलुक पल्याक-पुलुक । लुनार अडिटोरियमको भिडमा कौतूहलपूर्ण मौनता छायो । प्रक्वणतिर फर्केर रमणले आदेश दिन थाले- “प्रक्वण दश पाइला अघि बढ ! प्रक्वण तिमी मलाई सुन्दै त छौ हैन ? दश पाइला अघि बढ … प्रक्वण ।” यन्त्रमानवले कुनै प्रतिक्रिया देखाएन, अचल-स्थिर रहिरहृयो । बल्बहरू मात्र जलिरहे ।

कुरा अलि पुरानै हो । विज्ञान जगत्मा आधुनिक यन्त्रमानव अर्थात् रोबोटको अन्वेषण प्रारम्भिक चरणमा थियो । अमेरिकाको वेसकन्सिन विश्वविद्यालयबाट रोबोटिक्स अन्तर्गत ‘सेल्फ रेप्लिकेटिङ मेसिन मोड्युल’ मा नेपाली वैज्ञानिक डा. रमण शर्माले भर्खरै विद्यावारिधि सकेका थिए । विद्यावारिधि गरे लगत्तै उनी त्यहाँको ‘नेसनल एकेडेमी अफ साइन्स’ मा अत्याधुनिक रोबोटको अन्वेषणमा आफ्नो भाग्यको परीक्षा दिँदै थिए । एकेडेमीमा अनुसन्धानरत विभिन्न देशका वैज्ञानिकमाझ उनी रमणबाट ‘रबर्ट’ मा भाषान्तरित भएका थिए । उनको अविराम तपस्याको प्रतिफल एउटा अर्वाचीन यन्त्रमानव ‘मोडर्न हृयुम्यान्वाइड मेसिन’ को आविर्भाव भयो । त्यो समयको त्यस्तो अभिनव लब्धसिद्धि वास्तवमा एउटा महान् आश्चर्य थियो । एकेडेमीले त्यो नौलो उपलब्धिलाई अति महìव दिई त्यसको प्रथम प्रदर्शन एकेडेमीकै अत्याधुनिक वास्तुअनुकूल खडा गरिएको ‘लुनार अडिटोरियम’ मा गर्ने घोषणा समेत गर्‍यो ।

पूर्व घोषित मिति र समयमा देश-विदेशका वैज्ञानिक साथै अन्य क्षेत्रका व्यक्ति अडिटोरियममा भेला भइसकेका थिए । हलभित्रको झिलिमिल चमकदमकमा मानिसहरू तरल प्रकाशमा नुहाइरहेका जस्ता देखिन्थे । निर्धारित समयमा जवानीका (पर्दा) माथि उठ्दै, खुल्दै गयो । मञ्चको मध्य भागमा रबर्ट र रोबोट दुवै मुस्कुराउँदै र हात हल्लाउँदै देखिए । तालीको गड्गडाहट र सोको अनुनादले अडिटोरियम कम्पायमान भयो । साथसाथै प्रशंसा र सम्मानमा बसिरहेका दर्शक जुरुक्क उठे । रबर्टमा रूपान्तरित रमणले सोचे- “आहा ! एउटा स्वप्न सम्झनाको प्रत्यक्ष रूप… यो क्रम अनन्त..सम्म रहिरहोस् ।” उनले थोरै झुकेर अभिवादन गर्दै सबैलाई बस्न अनुरोध गरे । रोबोट उनकै उचाइ, उनकै आकार र उनकै अरुणित वर्णमा आलोकित थियो । स्तब्ध नीरवताको बीचमा रोबोट कुनै रुक्मकारको सिद्धहस्त सील्पले ढालिएको सिर्जना देखिन्थ्यो । सबका मन-मस्तिष्क साथै अपलक नेत्र ती बेजोड मानव र यन्त्रमानवमा केन्दि्रभूत भए । सभाकक्षमा हृदयका धड्कनसँगै ध्वनि स्थिर रहन गयो । डा. रमणले बोल्न सुरू गरे- “महिला तथा सज्जनवृन्द ! नयाँ वर्ष सन् १९७२ को शुभ-आगमनको शुभकामना साथै सु-स्वागतम् छ यहाँहरू सबैलाई ।” सभाले उनको हार्दिकतालाई कर्तल ध्वनिका साथ स्वीकार गर्‍यो । उनले कुनै कुरा घाँटीमा अड्की शब्द फुट्न अप्ठेरो भए जस्तो महसूस गरे र मूल विषयपक्षको व्याख्यान जारी राखे- “आदरणीय स्वनामधन्य महानुभावहरू, प्रथमतः म रमण यस रोबोटको न्वारन अर्थात् नाउँ दिन चाहन्छु । कार्य आरम्भदेखि म यस रोबोटिक उपकरणको नाउँको खोजीमा सोच्दै रहेँ । सन् १९२० तिर सुप्रसिद्ध चेक लेखक कारेल कारपेडले आफ्नो नाटक ‘रोजुम्स युनिभर्सल रोबोटास’ मा सर्वप्रथम यन्त्रमानवको परिकल्पना गरेका हुन् । यसर्थ चेक शब्द रोबोटाबाट आज रोबोट भएको छ । यस बेला मसँगै उभिएको यो रोबोटको शरीर सिलिकनको लेप लगाइएको इलेक्ट्रो एक्टिभ पोलिमरबाट बनेको छ । यसका प्रत्येक जोर्नीमा विभिन्न थरीका चुम्बकीय फेर्रोफ्लुडस् चलायमान छन् । यसमा जडित ब्याट्री सौर्य र विद्युतीय दुवै ऊर्जाबाट सञ्चालित हुन्छ । छ घन्टाको चार्जले यस रोबोटबाट आठ घण्टाको काम लिन सकिन्छ । समग्रमा यो ०, १ को बाइनरी ट्रेडिसन लजिक सिस्टममा आधारित डिजिटल प्रोग्रामेबल रोबोट मेसिन हो,” उनी अलि थकित भई टक्क अडिए र भनाइ जारी राखे- “अब म यसको मुख्य विशेषतामा प्रकाश पार्न चाहन्छु । यसकोे विशेषता मालिक वा स्रष्टाको आवाज ठम्याएर आदेश पालना गर्नु हो, जुन आवाज यसमा पूर्व संश्लेषण गरिन्छ । सोही स्वरधनीको मात्र यसले आदेश लिन्छ । अझ यसलाई स्वर-शनास्त यन्त्रमानव पनि भन्न सक्छौं । प्रयोगकर्ताको पिन कोडको कोड नम्बरकोे सहायताबाट एकभन्दा बढी व्यक्तिको आवाज पनि संश्लेषण गर्न सकिन्छ ।”

अहो ! कस्तो अद्भूत मेसिन मानव ! आवाजसहित अडिटोरियम तालीले गुञ्जायमान भयो ।

डा. रमण हर्ष नभोनदीमा तैरिन थाले । उनले भनाइ जारी राखे- “रोबोटको परिकल्पना वाङ्मय विधाबाटै भएको हो । प्रातःस्मरणीय मेरो हजुरबुबाले कुनै समयमा मलाई सर्वप्राचीन-समृद्ध संस्कृत वाङ्मयमा एउटै शब्दका अनेकौं पर्यायवाची हुन्छन् भन्नुभएको थियो । मैले संस्कृत शब्दकोशको सहायता लिएँ । त्यहाँ आवाज शब्दका बहुआयामिक विकल्पहरू भेटेँ । जस्तो, ध्वनि, स्वर, नाद, रव, निनद, वैखरी, वाणी, आरव, अभिरुत आदि । सबैको उल्लेख उपयुक्त नहोला । मेरो विचारमा शब्द तरङ्गको सार भनेको मान्छेको अभिव्यक्तिको आत्मीय अभिव्यञ्जना हो । एउटा विकल्पमा मेरो चित्त अड्कियो । त्यही आवाजको अर्को पर्यायवाची शब्द नाउँ दिँदै मैले यसको नाम राखेँ प्रक्वन…प्रक्वण…प्रक्वण शर्मा..।”

दर्शक दीर्घाबाट आवाज प्रतिध्वनित हुन थाले- प्रक्वन..प्रक्वण शर्मा..। वाह ! क्या गजबको नाम ! श्रोताहरू कराउँदै थिए- अचम्मको, शानदार, डा. शर्मा गजबकै काम गर्‍यौ । उता वैज्ञानिक रमण भीडतर्फ हात हल्लाउँदै द्रवीभूत भएर सोच्न थाले- यो मेरो ‘द्वीज’ (दोस्रो सार्थक जन्म) हो । पश्चिम नेपाल सल्यानको विकट गाउँ कोर्बाङझिम्पेमा जन्मेको म । अहो ! के म साँच्चै अब मृत्युञ्जयी हुने भएँ ? दर्शकहरू भावावेगमा जुरुक्क-जुरुक्क उठेर कराउँदै थिए- “प्रक्वण..प्रक्वण…।”

अडिटोरियमको होहल्ला अलिकति मत्थर भएपछि डा. रमणले पुनः बोल्न थाले- “केही दिन पहिले यसमा मेरो आवाज संश्लेषित गरिएको छ । यसकारण अहिले मेरो आदेश मात्र प्रक्वणले पालना गर्नेछ ।” पुनः केहीबेर ताली बजिरहृयो । एउटा अलौकिक प्रभाको आनन्दले उनको गला अवरुद्ध बन्यो । उनको स्मृतिमण्डलबाट ..उनको मातृभूमि, आमा, बाबु, गुरुजन प्रकट हुन थाले । विशेषगरी आफ्नो बाजेलाई सम्झे, जसले हात समातेर बाँसको कलमले लेख्न र कौमुदी, अमरकोष, पाणिनीको अष्टाध्यायी आदि थुप्रै गन्थहरू रटाएका थिए । रमण भावुक विभोर भई बर्बराए- “आहा ! धन्य हुन् मेरा महान् पूर्वज…अग्रज… धन्य छ मेरो अद्वितीय संस्कार साथै अद्भूत् आत्मज्ञानभित्रको पराविज्ञान दर्शन र मेरो जननी जन्मभूमि नेपाल ..” र अठोट गरे “म कुनै दिन स्वदेश फर्किनैपर्छ यो ज्ञानलाई मूर्त रुप दिन..।”

मञ्चको एउटा कुनामा उभिरहेका आफ्ना सहायक साइमनलाई उनले सङ्केत गरे । दुवै मिलेर पावर, सेन्सर, स्क्यानर अन गर्न लागे । रोबोटको निधार, छाती, कुम र घुँडामा जडित हरिया, राता र पहेँला बल्बहरू जल्न थाले, पल्याक-पुलुक पल्याक-पुलुक । लुनार अडिटोरियमको भिडमा कौतूहलपूर्ण मौनता छायो । प्रक्वणतिर फर्केर रमणले आदेश दिन थाले- “प्रक्वण दश पाइला अघि बढ ! प्रक्वण तिमी मलाई सुन्दै त छौ हैन ? दश पाइला अघि बढ … प्रक्वण ।” यन्त्रमानवले कुनै प्रतिक्रिया देखाएन, अचल-स्थिर रहिरहृयो । बल्बहरू मात्र जलिरहे । रमण तीन छक परे । छातीभित्र असमनीय राप उर्लंदै चिट्चिट् पसिना बग्न थाल्यो र अनुहार आशङ्काले कालोनीलो भयो । “के अचम्म भो ? हप्ता दिन अघिसम्म त यो परीक्षणमा सफल थियो । हे ईश्वर !” मान्छेका अनिमेष आँखा बन्दुकझैँं सोझिएका थिए । हतासिएर उनले पुनः आदेश दिन थाले- “प्रक्वण दश कदम अगाडि बढ.।” बारम्बार प्रयास गर्दै रहे तर प्रयास सब निष्फल । निमेषमै श्रीहीन शून्यतामा उनको श्वास-प्रश्वास बढ्नथाल्यो । विचरा रमणले सभातिर अनुनयपूर्ण नेत्र ओछ्याए । दर्शक दीर्घाब्ााट एक जना वैज्ञानिक चिच्याउँदै थियो- “हाम्रो अमूल्य समय बरबाद भयो… यो के जात्रा हो ? डा. रोबर्ट के तिमी पागल

भयौ ? कोलाहलमा अरू स्वर थपिँदै थिए- के ठट्ठा हो यो ? तिम्रो यो बेकामको प्रोजेक्ट बन्द गर । शब्द तरङ्गका व्यङ्ग्य वाण बर्सिन लागे । मानव भीड पातलिँदै गयो । अश्रुसलिल उनका आँखा अन्धकारको सघनतामा डुब्दै गए । वास्तवमा जीवनको क्षणभङ्गुरता र त्यसको मृतमय रूपसँग उनी साक्षात्कार गर्दै थिए । उनले कुनापट्ट िशिर निहुराएर बसेको सहायक साइमनलाई हेरे । लज्जित साइमन वेगले हराए । यो कस्तो स्थिति हो ? एकै छिन अघिको उत्कर्ष पवनक्रीडा क्षणमै अपकर्षमा भष्मीभूत ! हलमा बाँकी रहे त एक मानव र अर्को यन्त्रमानव ! प्रबल आन्तरिक तापले रमण उकुसमुकस भए । स्कब्स (प्रयोगशालामा लगाइने सेतो लामो कोट) दर्शकको खाली सीटतिर मिल्काए । हलको भूमिमा नै लम्पसार परे । फेरि खप्नै नसकी जुरुक्क उठे र यन्त्रमानवलाई कस्सेर दिए एकलात । यन्त्रमानव गर्लम्मै ढल्यो । जडिएका विद्युतीय उपकरणहरू खण्डित भई टुक्रा टुक्रामा परिणत भए । लामो सुस्केरा हाल्दै उनले सोच्न थाले- “कहाँनेर गल्ती भयो ? हरे ! नियतिको अन्तिम परिणति यस्तो ?” रमण शर्मा धेरै बेर छट्पटाई रहे…।

“किरिङ-किरिङ किरिङ- किरिङ…।” भित्तामा अड्याइएको टेलिफोनको आवाजबाट उनी झसङ्ग भए । मन नलागी-नलागी बोले- “हलो…. ।” उतापट्टबिाट श्रीमती बोल्दै थिइन्- “बधाई छ हजुरलाई ! डेमोन्स्ट्रेसन सफल भयो, हैन ?” उत्तर नै नपर्खी श्रीमती भन्दै थिइन्- “बिहान हजुर हिँड्दा भन्नै बिर्सेँ । हजुरलाई रुघाले ग्रस्त पारेको छ । स्वर पनि निक्कै बदलिएको छ । घर फर्कँदा डाक्टरलाई चेक गराउन नबिर्सनु नि । अहिले म हतारमा छु, ल..बाई ।”

डा. रमण एकछिन भावशून्य भई अकमक्क भए । अचानक बोले, “रुघा रे ! मेरो स्वर ! हे भगवान् !” बिजुली चम्के जस्तो उनको दिमागका तन्तुहरू एकैपटक खुले । रूघाको कारण बदलिएको स्वर नचिनेपछि प्रक्वणले निर्देशन कसरी मानोस् ? उनले साइमनलाई फोन गरेर र वस्तुस्थिति सम्झाउँदै भने- “साइमन, तिमी तुरुन्त एकेडेमीमा आऊ । रोबोटिक डिभाइसलाई आजै रिएसेम्बल गर्नुपर्‍यो । अँ, अब यसमा तिम्रो आवाज पनि सेट गर्नु ता कि आजको जस्तो समस्या नआओस् ।”

युवामञ्च, जेठ २०६९

1 thought on “आवाज”

  1. खतरा कथा
    बिचराको बिचल्ली भएथ्यो, सानो कुरामा पनि ध्यान नपुर्याउदा के हुन्छ भन्ने कथाबाटै थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *