रोबोटको निधार, छाती, कुम र घुँडामा जडित हरिया, राता र पहेँला बल्बहरू जल्न थाले, पल्याक-पुलुक पल्याक-पुलुक । लुनार अडिटोरियमको भिडमा कौतूहलपूर्ण मौनता छायो । प्रक्वणतिर फर्केर रमणले आदेश दिन थाले- “प्रक्वण दश पाइला अघि बढ ! प्रक्वण तिमी मलाई सुन्दै त छौ हैन ? दश पाइला अघि बढ … प्रक्वण ।” यन्त्रमानवले कुनै प्रतिक्रिया देखाएन, अचल-स्थिर रहिरहृयो । बल्बहरू मात्र जलिरहे ।
कुरा अलि पुरानै हो । विज्ञान जगत्मा आधुनिक यन्त्रमानव अर्थात् रोबोटको अन्वेषण प्रारम्भिक चरणमा थियो । अमेरिकाको वेसकन्सिन विश्वविद्यालयबाट रोबोटिक्स अन्तर्गत ‘सेल्फ रेप्लिकेटिङ मेसिन मोड्युल’ मा नेपाली वैज्ञानिक डा. रमण शर्माले भर्खरै विद्यावारिधि सकेका थिए । विद्यावारिधि गरे लगत्तै उनी त्यहाँको ‘नेसनल एकेडेमी अफ साइन्स’ मा अत्याधुनिक रोबोटको अन्वेषणमा आफ्नो भाग्यको परीक्षा दिँदै थिए । एकेडेमीमा अनुसन्धानरत विभिन्न देशका वैज्ञानिकमाझ उनी रमणबाट ‘रबर्ट’ मा भाषान्तरित भएका थिए । उनको अविराम तपस्याको प्रतिफल एउटा अर्वाचीन यन्त्रमानव ‘मोडर्न हृयुम्यान्वाइड मेसिन’ को आविर्भाव भयो । त्यो समयको त्यस्तो अभिनव लब्धसिद्धि वास्तवमा एउटा महान् आश्चर्य थियो । एकेडेमीले त्यो नौलो उपलब्धिलाई अति महìव दिई त्यसको प्रथम प्रदर्शन एकेडेमीकै अत्याधुनिक वास्तुअनुकूल खडा गरिएको ‘लुनार अडिटोरियम’ मा गर्ने घोषणा समेत गर्यो ।
पूर्व घोषित मिति र समयमा देश-विदेशका वैज्ञानिक साथै अन्य क्षेत्रका व्यक्ति अडिटोरियममा भेला भइसकेका थिए । हलभित्रको झिलिमिल चमकदमकमा मानिसहरू तरल प्रकाशमा नुहाइरहेका जस्ता देखिन्थे । निर्धारित समयमा जवानीका (पर्दा) माथि उठ्दै, खुल्दै गयो । मञ्चको मध्य भागमा रबर्ट र रोबोट दुवै मुस्कुराउँदै र हात हल्लाउँदै देखिए । तालीको गड्गडाहट र सोको अनुनादले अडिटोरियम कम्पायमान भयो । साथसाथै प्रशंसा र सम्मानमा बसिरहेका दर्शक जुरुक्क उठे । रबर्टमा रूपान्तरित रमणले सोचे- “आहा ! एउटा स्वप्न सम्झनाको प्रत्यक्ष रूप… यो क्रम अनन्त..सम्म रहिरहोस् ।” उनले थोरै झुकेर अभिवादन गर्दै सबैलाई बस्न अनुरोध गरे । रोबोट उनकै उचाइ, उनकै आकार र उनकै अरुणित वर्णमा आलोकित थियो । स्तब्ध नीरवताको बीचमा रोबोट कुनै रुक्मकारको सिद्धहस्त सील्पले ढालिएको सिर्जना देखिन्थ्यो । सबका मन-मस्तिष्क साथै अपलक नेत्र ती बेजोड मानव र यन्त्रमानवमा केन्दि्रभूत भए । सभाकक्षमा हृदयका धड्कनसँगै ध्वनि स्थिर रहन गयो । डा. रमणले बोल्न सुरू गरे- “महिला तथा सज्जनवृन्द ! नयाँ वर्ष सन् १९७२ को शुभ-आगमनको शुभकामना साथै सु-स्वागतम् छ यहाँहरू सबैलाई ।” सभाले उनको हार्दिकतालाई कर्तल ध्वनिका साथ स्वीकार गर्यो । उनले कुनै कुरा घाँटीमा अड्की शब्द फुट्न अप्ठेरो भए जस्तो महसूस गरे र मूल विषयपक्षको व्याख्यान जारी राखे- “आदरणीय स्वनामधन्य महानुभावहरू, प्रथमतः म रमण यस रोबोटको न्वारन अर्थात् नाउँ दिन चाहन्छु । कार्य आरम्भदेखि म यस रोबोटिक उपकरणको नाउँको खोजीमा सोच्दै रहेँ । सन् १९२० तिर सुप्रसिद्ध चेक लेखक कारेल कारपेडले आफ्नो नाटक ‘रोजुम्स युनिभर्सल रोबोटास’ मा सर्वप्रथम यन्त्रमानवको परिकल्पना गरेका हुन् । यसर्थ चेक शब्द रोबोटाबाट आज रोबोट भएको छ । यस बेला मसँगै उभिएको यो रोबोटको शरीर सिलिकनको लेप लगाइएको इलेक्ट्रो एक्टिभ पोलिमरबाट बनेको छ । यसका प्रत्येक जोर्नीमा विभिन्न थरीका चुम्बकीय फेर्रोफ्लुडस् चलायमान छन् । यसमा जडित ब्याट्री सौर्य र विद्युतीय दुवै ऊर्जाबाट सञ्चालित हुन्छ । छ घन्टाको चार्जले यस रोबोटबाट आठ घण्टाको काम लिन सकिन्छ । समग्रमा यो ०, १ को बाइनरी ट्रेडिसन लजिक सिस्टममा आधारित डिजिटल प्रोग्रामेबल रोबोट मेसिन हो,” उनी अलि थकित भई टक्क अडिए र भनाइ जारी राखे- “अब म यसको मुख्य विशेषतामा प्रकाश पार्न चाहन्छु । यसकोे विशेषता मालिक वा स्रष्टाको आवाज ठम्याएर आदेश पालना गर्नु हो, जुन आवाज यसमा पूर्व संश्लेषण गरिन्छ । सोही स्वरधनीको मात्र यसले आदेश लिन्छ । अझ यसलाई स्वर-शनास्त यन्त्रमानव पनि भन्न सक्छौं । प्रयोगकर्ताको पिन कोडको कोड नम्बरकोे सहायताबाट एकभन्दा बढी व्यक्तिको आवाज पनि संश्लेषण गर्न सकिन्छ ।”
अहो ! कस्तो अद्भूत मेसिन मानव ! आवाजसहित अडिटोरियम तालीले गुञ्जायमान भयो ।
डा. रमण हर्ष नभोनदीमा तैरिन थाले । उनले भनाइ जारी राखे- “रोबोटको परिकल्पना वाङ्मय विधाबाटै भएको हो । प्रातःस्मरणीय मेरो हजुरबुबाले कुनै समयमा मलाई सर्वप्राचीन-समृद्ध संस्कृत वाङ्मयमा एउटै शब्दका अनेकौं पर्यायवाची हुन्छन् भन्नुभएको थियो । मैले संस्कृत शब्दकोशको सहायता लिएँ । त्यहाँ आवाज शब्दका बहुआयामिक विकल्पहरू भेटेँ । जस्तो, ध्वनि, स्वर, नाद, रव, निनद, वैखरी, वाणी, आरव, अभिरुत आदि । सबैको उल्लेख उपयुक्त नहोला । मेरो विचारमा शब्द तरङ्गको सार भनेको मान्छेको अभिव्यक्तिको आत्मीय अभिव्यञ्जना हो । एउटा विकल्पमा मेरो चित्त अड्कियो । त्यही आवाजको अर्को पर्यायवाची शब्द नाउँ दिँदै मैले यसको नाम राखेँ प्रक्वन…प्रक्वण…प्रक्वण शर्मा..।”
दर्शक दीर्घाबाट आवाज प्रतिध्वनित हुन थाले- प्रक्वन..प्रक्वण शर्मा..। वाह ! क्या गजबको नाम ! श्रोताहरू कराउँदै थिए- अचम्मको, शानदार, डा. शर्मा गजबकै काम गर्यौ । उता वैज्ञानिक रमण भीडतर्फ हात हल्लाउँदै द्रवीभूत भएर सोच्न थाले- यो मेरो ‘द्वीज’ (दोस्रो सार्थक जन्म) हो । पश्चिम नेपाल सल्यानको विकट गाउँ कोर्बाङझिम्पेमा जन्मेको म । अहो ! के म साँच्चै अब मृत्युञ्जयी हुने भएँ ? दर्शकहरू भावावेगमा जुरुक्क-जुरुक्क उठेर कराउँदै थिए- “प्रक्वण..प्रक्वण…।”
अडिटोरियमको होहल्ला अलिकति मत्थर भएपछि डा. रमणले पुनः बोल्न थाले- “केही दिन पहिले यसमा मेरो आवाज संश्लेषित गरिएको छ । यसकारण अहिले मेरो आदेश मात्र प्रक्वणले पालना गर्नेछ ।” पुनः केहीबेर ताली बजिरहृयो । एउटा अलौकिक प्रभाको आनन्दले उनको गला अवरुद्ध बन्यो । उनको स्मृतिमण्डलबाट ..उनको मातृभूमि, आमा, बाबु, गुरुजन प्रकट हुन थाले । विशेषगरी आफ्नो बाजेलाई सम्झे, जसले हात समातेर बाँसको कलमले लेख्न र कौमुदी, अमरकोष, पाणिनीको अष्टाध्यायी आदि थुप्रै गन्थहरू रटाएका थिए । रमण भावुक विभोर भई बर्बराए- “आहा ! धन्य हुन् मेरा महान् पूर्वज…अग्रज… धन्य छ मेरो अद्वितीय संस्कार साथै अद्भूत् आत्मज्ञानभित्रको पराविज्ञान दर्शन र मेरो जननी जन्मभूमि नेपाल ..” र अठोट गरे “म कुनै दिन स्वदेश फर्किनैपर्छ यो ज्ञानलाई मूर्त रुप दिन..।”
मञ्चको एउटा कुनामा उभिरहेका आफ्ना सहायक साइमनलाई उनले सङ्केत गरे । दुवै मिलेर पावर, सेन्सर, स्क्यानर अन गर्न लागे । रोबोटको निधार, छाती, कुम र घुँडामा जडित हरिया, राता र पहेँला बल्बहरू जल्न थाले, पल्याक-पुलुक पल्याक-पुलुक । लुनार अडिटोरियमको भिडमा कौतूहलपूर्ण मौनता छायो । प्रक्वणतिर फर्केर रमणले आदेश दिन थाले- “प्रक्वण दश पाइला अघि बढ ! प्रक्वण तिमी मलाई सुन्दै त छौ हैन ? दश पाइला अघि बढ … प्रक्वण ।” यन्त्रमानवले कुनै प्रतिक्रिया देखाएन, अचल-स्थिर रहिरहृयो । बल्बहरू मात्र जलिरहे । रमण तीन छक परे । छातीभित्र असमनीय राप उर्लंदै चिट्चिट् पसिना बग्न थाल्यो र अनुहार आशङ्काले कालोनीलो भयो । “के अचम्म भो ? हप्ता दिन अघिसम्म त यो परीक्षणमा सफल थियो । हे ईश्वर !” मान्छेका अनिमेष आँखा बन्दुकझैँं सोझिएका थिए । हतासिएर उनले पुनः आदेश दिन थाले- “प्रक्वण दश कदम अगाडि बढ.।” बारम्बार प्रयास गर्दै रहे तर प्रयास सब निष्फल । निमेषमै श्रीहीन शून्यतामा उनको श्वास-प्रश्वास बढ्नथाल्यो । विचरा रमणले सभातिर अनुनयपूर्ण नेत्र ओछ्याए । दर्शक दीर्घाब्ााट एक जना वैज्ञानिक चिच्याउँदै थियो- “हाम्रो अमूल्य समय बरबाद भयो… यो के जात्रा हो ? डा. रोबर्ट के तिमी पागल
भयौ ? कोलाहलमा अरू स्वर थपिँदै थिए- के ठट्ठा हो यो ? तिम्रो यो बेकामको प्रोजेक्ट बन्द गर । शब्द तरङ्गका व्यङ्ग्य वाण बर्सिन लागे । मानव भीड पातलिँदै गयो । अश्रुसलिल उनका आँखा अन्धकारको सघनतामा डुब्दै गए । वास्तवमा जीवनको क्षणभङ्गुरता र त्यसको मृतमय रूपसँग उनी साक्षात्कार गर्दै थिए । उनले कुनापट्ट िशिर निहुराएर बसेको सहायक साइमनलाई हेरे । लज्जित साइमन वेगले हराए । यो कस्तो स्थिति हो ? एकै छिन अघिको उत्कर्ष पवनक्रीडा क्षणमै अपकर्षमा भष्मीभूत ! हलमा बाँकी रहे त एक मानव र अर्को यन्त्रमानव ! प्रबल आन्तरिक तापले रमण उकुसमुकस भए । स्कब्स (प्रयोगशालामा लगाइने सेतो लामो कोट) दर्शकको खाली सीटतिर मिल्काए । हलको भूमिमा नै लम्पसार परे । फेरि खप्नै नसकी जुरुक्क उठे र यन्त्रमानवलाई कस्सेर दिए एकलात । यन्त्रमानव गर्लम्मै ढल्यो । जडिएका विद्युतीय उपकरणहरू खण्डित भई टुक्रा टुक्रामा परिणत भए । लामो सुस्केरा हाल्दै उनले सोच्न थाले- “कहाँनेर गल्ती भयो ? हरे ! नियतिको अन्तिम परिणति यस्तो ?” रमण शर्मा धेरै बेर छट्पटाई रहे…।
“किरिङ-किरिङ किरिङ- किरिङ…।” भित्तामा अड्याइएको टेलिफोनको आवाजबाट उनी झसङ्ग भए । मन नलागी-नलागी बोले- “हलो…. ।” उतापट्टबिाट श्रीमती बोल्दै थिइन्- “बधाई छ हजुरलाई ! डेमोन्स्ट्रेसन सफल भयो, हैन ?” उत्तर नै नपर्खी श्रीमती भन्दै थिइन्- “बिहान हजुर हिँड्दा भन्नै बिर्सेँ । हजुरलाई रुघाले ग्रस्त पारेको छ । स्वर पनि निक्कै बदलिएको छ । घर फर्कँदा डाक्टरलाई चेक गराउन नबिर्सनु नि । अहिले म हतारमा छु, ल..बाई ।”
डा. रमण एकछिन भावशून्य भई अकमक्क भए । अचानक बोले, “रुघा रे ! मेरो स्वर ! हे भगवान् !” बिजुली चम्के जस्तो उनको दिमागका तन्तुहरू एकैपटक खुले । रूघाको कारण बदलिएको स्वर नचिनेपछि प्रक्वणले निर्देशन कसरी मानोस् ? उनले साइमनलाई फोन गरेर र वस्तुस्थिति सम्झाउँदै भने- “साइमन, तिमी तुरुन्त एकेडेमीमा आऊ । रोबोटिक डिभाइसलाई आजै रिएसेम्बल गर्नुपर्यो । अँ, अब यसमा तिम्रो आवाज पनि सेट गर्नु ता कि आजको जस्तो समस्या नआओस् ।”
युवामञ्च, जेठ २०६९

खतरा कथा
बिचराको बिचल्ली भएथ्यो, सानो कुरामा पनि ध्यान नपुर्याउदा के हुन्छ भन्ने कथाबाटै थाहा हुन्छ ।