रूपनारायण सिंहको भ्रमर
पारसमणि शम
क. प्रवेश
उपन्यासले आधुनिक साहित्यमा आफ्नो अलग्गै स्थान र परिचय बनाइसकेको छ| अन्य विधाहरूभन्दा आज उपन्यास नै लोकप्रिय रहेकोछ| नेपाली साहित्यमा उपन्यास साहित्यको इतिहास लामो नभए तापनि आजसम्ममा यसको प्रसस्त विकास हुँदैआएको छ| समय-समयमा यसको लेखन पद्धति र परिभाषा बद्लँदै जॉंदैछ| यसैले, यसको निश्चित परिभाषा दिन कुनै पनि विद्वानले नसके तापनि प्रयास भने धेरैले नगरेका होइनन्| उपन्यास कथा कै वृहत रूप हो, उपन्यासमा जीवनको बहुपक्षीय चित्रण पाइन्छ| जे होस् समालोचकद्वय कृष्णहरि बराल र नेत्र एटमले उपन्यासलाई यसरी परिभाषित गरेका छन्- मानव र मानवसमाजसंग सम्बन्धित विविध सत्यलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने आवश्यक लम्बाई भएको गद्य आख्यानलाई उपन्यास भनिन्छ|१
सन् १९३६-मा दार्जीलिङका रूपनारायण सिंहले स्वच्छन्दतावादी उपन्यास लिएर नेपाली साहित्यलाई उथुल-पुथुल पार्दै प्रवेश गरे| उनको भ्रमर नामक उपन्यासले नेपाली उपन्यास साहित्यमा स्वच्छन्दतावादी उपन्यास लेख्ने प्रवृत्तिको थालनी गर्यो| उनी अघि सन् १९३४ मा रूद्रराज पाण्डेकृत रूपमती- उपन्यासले नेपाली उपन्यास साहित्यमा आधुनिकता ल्याएको धेरै समालोचकले माने तापनि आधुनिकता भने भ्रमर ले मात्र दियो भन्नमा कुनै गाह्रो हुँदैन| यसैले यहॉं सिंहको भ्रमर-को छोटो चर्चा गरिन्छ| उनका दुइ उपन्यासमध्ये बिजुली अपूर्ण रह्यो|
ख. आधुनिक उपन्यासको रूपमा भ्रमर
भ्रमरलाई कतिपय समालोचकहरूले पहिलो आधुनिक उपन्यास मानेर रूपमतीलाई आधुनिक भन्नेहरूको खण्डन गरेका छन् भने कतिले रूपमतिबाट नै आधुनिक उपन्यासको थालनी भएको बताएका छन्| यसैले आधुनिक केलाई भन्ने?
आधुनिक शब्दको साधारण अर्थ वर्तमान समयको, हालचालको, नयॉं आदि हुन्छ| साहित्यमा भने आधुनिकको अर्थ परम्परादेखि आएको विचार, मूल्य-मान्यताको विद्रोह गर्दै नयॉं विचार मूल्य र मान्यताको स्थापना गर्ने कृति विशेषलाई भनिन्छ| रूपमतिले आधुनिकताको बाटो समाए तापनि पुराना विचार र मतलाई त्याग्न नसकेकोले यसलाई पूर्णतः आधुनिक भन्न मिल्दैन| भ्रमरले रूपमतिले छोड्ने नसकेका विचार र मत्लाई छाडेको हुनाले यसलाई पूर्णरूपले पम्पराको विद्रोह गर्न सफल भएकोले पहिलो आधुनिक उपन्यास भन्न सकिन्छ| रूपमति धेरै कमजोरीले गर्दा आधुनिक बन्न नसकेको समालोचकद्वय बराल र एटमले यसरी देखाएका छन्|
१. आदर्शको प्रबल थिचाईले परम्परालाई छाड्न नसक्नु|
२. सङ्कुचित एवं भेदभावमूलक संस्कारको सट्टा प्रगतिको बाटो समात्न नसक्नु|
३. चरित्रको परिवर्तनमा नियति, धार्मिक अनुष्ठान जस्ता काल्पनिक तत्त्वको सहारा लिनु|
४. नयॉं जीवन मूल्यको स्थापना गर्न नसक्नु|२
भ्रमर-लाई आधुनिक मान्नु पर्ने कारणहरू निम्न छन्ः-
१. परम्परावादी विचारप्रति विद्रोह गर्दै आधुनिक स्वच्छन्दतावादी विचारको प्रयोग|
२. उपन्यासलाई घटनाप्रधान बनाउनु|
३. परिवर्तनशील पात्रको प्रयोग|
४. उपन्यासले पहिलोपल्ट आञ्चलिकता छाडी बाह्य संसारमा प्रवेश गर्नु|
५. आधुनिक सभ्य समाजको निर्माण गर्नु|
६. नारीलाई शिक्षित, आदर्श र समानाधिकार प्रदान गर्नु|
७. नवीन भाषा शैलीको प्रयोग गर्नु|
८. चरित्रको स्तर अनुरूप भाषा र संवादको प्रयोग गर्नु|
९. अपत्यारिला र अनावश्यक घटनाको त्याग गर्नु|
१०. स्वाभिमानी नारीहरूको चित्रण गर्नु|
११. पूर्वीय विचारलाई भन्दा धेरै महत्त्व पाश्चात्य विचारलाई दिनु|
१२. चरित्र प्रधान लेखन शुरु हुनु|
१३. शिक्षित, आदर्श र सभ्य समाजको लक्ष्य लिनु|
माथिका बुँदाहरू हेरेर यो स्पष्टसँग भन्न सकिन्छ भ्रमर नै पहिलो आधुनिक उपन्यास हो र रूपनारायण सिंह नै पहिला आधुनिक उपन्यासकार| रूपनारायणले साहित्यमा विशेष उपन्यासमा परिवर्तन ल्याई समालोचकहरूलाई नवीन समालोचना पद्धति अप्नाउन बाध्य बानए| भ्रमरबाट नै उपन्यासको बनावट सटीक ढङ्गमा भयो औ अर्को अर्थमा भन्न हो भने भ्रमरले औपन्यासिक तत्त्वको राम्रोसँग निर्वाह गरी सॉंचो अर्थ उपन्यास दहरिएको छ| यसैले भ्रमरको चर्चा नगरिकन नेपाली उपन्यास साहित्यको इतिहास जहिले पनि अपूर्ण रहन्छ|
ग. भ्रमर स्वच्छन्दतावादी उपन्यासको रूपमाः
नचाहिन्दा नियम र नीतिको विरोध गर्दै स्वतन्त्र विचारले जीवन यापन गर्नु नै स्वच्छन्दतावाद हो| स्वच्छन्दतावादले परिष्कारवादको विपक्षमा खडा भएर साहित्यमा कोमलता, भावुकता, नवीनता, भित्र्याउँछ| स्वच्छन्दतावादको प्रमुख प्रवृत्तिहरूमा प्रकृतिप्रेम, देशप्रेम, जातिप्रेम, मानवतावादी, ग्रामीण जीवनप्रतिको मोह, पलायनवादी, सङ्गीत कलाप्रेमी, स्वतन्त्र विचार, भ्रमण, कल्पना, भावना, समाजसुधारको भावना, परिवर्तन आदि पर्दछन्| हुन त समालोचक कृष्णचन्द्रसिंह प्रधानले जिज्ञासा र सौन्दर्य-प्रेम स्वच्छन्दतावादका मूल तत्त्व हुन्३ भनेका छन्|
अतः माध्यमिककालीन नेपाली उपन्यासका परम्परा, नीति शिक्षावादी परम्परा, नारी भोगिया परम्परा, अतिमानवीय घटनावादी परम्पराको विद्रोह गर्दै नयॉं युगको थालनी गरेकोले भ्रमरलाई पहिलो स्वच्छन्दतावादी उपन्यास मानियो| समालोचक जस योञ्जन ‘प्यासी’ भ्रमर स्वच्छन्दतावादमा मात्र छ भन्ने मान्दैनन् र भन्छन् -यदि भ्रमरलाई स्वच्छन्दतावादमा मात्र आधारित छ भन्ने हो भने त्यहॉं रूपनारायण उपन्यासकारलाई आफ्नै उचाइभन्दा पनि होचो बनाएर ‘लिलिपुट’ बनाउने प्रयास मात्र हुँदछ| रूपनारायण सिंह त ‘लिटरेरी जोइन्ट’ हुन| ४
अर्का समालोचक कृष्णचन्द्रसिंह प्रधानले भ्रमर लाई नयॉं मान्यताहरूको प्रभाव र यसलाई ग्रहण गर्न नसकिने प्रचलनका अन्तर्विरोधको सामाजिक कथा हो५ भनेर भनेका छन्| भ्रमरको नायक इन्द्रशेखर स्वच्छन्द प्रवृत्तिको भएको हुनाले नै उपन्यास स्वच्छन्दतावादी सहजै बन्यो| ईश्वर नमान्ने, समाजका नीति नियम नमान्ने शेखर, सौन्दर्यप्रेमी, साहित्य-कलाप्रेमी र पढालु छ| उ उपन्यासमा सूर्य झैं चम्किलो छ|
माया, वीणा र गौरी जस्ता नारीहरूलाई वासनायुक्त प्रेम गरे तापनि वीणाको प्रेममा परास्त भई परिवर्तन हुन्छ र भौंतारिँदै मायालाई माफ माग्न पुग्छ अनि पलायन भएर वर्माको प्रोममा पुगेर जातिप्रेमी र समाजसेवी बन्छ| कहिले गोठालाहरूलाई पढाउँछ, कहिले हैंजामा परेकाको सेवा गर्छ भने विजयाजस्ती अवलालाई बचाएर घाइते पनि हुन्छ| अतः अन्त्यमा शेखर परिवर्तन भई आदर्श नायक बन्छ| वीणा र शेखर अनि माया र मोहनको मिलनले उपन्यास सुखान्त भएको छ|
भ्रमरलाई निम्न कारणवश स्वच्छन्दतावादी उपन्यास भन्न सकिन्छ|
१. भ्रमर सरल र सहज छ, अतः सरलता र सहजता स्वच्छन्दतावादका अंग हुन्|
२. ग्रामीण जनजीवनप्रतिको मोह स्वचन्छन्दतावादको अंग हो भने भ्रमरमा ग्रामीण जीवनको राम्रो चित्रण पाइन्छ|
३. साहित्यमा हार्दिकता र कोमलतालाई अँघालेर भ्रमरले बौद्धिकता र तार्किकतालाई पन्छाएको हुनाले यो स्वच्छन्दतावादी छ|
४. पलायन रूचाउने स्वच्छन्दतावादीहरूको चित्रण भ्रमरमा छ|
५. परम्पराप्रतिको विद्रोह हो भ्रमर|
६. नवीन भाषा-शैली, शिल्प, थेगो, देशबाहिरको नेपाली समाजको चित्रण आदि नवीन प्रयोगले भ्रमरलाई स्वच्छन्दता प्रदान गरेको छ|
७. भावना र कल्पनामा उडेको भ्रमर स्वच्छन्द छ|
८. जातिप्रेम, देशप्रेम, मानवतावादी विचारले ओतप्रोत हुनु|
९. सङ्गीत, साहित्य, कला, सौन्दर्य, प्रकृतिप्रेम आदि स्वच्छन्दतावादका विशेषता यसमा पाइन्छ|
अझ यसभन्दा धेरै त भ्रमर पहिलो स्वच्छन्दतावादी उपन्यास बन्नपुगेको छ, यसमा दुइ मत छैन|
घ. नामकरणः
भ्रमरको अर्थ भवँरा हुन्छ| भ्रमर उपन्यासको नामबाट नै यो चरित्रप्रधान उपन्यास हो भन्ने बुझाउँछ | भ्रमरको नायक इन्द्रशेखर भ्रमर प्रवृति भएको हुनाले नै उपन्यासको नामकरण नायकको प्रवृत्तिको आधारमा राखिएको हो| शेखर उपन्यासमा तरुणीहरू फेरि फेरि कामवासना पूर्ण गर्दै तृप्त भ्रमरले फूलको रस चुसे जस्तै हिँडेको हुनाले उपन्यासको कथावस्तु उसैको केन्द्रीयतामा सिमित छ| यसैले उपन्यासकार रूपनारायणले उपन्यासको नाम भ्रमर राखेका हुन्|
तर, उपन्यासको नाम भ्रमर राखिनुमाथि समालोचक जस योञ्जन ‘प्यासी’-ले आपत्ति जनाउँदै भनेका छन्- उपन्यासको नाम भ्रमर राख्नुमा उपन्यासकारले ठूलो गल्ती गरेका छन्| माया र गौरीहरूलाई त्यसै छक्याएर तिनीहरूका यौवनसँग खेले भन्दैमा इन्द्रशेखरलाई भ्रमर भन्नु हुँदैनथ्यो| भ्रमरले त फूलका रसहरू मात्र चुसिहिँड्छ| त्यसमा प्रायश्चित्तको भावना हुँदैन तर इन्द्रशेखर त पछि गएर परिवर्तन भएको छ| ६ यहॉं विचारयोग्य कुरा के छ भने जुन समय शेखरले गौरीमा आफ्नो अन्धो भ्रमर प्रवत्तिको शेष भाग समापन गर्छ त्यस समय उपन्यास चरमसीमामा पुगेर लक्ष्य प्राप्तिको निम्ति अघि बढिसकेको हुन्छ, यसैले इन्द्रशेखरलाई भ्रमरभन्दा उपन्यासकारले गल्ती गरेनन्| ‘प्यासी’-को भनाइ पनि सत्य नै हो, भ्रमरले रस चुसेपछि पछुतो गर्दैन तर शेखरले गरेको छ| एक पल्टको चोर सदाको चोर भने झैं भ्रमर प्रवृत्ति भएको शेखर जतै नै परिवर्तन भए पनि उसलाई भ्रमर नामक लागेको दाग मेटिँदैन यो कटुसत्य हो|
ङ. भाषा-शैलीः
भाषा-शैलीका आधारमा भ्रमर जस्तो उत्कृष्ठ उपन्यास आजसम्म अर्को लेखिएको छैन| हुन त रूपनारायण सिंहको भाषा उपन्यासमा मात्र होइन कथाहरूमा उत्कृष्ठ छन्, जसको प्रतिद्वन्द्वी जन्मेका छैनन्| यसमा माधुर्य भाषा-शैली पाइन्छ| छोटा-छोटा वाक्य, क्रियाबिना नै सफल वाक्य, अलंकारयुक्त वाक्य, बंगला र संस्कृतभाषाका तत्सम शब्दहरूको सफल प्रयोग आदिले उनको भाषा-शैली यतिसम्म मीठो छ जसको स्वाद लिएर साद्य छैन| बंगाली लेखक बङ्किमचन्द्र र शरद्चन्द्रको छाप परेको भाषा सॉंच्चै उत्कृष्ट छ|
आज भ्रमरको महत्त्व भाषा शैलीमा रहेको छ| यसको भाषाका विषयमा समालोचक राजनारायण प्रधानले यसरी टिप्पणी गरेका छन्-
भ्रमर- को भाषा सुश्री र सुषमित छ| नेपाली उपन्यासमा उनको भाषा-शैलीको विशिष्ट व्यक्तित्व छ र यस्तो छिटो-छरितो-छमकट्ट भाषा उपन्यासको विषयानुकुल पनि छ| साना-साना वाक्य, प्रायःसरल वाक्य मात्र, संस्कृतका शब्दहरूको सुरूचिपूर्ण प्रयोग, ठाउँ-ठाउँमा आलङ्कारिक प्रयोग, कतै कतै बंगलामा जस्तो नचाहिँचो क्रियाको बहिष्कार सबै मिलेर रूपनारायणको लेखन शैली जन्मन्छ| ७
अब केही वाक्य र पद लिई उनको शिल्पकारिता निहालौंः-
सूर्योदय! पहिले सानो गोलाकार रातो पदार्थ| त्यसपछि त्यो गोलाकार पदार्थको आकार परिवर्तन| अहिले गाग्री जस्तो फेरि कुभिण्डो जस्तो, फेरि गोलाकार| ८
निर्मल रजनी! जनहीन पथ! बाटाका दुवैपट्टि उच्चा वृक्ष श्रेणी औ बन| साना-साना खोलाहरूको स्वच्छ पानी,- निरन्तर झरझर गर्दै झरिरहेछ| ९
माथि ताराखचित आकाश| धरणी मझेरी| मझेरीमा यत्र तत्र अघेना| उज्जवल ग्यासबत्ती| गोठालाहरू कोही कुनीकुथी वर्णमाला घोक्दैछन्| कोही पहाडा घोक्दैछन्| कोही रामायण पढ्दैछन् औ शेखर र गौरी उनीहरू माझ छन् शिक्षक र सहायक| कस्तो अपूर्व सम्मेलन| १०
माथिका उदाहरण हेरेपछि स्पष्ट हुन्छ सिंहको भाषा-शैली कति मधुर छ| सूर्योदय सँधै हुन्छ, हामीलाई सिंहको भाषा शैलीले पो उपन्यास पढ्दा शेखर र वीणाको ठाउँमा पुर्याएर सूर्योदय हेरेको अनुभव गराउँछ भने गोठालाहरूले पढेको दृष्यले टीवी हेरेको अनुभव हुनजान्छ| यही नै उनको विशेषता हो|
यिनको भाषा-शैलीका विषयमा समालोचक कृष्णचन्द्रसिंह प्रधानले यस्तो मत पोखेका छन्-शब्दको अपव्ययबाट हुने व्यर्थको विस्तार र अपरिष्कृति- दोषबाट उनी मुक्त छन्| ११ सॉंच्चै यिनी हरेक ठाउँ मोहनी भाषा दिन र लामा पट्यार लाग्दा वाक्यद्वारा पाठकलाई अल्छि पार्न तिर नलागेर प्रत्येक वर्णनमा सुन्दर वाक्यद्वारा पाठकलाई रोमाञ्चित पार्न सफल छन्| यिनी वीणा, माया, शेखरको वर्णन गर्न होस् या प्रकृतिको वर्णन गर्न होस् या त कुनै घटना कै वर्णन गर्न सफल भएका छन् मीठो भाषामा| समालोचक डा. बराल भन्छन्- यो निःसन्देह असाधारण लेखनीधारी रूपनारायणका आफ्नै पाराको शैली थियो र नेपाली सर्वथा आलो र नौलो| १२
भ्रमरमा साधारण बोलचालको भाषाको प्रयोग भएको छैन| पात्र-पात्राका स्तरअनुरूप नभएर साहित्यिक, काव्यत्मक र कलात्मक भाषाको प्रयोगले उपन्यास स्वभाविक नलागे पनि सरल, सहज र सुबोध भाषाले गर्दा अप्ठ्यारो भने पाठकलाई लाग्दैन| जति पढेपनि भ्रमर रसस्वादले तृप्त हुन गाह्रो हुन्छ यसैले समालोचक राजनारायण प्रधान भन्छन्-तीस उँभोका पाठकहरूले भ्रमर दिक्क मान्दै पढ्छन्, पचास नाघेकाहरूले पढ्दै पढ्दैनन्| तर भाषाको निम्ति रूपनारायणको लेखनशैलीको आनन्दले पक्रिएर भने भ्रमर धेरै पढ्छन्| भ्रमर-को सफलता यही हो|’’१३ यसैले भन्नसकिन्छ भ्रमर अमर छ, रहिरहने छ|
च. भ्रमरको समाजः
उपन्यासलाई समाजको ऐना भनिन्छ | समाजका विभिन्न किसिमका मानिसहरू बस्छन् र विभिन्न किसिमका क्रियाकलाप गर्ने गर्छन् अनि समाजमा विभिन्न किसिमका घटना घट्ने गर्छन्| यो समाजमा हुने गतिविधिबाट उपन्यासकार अछुतो रहन सक्दैन| उपन्यासमा यी कुराहरू वर्णन गर्नसकिन्छ| तर, समाजको के कति चित्रण गर्नसकिन्छ त्यो त उपन्यासकारको दक्षतामा निर्भर हुन्छ|
भ्रमरको समाज वृहत छ| यसले दार्जीलिङ, कलकत्ता, बनारस, असम तथा वर्माका नेपाली समाजलाई आफ्नो पृष्ठभूमि बनाएको छ| यो पहिलो उपन्यास हो जसले यति वृहत समाजको चित्रण गरेको छ| शेखर, वीणा, ललितसिंह आदिलाई दार्जीलिङको, परशुराम, मायालाई असमको मोटा राई, गौरी आदिलाई वर्माको, विजया आदिलाई कलकत्ताको र मोहनलाई बनारसको प्रतिनिधिका रूपमा उपन्यासकारले उभ्याएका छन्|
भ्रमर सन् १९३६-मा प्रकाशित भएको भए तापनि रूपनारायणले कलकत्तामा पढ्दा सन् १९३२-तिरै यो लेख्न थालेको अनुमान गरिएको छ| १४ यसैले भ्रमरको कथा सन् १९२५ देखि १९३५ सम्मको मान्नसकिन्छ| यसबाट के स्पष्ट हुन्छ भने- भ्रमरको समाज पनि यही दशकको हो| भ्रमर-मा वर्णित दार्जीलिङे समाज उपन्यासमा पत्यारिलो छैन| अतः उपन्यासमा दार्जीलिङ समाजलाई शिक्षित, सभ्य र आर्थिक स्थिति राम्रै भएको देखाइएको छ| सन् १९२५ को दशकमा दार्जीलिङे नेपाली समाज उपन्यासमा जस्तो थिएन तर उपन्यासमा सबै पात्र-पात्राहरू शिक्षित, सभ्य र धनी देखाइएको छ| त्यस समयको दार्जीलिङ समाजको चित्रण त बरू तुलसी बाजे नामक पात्रका मुखबाट एक ठाउँ यसरी उल्लेख गरिएको छ दार्जीलिङमा नेपालीहरूको दुर्दशा के बताउँ| हामी कि ता भारी बोकुवा कि आपिसमा तल्लो दर्जाका कलम कोर्ने ता छौं नि| १५ तर उपन्यासकारले यस समाजको चित्रण नगरेर काल्पनिक समाजको चित्रण गरेका छन्|
वर्मामा नेपालीहरू पशुपालन गरेर जीविका चलाइरहेका छन्| उनीहरूको करूण चित्कार कता कता देखिन्छ, तर मोटा राईको घर सम्पन्न छ| कलकत्ता वरिपरि पनि नेपालीहरू दुःखी नै छन्| हैंजाले सोत्तर पार्दासमेत औषधि गर्ने क्षमता उनीहरूको छैन| विभिन्न आपत्तिसँग संघर्ष गर्दै नेपालीहरू बॉंचेका छन्|
जन्मजात नै कृषक नेपाली विश्वको कुनै कुनामा गए पनि खेती-किसान नै अप्नाएका छन्| यो कुरा बर्माको चित्रणबाट स्पष्ट हुन्छ| भारतमा त्यस समय नेपालीहरूले अंग्रेजहरूको अफिसमा तल्लो दर्जाको काम पाउन थालेको तथ्य माथि तुलसी बाजेको भनाइबाट स्पष्ट हुन्छ| तर, समाजको यथार्थ चित्रण उतार्न नसके पनि सत्य पक्ष भने छोइएकै छ| यसैले यसमा मिथ्या समाजको चित्रण भ़न्न मिल्दैन| यो स्वच्छन्दतावादी उपन्यास भएको हुनाले यसमा कल्पना र भावनाको थिचो मिचो भने अवश्य छ|
रूपनारायण एउटा सभ्य र विकसित समाजको रूपमा नेपाली समाज हेर्न चाहन्थे र नै उनले उपन्यासमा यस प्रकारको चित्रण गरेका हुन्| उनले नेपालीहरू पनि अरू जातिसरह बन्नु भन्ने विचारले यस प्रकारको समाज देखाई मार्ग निर्देशन गरेका हुन् यसमा दुइ मत छैन| अतः भ्रमर-मा आर्दश समाजको परिकल्पना गरिएको हुँनाले भ्रमरबाट नै आदर्शोन्मुख उपन्यास लेखनको परम्परा पनि शुरु भयो|
छ. चरित्र र चरित्र चित्रण
उपन्यासको कथालाई गति दिन चरित्रहरूको निर्माण र प्रयोग गरिन्छ| अतः भ्रमरमा पनि लगभग बीस जनाजति प्रमुख र गौण पात्र-पात्रा छन्| जसमा इन्द्रशेखर प्रमुख वा नायक र वीणा नायिका छन् भने माया र मोहन सहनायिका र सहनायक हुन्| उपन्यासमा खल चरित्र छैन|
छ.१. इन्द्रशेखर
इन्दरशेखऱ उपन्यासको मुख्य व्यक्तित्व हो| उसकै व्यक्तित्व विकास अन्य चरित्रहरू उपन्यासमा उभिएका छन्| उ सूर्य झैं चम्किलो छ| जसरी सूर्यका वरी-परी ग्रहहरू परिक्रमा लगाउँछन् उसरी नै अरू चरित्रहरू इन्द्रशेखर कै वरीपरी घुम्दछन्| उसको चरित्र भ्रमर प्रवृत्तिको छ, र नै उपन्यासको नाम भ्रमर हुन गयो| तर, अन्तमा गएर उ परिवर्तन भई एउटा आदर्श पुरुषका रूपमा देखा पर्छ| अतः उ परिवर्तनशील चरित्र हो| उ दार्जीलिङमा स्थापित ललितसिंह र मैनादेवीको एउटै छोरो हो| उ एम.ए. पढ्दैछ कलकत्तामा| उसको चित्रण उपन्यासमा यसरी गरिएको छः-
‘‘इन्द्रशेखर रूपवान छ- निःसन्देह| तर त्यसको रूपमा प्रलयाग्निको आभास पाइन्छ| त्यसका आँखामा व्याधाको हिंसा देखिन्छ| त्यसको अनुहारमा कहिलै तृप्त नहुने वासना झल्कन्छ| सरस्वतीको शेखरमाथि अशेष करूणा छ| गीत गाउनु, चित्र लेख्नु, कविता गर्नु, कुनै विषयमा पनि शेखर पछि सर्दैन| यस्तै सबै गुणले सम्पन्न भएको विद्यार्थी नेपाली समाजमा प्रायः देख्न पाइन्न|’’१६
ऊ ईश्वर मान्दैन, संसारलाई क्रिडास्थल मान्छ| मन परेको वस्तु भोगिहाल्नु भन्छ| समाजका नीति र नियमलाई शब्दआडम्बर ठानेर लत्याउँछ| बाबु छोराको विचारमा आकाश-पातालको फरक छ| यस्तै उपन्यासको शुरूको शेखर|
मायासित प्रेम गर्छ तर वासनायुक्त, तर मायाले भने उसलाई विशुद्ध प्रेम गरेर तनमन दुवै सुम्पिएको हुन्छे| मायाले विवाहको प्रस्ताव राख्छे तर प्रेमलाई भोगको साधन मान्ने भेटवर बिहेको बन्धनमा फस्न चाहँदैन र भन्छ-
‘‘माया, यो तिमीले के गरकी? बिहा? बौलाही भयौ- बिहे पनि कोही अभागीले गर्छ? लौ भो! बिग्रेको ता केही छैन! हमी जस्ता छौं उस्तै रह्यौं| दुवै एकैसाथ बसौं|’’१७
तर मायाले उसको विलासी प्रस्तावको अस्वीकार गरी सम्बन्ध तोडेर स्वाभिमानी बनी| शेखरका विषयमा समालोचक कृष्णर्च्ींनद्रसिंह प्रधान भन्छन्- ‘‘उसको कुशाग्रबुद्धि प्रतिभावन् व्यक्तित्व तथा आकर्षक रूपको अहंमबोधबाट उत्पन्न भएको आधुनिकताजनक विकृति अथवा पारिवारिक संसर्गमा नहुर्कनाले यस्तो मानसिकता विकसित भएको पनि हुनसक्छ|’’१८
शेखऱको भ्रमर प्रवृत्तिले माया जस्ती कति अवलालाई वासनाको शिकार बनाएको तुलसी बाजेका मुखबाट यसरी सुनिन्छ- ‘‘हाम्रा ज्ञान सम्मान र रूपका गर्वमा भूलेका मित्र इन्द्रशेखर समाजका काल हुनुभएको छ| .. माया मात्रै होइन, त्यस्ता अरू कति अज्ञात तरुणीहरू शेखरका कुवासनाका चक्रमा परी बिग्रे, नासिए औ अझ पनि नासिन लागिरहेका छन्|’’१९
मायासँग सम्बन्ध तोडिएपछि शेखरले वीणालाई आफ्नै घरमा पाउँछ नवशिकारका रूपमा| तर वीणाको प्रेम, भक्ति र श्रद्धाका अघि भ्रमर शेखरको अहम् चुर चुर हुन्छ फेरि कलकत्तामा स्वामी सदानन्दको प्रेममाथिको व्याख्यानले उ परिवर्तन भई पलायन हुनपुग्छ| अनि मोहनका आग्रहमा मायासँग क्षमा याचना गर्छ तर मायाले दैलैबाट फर्काइदिन्छे| उ निराश भई वर्माको प्रोम पुग्छ| त्यहॉं गौरीलाई पाउँछ र एकान्तमा आफ्नो शेष रहेको भ्रमर प्रवृत्ति शेष गर्छ| औ गौरीकै आशामा उ फर्कन तयार पनि हुन्छ| गौरीलाई शेखरले आलिंगनमा बॉंधेर म्वाई खाएको कुराको टिप्पणी समालोचक कृष्णचन्द्रसिंह भन्छन्- …‘‘यहॉं तर शेखऱलाई लेखकले बनाउन खोजेका छन् बिगारेर, बिगार्न खोजेका छन् सपारेर|’’२०
प्रोममा पुगेको पश्च्यतापको आगोमा पिल्सिएको शेखर समाजसेवी, जातिप्रेमी बनी गोठालाहरूलाई अक्षर ज्ञान दिन्छ| फेरि गौरीको आग्रहमा फर्कन्दा कलकत्ता नजिकको सिलुवा गाउँमा हैंजाले सोहत्तर परेकाहरूको सेवा गर्छ| यस विषयमा लेखक लेख्छन्-
‘‘शेखर नित्यप्रति नेपालीहरू बसेका गाउँ-गाउँ, घर-घर चहारेर तिनको अनुसन्धान लिन्छ| कलकत्ताबाट गोमियोप्याथी औषधी ल्याएर तिनको उपचार गर्छ| मरेका मानिसहरूलाई जलाउने प्रबन्ध गर्छ|’’२१
यहीँ एउटी अबला नारी वजयाको सतित्व बचाउन लडाईंसमेत गर्न पुग्छ| यस दुर्घटनामा उ घायल पनि बन्छ| माया, गौरी, वीणा जातिको सतित्व बचाउन प्राणको आहुतीसम्म दिनसक्ने हुन्छ| यो भन्दा ठूलो परिवर्तन अरू के हुनसक्छ र?
ती विजयाको उद्धारपछि उसमा वीरताको गुण थपिन्छ अनि पूर्ण आदर्श पुरुषका रूपमा पुगेर वीणालाई जीवन साथी बनाई अम्भाभाई देसाईले बनाइदिएको स्कूलमा काम गर्न थाल्छ|
शेखरको चरित्र चित्रण हेरेर उसलाई लेखकले कठपुतली बनाएको स्पष्ट छ| यस विषय समालोचक ‘प्यासी’ भन्छन्- ‘योजित नायक (इन्द्रशेखर)- सृजना गर्नु उपन्यासकारको निजी एवं प्रकल्पित आदर्श समाजको निमित्त पूर्वाग्रहसित विचारको मुखपात्र बनाउने ढिपी हो|’’२२
शुरूको अभिमानी, कामुक भ्रमर शेखर माया, वीणा, गौरी आदि हुँदै दार्जिलिङ, कलकत्ता, बनारस, प्रोम र सिलुवा हुँदै, वीणाको प्रेम र भक्तिबाट नतमस्तक भई आफूलाई तुच्छ छ टान्दै , कहिल्यै मायासँग माफ माग्दै, कबिले वर्माका गोठालाहरूलाई अक्षर ज्ञान दिँदै, त कहिले गौरीको आग्रहमा फर्कि आउँदा बाटामा हैंजा पिढीतलाई सेवा गर्दै, त विजयालाई बचाई अऩ्तमा आदर्श पुरुषका रूपमा वीणा अघि उभिएको छ| उसको जीवनको परिवर्तन लेखकको योजना अनुरूप भएको छ| अतः उ स्वतन्त्र न भएर लेखककै अधिनमा छ|
छ. २. वीणा
ललित सिंहकै मित्र रघुवीरसिंहकी छोरी उपन्यासकी नायिका| सानैमा आमा खसेपछि केही वर्षपछि बाबुले ललितसिंहको जिम्मा लगाई परलोक गएका अनि ललितसिंहको देखरेखमा फूपुको घरमा बडेकी हुर्केकी| सुसंस्कृत, सुललित र सुशिल वीणाको चित्रण उपन्यासमा यस्तो छ- ‘‘वीणाको रूप छ-भर्खर फक्रेकी गुलाफ जस्तो| यो रूप छ गम्भीर अथाह जलनीधि जस्तो| रूपले मनमा श्रद्धा उत्पन्न गराउँछ उन्मत्त पार्दैन| यो रूपले मानिसका पवित्र भावहरूलाई जगाइदिन्छ-विह्वल गराउँदैन यो रूपले लक्ष्मी सम्झना गराउँछ | शारदाको झलक यस रूपमा पाइन्छ| … स्वभावमा स्वभाविक चञ्चलता थियो| अनुहारमा तृप्ति जीवन यात्रा त्यसका निम्ति एउटा सुमधुर सङ्गित थियो एउटा सुललित छन्द, मोहमय सपना|’’२३
बत्तीस लक्षणयुक्त उ, रूपमा, गुणमात्र नभएर गीत र सङ्गीतमा पनि खप्पिस थिई| उसले शेखर जस्तो व्याविचारी भ्रमरलाई पछुतोको आगोमा डढाएर आदर्श पुरुष बनाई छाडी| मायाबाट विरक्त भएको शेखरले वीणालाई शिकारी कुकुरले झैं वासनाको दृष्टिले हेरेको थियो तर उसको श्रद्धा, भक्ति, रूप र प्रेमबाट प्रभावित् भई शेखर पलायन भई भौंतारियो| आफूलाई वीणाको योग्य छैन भन्ठान्यो| तर, वीणाले शेखरलाई कुरिरही अरू कसैको नामसम्म नलिई | उसको प्रेममा त्याग थियो| धेरै प्रतिक्षापछि अन्तमा वीणा र शेखरको मिलन भइछाड्छ |
शेखरलाई प्रेम त मायाले पनि गर्थि र किन वीणाले शेखर पाई| यस विषयमा समालोचक कृष्णचन्द्रसिंह प्रधान लेख्छन्- ‘‘कथालाई अर्को मोड दिनु र सुधारवादी शेखरको सृष्टि गर्नुपरेकोले मात्र विशेष घटनाको रूपमा वीणालाई उभ्याइएको प्रष्ट हुन्छ|’’भन्छन्|’२४ तर समालोचक मोहन पी. दाहाल लेखक पूर्वाग्रहग्रसित थिए|
जे होस् वीणा एउटी, सुशिक्षित, सुसभ्य र आदर्श नारीका रूपमा देखापरेकी छ|
छ. ३. माया
आसामबाट बसाईं आएका परशुराम बस्नेतकी एउटी छोरी माया, सुशिक्षित सुसभ्य एवं स्वाभिमानी नारीका रूपमा विशेष स्थान ओग्टदै सहनायिका रूपमा देखा परेकी छ| उ शेखरलाई प्रेम गर्छे, आफ्नो आराध्य देव मान्छे| ‘‘माया थिई उमा जस्ती सरला|’’२५ उपन्यासकार उसको चित्रण गर्छन्|
उ शेखरलाई बिहेको प्रस्ताव राख्छे तर कामुख शेखरले मायालाई वासनायुक्त प्रेम गरेर तन लुटिसकेको हुनाले अझ पनि वासनाको कामना गर्दै प्रस्ताव अस्वीकार गर्दै सँगै बस्ने कामना गर्छ | तर, आफ्नो तन र मन लगेर पनि वासनाको कामना गर्ने शेखरलाई सम्बन्ध विच्छेद गर्दै भन्छे- ‘‘लौ शेखर तिम्रै कुरा रहोस्| आजदेखि हामी बेग्ला-बेग्लै बाटाका बटुवा|’’२६
यस घटनापछि मायाहरू वनारस लाग्छन्| वनारसमा शेखरका प्रिय मित्र मोहनसँग मित्रता बढ्छ| मोहनको आग्रह शेखर मायासँग माऱ माग्न पुग्छ तर मायाले-‘‘बा यी भलाद्मीलाई केही भन्ने मेरो मन छैन| गएका कुरा लिएर फेरि कल्पना गर्नु म व्यर्थ ठान्छु| मेरो भन्ने केही छैन|’’२७ भनेर दैलोबाट नै फर्काई दिन्छे|
पछि मोहनको आग्रमहा उसले शेखरलाई घर फर्कने आग्रह गरेर अखबारमा विज्ञापन छपाइदिन्छे| फेरि भएन मानवताका आधारमा आफू नर्स पढाई गरेको कलेजमा शेखर घायल भई भर्ना हुँदा सेवासमेत गर्छे| आखिरमा माया र मोहनको मिलन हुन्छ| मोहनसँगको बन्धुत्त्वमा नै प्रेम गर्न थालेको हुन्छे माया|
उपन्यासमा मायालाई सुन्दर, शिक्षित, अभिमानी र स्वाभिमानी मानवतावादी र आदर्श नारीका रूपमा देखाएर लेखकले नेपाली नारीहरू माया जस्तै हुन भन्ने कामना गरेको स्पष्ट छ|
छ. ४. मोहन बिक्रमः
उ वनारसमा पढ्छ, औ छ शेखरको प्रिय मित्र र उपन्यासको सहनायक| उ र शेखरमा आकाश पातालको फरक छ- ‘‘मोहन छ कर्मयोगी| त्यसको बानी व्यवहार छ सरल औ पवित्र| त्यो आत्मनिग्रही छ-सदाचारी छ| औ ठीक त्यसको उल्टो छ शेखर|’’२८- उ जातिप्रेमी मानवतावादी र आदर्श पात्र छ| उसले माया र शेखरको मिलन गराउन चाहेर शेखरलाई माफ माग्न लगाउँछन् तर मायाले शशेखरलाई टिक्नसम्म दिन्न| उ मर्माहत बन्छ| उसको स्वाभिमानमा धक्का लाग्छ र – ‘‘… आजदेखि हामी अज्ञात अपरिचित|’’२९ भने मायाको परिवारसँग सम्बन्ध तोेड्न पुग्छ |
त्यही स्वाभिमानी मोहन मायालाई विज्ञापन दिएर शेखरलाई बोलाई दिने अनुरोध गर्छ| कस्तो त्याग| एकातिर मित्रका निम्ति स्वभिमानी बनेर मायासँग मुख मोड भनि अर्कातिर त्यही मित्रका निम्ति अघि झुकेर अनुरोध र विन्ति गर्छ| मोहन सॉंच्चै असल मित्रका रूपमा सफल भएको छ|
भित्र-भित्रै मायाले उसलाई प्रेम गरेको कुरा थाहा पाएर उ प्रेम प्रस्ताव राख्छ| मायाले भन्छे- ‘‘मेरा अतितका पाप! ओह! तिनका सम्झनाले आज मेरो मन छिया छिया भइरहेको छ| मोहन म तिम्रो प्रेम औ आदर योग्य छैन|’’३० तर उसले मायालाई सहजै स्वीकारेर मानवतावादी बनेपछि समालोचक ‘प्यासी’ आलोचना गर्छन् यसरी- ‘‘इन्द्रशेखरले यौवनावस्थामै मर्माहत पारेका कलि ‘माया’-बारे सबै कुरा जान्दा जान्दै पनि मोहनले पछि उनैलाई प्रेम गर्नु र आलिङ्गनमा बॉंधेर कहिले नछोड्ने प्रण गर्नु उदारवादी चरित्र नभएर दुर्बल पौरुषताको चरित्र हो|’’३१
अन्तमा मोहन र मायाको मिलनले मोहनलाई फ्यातुलो नै पारेको छ| उसको स्वाभिमान मायाका अघि चकनाचुर भएको छ| लेखकले मोहनलाई पनि स्वतन्त्ररूप चरित्र निर्माण गर्न दिएका छैनन् नत्र उसको चरित्रमा परिवर्तन नहुने थियो होला| अतः असल मित्र र प्रेमी बनाउन उनले मोहनलाई आफ्नै वंशमा राखेका हुन्|
छ. ५. अन्य चरित्रः
सिंहका सबै जसो पात्र पौरखी, आदर्शवादी छन्| ललितसिंह, परशुराम बस्नेत र मोटा राई खुबै पौरखी र जातिप्रेमी छन्| तुलसी बाजे कवि एवं समाजसुधारक देखिन्छन् मैनादेवी र मोटाराईकी पत्नी आदर्श पत्नीका रूपमा उभिएका छन्| गौरी चञ्चल छ उसैको आग्रहमा शेखरले प्रोम छोडेर कलकत्तातिर लाग्छ| ग्यामा र विजया पनि आदर्श नारी छन्| विजयालाई शेखरले गुण्डाहरूबाट बँचाएर नवजीवन दिन्छ|
लेखकले सबै पात्र-पात्रालाई आदर्श समाजको परिकल्पना गर्नु हो| इन्द्रशेखऱको व्यक्तित्व विकास गर्न वीणा, माया र मोहनबाहेक उपन्यासका सबै पात्र-पात्रहरूको आफ्नो आफ्नो स्थानमा महुमूल्य योगदान छ|
ज. निथार पिथारः
भ्रमर रूपनारायण सिंहको पहिलो र पूर्ण उपन्यास हो| यसैबाट नेपाली उपन्यास साहित्यमा स्वच्छन्दतावाद र आधुनिकता पूर्णरूप भित्रिन सफल भएको हो भन्न म पछि सर्दिन|
यसमा रूपनारायणले कथावस्तुमात्र नवीन प्रयोग गरेनन् भाषा-शैली पनि नितान्त नौलो प्रयोग गरे| सामाजिक चित्रण यथार्थहरूमा गर्न नसके पनि अपत्यारिलो भने छैन| संवादहरूमा साहित्यिक, आलंकारिक भाषाको प्रयोग भएको हुनाले अपत्यारिलो भए पनि उनको लेखाइको मोहलाई पाठकलाई अस्वाभाविक भने लाग्दैन| यसैले उनी ‘शैलीशिरोमणि’’३२ हुन्| ‘उनी लिटिरेरी जोइन्ट’ ३३ हुन्| उनले पात्र-पात्रालाई स्वतन्त्र भने छाडेका छैनन्| उनको यो पहिलो उपन्यास भएको हुनाले अनुभवहीनताका कारण यी भूल र त्रुटी भएका हुनसक्छन् तर हाम्रो दुर्भाग्य बिजुली अपूर्ण रहेकोले पूर्ण औपन्यासिक सफलता भने देख्न सकेनौं|
अन्तमा भ्रमर नेपाली साहित्यको अमूल्य नीधि हो| यो सफल छ र रहने छ| यसको मिठासले सबै सदा तानिरहने छ| अतः भ्रमर -को जति नै गुण गाए पनि कमै हुन्छ| म त यति मात्र सक्छु कि भ्रमर को परिचर्चा बिना नेपाली साहित्यको इतिहास पूरा हुन्छ न उपन्यास कै|
सन्दर्भ ग्रन्थः
१. भ्रमर- रूपनारायण सिंह- श्याम ब्रदर्स-संस्करण
२. नेपाली उपन्यास र उपन्यासकार-कृष्णचन्द्रसिंह प्रधान- साझा. प्र.- दोस्रो २०४३
३. नेपाली उपन्यासका आधारहरू-इन्द्रबहादुर राई-सा. प्र. -दोस्रो २०५०
४. उपन्यास सिद्धान्त र नेपाली उपन्यास- कृष्णहरि बराल/नेत्र एंतम- साझा प्र. पहिलो २०५६
५. साझा समालोचना- सं. कृष्णचन्द्रसिंह प्रधान-सा.प्र. दोस्रो-२०३८
६. आधुनिक नेपाली उपन्यास-मोहन पी. दाहाल-दा. ग्र. स. स.- प. सन् १९८३
७. ‘प्यासी’-का केही समालोचना- साझा पु. भण्डार- सन् १९८३
८. समकालीन साहित्य ६ र २८ (अङ्क) ने. रा. प्र. प.
९. ‘अरूगी’– अशोक ब्रदर्श प्रकाशन प्रथम सन् १९८९
१. कृष्णहरि बराल र नेत्र एटम- उपन्यास सिद्धान्त र नेपाली उपन्यास- साझा प्रकाशन- पहिलो- २०५६-पृ.८|
२. कृष्णहरि बराल/नेत्र एटम- उपन्यास-सिद्धान्त र ने. उपन्यास-सा.प्र. पहिलो-२०५६- पृष्ठ-८७
३. कृष्णचन्द्रसिंह प्रधान- नेपाली उपन्यास र उपन्यासकार- पृष्ठ ६२
४. कृष्णचन्द्रसिंह प्रधान- नेपाली उपन्यास र उपन्यासकार- पृष्ठ २२२
५. जसयोञ्जन ‘प्यासी’- ‘आरूगी’ सन् १९८९ पहिलो -पृष्ठ ६८
६. राजनारायण प्रधान- केही कृति;केही स्मृति- सा. प्र. प्रथम-पृष्ट- ८३-८४
७. रूपनारायण सिंह-‘भ्रमर’- पृष्ट-३८
८. पूर्ववत्ः पृष्ट-३७
९. पूर्ववत्ः पृष्ट-८५
१०. कृष्णचन्द्रसिंह प्रधान- नेपाली उपन्यास र उपन्यासकार- पृ.२२७
११. डा.ईश्वर बराल- समकालीन साहित्य ‘६’ २०४९-पृ. ४५
१२. राजनारायण प्रधान- केही कतिःकेही स्मृति- पृ. ८३
१३. मोहन पी. दाहाल- आधुनिक नेपाली उपन्यास- पृ. ३६
१४. रूपनारायण सिंह- भ्रमर- पृ. ३०
१५. रूपनारायण सिंह- भ्रमर- पृ. २०
१६. पूर्ववत् पृ. २२
१७. कृष्णचन्द्रसिंह प्रधान- नेपाली उपन्यास र उपन्यासकार- पृ. २२२
१८. रूपनारायण सिंह- भ्रमर- पृ. ३१
१९. कृष्णचन्द्रसिंह प्रधान- नेपाली उपन्यास र उपन्यासकार- पृ. २२४-२२५
२०. रूपनारायण सिंह- भ्रमर- पृ. ९६
२१. जसयोञ्जन ‘प्यासी’ का केही समालोचना- पृ. ७
२२. रूपनारायण सिंह- भ्रमर- पृ. १९
२३. कृष्णचन्द्रसिंह प्रधान- नेपाली उपन्यास र उपन्यासकारहरू- पृ. २२४
२४. मोहन पी. दाहाल- आधुनिक नेपाली उपन्यास- पृ. ४०
२५. रूपनारायण सिंह- भ्रमर- पृ. २२
२६. पूर्ववत्- पृ. २३
२७. पूर्ववत्- पृ. १२४
२८. रूपनारायण सिंह- भ्रमर- पृ. ३०
२९. पूर्ववत् पृ. ६२
३०. पूर्ववत्- पृ. …
३१. जसयोञ्जन ‘प्यासी’-को केही समालोचना-
३२. ताना शर्मा- भानुभक्तदेखि तेस्रो आयामसम्म
३३. प्यासी- प्यासीका केही समालोचना
