Skip to content


मलाई कहिलेकाहीँ अचम्म लाग्छ ! मेरो स्वाभिमान र मेरो रोजाइको हालत देखेर । मनमा लागेको कुरा गर्न नपाउँदा मलाई हैरानी लाग्छ मलाई । आखिर रोजाइ कसको ?

बिहानै दाह्री काट्ने ब्लेड सकिएछ नजिकैको पसलमा दौडिएँ ।

‘साहुजी दाह्री काट्ने ब्लेड छ ?’, मैले सोधेँ ।

‘छ नि किन नहुनु तपाईँलाई कुनचाहिँ चाहिएको हो कुन्नी ?’, ऊ एकाबिहानै ग्राहक पाएको खुशीमा बोल्यो ।

‘जिलेट दिनुहोस् न ।’

‘त्यही त कुन चाहिँ दिऊँ ?’

‘जिलेट दिनोस् जिलेट ।’

‘त्यही त बिलेट त बिलेट नै हो तर कुन चाहिँ बिलेट ?’

बिचरा साहुजीको हालत देखेर मलाई हाँसो उठ्यो । म जिलेट माग्छु ऊ बिलेट सुन्छ । सम्झाइ-बुझाइ गरेपछि उसले अर्को ब्लेट निकाल्दै भन्यो, ‘त्यो त छैन तर यो लानुहोस् एउटै हो ।’ नहुनु मामा भन्दा कानो मामा बेस भनी त्यहीले काम चलाउने बिचार गरेँ ।

औषधि पसलेकोमा गयो मागेको औषधि ऊसँग हुँदैन । यो पनि त्यस्तै हो भनेर अर्को औषधि हातमा थमाएर पठाउँछ । कपडा पसलमा गयो भनेको कपडा पाइन्न अनि फेरि पसले भन्छ तपाईँले खोजेको जस्तै हो यो यहि लैजानुस् । चाउचाउ किन्न गयो राराको ठाउँमा रमपम भिडाइदिन्छ । यी त केही प्रतिनिधि उदाहरण मात्र भए । तपाईँ जहाँ जानुहोस् तपाईँले खाजेको कुरा पाउनुहुन्न र पाइहाल्नुभयो भने पनि त्यो तपाईँले चाहे जस्तो हुन्न । आखिरमा म सोच्न बाध्य हुन्छु, रोजाइ कसको ?

के म मेरो रोजाइको कारणले बजारमा उपलब्ध सामान र सेवा खरिद गर्छु कि बजारमा देखेको कारणले म त्यो खरिद गर्छु ? मेरो रोजाइको कारण बजारमा सामान आउँछ कि सामान पाइएको कारण म त्यो किन्न जान्छु । म नेपालमा हुर्र्केको कारण पिज्जा मेरो आवश्यकता र रोजाइ हैन तर होटलमा छिरेपछि मेनुमा लेखिएको कारण म पिज्जा खान खोज्छु । एकपल्ट चाखौँ न त कस्तो रहेछ भनेर कहिले नामै नसुनेका परिकार माग्ने प्रयास गर्छु । कपडा पसलमा गएर म आफैँ सोध्ने गर्छु अहिलेका लेटेष्ट के छ ? साहुजीले विभिन्न प्रकारका फेसनेवल कपडा देखाउँछ अनि म एउटा छानेर लगाउँछु , सुहाए जस्तो लाग्छ र किन्छु । म मख्ख परेर घर फर्किन्छु र सोच्छु आखिर मैले मेरो रोजाइको सामान पाएरै छाडेँ । बजारमा नयाँ मोबाइल आउँछ म किन्न जान्छु अनि मेरो रोजाइको मोबाइल किन्न पाएकोमा म मख्ख पर्छु ।

तर म आफै छक्क पर्छु ! आखिर रोजाइ कसको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *