दैत्यकार लप्काहरूमा
तिमी बौलाएको हात्ती भएर
प्रलयको ताण्डव मच्चायौ
अबोध कोक्राका बालकहरू
ती खेलौनाहरूसँगै
धेरै काखहरू र आशाहरू
निर्जन बगर बनायौ
आँशुहरू किस्तामा
रुन पनि नछोडी
हेक्का समेत बगायौ
तिमी आउँदा गाडेको
सिमानाको किला
फर्कदा कहाँ पुर्यायो निशान नै रहेन
अब फेरि कहिले पनि नआउनु
आउनै पर्यो भने पनि
मानव बस्ती भएर नआऊ
आँधि त्यो धैर्यताको टुट्ने मात्र नभई
सर्वस्व लुट्ने काम गर्यौ
दैत्यकार त्यो तिम्रो दानवीय लप्काले
सबै निल्यौ सबै सखाप बनायौ
तिम्रो लप्का को स्मरण पत्रमा
तिम्रो ताण्डवको सम्झना लिएर
तिम्रो आकाशमाथि छु
आज उड्दा उड्दै यो छातीमा
हिरोशिमा नागासाकी
अनि आलो ताजा यो फुकुशिमा
सेन्दाई, इशिनोमाकी, हाचिनोहे !
मेरो यो छातीमा बिझायो
तिम्रो आकाशमाथि फुकुशिमा !
ए सेन्दाई, इशिनोमाकी, हाचिनोहे !
तिम्रो सम्झनाले यो परेलीमा
अर्को सुनामी ल्यायो
चिच्च्याएर एक पटक रुन मन लाग्यो
तर तर मनभित्र भक्कानोलाई रोक्न खोजें
मनले थामेन त्यो भक्कानोले
यी परेली हरूमा सुनामी बगाई रह्यो
तिम्रो आकाशमाथी तिम्रो त्यो सिमाना मा !
फुकुशिमाको आकाशबाट
१ मे, २०१२, १५:००
जापान
