टिका कुमारी एउटी दलित हो | गाउँमा दलित हुनुको पुस्तौनी पीडाबाट उ पनि आक्रान्त छे | दलित त्यसमाथि केटि उसले बास्तवमा महिला हुनुको पिडा अनि दलित हुनुको पिडा दुवै भोगेकी छे | गरिबी अशिक्षाले चेपिएको त्यो गाउँमा उ हिलो भित्रको कमल भएर निस्किएकीछे | सबै भन्छन अवसर पाउदा उसले जीवनमा राम्रो प्रगति गर्छे | सामजिक रुपमा बहिस्कृत हुदा पनि उ कहिल्यै डगमगाइन | राम्रो पढ्ने र जीवनमा केहि गरेर देखाउने उसको प्रण हो | संघर्षको बावजुद उसले एस.एल सी सकाइ | उच्च शिक्षाको लागि उसले शहर जाने निधो गरि | घरको आर्थिक स्थिति उसलाई सहयोग गर्ने खालको थिएन | सबैले उसलाई नजान सल्लाह दिएका थिए तर उसले मानिन | अन्तमा गाउमा केहि परोपकारी निस्किए | उसमाथि दया गरे | अब उसलाई शहर जान र एकमहिना सम्म बस्ने खर्च जुट्यो |
टिका त्यहि पैसा र गाउँको प्रेम बोकेर शहर पसी | कहिल्यै शहर नगएकी टिकाको एक्लो संघर्षको यात्रा पहिलो दिन बाटै शुरु भयो | बस्ने कोठा खोज्ने देखि लिएर पढ्ने स्कुल अनि त्यो भन्दा बाच्नको लागि काम | यी सबै उसले एकैपटक गर्नु पर्ने थियो | उसले गएको दिन देखि नै विभिन्न स्कुलमा सम्पर्क गरि | एउटा स्कुलमा अनुनय बिनय गरेपछि राम्रै छात्रवृत्ति दियो तै पनि केहि त बुझाउने पर्ने थियो | उसले जति सक्दो चांडो बुझाउने बाचा बन्धन गरि | केहि समयका लागि पदने समस्या टर्यो अब अर्को सबै भन्दा ठुलो समस्या काम खोज्नु थियो | उसले आफु पढ्ने स्कुल देखि सबै तिर कामको लागि निवेदन हालेकीथिइ | केहि महिना स्वयंसेवा गरे काम दिने भन्नेहरु पनि थिए तर उ स्वयंसेवा गर्न सक्दिन थिइ | उसलाई बाच्नु थियो | एक महिनाको भाडा बुझाइ सकेको ले बस्ने समस्या एक महिनाको लागि टरेको थियो |
पढ्ने अनि काम खोज्न जाने उसको दैनिकी बनेको थियो | सबै तिर काम खोजि तर सफलता हात लागेन | शहरको प्रतिस्पर्धामा उसको योग्यता केवल एस एल सी पास थियो | उसले कसैको घरमा भन्दा माझ्ने खान पकाउने भएपनि हुन्छ भनेर सोची र खोजि तर समाजले भन्ने गरेको तल्लो जातकी टीकालाई छोई छोई हुने भन्दै काम गर्न पनि दिएनन | उसको स्कुलको तिर्नु पर्ने पैसा अनि घर भाडा नजिकिदै थियो | कयौ दिन उसले खाइन | तर पढाइ लाइ निरन्तरता दिइ रही | उसको घर भाडाको महिना मर्यो उसले आफ्नो समस्या देखाई घर बेटी कुर्न तयार भयो | एक दुइ तिन गर्दै महिना बित्यो उसले पाउने सानो तिनो काम खानको लागि ठिक्क हुन्थ्यो | अब घर बेटी नकुर्ने मा पुग्यो | उसले धेरै आग्रह गरि तर घर बेटीले सुनेन | महिनौ टिकाको आग्रहलाइ मान्दै आएको घरबेटीले अन्तत: आफुलाई कठोर बनायो | राजनैतिक कारणले अस्थिर हुदा कर्फ्यु लागेको अवस्थामा उसले घर बाट निस्किन भन्यो | उसले कर्फ्यु लाग्न छुटेपछी आफु जाने भनि | घर बेटीको सिधा जवाफ थियो मैले कर्फ्यु पछी पनि घर भदा पाउने हैन कर्फ्यु मेरो समस्या हैन तिम्रो हो | उसले टिकाको सामान बाहिर हुत्याइदियो | उ धेरै रोइ कराई तर घर बेटी पग्लिएन | संगै अर्को कोठामा बस्ने जीवनमान निस्कियो र टिकाको सम्पूर्ण सामान उठायो अनि आफ्नो कोठमा लग्यो | जीवन एउटा अपांग युवक हो | उ पनि अत्यन्त प्रतिभाशाली छ | आफ्नो अपांगतालाई आफ्नो जीवनको अवरोध कैले बन्न दिएको छैन उसले | पढ्दै जागिर खादै गरेको असल केटो हो उ |
टिका संग अर्को कुनै बिकल्प थिएन | जीवनको सहारा उसको लागि स्वयम् इश्वर प्रकट भए जस्तो भयो | जीवनको सहारा जीवनसहारा नै भयो | जीवनले टीकालाई आफ्नो कोठामा ल्यायो जहिले सम्म इच्छा छ बसेहुन्छ भन्यो र उसलाई खान दियो | टिकाले धेरै दिनपछी पेट भरि खाएकी थिइ | जीवन सम्पन्न हैन अनि शारिक रुपले अपांग हो तर उसको हृदय बिशाल रहेछ | टिकाको ठम्याई थियो | हुनत उ आफै पनि एउटा कोठमा बस्छ तर उसले टीकालाई ठुलो सहारा दिएको थियो |
भोलिपल्ट देखि काम खोज्ने दैनिकी फेरी शुरु भयो | एकदिन जीवनले टीकालाई अपांग आश्रममा एउटा काम गर्ने चाहिएको छ तर उसले अपांगहरुको फोहोर पनि सफा गर्नु पर्ने हुन्छ यदि तिमि इच्छुक छौ भने म काम मिलाइदिन्छु भन्छ | टिकाको लागि त्यो स्वीकार्य काम थियो उसले सजिलै मानि | जीवनले फेरी अर्को गुण थपेको थियो टीकालाई | अब दुवै संगै काम मा जान्छन आउछन | टिका खाना पकाउने ,जीवनको लुगा धुने सबै काम गरिदिन्छे | एकदिन बाटोमा कसैले पछाडी बाट भन्छ | ल हेर अपांगको रखैल आइ है | टिकाको लागि त्यो अस्हैय हुन्छ | उसले जीवनलाई आफुअब सक्षम भैसकेकोले कतै अन्तै बस्ने कुरा गर्छे अनि जीवनको सहयोग आजीवन नबिर्सिने कसम खान्छे | टिकाको बारेमा सुनेको जीवनले सजिलै उसलाई आफ्नो इच्छा अनुसार जान भन्छ |
समय क्रमसंगै टिकाले राम्रो संग पढाई पुरा गर्छे उसले राम्रो काम पनि पाउछे | उसंगै काम गर्ने केटा संग प्रेममा पर्छे | दुवै एक अर्कालाई ज्यादै माया गर्छन उनीहरु अब बिवाहका लागि तयार छन् | टिकाको संघर्ष पूर्ण जीवनले उसको नया प्रेमी प्रभावित पनि छ | एकदिन दुवै संगै हिड्दै हुन्छन कसैले पछाडी बाट भन्छ “ये हेरत यसको प्रमोसन भएछ अपांग बाट सर्वान्ग्को रखैल भइछ”| टिका र उसको प्रेमी दुवै नबोली घर पुग्छन छुट्टिने बेलामा टिकाको प्रेमीले भन्छ तिम्रो जीवनको यो पाटो मेरो लागि नौलो थियो | मैले तिम्रो बिषयमा धेरै जान्न पाएको रैनारहेछु | तिमि दलित म बाहुन त्यसलाई मैले कैले अवरोध बन्न दिन | तर जब चरित्र को कुरा आउँछ मैले भन्नु पर्छ म तिमि संग जीवनमा यो भन्दा अगाडी जान सक्दिन | हाम्रो प्रेमले यहि पूर्ण बिराम लगायो | म तिम्रो अतित र इतिहास सुन्न इच्छुक छैन तर मलाई लाग्छ हाम्रो भविष्य अब निजिकिनुमा भन्दा टाढीनुमा सुखद छ | जीवनभर तिमीमाथि शंकाले हेर्नु भन्दा मैले तिमीप्रति बनाएको सत्चारित्रको चित्रले हाम्रो जीवन सहज हुन्छ |
टिका सुनिरही रोइ रही | दुवै छुटीए |के हरेक पटक सीताले नै अग्नि परिक्षा दिनु पर्ने ? टिका आज पहिलो पटक सोच्दैछे अनि जीवन संगको सम्बन्धको परिभाषा खोज्दै छे | जिन्दगिसंग हार्न लाग्दा जीवन सहारा बनेर आएकै हो |उनीहरु एक अर्काको सहारा बनेकै हो | अझ टिकाको जीवन परिवर्तन गराउने उही हो | घरबेटीले निकाल्दा जीवनले सहारा नदिएको भए शायद कर्फ्युको बिचमा निस्किदा या त टिका मारिन्थी या बाचेको भए फेरी गाउ फर्किन्थी | टिकाले काम नपाउन्जेल जीवनले आफ्नो कोठामा राखेकै हो | कसैले उसलाई रखैल भन्यो त के भयो ? उसको के गल्ति ? बरु जीवन संगको सम्बन्धलाई परिभाषा दिन नसक्नु टिकाको गल्ति हो | उ आफैले आफुलाई दोषी बनाइ |
बर्षौ अघिको जीवन संगको सम्बन्ध उसको मस्तिष्कमा धमिलो भैसकेको छ | जीवन संगको सम्बन्धका कतिपय पाटा हरु सपना थियो या यथार्थ जस्तो भएर आउदै छ | टिका मान्छे उनीहरु बीच केहि त सम्बन्ध थियो र छ जसले आज सम्म उसलाई पछ्याउदै छ | टिकालाइ लाग्छ यो रंगिन शहरमा गैर शहरियाहरुको स्थान छैन | गरिब हरुको चरित्रको कुरा गर्ने यो शहर बतानुकुलित गाडी चढ्नेहरुको गलत चरित्रलाई ठालुहरुको फ्यासन भनेर पचाउछ | अनि गरिबको समस्यालाई चरित्रहीन | टिका गाउ फर्किने निर्णयमा पुग्छे | जानुभन्दा अगाडी जीवनसँग अन्तिम पटक भेट्न पुग्छे | उ जीवनलाई आफ्नो पिडा पोख्छे | तिमीलाई शारीरिक रुपले अपाङ्ग भन्ने यो शहर मलाई चारित्रिक रुपले अपांग भन्छ तर म भन्छु यो शहर मानसिक रुपले अपांग छ | मैले यो शहर छोड्ने निश्चय गरे | जीवनले टीकालाई तान्दै भन्छ “तिम्रो अपांगताको म सहारा बन्न तयार छु के तिमि मेरो सहारा बन्न तयार छौ ?” टिकाले मौन स्वीकृति जनाउछे
