Skip to content


फूर्तिलो जीउ, ५ फिट ३ इन्च उचाइ, चौडा छाती, चम्किला आँखा, गोलो अनुहार र टम्म मिलेको शरीर। ‘गड गिफ्टेड बडी’को धनी सेते। भगवान्ले उसलाई गरबि परविारमा जन्म दिए पनि उसको मन भने धेरै धनी थियो। गाउँकै स्कुलबाट एसएलसी पास गरेको भए पनि नोकरी पाउन सकेको थिएन उसले। उसको बुबा दमको रोगी, आमा मधुमेहबाट पीडित। सम्पत्तिका नाममा दुई-चार कट्ठा जग्गाजमिन मात्र थियो, त्यो पनि पाखो र बारी। त्यसबाट उसलाई खासै उब्जनी प्राप्त हुँदैनथ्यो। जे भए पनि गाउँघरमा उसको छवि राम्रो थियो। आफ्नो घरको अतिरिक्त छिमेकी र गाउँलेको काममा सहयोग गर्नु उसको दैनिकी थियो। ऊ आमाबुबाको एक मात्र छोरो थियो। ऊ गाउँले बिरामी हुँदा बिरामी बोकेरै पनि अस्पतालसम्म पुर्‍याउँथ्यो। त्यसैले होला, उसलाई गाउँलेहरूले असाध्यै मन पराउँथे। ऊ गाउँबाट टाढा जाओस् भन्ने चाहना कसैको थिएन। तर, सेतेको इच्छा प्रहरी बन्ने थियो। बाटामा हिँड्दा टक्क मिलेको युनिर्फम, टलक्क टल्केको कालो बुट, पेटी, टोपी, छडी र ब्रसकट कपालमा कुनै प्रहरीलाई देख्दा ऊ आफू पनि यस्तै प्रहरी भएको कल्पनामा रुमल्लिन्थ्यो। यसरी ऊ लोभिँदै गयो प्रहरी सेवाप्रति। उसको मनमा पनि एउटा राम्रो प्रहरी बन्ने पवित्र विचार आयो। उसको गाउँसँगैको अर्को गाउँका भिते र लोते पनि प्रहरी भइसकेकाले उसभित्र प्रहरी बन्ने इच्छा झन् तीव्र हुँदै गएको थियो। त्यसैले उसले विगतका तीन वर्षमा तीनपटक प्रहरीमा भर्ना हुन निवेदन दियो पनि तर पास हुन सकेको थिएन।

यसपालि पनि प्रहरी भर्ति खुलेको हल्ला गाउँमा पुगेको मात्र के थियो, सेते त खुसीले नाच्न थाल्यो। घर, परविार र गाउँले भने सेते गाउँबाहिर रहोस् भन्नेमा खुसी थिएनन्। तर पनि सेते प्रहरीमा जागिर खाने तयारीमा दिलोज्यानले जुट्न थाल्यो। गाउँको मुखिया, सचिव र स्कुलका हेडसरको सिफारसि पनि दुई दिनमै बनाएर भ्यायो उसले। यसपालि भने उसले साँच्चै प्रहरी भएको अनुभूति गर्न थाल्यो। आमाले सेल, मकै, भटमास र चामल भुटेर रुमालमा बाँधेर रसाएको आँखा पुछ्दै सेतेको झोलामा राखिदिइन् । ठूलोबुबासँग सापटी लिएको केही पैसा बोकेर निधारमा रातो टीका र आमाको आशीर्वाद लिएर देउरालीको बाटो हुँदै ऊ प्रहरी बन्न हिँड्यो सहरतिर।

प्रहरी तालिम केन्द्रको गेटमा ठूलो भीड थियो। दरखास्त दिनेहरूको लामबद्ध ठूलो भीड थियो। सेते पनि खाजा (भुटेको भटमास र मकै) चपाउँदै बिहानैदेखि हातमा दरखास्त र सिफारसिपत्रहरू बोकेर लामबद्ध भयो। आवश्यक कागजातसहितको सेतेको निवेदन जाँचबुझपश्चात् १०१ नम्बरमा दर्ता गरियो र परीक्षा तालिकासहितको प्रवेशपत्र उसलाई दिइयो। प्रहरी भर्ना छनोट परीक्षा सुरु हुने दिन बिहानैदेखि तालिम केन्द्रवरपिरि मेला लागेजस्तो दृश्य देखिन्थ्यो। आवेदकहरू तालिम केन्द्रभित्र जम्मा भएका थिए, आफन्त नातेदारहरूको बाक्लो भीड बाहिरपट्टि थियो। भर्ना छनोटमा खटिएका प्रशिक्षकहरू आ-आफ्नो स्थानमा पुगिसकेका थिए। निवेदकहरूमध्ये कोही दगुर्दै थिए, कोही झुन्डमा उभिएर खासखुस गर्दै थिए। उता प्रशिक्षकहरू छनोटमा व्यस्त थिए।

“दर्ता नं १०१ !” भर्ना छनोटमा खटिएको प्रहरीको जोसिलो आवाजसँगै सेते फूर्तिका साथ अगाडि हाजिर भयो। उसको नाप, तौल लिएपछि छोटो र लामो दूरीको दौडमा उसलाई समावेश गराइयो। यसपालि सेतेले प्रहरी भर्ति भएरै छाड्ने दृढ संकल्प गरेको थियो। त्यसैले ऊ प्रतिस्पर्धात्मक दौडमा मृग कुदेजस्तै कुद्यो र आफ्ना साथीहरूको दुई राउन्ड दौड बाँकी छँदै उसले आफ्नो दौड सिध्याइदियो। “स्याबास १०१ नं ! तिमीजस्ता फूर्तिला जवान आवश्यक छन् प्रहरीमा।” छनोट टोलीका एक प्रहरीले उत्साहित बनायो उसलाई। दौडपछि बाधापार (अब्स्टेकल)को परीक्षा थियो। प्रशिक्षकले नमुना प्रस्तुत गरेर देखाइसकेपछि प्रशिक्षार्थीहरूलाई क्रमैसँग बोलाइयो, दर्ता नं १, २, ३…। प्रहरी भर्ना छनोटमा ब्ााधापारको निकै ठूलो महत्त्व हुन्छ। प्रहरीमा भर्ति हुन आउनेहरू बाधापारका विभिन्न चरण पार गर्ने/नगर्नेहरू यहीँबाटै छाँटिन्छन्। यसमा पास नहुनेले आफ्नो कुम्लोकुटुरो बोकेर सीधै घर फर्किंदा हुन्छ। प्रशिक्षकहरूले बेलाबेलामा भन्ने गरेका शब्दलाई उसले ध्यान दिएर सुनिरहेको थियो र छेउमै बसेर साथीहरूले बाधापार गर्दै गरेको दृश्य हेरिरहेको थियो। हुन त सेतेले यो बाधापारको सबै चरण पोहोर साल पनि पार गरसिकेकाले यसपालि ऊ झन् ढुक्क थियो। आफ्नै आँखाअगाडि कतिले सबै चरण पार गरेको तर कतिले त बीचैमा छोडेको दृश्य पनि सेतेले हेरिरहेको थियो। अब पालो आयो १०१ नम्बरको। खोला-नाला, भीर-पाखा, कुना-कन्दरा सजिलै पार गर्नेे सेतेका लागि यो बाधापार कुनै बाधा बनेन, सजिलैसँग उसले सबै चरण पार गर्‍यो। अनि, बाधा पारको नतिजा भोलि बिहान प्रकाशित हुने घोषणा गरियो। सेतेले बाधापारका सबै चरण सजिलैसँग पार गरेकाले उसलाई नतिजा प्रतिकूल होला भन्ने कुनै द्विविधा थिएन। अनि ऊ ढुक्क भएर बासमा फर्कियो र आमाले पकाएर बाँधिदिएको पोकोबाट सेल झिकेर कपाकप खायो। धारामा गएर पेटभरि पानी पियो र निद्रादेवीको काखमा पल्टिएर निष्फिक्री निदायो। भोलिपल्टको बिहान भालेको पहिलो डाँकसँगै ऊ बिउँझ्यो। हातमुख धोयो, घरबाट ल्याएको खाजा चपायो, टन्न पानी पियो अनि लाग्यो तालिम केन्द्रतर्फ।

बाधापारमा पास हुनेहरूको नामावली गेटमा टाँसिएको थियो, नतिजा हेर्नेहरूको निकै भीड थियो। ऊ त्यसै भीडमा हराएर दर्ता नं १०१ खोज्न थाल्यो। उसले दोहोर्‍याई, तेहर्‍याई माथिदेखि तलसम्म धेरैपल्ट नतिजा हेर्‍यो तर त्यहाँ उसको नम्बर थिएन। अनि, ऊ निराश भयो, उसका ओठमुख सुके। निरास मुद्रामा ऊ बासतिर फर्कियो। फिजिकल फिटनेस, दौड र बाधापारमा ऊ १ नम्बरमा थियो। हिजो बीचैमा छोड्नेहरू पास भएका रहेछन् तर सेते यसपालि पनि पास भएन।

तीन वर्षअघि उसलाई लिखितमा फालियो। पोहोर साल अन्तर्वार्तामा अयोग्य ठहराइयो। परार साल छाती फुलाउँदा कम पाइयो र उसको तौल ५२ किलो हुनुपर्नेमा ५१ दशमलव ९ किलो मात्र भयो भनेर प्रहरीका लागि अयोग्य भनियो।

तर, यसपालि ऊ आफू प्रहरी हुनेमा ढुक्क थियो। जीउडाल पनि तन्दुरुस्त थियो, पढाइमा पनि एसएलसी पास छँदै थियो। तर, ऊ प्रहरीमा भर्ती हुन योग्य ठहरिएन। घरदेखि तालिम केन्द्रसम्मको यात्रामा उसले थुप्रै सहयोगीहरू भेट्यो। काठमाडौँ गएर नाम टिपाएर आउनेदेखि तालिम केन्द्रमा नाम पठाइदिने र प्रहरी बनाइदिनेसम्मका आश्वासन पनि पाएकै थियो। खालि उसको आर्थिक अवस्थाले साथ दिन सकेको थिएन। आफूलाई कुनै पनि क्षेत्रमा कमजोर नठान्ने सेते आज आफैँदेखि निरास भयो। सबैका लागि राम्रो सेते प्रहरीका लागि हाम्रो बन्न सकेन। धुले सडकको यात्रामा शून्यमा हराउँदै सेते घरतिर हुत्तियो, मनभरि असफलताका पीडा बोकेर।

गाउँमा पुगेपछि सेतेको प्रहरी बन्ने इच्छा पूरा नभएकामा आमाले आँखाबाट आँसु झारिन् र भनिन्, “सेते, प्रहरी बन्नलाई त सिफारसि, पैसा र भाग्य पनि चाहिन्छ तर तिमीसँग त यी तीनवटै योग्यता छैनन्। अब तिम्रो यो रहरलाई छोड र खेत जोत्न हिँड !” बिचरा सेते टलपलाएका आँखा पुछ्दै काँधमा हलोजुवा बोकेर गोरु खेद्दै आमाको पछिपछि खेततिर लाग्यो।

सेतेका परविारले चुनावमा भोट त हाल्ने गरेकै थिए तर कसलाई दिनुपर्ने थियो र कसलाई दिइएछ, त्यो भने थाहा पाउँदैनथे। प्रहरीमा जागिर खाने कोही छ भन्दै आठ वर्षअगाडि गाउँमा ढोल पिटिएको थियो तर त्यसबेला सेतेको उमेर पुग्दैनथ्यो। आज जब उसको उमेर र योग्यता सबै पुगेको छ, ऊ प्रहरी हुनबाट वञ्चित भएको छ।

सेते अचेल निद्रामा बर्बराइरहन्छ। सच्चा प्रहरी बन्ने दौडमा जित्दाजित्दै पनि ऊ हारेको छ। अब अर्को वर्ष आवेदन दिन त उससँग उमेर पनि बाँकी रहँदैन। किनभने, आउँदो साल त ऊ २३ वर्ष पूरा भइसकेको हुनेछ। त्यसैले सपनामा नबुझिने के के शब्द ऊ बर्बराइरहन्छ एकतमासले। कहिलेकाहीँ आमाले झकझक्याएर बोलाउँछिन् र सोध्छिन्, “के बर्बराइरहन्छ यो?” तर, उसलाई निद्रामा आफ्नो मुखबाट निस्केका शब्द पनि थाहा हुँदैनन्। र, सपनामा बर्बराएको कुरा ऊ त्यति सोच्दैन पनि। ऊ मनमनै सोच्छ, “यो पनि कुनै सपना हो? उसको सपना त प्रहरी बन्ने थियो तर नियतिले त्यो सपना कहिल्यै पूरा हुन दिएन।”

नेपाल साप्ताहिक ४८८

Leave a Reply

Your email address will not be published. Required fields are marked *