एकाबिहानै शेरे कागजको कपमा कफी पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ । । वरिपरि गगनचुम्बी महलहरू (टावरहरू) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा गल्फ कम्पनीको एउटा क्यापेट एरियामा ऊ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले निक्कै बेर सोचमा डुबिरहन्छ । शायद ऊ हिजो हिडेकोबाटोहरू अनि हिंड्दै जाँदा पुगेका दोबाटो, चौबाटो, घुम्ती र कुइनेटोमा ठोकिएका पलहरूले झस्किदै छ र त क्षण क्षणमै सोच भङ्ग गर्दै त्यसको झोकमा कफीको सुर्की कसेर तान्छ। नझस्किनु पनि कसरी ? घरदेश छाडेर प्रदशको यो मरुभूमि, बालुवाको खानीमा पाइला टेकेको पनि १० औं वर्षा बितिसकेछ । आएदेखि ३ वर्षमा एकपटक मात्र घर फर्केको त्यसपछि नफर्केको पनि सात वर्ष बितिसकेको थियो । तामाको मुना जस्ती छोरीको रुप रंग समेत देख्न पाएको छैन, उसो त मन्दिरको मूर्ति झैं देखिने आफ्नो जीवन संगिनी बिमलीलाई नदेखको पनि सात बर्ष नै भैसक्यो ।
हिजो १० औं बर्ष अगाडि काठमाण्डौंको सरकारी कलेजमा समेत पढ्न नसक्दा र त्योभन्दा बढी बिमलीको कुरा टार्न नसक्दा तिनै बिमलीको कानको टप बेचेर शेरे पासपोर्ट बनाएर कतार भासिएको थियो । उसको जीवनसंघर्ष पनि आफ्नै किसिमको छ। धेरै समयसम्म म्यानपावर धाउँदा मात्रै शेरेले अरब मुलुक कतारमा पाइला टेक्ने मौका पाउन लागेको थियो । तर त्यसलाई शेरेले झिनो आशाको रुपमा मात्रै लिएको थियो, किन कि उसको त्यस्तो आशाको फूलहरू धेरै पटक नै निमोठिएको थियो । उसो त बर्षौ दिन मेला पात गरेर भएपनि छोरालाई राम्रो र असल मान्छे बनाउने शेरेको बाबुआमाको रहरहरू, आकांक्षाहरू नतुहिएको कहाँ हो र? सदरमुकामदेखि २ दिन पैदल यात्रापछि पुग्ने मकवानपुरको त्यो शिर धादिङ जिल्लाको आँगन खैराङ्ग भन्ने गाउँमा जन्मी हुर्केको थियो शेरे। त्यो पनि निम्न वर्गीय परिवारमा । त्यो धादिङको फेदी हुँदै मकवानपुरको धेरै गाविसहरू छिचोल्दै मनहरी पुलको टांगमुनिबाट राप्ती नदी भेट्न निस्केका गोरांग्दी खोलाको तिरमा थियो शेरेको घर । त्यही गोरंग्दी खोलामा दुवाली थुनी माछा मारी बेची खाइ हुर्केको थियो शेरे । शेरे नाङ्गै भुतुङ्गै बनेर खेल्ने गर्थ्यो सानोमा त्यही खोलामा । अहिले त्यो खोलाले निक्कै रुप फेरिसकेको छ । धेरै फलामे पुलको गहना लगाई सक्यो र धेरै भूभाग ओगटेर आफ्नो अधिपत्य जमाउँदैछ । बर्षायाममा बैश चल्दा धेरै मान्छे पनि बगाईसक्यो त्यो खोलाले तर शेरेको उमेरले धेरै बसन्तहरू पार गरे पनि दु:ख र पीडाले मात्रै बिकसित रुप लियो जसले गर्दा शेरे आज आएर एक कतारिको घरायसी ड्राईभरको रुपमा बस्न बाध्य छ । अहिले आएर एकातिर यति धेरै गरिबी हुनुको पीडाले आफ्नै जीवन प्रति घृणा गर्दैछ त अर्कोतिर जीवनमा आएको मौकाको फाइदा उठाउन नसक्दा पश्चतापको भेलमा बग्दैछ ।
१० बर्ष अघि कालिमाटी नजिकै काँचो इँटाको घरमा भाडामा बस्दा सानुबाबुचा घरबेटीको किच किच खप्न नसकेर रुदै गर्दा बिमलीले भाई सरह मानेर सान्त्वनाका शब्दहरू प्रकट गर्दां राहत महशुस गरेको थियो । उसैको सहानुभूति र हौसलाले नै शेरेले आइ. ए. पास गरेको थियो । बिहान बेलुका सडकमा तरकारी फिजाएर बस्ने ती बिमलीले कति दिनसम्म सहानुभूति र सहयोग गरुन । एकदिन बिमलीले मुखै खोलेर भनेकी थिइन् “बाबु शेरे देशमा बसी खाइ सक्नु छैन, त्यस माथि तिमी केही काम नि गर्दैनौ । बरु बिरे, मंगले जसरी विदेश तिर लाग । परेको ऋण म काट्छु बोक्छु ” भनेर ।
अरु विदेश तिर लागेको देख्दा र विदेशबाट भनेको जस्तो tv कम्प्युटर ल्याएको र सुकिला मुकिला भएर आएको देख्दा शेरेलाई पनि कता कता विदेश गैहालुँ जस्तो लागेकै थियो । बिमलीको त्यो वाक्य सुन्नसाथ शेरेले खुसी भएर बिमलीलाई जुरुक्क उचालेर “हो र दिदी?” भन्दै बारम्बार चुम्बन गर्दै फनफन्ती घुमाएको थियो । सानोमा आफ्नो बाबा आमाको चुम्बन बाहेक अहिलेसम्म कसैको स्पर्श समेत राम्रोसँग नपाएकी बिमली शेरेको त्यो हरकतले हत्प्रभत भएकी थिइन। लाजले पानी पानी भएकी थिइन। रगत मासुको कुनै सम्बन्ध नै नभएपनि दिदी र भाईको सम्बोधन गर्दै एकै घरमा वल्लो र पल्लो कोठामा बस्दै आएका ती जोडी बीच अन्य कुनै त्यस्तो नाता थिएन। शेरे गाउँबाट काठमाण्डौंमा पढ्न भनी बसेको थियो भने बिमलीलाई आफन्तद्वारा सानैमा गाउँबाट गलैंचा बुन्न काठमाण्डौं ल्याईएको थियो। तर बिमली ४, ५ बर्षपछि आफू जान्ने बुझ्ने भएसी गलैंचा बुन्न छाडेर २, ४ सयको तरकारी किनी सडक छेउमा बिहान बेलुका बेच्ने काम गर्न थालेकी थिइन् । काठमाण्डौं जस्तो ठाउँ दुवै एक एकजना मात्र काम गर्न जाँदा कोठाको काम गर्न नभ्याउने त्यसैले पालै पालोसँग एकार्काको काम सघाईदिने गर्दथे। खाने पानी थाप्नेदेखि लिएर हरेक काममा दुवै सरिक हुन्थे। आफूले भनेको कुरामा कुनै आनाकानी नगरिकनै खुरुखुरु मानेको देखेर बिमली बिस्तारै बिस्तारै शेरेप्रति आकर्षित हुदै गैएकी थिइन् आफूलाईभन्दा बढी शेरेलाई केयर गर्ने गर्थिन । सायद त्यसैको फलस्वरुप होला बिमलीले शेरेसँग विदेश जाने कुरा गर्न जाँदा त्यस साँझ शेरेको चुम्बनको वर्षात पाएकी थिइन्। । सुनसान त्यो साँझ जति जति ढल्किंदै थियो त्यति नै उनीहरूको माया र बिश्वासको फूल झाँगिदै थियो । जसको कारण दुबैले बैँशको त्यो उन्माद छताछुल्ल हुने गरी पोखाएका थिए एकार्कालाई अंगालोमा बेस्सरी कसेर । हो त्यस रातपछि बिमली शेरेको दिदी रहिनन्, शेरे बिमलीको भाई रहेनन्। उनीहरूको नाताले एउटा संघर्षशील प्रेमिल जोडीको रुप धारण गर्न पुग्यो । त्यो रात उनीहरूले एक निन्द्रा पनि नसुती बिताए । त्यहाँ कसैको अबरोध थिएन । काँचो इँटाको गारो जसले सिमेन्ट र बालुवाको खोल ओढ्न नपाउँदा नाङ्गै ढुसी परे जस्तो देखिन्थ्यो । आँखाहरू रसाएर ओसिलो । पल जुरेकोमा दुवै निकै खुशी थिए। । त्यसैले कहिले पल्टने कहिले उठेर गुन गुन गरिरहन्थे तिनिहरू बस्दा पनि बिझाउने खाटको त्यो करङमाथि। सुत्दै गरेको शेरेको सिरानी थप्पक्क झिकेर शेरेको टाउकोलाई आफ्नो काखमा राख्दै एक हातले सुम्सुम्याउदै बिमलीले भनेकी थिइ “शेरे ! अब ढिला गर्नु हुन्न पासपोर्ट बनाइहालौं बरु त्यसको लागि पैसा म जसरी भए पनि खोज्छु ।” तर, शेरेको मुखमा हुन्छ र लभन्दा अरु वाक्य नै थिएन । बिचरा अरु भनलाई त उसंगकुनै उपाय पनि त थिएन । अरु त उसले के नै पो भनोस। घरको आर्थिक स्थिति अत्यन्त दयनीय भएकोले पनि शेरे चुपचाप टाउको हल्लाउँदैथ्यो। । सायद बिमलीसँगको संसर्गले होला शेरे शिथिल हुदैंथ्यो। बिमलीको स्पर्शले बिस्तारै गल्दैथ्यो अनि निदाउँदैथ्यो भने बिमली मनैभरि सप्तारंग्गी फूलहरू फुलाएर झन् झन् जोसिदै सपनाका रुप रंग फेर्दै थिइन् ।
बिचरी बिमली मुखले जे जति बर्बराए पनि के नै आधार थियो र पैसाको जोहो गर्नलाई। एकातिर साहु (ठेगेदार)को यौन शोषणमा पर्ने डरले गलैँचा कारखाना नै छोडेर बसेकी थिइन भने अर्कोतिर टिबीले ग्रस्त बुढो बाउको जिम्मेवारी पनि निभाउनु परेको अवस्था थियो ।
न त गरेर खानलाई पुग्दो जग्गा जमिन नै थियो । सायद यिनै कुराहरू मनमा खेलाई बसेकी थिइन बिमली एक्कासी शेरेले “आत्था के गरेकी?”भन्दा पो झस्याङ्ग भएकी थिइन्। कसो कसो बिमलीको हातहरू शेरेको टाउको सुम्सुम्याउँदा सुम्सुम्याउँदै कपाल उखेलिन पुगेछ। बिमली झस्की र फिस्स हाँस्दै “शेरे म त कहाँ कहाँ पुगिछु ।” भनी। त्यसैले थाहै पाइन, तिमीलाई दुखाउन पुगें आइम सरी । यसो भन्दै उनी आफ्नो पाकी रहने कानको लोती सुमसुम्याई । जुन कानमा सानो बिबिराले घाउको रुप लिदैं बिगत एक वर्षदेखि बिमलीलाई सताउँदै आएको थियो । । यति बेलासम्म घामको जन्म भै सकेको थियो भने बिस्तारै घामको किरणहरू धरामा परावर्तित हुन थालिसकेको थियो । छिटपुट रुपमा यात्रुहरू आफ्नो गन्तव्य ताक्दै कालिमाटीक गल्ली गल्ली हिंडेको सुनिन्थ्यो भने बस र टेम्पोको खलासीहरूले कलंकी, थानकोट, सुन्धारा रत्नपार्क नयाँ बानेस्वर भन्दै गरेको प्रस्ट सुनिन्थ्यो । । जो जहाँ जे जस्तो हालमा भएपनि शेरे त्यही थियो, बिमली त्यही थिइन् शेरेको टाउको मुसार्दै भित्तामा अडेस लागेकी थिइन् । त्यो रात ती युगल जोडीको निम्ति सुनौलो बिहानी बोकेर आउँदैथ्यो सुखद समाचार लिएर । कानमा सुमसुम्याई रहेको एउटा हातलाई त्यही कानको टपमा टक्क अडाएर बिमली भुइंमा हेर्दै टोलाउन थालिन जहाँ शेरेको पुरानो जुत्ताले एउटा जिब्रो निकाली रहेको थियो भने एउटा चाहिं घोप्टो परेको थियो ।
एक्कासी बिमलीले सोचभङ्ग गर्दै भनी “शेरे सुनन! तिमी सदरमुकाम जाउ ल। ”
एउटा आँखा मात्रै खोलेर शेरेले “जान त जाने तर पैसा खै त?” भन्यो ।
बिमली केही गम्भिर भएकी थिइन् त्यति बेला। हातले सुम्सुम्याउँदै गरेको कानको टप निकाल्दै भनिन् “४, ५ वर्ष गलैचाँ बुनेर खाईनखाई जम्मा गरेको पैसाले बनाएको यो टप नै लगेर बेच र आएको पैसाले जाने बन्दोबस्त गर न । म्यान पावरमा भिसा नझरुञ्जेल सम्ममा अरु पैसाको बन्दोबस्त म मिलाउँदै गर्छु।”
यसो भनी रहँदा बिमलीको अनुहारमा मिश्रित भावहरू देखापर्दछ। हाँसो र वेदना एकैपटक छचल्किन्छ । हुन्छ र ल भन्न मात्रै जानेको शेरेले सहमतिको शिर हल्लाउँदै हुन्छ भनी जोर टप खल्तीमा हालेर हिड्यो सदरमुकाम हेटौडांतिर। यता बिमली लागि आफ्नो दैनिकी तर्फ सडकमा तरकारी बेच्न जहाँ कुहिएको आलु र प्याजको भाउ हुन्छ तर मानिसको कुनै भाउ हुन्न।
। किनकी बिमली एक गरिब केटी थिइन् । आफू जस्तै अन्य तरकारी बेच्ने महिलाहरूले समेत आफ्ना दाजुभाई र लोग्नेहरूलाई बिमलीको नजिक पर्न समेत दिदैनथे । यसको मुख्य कारण बिमली गलैँचा बुन्ने केटी थिइन बिगतमा।
यस्तो घटिया व्यवहार देख्दा पहिले पहिले बिमली रातैभरि रुन्थिन् तर अचेल बानी परिसकेको थियो। उनी सजिलै पचाउँदैथिइन् यस्ता कुराहरू। र त यस्तो कुरालाई हाँसोमा उडाई दिन्थी । देशमा अशान्तीको बादल मडारिदैथ्यो। अड्डा अदालतको काममा कुनै छरितो पन थिएन । त्यसमाथि बिहान निस्केको मान्छे सांझमा फर्किन्छ फर्किन्न कुनै ठेगान थिएन। बिमलीसँग छुटेको ११ औं दिनमा शेरे काठमाण्डौंमा झुल्कियो । ऊ निकै मख्ख थियो। सायद उसलाई लागेथ्यो हातमा पासपोर्ट आउने बित्तिकै विदेश जान पाउनेछ । तर महिनौसम्म म्यानपावर धाउँदा पनि कुनै चाँजो पाजोँ मिल्न सकिरहेको थिएन। एकदिन शेरेले आफ्नो एकजना साथीको बाबुलाई भेट्यो । उसैले शेरेलाई कतार पुर्यादिने बन्दोबस्त मिलाईदिन्छ। पासपोर्ट बुझाएको १ महिना पछि भिसा झर्छ भन्ने कुराले दुबै हर्षको आँशु झार्छन् तर भिसाको लागि उनीहरूसँग पैसा हुन्न। त्यसैले दुबै लागे आ-आफ्नो जन्मथलो जहाँ उनीहरूलाई गरिबी र केही नाङ्गा फुल्न छाडेका पाखा बारीहरूले स्वागत गरिरहेको थियो। दुबैले पचास पचास हजारमा बारी धितो राखेर पैसा लिएर फर्किए ।
त्यही एकलाख बुझाएको ११ औं दिनमै भिसा झर्छ। मनैभरि सप्तरङ्गी साँचेर दुबै रातदिन बिताउन थाल्छन । त्यसपछि लाग्छ शेरे विदेशी भूमिमा रगत, पसिना बगाउन । छुट्ने दिनमा दुबै एकार्कालाई अंगालो मारेर रोए। सायद यसको प्रत्यक्षदर्शी त्यो काँचो इँटाको पुरानो घरपनि रोएको हुनु पर्छ, त्यो युगल जोडीको रुवाई देखेर । शेरे कतार उड्यो बिमली साबिक झैँ तरकारी बेच्न लागिन । यता बिमली सुन्दर सपनाहरू संगाल्दै थिइन् भने उता शेरे कुनै आधारभूत तालिम नलिई गएकोले हातमा केही शिप नहुँदा मरुभूमिमा बन्दै गरेको एक घरमा चौकीदारी (जसलाई नाथुर भनिन्छ)गर्न थाले । बिना एसी, बिजुली नयाँ घरमा शेरेले २ वर्ष बितायो। त्यसपछि उक्त घरको घरमालिकले शेरेको इमान्दारिता देखेर उक्त घरमा आफू सरेकै दिनदेखि घरायसी ड्राइभर राख्ने निधो गर्यो, ड्राईभिङ्ग् स्कुलमा भर्ना गरिदियो अब शेरे ड्राईभर भयो । मासिक आम्दानी बढ्न थाल्यो । केही महिनामै शेरेले आफ्नो ऋण पनि चुक्ता गर्यो ।
शेरेले घरदेश छाडेको ३ साल बितिसकेकोले होला आफ्नो मातृभूमिमा टेक्न शेरेलाई हतारो लागिरहेको थियो । त्यसैले बिमलीको लागि एकसरो धागो समेत नलिई शेरे नेपाल फर्किन्छ । उसो त आफ्नो लागि पनि केही किन्दैन । तै पनि बिमली शेरेलाई भेट्न पाउँदा अत्यन्तै खुसी थिइन्, हर्षोउन्माद देखिन्थ्यो बिमलीको मुहारभरि। आउने जानेबाटो खुल्यो शेर अब पिर नगर धेरै । ऋण पनि चुक्ता भैहाल्यो । अब कमाएको हाम्रै हो भनेर शेरेलाई ढाडस दिन्थी बिमली ।
३ बर्ष छुटेर बस्नु पर्दाको ती दुखद पलहरूलाई भुलाउन दुबै सँगै बस्न थाले । बिमली पनि तरकारी बेच्न छाडेर शेरेसंगै घुम्घाममा लागि । फलत उनी गर्भवती भैईन्।
जम्मा दुई महिनाको छुट्टीमा आएको शेरे बिमलीसँग अघाउन्जेल बस्न नपाउँदै जाने दिन संघारमै आइसकेको थियो । लगत्तै फर्की पनि हाल्यो आफ्नो मायाको चिनो बिमलीलाई सुम्पिएर । शेरे बिनाको रातहरू बिष्णुमति पुल मुनिको भुस्याहा कुकुरको भुकाई संगै बिताइन बिमलीले । शेरेको इमान्दरितामा कुनै कमी आएको थिएन । त्यसैले साहुले गृष्मऋतुमा युरोप घुम्न जाँदा घरको सबै अभिभारा शेरेलाई सुम्पिएर जान्छ विश्वासका साथ । त्यति ठूलो बङ्गालामा एकजना इण्डोनेशिया र एकजना फिलिपिनी केटी (खादामा) बाहेक अरु कोही थिएन ।
एक त साहु नभएको बेला अर्को तर्फ बिमलीको न्यानो अंगालोको अभाव महशुस गर्दैथ्यो शेरेले । त्यही परिवेशमै शेरे र फिलिपिनी केटी बिच अनैतिक सम्बन्ध स्थापित हुन पुग्छ । फिलिपिनी केटीको स्वार्थमा शेरे चुर्लुम्म डुब्न पुग्छ। बिमलीसँगको सारा वाचा कसम बिर्सिएर त्यो फिलिपिनीसँग लुप्त हुन्छ। हुदाँ हुदाँ शेरेले बिमलीको गर्भमा हुर्कँदै गरेको नासो समेत चटक्कै बिर्सियो ।
अब बिस्तारै त्यही फिलिपिनी केटी नै प्यारो लाग्न थाल्यो। बिमलीको चिठीको जवाफ समेत फर्काउन छाड्यो। यी सबै कुरा एकदिन साहुले थाहा पाए पछि शेरेलाई हकार्दै कामबाट निकालिदियो । तलब समेत दिएन। उत फिलिपिनी बाठी थिई । राजदुतावस, अड्डा अदालत धाएर भए पनि आफ्नो लाग्दो रकम उठाएर लागी आफ्नै देश ।
तर शेरे बिचरा न घरको न घाटको भयो। न उसले तलब नै पायो न घर फर्कनै । तर भाग्यवश उक्त साउले पुन:बस्न दियो, खान दियो तर तलबबीहिन। यता बिमलीले धेर समयसम्म शेरेकोबाटो हेरी । छोरी जन्मी हुर्की बाबुको खोजी गर्दासम्म पनि शेरेको अनुपस्थिति रहदाँ बिमलीले जीवन जिउने आधारको आवश्यक्ता महशुस गरी । त्यसैले निधो गरी जीवनमा एउटा न एउटा सुख दु;ख साट्ने साथी चाहिन्छ ।
अहिले बिमलीले आफूभन्दा ६, सात वर्ष जेठो कालीमाटीमा ट्याक्सी चलाउनेसँग बिबाह गरी सुखी जीवनयापन गर्दैछे । छोरी स्कुल जान थालेकी छे । उनी भने कालिमाटीमै सटर भाडामा लिएर तरकारी पसल थापेर बसेकी छिन । सन्तोष स्वश फेर्दैछिन् भने शेरे पश्चतापको आहालमा चुर्लुम्म डुब्दैछ।
राजेश रुम्बा लामा “अतृप्त”
