पुराना बर्षहरूमा बग्यो धेरै रगतको खोला
नयाँ बर्षमा त त्यस्तो अवश्य हुँदैन होला ।
बग्योथ्यो रगत धेरै क्रान्तिको निहुँमा
पुरिएर बसेको रहेछ क्यार शान्ति त हिउँमा ।।
सगरमाथा पनि त केही निहुरियो
रगतको खोला बगाई आफु ठिङ्ग उभियो ।।१।।
हिमालको हिउँ सबै रगतले रातो भयो
रातो माथिको सेतो हिउँ लास ढाक्ने कात्रो भयो ।
शान्तिको निहुँमा यहाँ सँधै क्रान्ति भयो
क्रान्तिबाट लखट्टिई खै शान्ति कता गयो ।।
शान्ति-शान्ति भन्दा-भन्दै अशान्ति चाहिँ भयो
बुद्ध जन्मेको देशमा शान्ति आज कता गयो ।।२।।
कतिको चुरा फुटी पखालियो सिउँदो
हुन सकेनन् कोही यहाँ मरेर पनि जीउँदो ।
मानिसहरू मरे कति कुकुर-बिराला सरी
जन्म्यो हत्या,हिंसा र आतंक आज यो देश भरी ।।
रमाउन सकेनौँ हामी चाड, पर्व, बडाइँमा
देश धेरै पछि पर्यो अघि बढ्दा लडाइँमा ।।३।।
पुराना ती काहाली लाग्दा बर्ष पनि गै-गयो
सुख, शान्तिलाई स्वागत गर्दै नयाँ बर्ष शुरु भयो ।
दुबो मौलाए सरी अब शान्ति पनि मौलाओस्
एका-दुई होस् क्रान्ति सँधै भरी नबौलाओस् ।।
क्रान्ति हैन अब देशमा जता ततै शान्ति छाओस्
देशमा नव बर्षले क्रान्ति हैन शान्ति ल्याओस् ।।४।।
देशमा नव बर्षले शान्ति ल्याओस्
पुस्कल पौडेल (—प्रतिक)
पुराना लेखहरूबाट २०६१मा लेखिएको कबिता
