Skip to content

नेता र संघीयता

  • by

चुनाव जित्यौ संविधानको काम गर्न गाह्रो भयो
नगरी काम फिर्ता भयौ जनताको तारो भयो
सभासदका अस्थिपञ्जर मुर्दा बोक्ने घारो भयो ।
तिम्रो सस्तो संघीयता तिमीलाई नै घाँडो भयो ।

जाति जाति लडाएर रमिता हेरी बस्यौ
अदालतको फैसलाले छाँगाबाट खस्यौ
जातको भारी बोकी हिँड्दा आफ्नै मनको काँडो भयो
तिम्रो सस्तो संघीयता तिमीलाई नै घाँडो भयो ।

पहाडको अम्रिसोले मधेश कुची लगाउँछ
हिमालले कञ्चन जल मधेशलाई नै पठाउँछ ।
एकताको भावनालाई लत्याउन चाँडो भयो
तिम्रो सस्तो संघीयता तिमीलाई नै घाँडो भयो ।

मार्क्सवाद अध्ययन गर्दा त्यहाँ भेट्थ्यौं वर्ग भेद
माओत्सेतुङले कहिले गरे जाति जाति लड्ने खेल ?
परिवर्तन धेरै गर्यौ बाच्छो आज पाडो भयो
तिम्रो सस्तो संघीयता तिमीलाई नै घाँडो भयो ।

मधेशको अन्न लगि हिमालले पेट भर्छ
हिमालको जडिबुटी मधेशको रोग निको पार्छ
संस्कृति नै यही थियो तर आज काँडो भयो
तिम्रो सस्तो संघीयता तिमीलाई नै घाँडो भयो ।

मधेशको सम्पत्तिलाई आजैदेखि लगाउ कसि
कम छैनन हिमालका यार्सागुम्बा जटामसी
नेता आज नेपालीमा विभेद ल्याउने खाँडो भयो
तिम्रो सस्तो संघीयता तिमिलाई नै घाँडो भयो ।

पहाडका रसिला फल तिम्रो मुख रसाउने
विविध हाम्रा संस्कृति छन हाम्रा मन हँसाउने
उक्साउन सजिलो भो फस्र्याउन गाह्रो भयो
तिम्रो सस्तो संघीयता तिमिलाई नै घाँडो भयो ।

जुना मैनाली
सुरुङ्गा— ८ झापा

२०६९/२/१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *