खराब अरू देखाई आफू असल बन्दैछ
खासाको माल बेचिने अर्को पसल बन्दैछ ।।
छोप्नु छ झूठ एउटा, फेरि झूठकै कात्रोले
शहरमा अर्को बालुवाको नयाँ सत्तल बन्दैछ ।।
बुझ्नु छ आफैँ जीवनको मूल्य, अमूल्य कति छ ?
त्यो आत्म-सम्मान् कुल्चाई मान्छे सफल बन्दैछ ।।
सर्पले दूध पिएर पनि, विष नै ओकल्छ
सर्पकै रूपमा मान्छेको नयाँ नसल बन्दैछ ।।
खाएर पनि गाईले घाँस, दूध नै दिन्छ है
यो ‘शिव’ किन ? अरूले ताप्ने मकल बन्दैछ ।।
युवामञ्च, जेठ २०६९
