Skip to content


भयावह अँध्यारोमा
कानमा बज्रिन्छन् कठोर आवाजहरू
झरीको स्वरसँग मिसिएर ।

खोला किनार छेउ
सानो पराले छाप्रोको मालिक चिरन तामाङ
बिजुली चुरोट सल्काउँदै सोलीमा खन्याउँछ मकै
आधी रातको गाढा अन्धकारमा उर्लिरहेको छ खोलो
ओहो ! नजिकै आइसक्यो
उसलाई छुँदै छुँदै आएको छ पानीको लहर ।

खोलातिर टाँसिएका आँखामा हराइसकेको छ तेज
उसलाई धेरै कुरा छ जोगाउनु
– मकै खन्याउने बडेमाको सोली
– सिसा चर्केको पुरानो चस्मा
– ध्वाँसोमा रंगिएको पुरानो कमिज
– मुम्बईबाट भर्खरै आएको एचआईभी सल्केको भाइको लामो चिट्ठी
– एउटै सहारा बुढेसकालको ‘लौरो’
– बाँचुन्जेल खानुपर्ने औषधीका कागजपत्र
र, मृत पत्नीको फोटो
ओहो ! बढ्दै छ पानीको सतह ।

सोचिरहेछ चिरन तामाङ
कुनै पनि बेला भत्किन्छ छाप्रो…
किनभने, म हारिरहेको हुन्छु, पानीसँगको युद्धमा …
बचाउनुपर्ने मसँग बहुमूल्य केही पनि छैन
फेरि म किन बचाउन चाहन्छु सबै ?
जीवनको छोटै यात्रामा सही
आँसु र सुस्केरा पुछ्ने पत्नीको
एउटै फोटो छ धमिलो सिसाभित्र
हो, यिनै हुनेछन् मन बुझाउने ओखती
त्यही फोटोफ्रेम लिएर भाग् चिरन…
जिन्दगी कतै अल्झिरहेछ त्यस फ्रेममा ।

आफू पारि पुग्ने जीर्ण पुल
अहिले त्यहाँ थिएन
उसले अचानक देख्यो
खोलाको चर्को बेगमा बगिरहेथ्यो पुल ।

सबै उस्तै थिए- खोला, ढुंगा, पानी र बतास
तर, खोला उर्लेपछि सबै भए जलमग्न
हेर्नै बाँकी थियो
ढल्नै लागेको छाप्रो
र, छाप्रोभित्र थिग्रन थालेको पानीमा
डाक्टरका पर्चा ।

उसले बचाउन चाहेको फोटो
समात्नै नसकिने गरी बगाएर लग्यो
बग्न बाँकी केही पनि छैन अब
सिवाय चिरन तामाङ ।

नेपाल साप्ताहिक ४९७

Leave a Reply

Your email address will not be published. Required fields are marked *