Skip to content


जीवनमा पहिलोपटक उनी जिल्ला प्रशासन कार्यालयको मूल ढोकाभित्र छिर्दै थिए । यसअघिको ३० वर्षसम्म उनलाई सरकारी अड्डामा जाने काम कहिल्यै परेको थिएन । परोस् पनि कसरी? गाउँमा आएको डोरले नागरकिता बनाइदियो । मालपोत बुझाउन टाढा जानै परेन । पल्लो गाउँमा वडा कार्यालय थियो, त्यहीँ गए पुगिहाल्थ्यो । यही काम पनि उनका बाबु जीवित हुन्जेलसम्म गर्नै परेन । यसरी हेर्दा उनलाई जिल्ला सदरमुकामसम्म जाने/आउने काम पर्दै परेन भन्दा पनि हुन्छ ।

कार्यालयको मूल ढोकाभित्र जब उनी छिरे, उनको मुटु ढक्क फुलेर आयो । छातीमाथि दुई धार्नीको वजन राखेसरी अनुभव गरे । दुई-तीन जना, दुई-तीन जनाको बेग्लाबेग्लै समूहजस्तो बनाएर कार्यालयको चाक्लो प्राङ्गणमा उभिएर खासखुस, खासखुस कुरा गरिरहेका मानिसहरू । जिल्लाका विभिन्न कुनाबाट घरायसी काम साध्य गर्न आएका जिल्लावासीको भीड । चारैतिर अपरििचत अनुहार । कसैले कसैको वास्तापास्ता नगर्ने माहौल । कुनै कुरा सोधेमा, सुनेको नसुन्यै गर्ने थिग्रेका कातीजस्ता कर्मचारी । यो भीड र परिवेशभित्रका एक्ला उनी । अर्थात्, खुसीराम थारू ।

गाविसको सिफारसिपत्र देखाउँदै खुसीराम थारूले सोधे, “यो पत्र दिने ठाउँ कता होला, हजूर?”

उनी एकछिन चुप लागे, प्रत्युत्तरको आशामा । जवाफ कतैबाट आएन । कसैले सरोकार पनि राखेनन् उनको प्रश्नमा । सबैलाई आफ्नै मेसोको बिट मार्न हतार थियो ।

त्यहाँ उभिएका प्रहरीले उनलाई शिरदेखि पाउसम्म सरसर्ती हेरे । मुखमा राखेको जर्दा सुर्ती प्याच्च थुके, भित्ताको कुनातिर । गिजामा अड्केको सुर्तीलाई दाहिने हातको चोरऔँला छिराएर निकाले । ओठसम्म आएको थुकमिश्रति सुर्तीलाई चोरऔँला र बूढीऔँलाले च्यापे । भित्तामा पुछे । त्यसपछि पछाडिपट्टि हात लगेर आफ्नो पाइन्टमा दले ।

“खोइ पत्र हेरूँ?” पत्र मागे ।

खामबन्दी पत्र हेर्दै एउटा कोठातिर जान चोरऔँलाले संकेत गरे उनलाई ।

टेबलमा रजिस्टर राखेर चिट्ठी चलानी गरिरहेका एक जना कर्मचारीको छेउमा पुगेर खुसीरामले प्रश्न दोहोर्‍याए, “यो पत्र कहाँ दिऊँ हजूर?”

चलानी गर्न बाँकी चिट्ठीहरूको थान्को लगाइसकेपछि खुसीरामको हातबाट चिट्ठी लिए उनले । दुईपल्ट पढे । केही नबोली चिट्ठी दर्ता गरे र भने, “आज जाऊ, भोलि आउनू ।”

“भोलि?” खुसीरामको मुखबाट निस्क्यो ।

“अँ, भोलि । आज भ्याइँदैन,” जवाफ ठाडो थियो ।

खुसीरामका अगाडि विकल्प थिएन । पश्चिम दाङको काशीपुर खुसीराम थारूको घर । बाबुसँग छुट्टीभिन्न भएर मूलघरकै दायाँतिर एउटा छाप्रो ठड्याएका हुन् उनले । सिंगो गाउँमा थारूहरूकै बस्ती छ । थारूहरूका घरजति सबैमा खरको छाना छ । अलि हुनेखानेजस्ता देखिनेहरूका तीन-चारवटा घर छन् र ती घरका शिरहरू सबै टिनका पाताले छोपिएका छन् । टाढैबाट टल्किन्छन् र चिनिन्छन् पनि ।

चैत/वैशाख महिनालाई वसन्तकाल मानेर कवि हृदय भएकाहरूले धेरै कविता, कथा कथेका छन् । वनमा लागेको डढेलोको उपमा दिएर प्रेमकहानीहरू लेखिएका छन् । तर, त्यही समयमा तराई/मधेसतर्फ चल्ने हुरीबतासले गर्दा घरबस्तीमा लागेको आगलागीबारे कमैले कलम चोपे होलान्, मसीदानीमा । त्यस्तै बस्तीभित्रको एउटा सानो अंश हो खुसीराम थारू र उनको घर ।

उनको छाप्रोलाई जे नाम दिँदा पनि हुन्छ ः घर, महल, झेापडी वा दरबार । खुसीरामकी जन्नी (श्रीमती)का लागि त्यो महलै हो । हुन पनि हो, महल हुनका लागि सिमेन्ट, छड, इँटा र मार्बल चाहिँदैन । दरबार हुनका लागि पालोपहरा दिने गारद, कोठामा झुन्ड्याउने ब्रिटिस फानस, भित्तामा राख्ने इटालियन ऐना, भुइँमा बिछ्याउने इरानी गलैँचा र चिसोतातो बनाउने जापानी एयरकन्डिसन चाहिँदैन । जहाँ परिवार सुखी छ, जहाँ पतिपत्नीको मायाप्रीति लोभलाग्दो छ, त्यस्तो परिवार जस्तोसुकै घरमा बसे पनि महलैसरी हुन्छ । मनको सन्तोष र मानसिक शान्ति भएमा अरू केही चाहिन्न ।

यिनै र यस्तै कुरा गरेर खुसीरामकी जन्नी मसुरिया थरुनीले खुसीरामको मनलाई आर्थिक विपन्नताका बाबजुद सधँै खुसी राखेकी थिइन् । खुसीरामले भन्ने गर्थे, ऐ मसुरिया ! पूरब जनम् में तै म्वार डाई रहल्या का? (ए मसुरिया ! पूर्वजन्ममा तँ मेरी आमा थिइस् कि के हो?) यति भनेर उनले मसुरियाको गाला चिमोटिदिन्थे । उनीचाहिँ लाजले भुतुक्कै हुन्थिन् । गोरो अनुहार रातोपीरो पार्थिन् ।

तीन साताअगाडि काशीपुर गाउँमा ठूलै आगलागी भयो । चैतको महिना । हावाहुरी बेलगामसँग आयो । सानो छाप्रोमा भात पकाउँदा बलेको दाउराको झिल्कोले छानोलाई छोयो । यति भए के चाहियो र? आगो दन्क्यो, ह्वारह्वार्ती । एउटा घर, दुइटा घर गर्दै नौ/दसवटा घरलाई आगोको लप्काले समात्यो । कसैले कुवाबाट पानी तान्दै हाल्दै गर्न थाले, कसैले केराका थाम काटेर आ-आफ्ना छानामा राख्न थाले । अग्निप्रकोप बढ्न थाल्यो ।

उता मसुरिया खेतमा गएर भर्खरै मात्र आएकी के थिइन्, त्यो दृश्यले छानाबाट एकैपटक भुइँमा पछारिएजस्तो भयो उनलाई । आँगनमा मान्छेहरू जम्मा भएर कराइरहेका थिए । हतारहतारमा यता र उता गरिरहेका थिए । कसैलाई के गर्ने कुनै उपाय सुझिरहेको थिएन । तत्क्षणको विवेकले जे देख्यो, त्यही गर्थेर् । अवस्था त्यस्तै थियो ।

“म्वार छावा घर भित्तर बा । कौनो मनै जाके निकालदेओ ।” (मेरो छोरो भित्रै छ । कोही मान्छे गएर निकाल्दिनूस् !) रुँदै कराउन लागिन् मसुरिया ।

खुसीरामले समेत आँट गर्न सकेनन्, आखिर आफ्नो ज्यान भनेको आफ्नै हो । सबैलाई आफ्नै ज्यान प्यारो हुँदो रहेछ, अक्कर परेका बेलामा । मसुरियाको रुवाइ देखेर खुसीरामले सम्झाए, “नरोऊ । त्यत्रो दनदन गरी बलिरहेको घरमा को भित्र पस्न सक्छ अहिले? आफ्नो ज्यान पनि जान्छ ।”

“आमाको जस्तो कमलो मन सिमलको भुवाको सिरानी पनि हुँदैन । र, बाबुको जस्तो कठोर मन आमाको हुँदैन,” उनी रुँदै र खुसीरामतिर हेर्दै बोल्न थालिन्, “आमाको माया तिमी बाबुसँग कहाँ हुनू? पेटमा नौ महिना राखेर पाउँदाको पीडा र मायाको अनुभव तिमीले कहिल्यै गरेका छौ? त्यही भएर त्यस्तो निष्ठुरी भयौै?”

मसुरिया हुत्तिँदै घरभित्र पसिन् । खुसीरामले दुवै हातले आँखा छोपे र आकाशतिर हेरे । “भगवान्, बचाऊ !” उनको मुखबाट निस्क्यो । ड्युढार (थारू सुमुदायको पूजा कोठा)भित्र बसेको चारवर्षे छोरालाई मसुरियाले छातीमा च्यापेर बाहिर आउँदा नआउँदै माथिको छानो ह्वात्तै तल खस्यो । छोरालाई ढोकाबाट बाहिर हुत्त फ्याँक्नसम्म भ्याइन् । आफू आउन सकिनन्, बलिरहेको छानाले उनलाई झ्याप्पै छोप्यो । ऐय्या भन्न पनि पाइनन् ।

दैवी प्रकोपमा परी मृत्यु भएका परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समितिबाट राहत दिन्छ भने अनुसार गाउँ विकास समितिको पत्र लिएर राहत लिन गएका खुसीरामलाई ‘आज काम बन्दैन, भोलि आउनूस्’ भनेको सुन्दा आलो घाउमा नुन छर्केसरी भयो । श्रीमतीलाई सधँैका निम्ति गुमाएको पीडा आफ्नो ठाउँमा छँदैछ । कार्यालयमा ‘भोलि’को तारेख दिँदा त्यसको पीडा अझै दुख्ने रहेछ भन्ने बुझे खुसीरामले ।

“के गरौँ हजूर ! आजै काम भइदिए र्फकन सजिलो हुने थियो । चारवर्षे छोरालाई अर्काको भरमा छोडेर आएको छु । हेरििदने कोही छैन,” खुसीरामको अनुनयले कर्मचारीलाई खासै छोएजस्तो लागेन ।

छेउमा उभिएको एक जनाले यताउता हेर्‍यो । खुसीरामलाई नजिकै बोलायो र कानेखुसी गर्दै भन्यो, “हेर चौधरी, अघिदेखि मैले तिमीलाई हेरिरहेको छु । तिमीलाई अप्ठ्यारो परेको पनि बुझेको छु । आज २ बजिसक्यो । पैसाको कुरा हो । भोलि मात्र हुन्छ ।” त्यो व्यक्ति केहीबेर चुप लाग्यो र सम्झाएको स्वरमा भन्यो, “तिमीले पाउने पैसाबाट पाँच सयजति मलाई दियौ भने मैले सबैकुरा ठ्याक्कै मिलाइदिन्छु । भोलि आउनुपर्दैन । घोराहीमा बस्दा पाँच सयजति खर्च भइहाल्छ, त्यही पैसा यता देऊ । तिम्रो काम पनि बन्यो, हाम्रो काम पनि बन्यो । कति सजिलो?”

त्यो व्यक्तिले यसरी कुरा गर्‍यो मानौँ उसको हृदय एउटा निर्जीव ढंुगाबाट बनेको छ र उसमा संवेदनशीलता वा मानवीयता भन्ने केही छैन ।

एक घन्टाभित्रै खुसीरामको हातमा ४ हजार ५ सय रुपियाँ आयो । पाँच हजारको भर्पाइमा ल्याप्चे लगाएको बूढीऔँलाको कालो मसी पुछ्दै रुपियाँ गन्न थाले । पाँच सयका नौवटा नोटमा मसुुरियाको अनुहार स्पष्ट देखापर्‍यो । खुसीरामलाई मसुरियाले भन्दै थिइन्, घरमा पालेको सुँगुरभन्दा मेरो मोल सस्तो रहेछ । होइन?”

खुसीरामका आँखाबाट बर्रर आँसु झरे । हिक्कहिक्कको आवाज आयो । कार्यालयमा उपस्थित कसैलाई त्यो सब हेर्ने फुर्सद थिएन ।

नेपाल साप्ताहिक ४९४

Leave a Reply

Your email address will not be published. Required fields are marked *