जहाँ ईश्वरका लाशहरू
जिन्दगी पर्खेर बसेका थे’
त्यहीँसम्मको गन्तव्यमा
मलामी सपनाको अनौठो जन्ती
निस्केको देखियो ।
पचभैयाहरूको लामो जुलुस
परिचयको आगो फुक्दै
काकाकुलका सपना खोस्न आयो ।
चिरपरिचित मेरो छातीमा
परिचयको स्टेथोस्कोप’ टाँसिन सकेन ।
मेरा परिचयहरूले टेक्दै गए –
अपरिचयका पाइलाहरू ,
जब लुटिए कतै बाटोमा
उज्यालोका आँखाहरू ।
चढाइए – नीला मन सबै
चिहानहरूलाई ,
समयले जन्माइरह्यो –
असमयका अक्षरहरू ।
कोरिरहे ती अक्षरहरूले –
घाइते इतिहासको घोषणापत्र ।
परिचयका मातहरू
समयले बाँडिरह्यो;
मेरो हाँसोको सनाखत
हुन सकेन ।
मेरा यौवनका फूलहरू
केवल माटो र वर्षात् चाहन्थे।
मेरा जीवनका रङ्गहरू
एउटा सेतो घाम चाहन्थे ।
यद्यपि
म रोकिएँ- परिचयको चौतारीमा,
बाटो मात्र एक्लै हिंड्न थाल्यो ।
सोधिन मैले मेरो बाटो –
आँफैलाई भुलेर हिंडेका बाटोहरूलाई ।
राखिन मैले हत्केलामा –
हाँगाबाट झरेर ओइलिएका थुंगाहरूलाई ।
आँसुको राराले भक्कानो
धोएर आएँ – म
कालापहाड ।
ढोगेर आएँ – मधेसी माटो,
मुसहर बस्तीका अक्षरहरू-
ब्युँझिएका धानका बाला ।
ननाघी आएँ ,
नकुल्ची आएँ –
मेरो बाको रकतले बनेको सीमाना ।
यता म रित्तो छु।
उता एक्लो छ –
यालुङ काङ
मेरी आमाको उत्सर्गताको
सिंदुर पोतिएको प्यारो डाँडो ।
मेरै नाममा उम्रेको
पानी अमला सम्झँदै छु ।
खोज्दै छु –
मेरो बोलीमा
मिसिन आउने सुमधुर-
सिमलचरीका बोलीहरू ।
बिना मेरो देशको स्पर्शथेरापी
निको नहुने घाउ छ – मारिया !
मेरो मुटुमा ।
के तिमी मलाई छुन सक्छ्यौ –
नेपाली पाराका आँखाहरूले ?
के तिमी मलाई लेख्न सक्छ्यौ –
परिचयका बेनामी नामहरूले ?
