Skip to content

रातहरू र निरमाया


भयभित भएर हाँस्दै, चिप्लँदै गरेका रातहरू–
अँध्यारोमा अँध्यारो हराए झैं
निरमायाको मनमा हराइरहन्छन् ।

आकाश घोचेर रातहरूले
किन रगतको वर्षा गर्छन् ?
जान्दिन निरमाया ।

सस्तो बजारको अनमोल मन
कहाँ नेर हराउँछ ? थाह छैन ।
किन हराउँछ ? थाह छैन ।
सायद
अथाह भविष्यको गर्भबाट जन्मिन्छे – निरमाया,
अथाह आकाशको छानोबाट चुहिन्छे – निरमाया ।

अस्तव्यस्त भएर रातहरू
मिर्मिरेमा अस्ताउँछन्, गोधुलीमा उदाउँछन् ।
यो जिन्दगानीको अधुरो-
प्याराडोक्स’ सपना
निरमायाको अभिलाषा भन्दा फरक हुँदैनन् ।

जुनै टिकुली
जुनकै जुहार र जुनकै उपहार–
निरमायाको अनुहारमा सुहाउँछ
र ऊ बुझ्दिन पटक्कै –
जुनहरूले किन पोल्छन् ?
हाँसोहरू किन रुन्छन् ?

किनकि आज मिल्क ‘ होलिडे !
घनघोर भोका रातहरूमा
अतृप्त इच्छाहरूको बालुवा चपाउँछे – निरमाया ।
उसैका निसृत मनहरू फिंजारिएर खोलो बग्छ,
तथापि अप्राप्य हुन्छन् ती- किनारा,
स्मृति र विस्मृतिका ।
सुनिन्छ- खेतहरूको श्वरमा निरमाया,
खोलीखेतका खेतालाहरूको श्वरमा निरमाया ।

कठैबरी निरमाया,
ऊ थाम्न सक्तिन – मनको भारी
जमाउन सक्तिन भक्कानोमा तलाउ -आँसुको !

मायाको सुर्केनी तुनामा
इशारा र मुस्कानहरू
कस्छे – निरमाया ।
प्रश्नै प्रश्नहरूको घुईंचोमा
मायाको स्पष्ट, अव्यक्त उत्तर
खोज्छे – निरमाया !
तर रातहरूको निरवतामा
स्वयम् निरमायाको नामोनिशान भेटिन सक्तैन ।
समुद्रका छालहरूमा या चट्टानका छातिहरूमा
मायाको कुनै पनि म्यागनाकार्टा’ लेखिन सक्तैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *