Skip to content
PrakashDhakal


दुई चार बर्षअघि
उम्रिएका बैँस छोप्न
दुई चार अमल मात्र कपडा
लाउने कुनै गाउँले तरुनीको
जवानी आँखाले लुट्न
घुमौरा चोक चोकमा
बसेका केही लोकल दादाहरूले
सुसेलेको सिठ्ही जस्तै छिल्लिन्दै
गोरी हिमालका उठेका अग्ला
सेता चुच्चा चुच्चा बक्ष
चुसेर मादक बेहोसीमा
फर्कँदै गरेको सितल बताससँग
बलेसीमा जिस्कन्दै
कतै मुरी कतै मानो
कतै झन्झट र कतै रोमन्स लिएर
भर्खरै छिरेको छ
असार
मेरो आशा नफल्ने
देशको बाझो बारीमा
शायद त्यसैले
उम्रिएका छन केही सुन्दर सपनाहरू
गोडीएका छन केही हरिया खुशीहरू
र सँगै लहराएका छन
केही हाँस्न लागेका ओठहरू

यद्यपि असार आउनु नै
सबथोक आउनु त होइन ।

प्रकाश ढकाल
लेटाङ मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *