बिहानदेखि बेलुकीसम्म
दौडी रहन्छ जिन्दगी
कहिले यता कहिले उता
अन्जान छु म, कत्रो दूरी तय गर्नु छ
गन्हाउने राजनीति …. भरिएका नालीको दूर्गंध
सम्झी-सम्झी अन्जान बनेर
मनतातो चियाको एक घुट्की तान्दै
दिल-दिमागका भावनालाई लिएर
यसो कहिलेकाहीँ कविता लेख्ने गर्छु म ।
शब्दको तारतम्य बाधे मैले
कलमलाई दासत्व तुल्याए
मुलुकको गन्हाउने पनलाई झल्झली सम्झदै
आफ्ना वेदना आफैमा सिमट्दै छाती ठूलो पारेर
अब मैले जमर्को गरिसके अनि
दिल-दिमागका भावनालाई लिएर
यसो कहिलेकाहीँ कविता लेख्ने गर्छु म ।
निर्दयी यो मन अब डराउदैन कुनै घटनाले
मेरो गाउको भुसिया कुकुर मर्दा
म कहिले खुब रोएथेँ
अब नरसंहारसँग पनि मेरो कुनै सरोकार छैन
खुनको होली हेर्नु मेरो बाध्यता भइसक्यो
भुसुण्डी नादले त्रसित हुने यी कर्ण रंध्र
अब शंखनादमा परिणत भइसके
कनि कुथी चल्ने यो हातको कलम
अब दासत्वमा पुगिसक्यो
त्यसैले यसो कविता लेख्ने गर्छु म ।
छन्द केहो, गण केहो, मात्रा के हो
स्वर व्यन्जना सबै भुली सके
यस्तै चल्दो रहेछ यहा
कसले सुन्छ तिम्रा देश प्रेमी भावना
भित्रि कुण्ठा फुकी सके
दासत्वबाट काम लिनै पर्ने हुँदा
कहिलेकाहीँ यसो कविता लेख्ने गर्छु म ।
कालको परिभाषा म अब जान्दिन
कहिले के हुने हो थाहै छैन, जानेर केही फाइदै छैन
कोही भेटिए हासौला, मनका वेदना साटौला
नत्र भने आफ्नै बाटो बढौला
पदचाप यदि आफ्ना काही पाइएमा
नि:शब्द नि हासौला, यतिकै केहि गाउला
षड्यन्त्र -राजनीति -विरोध -प्रदर्शन
जीवनका यी सबै अंग बनिसके
त्यसैले कहिलेकाहीँ यसो कविता लेख्ने गर्छु म ।
