Skip to content

प्राचीन ओलम्पिक खेल


प्राचीन ओलम्पिक खेल
पारसमणि शम

आधुनिक विश्वमा ओलम्पिक खेलको महत्त्वपूर्ण स्थान छ । खेलकूदको संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेल प्रतियोगिता हो । यसैले त ओलम्पिक खेललाई खेलकूदको महाकुम्भ भनिन्छ, जो प्रत्येक चार वर्षमा आयोजन गरिन्छ । कुनै पनि राष्ट्र खेलकूदमा कतिसम्म विकसित छ, त्यसको सही लेखा-जोखा प्रत्येक चार वर्षमा आयोजन हुने यस ओलम्पिक खेलले गर्दछ । यसैले प्रत्येक राष्ट्र ओलम्पिक खेलमा आफ्नो राष्ट्रको सर्वोत्कृष्ट प्रदर्शन होस्‌ भन्ने चाहेर नै खेलकूदको क्षेत्रमा लगानी गर्दछन्‌ । ओलम्पिक खेलमा पदकहरू जित्नु भनेको राष्ट्रको गौरव तथा सगरमाथाको टुप्पोमा हुग्नु हो ।

ओलम्पिक खेलको जन्म यूरोपको ग्रीस राष्ट्रमा भएको हो । ईशापूर्व 776-मा प्राचीन ग्रीसको ओलम्पिया शहरमा ओलम्पिक खेलको जन्म भएको बताइए पनि यो खेल ग्रीसमा आजभन्दा 3 हजार वर्षअघि आयोजन हुने गरेको अनुमान गरिएको छ । ओलम्पियामा आयोजन हुने खेलबाट नै ओलम्पिक खेलको उदय भएको हो । यो खेल आयोजन भएको पहिलो लिखित प्रमाण ईशापूर्व 776को पाइएको छ । त्यसताक ग्रीसमा प्रत्येक चार वर्षमा यो खेलको आयोजन गरिन्थ्यो । त्यस समय ग्रीसमा चारवटा ग्रीसेली खेल आयोजन हुन्थे जसमध्ये ओलम्पियामा आयोजन हुने खेल एक थियो । ओलम्पिया, डेल्फी, स्तमिया र निमियमा यी खेलको आयोजन हुन्थे । त्यस समय ग्रीस स-साना राज्यहरूमा विभाजित थियो तर सम्मान संस्कार र परम्परा भएकाहरूको यो खेल रहेको थियो ।

ओलम्पिक खेलको आयोजना गर्नअघि शहर-शहरमा पवित्र मशाल बोकेर हिँडिन्थ्यो । मशालले ओलम्पिको खेलको सन्देश लिएर सबैलाई खेलमा सहभागी बन्ने आग्रहसहित यसको तिथिको जानकारी दिइन्थ्यो । ओलम्पिया र निमियमा आयोजन हुने खेल देवताहरूका राजा जीउसको स्मरणमा आयोजन हुन्थ्यो भने डोल्फीको खेल प्रकाशका देवता अपोलोको स्मरणमा अनि स्थमियाको खेल समुद्र देवता पोसीय डोनको स्मृतिमा आयोजन हुन्थ्यो । चारवटा ग्रीसेली खेलहरूमा ओलम्पिया सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । ओलम्पिया कुनै शहर बजार थिएन । एउटा ग्रामीण क्षेत्र थियो र यसलाई प्रवित्र स्थान मानिन्थ्यो । यहॉं देवराज जिउसको मन्दिर पनि भएकोले विभिन्न धार्मिक अनुष्ठानहरू आयोजन हुनेगर्थ्यो । ओलम्पिक खेल आयोजन भएको समय ओलम्पियामा 40 हजारभन्दा धेरै मानिसको जमघट हुनेगर्थ्यो । यसमा खेलाडीहरू, व्यापारीहरू, स्थानीय मानिसहरू, लोक कलाकारहरू आदिको उपस्थिति हुनेगर्थ्यो ।

प्राचीन ओलम्पिक खेलमा विभिन्न प्रकारका खेलहरू आयोजन हुनेगर्थे । विशेष गरी एथ्लेटिक्स, जिम्नेजियम, पालास्ट्रा, शरीर प्रदर्शन आदि खेलहरूको आयोजन गरिन्थ्यो । यस खेलमा ग्रीसेली मूलका पुरुषहरूलाई अनि स्वतन्त्र पुरुषलाई सहभागी बन्ने अधिकार थियो । यस खेलमा महिला, दास र विदेशीले सहभागिता जनाउन पाउँदैन थिए । धेरैजसो खेलाडीले सहभागिताका लागि धेरै महिनाको व्यक्तिगत प्रशिक्षण र तयारी गर्नुपर्थ्यो । खेल शुरु हुन चार हप्ताअघि नै उनीहरू ओलम्पियामा पुगिसकेको हुनुपर्थ्यो । ओलम्पियामा उनीहरूले छनौट प्रतियोगितामा भाग लिएपछि मात्र अन्तिम प्रतियोगितामा सहभागी बन्नसक्थे । खेलाडीहरूलाई निर्णायकहरूले शपथ खुवाउने परम्परा रहेको थियो । खेलका नियमहरू नमान्ने खेलाडीलाई जरिमाना लगाउने परम्परा प्राचीन ओलम्पिकमै रहेको थियो ।

प्राचीन ओलम्पिकमा चर्चित खेलाडीहरू धेरै रहेका थिए । क्रोटनका मिलोले ईशापूर्वको सातौं सताब्दीको उत्तरार्धमा ओलम्पियामा सातपटक विजय प्राप्त गरेका थिए भने तासोसका थियोजेनेसले प्राचीन ओलम्पिक खेलहरूमा 13 सयभन्दा धेरै विजय प्राप्त गरेको बताइन्छ । रोडेसका लियोनिडासले दौडमा 12 पटक जैतुन पत्ता (ओलिभ लीफ) जीतेको बताइन्छ । रोडेसका डायगोरासले ईशापूर्व 464 मा ओलम्पियामा आफ्नो छोरो, नातिसितै बक्सिङ जीतेका थिए ।

प्राचीन ओलम्पिकमा व्यक्तिगत प्रतिसपर्धा हुन्थे । प्रतियोगिताहरू स्टेडियम र हिपोड्रोममा आयोजन हुनेगर्थे । पहिलो दिन खेलाडीहरू र निर्णायकहरूले शपथ ग्रहण गर्ने चलन थियो । दोस्रो दिन हिपोड्रोममा घोड सवारी प्रतियिगिताहरू आयोजन हुनेगर्थे जसमा चारवटा घोडाको दौड खेललाई प्रमुख मानिन्थ्यो । दोस्रो दिन नै बेलुकी पख डिस्कस, लङजम्प, जेवेलिन, दौड र कुस्तिजस्ता खेलहरूको आयोजन हुनेगर्थे । तेस्रो दिन खेलाडीहरूको अङ्क जोडिन्थ्यो अनि एउटा विशाल धार्मिक अनुष्ठान आयोजन गरिन्थ्यो । देवराज जिउसको स्मृतिमा एस सयवटा गाईको बलि चढाइन्थ्यो र उक्त मासु प्रसादका रूपमा खेलाडीहरूलाई वितरण गरिन्थ्यो । चौथो दिन विभिन्न प्रकारका दौड आयोजन स्टेडियममा गरिन्थ्यो । सोही दिन बेलुकी बक्सिङ, कुस्ती आदि खेल आयोजन हुन्थ्यो । पाँचौं तथा अन्तिम दिन खेलाडीहरूलाई सम्मान गरिन्थ्यो । ओलम्पियाका विजेताहरूलाई नाच गानका साथ सङ्गीतमय वातावरणमा सम्मान गरिन्थ्यो । ओलम्पियाका विजेताहरूलाई ओलिभ पत्ताको श्रीपेच लगाएर सम्मान गरिने चलन थियो । आधुनिक ओलम्पिकमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई स्वर्ण, रजत र कास्य पदकले सम्मानित गर्ने चलन छ तर प्राचीन ओलम्पिकमा भने विजेतालाई ओलिभको पत्तासित रातो रिबन लगाएर सम्मान गरिन्थ्यो ।

ग्रीसेली मूलकाहरूद्वारा आयोजित हुने प्राचीन ओलम्पिक ग्रीसेली परम्पराको एउटा सद्‌भावपूर्ण सम्मेलन थियो । यो खेल सन्‌ 393 सम्म आयोजन भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *