Skip to content

युवा बरालका कथाहरू पर्याआलोचकीय दृष्टिकोणमा

युवा बरालका कथाहरू पर्याआलोचकीय दृष्टिकोणमा
पारसमणि शम

प्रवेश ः
समकालीन सिक्किमेली कथा साहित्यमा निकै सिद्धहस्त नाम हो युवा बराल‘अनन्त’| १९९०-को दशकको उत्तरार्द्धदेखि विभिन्न पत्र-पत्रिकामार्फत कथा लेखनमा प्रवेश गरेका बरालले सन् २०००-पछि आएर आफूलाई एक स्थापित कथाकारका रूपमा चिनाउने काम गरेका छन्| उनका कथाहरूको यो पहिलो सङ्गालो जीउनी अहिले हाम्रो हातमा छ| युवा बराल‘अनन्त’ आफ्नो कथामा ग्रामीण परिवेशलाई सजीवताका साथ उतार्नसक्ने एक विशिष्ट प्रतिभा भएका कथाकार हुन्| सरल र सहज भाषिक अभिव्यक्तिका साथ ग्रामीण परिवेशलाई सहजतासँग कथामा उतार्दै गाउँ-घरका विविध पक्षलाई चित्रण गर्न खप्पिस बरालका कथामा पर्यावरणप्रतिको सचेतना अथवा पर्यावरणचेत् पनि उत्तिकै पाइन्छ| बरालको पर्याचेत्ले सिक्किमेली कथा साहित्यलाई नयॉं आयाम दिने कोशिश गरेको छ| उनका कथाहरूमा प्रकृति र पर्यावरणलाई जति नजिकबाट हेरिएको छ त्यसले उनीभित्रको पर्याचेत्लाई स्पष्ट स्वरूप प्रदान गर्दछ|
अतः उनका यस संग्रहभित्रका कथाहरूलाई अध्ययन गर्दा हामीले उनीभित्रको पर्याचेत्लाई पनि अध्ययन गर्नुपर्ने हुन्छ| यहॉं उनका कथाहरूमा पाइने पारिस्थितिकीय मूल्यबोध, प्रकृति प्रेम, पर्यावरण प्रेम, सांस्कृतिक-ऐतिहासिक मूल्यबोध, रूढीवाद र पर्यावरण, मानव सभ्यता र पर्यावरण, जैव-विविधता आदिलाई हेर्न आवश्यक हुन्छ| यसैले उनका कथाहरूको अध्ययन समालोचना क्षेत्रमा देखापरेको नवीन समालोचकीय अवधारणा एवं पद्धति पर्याआलोचनाका आधारमा कथाहरूलाई हेर्ने सानो कोशिश गरिएको छ| उनका कथाहरूलाई पर्याआलोचकीय दृष्टिकोणबाट हेर्न अघि समालोचना क्षेत्रमा देखापरेको यस नवीन पद्धतिबारे जानकारी लिन पनि आवश्यक हुन्छ|
पर्या-आलोचना ः एक परिचय
मानिस प्रकृतिको सुन्दर सिर्जना अनि यस सुन्दर सिर्जनाको संरक्षणार्थ प्रकृतिले पृथ्वीको पर्यावरण उत्तिकै सुन्दर र सन्तुलित प्रकारले सिर्जना गरेको कुरा हामी सबैलाई थाहा छ| वास्तवमा भन्नु हो भने मानव र पर्यावरण एका-अर्काबिना अपूर्ण छन्| पर्यावरणले मानव सभ्यताको संरक्षण र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भने मानवसमाजले पनि आफ्नो सुरक्षा र अस्तित्व रक्षार्थ पर्यावरणको सुरक्षा र संबर्द्धन गर्न आवश्यक छ| संसारमा एक्लो मानिस बॉंच्न सक्ने कुरो भएन| प्रकृतिले आफ्नो सुन्दर सिर्जना मानवका लागि पर्यावरणको सिर्जना गरेकी हुन्| मानिसलाई पृथ्वीमा बॉंच्नका लागि जैव-विविधताको आवश्यकता पर्दछ र यी नै जैवविविधताको संरक्षण नै वास्तवमा प्रकृति र पर्यावरणको संरक्षण हो| अर्को शब्दमा भन्नु हो भने प्रकृति र पर्यावरणको संरक्षण नै मानव सभ्यताको संरक्षण हो| तर मानव सभ्यताको विकास प्राकृतिक संसाधनको विनाशबाट हुँदा पृथ्वीको जैव-संरचना असन्तुलित हुनु, जसको प्रभाव प्रकृति एवं पर्यावरणमा पर्नु जस्ता घटनाले साहित्य-कलामा सिर्जनधर्मीहरूलाई पर्यावरणको अध्ययन र प्रेमतर्फ उन्मुख गराएको हो| साहित्यअध्येताहरूले बिस्तारै साहित्यमा पर्यावरणलाई खोज्न थाले| साहित्यालोचनाको नयॉं बाटोको सिर्जना भयो| अन्धो मानव सभ्यताको विकासले आज पृथ्वी विनाशको द्वारमा खडा भएको छ र संसारको संरक्षण र सुरक्षा प्रत्येक मान्छेको धर्म भएको हुँदा सिर्जनधर्मी साहित्यकारहरू किन पछि पर्थे| तर यहॉं स्पष्ट के हुन आवश्यक छ भने साहित्य-कलाको जननी स्रोत नै प्रकृति हो र साहित्यकारहरूले प्रकृतिलाई अधात प्रेम परापूर्वकालदेखि नै गरेका हुन्| मानव सभ्यतासित मानवेत्तर जगत, प्रकृति, पारिस्थितिकीतन्त्र, जैवविविधता र संस्कृति एका-अर्काका पूरक भई बॉंचेर आएका छन् भन्ने कुरो लोकोक्ति, लोकसाहित्य र प्राचीन साहित्यहरूमा उपलब्ध छन्| साहित्य सिर्जनामा प्रकृतिलाई कविहरूले सँगै लिएर हिडेका छन्,चाहे त्यो वेदका ऋचामा हुन्, अवेस्तामा हुन्, ओडिसी, महाभारत, रामायण, रोमान्सेली काव्यमा| पूर्वका वाल्मिकी, व्यास, कालिदास अनि पाश्‍चात्य जगत्का एरिस्टोटल, होब्स, लक, रूसो आदिका दर्शनमा पनि प्रकृतिको सत्तालाई सर्वश्रेष्ठ रूपमा स्वीकारिएको पाइन्छ| एरिस्टोटलले शिक्षा केवल व्यवसायका लागि मात्र होइन तर प्राकृतिक सम्पदाको संरक्षणका निम्ति लिइन्छ भन्ने मत समेत उसबेला नै प्रस्तुत गरिसकेका थिए| जतिबेला राज्य र मानव समाजको अवधारणाको विकास नै भएको थिएन त्यसबेला मान्छे प्राकृतिक नियम (state of nature / nature as state) अनुरूप बॉंच्दथ्यो| तर मानव समाजको स्थापना र मानवीय सभ्यताको विकाससँगै प्राकृतिक विनाश पनि शुरु भयो| तर मननयोग्य कुरो के भने १९९० दशकमा मात्र आधिकारिक रूपमा साहित्यमा पर्यावरणलाई खोज्ने अभियान शुरु भयो| आलोचनाको नयॉं बाटोमा साहित्यमा पर्यावरणलाई खोज्ने काम शुरु भएको हो| यस अभियान अथवा अवधारणालाई पर्या-आलोचना अथवा इकोक्रिटिसिज्म (ecocriticism) भनिएको हो|
साहित्यमा पर्यावरण र प्रकृतिको प्रयोग छँदै थियो तर मानव सभ्यताको विकासक्रममा देखापरेका विसङ्गति, विकृति, प्रकृतिको विनाश, औद्योगिक विकास, शक्ति प्रदर्शन, जनसंख्या विस्फोट, वनविनाश, किटनाशक औषधीको अत्याधिक प्रयोग, युद्ध, दुइ-दुइवटा विश्‍वयुद्ध, हिरोसिमा र नागासाकी विस्फोट, शित युद्ध, विज्ञानको प्रगति, जल, वायु तथा भूमि प्रदुषण, भूपाल ग्यास प्रकरण, खॉंडी युद्ध, एसिड रेन आदि जस्ता घटनाक्रमले संसारको प्राकृति सुन्दरताको विनाशलाई निम्तो दियो| पृथ्वीको पारिस्थितिकी तन्त्रलाई सनैःसनैः प्रभावित तुल्यायो| परिणामका रूपमा देखापरे ओजन परतमा प्वाल, मौसम परिवर्तन र ग्लोबल वार्मिङ जस्ता समस्या आज मानव सभ्यताकै विनाशका लागि सुरसाको जस्तो मुख खोलेर उभिएका छन्|
सन् १९७०-को दशकबाटै पर्यावरणप्रेमी साहित्येलोचकहरूले साहित्यमा पर्यावरण तथा प्रकृतिलाई खोज्ने काम शुरु गरेको देखिन्छ| मूलतः पर्या-आलोचना शब्दको प्रथम प्रयोक्ता विलियम रूकर्ट (william rueckert) हुन्| सन् १९७८-मा प्रकाशित रूकर्टको लेख ‘साहित्य एवं पारिस्थितिकी ः एक पर्या-आलोचकीय प्रयोग’ (Literature and ecology : an experiment in ecocriticism) जसमा साहित्यको अध्ययन गर्नका लागि पारिस्थिकीतन्त्र तथा पारिस्थितिकीय अवधारणाको प्रयोग गरिएको छ| हुन त १९६०- दशकको उत्तरार्द्धमा पर्यावरणवाद (enviromentalism)-को उदयपछि एकाध लेखकहरूले साहित्यमा पर्यावरण र पारिस्थितिकी तन्त्रलाई खोज्ने काम शुरु गरेका थिए| तर पर्या-आलोचना शब्दको प्रथम प्रयोग भने १९७८-मा रूकर्टले नै गरेको देखिन्छ| पर्या-आलोचनालाई सामुहिक अभियानका रूपमा १९८०-दशकको मध्यतिर प्राप्त भएको देखिन्छ जब पाश्‍चात्य साहित्य सङ्घ (western literature association)-को माध्यमद्वारा गैर आख्यानात्मक साहित्यमा पर्यावरण र प्रकृतिको अध्ययन र अनुसन्धान शुरु भयो| १९९०-मा अमेरिकाको नेवेदा विश्‍वविद्यालयले पर्या-आलोचनालाई मान्यता प्रदान गर्दै साहित्य तथा पर्यावरण विषयमा प्राध्यापक समेत नियुक्त गरेपछि, १९९२-को अक्टोबरमा साहित्य तथा पर्यावरण अध्ययन सङ्घ ‘एजली’ (The association for the study of literature and environment (asle, pronounced ‘az-lee’))-को स्थापना भएपछि अनि चेरिल ग्लटफेल्टीले १९९६-मा हेरोल्ड फ्रोम-सितको सह-सम्पादनमा The ecocritism reader; landmarks in leterary ecology नामक ग्रन्थको प्रकाशन गरेपछि पर्या-आलोचना साहित्यको एक नवीन आलोचना पद्धतिका रूपमा स्थापित भएको देखिन्छ|
एजली-पर्यावरण र साहित्यसित सम्बन्धित लेखक, शिक्षक, विद्यार्थी, शोधकर्ता, पर्यावरणविद्हरूको विश्‍वव्यापी सङ्गठन हो जसका शाखाहरू अमेरिका, इंग्ल्याण्ड, कोरिया, जापान, भारत आदि लगभग ३० देशमा स्थापना भइसकेका छन्| यसको स्थापनाले साहित्य कलामा प्रकृति, पर्यावरण र संस्कृतिको सम्बन्धमा विचारहरूको आदान-प्रदान विश्‍वव्यापी रूपमा शुरु भयो| भारतमा एजली इण्डियाको स्थापना २००५-मा भएको हो|
पर्या-लेखन र आलोचनालाई तेस्रो विश्‍वले भिन्न रूपमा हरेको पाइन्छ| अमेरिका र इङ्गल्याण्डबाट अरू देशमा भएको विस्तारसँगै पर्या-आलोचनामा विविधता आएको छ| विशेषगरी अमेरिका र इङ्गल्याण्डमा आञ्चलिकता, पर्यावरणको इतिहास, बाइबलीय अध्ययन, सिने-अध्ययन र नारीवादका नयॉं स्वर देखिएका छन् भने तेस्रो विश्‍वमा औपनिवेश र साम्राज्यवादी परम्पाराका कारण सृष्टि भएको जातीय रङ्गभेद र प्राकृतिक सम्पदाको शोषण जस्ता विषयमाथि तर्कहरू गर्दै प्राकृतिक विनाशमा धनीहरूको भूमिका माथि तर्क शुरु भएको पाइन्छभन्ने कुरो जोनाथन बेट (Jonathan Bate)-को भनाइले स्पष्ट गर्दछ| ‘पृथ्वीको गीत’ (the song of the earth)-नामक पुस्तकमा बेट भन्दछन्-‘औपनिवेशवादसँगै वननाशन पनि शुरु भएको हो| पहिला अङ्ग्रेज अनि पछि अमेरिकीको शिकार बन्न पुगेको केनेडामा स्थानीय पर्यावरणको सुरक्षा राष्ट्रिय नीतिका आधारमा गरिने तथा उत्तर औपनिवेशवादी सिद्धान्तलाई पञ्छाएर होइन तर त्यही आलोकमा स्थानीय मानवीय संस्कार र पर्यावरण कसरी परिवर्तित हुँदै आए भन्ने कुरामा नै लेखकहरू बढी आकृष्ट हुने कुराको उल्लेख-‘केनेडियाई परिप्रेक्ष्यमा पर्या-आलोचनाको अध्ययन’ (reading ecocritism in an canadian context) मा सुसी ओ बरिनर् (Susie O’ Brien) ले गरेका छन्| भारतजस्तो बहुभाषिक, बहुसांस्कृतिक देशमा पर्यावरणसम्बन्धी अमेरिकी मान्यता निरर्थक हुने कुरा रामचन्द्रन गौनाले गरेका छन्|’
पर्या-आलोचनाका विशेषताहरू
0 कला अनि प्रकृतिको अन्तरसम्बन्धको अध्ययन गर्नु|
0 पर्यावरणको अध्ययन गर्ने अन्य क्षेत्र वा संकाय जस्तै राजनीति, विज्ञान, भूगोल, इतिहास, समाजशास्त्र आदि भन्दा पृथक दृष्टिकोण राख्ने साहित्य वा कलामा पर्यावरणको उपस्थितिको अनुसन्धान गर्नु|
0 नैतिक मूल्य वा मान्यता, दर्शन, संस्कार, रूढी, रीतिथिति, परम्परा र संस्कृति आदिमा प्रकृतिको उपस्थितिको अध्ययन गर्नु|
0 मानव मनोविज्ञान र प्रकृतिको अन्तरसम्बन्धलाई खोज्नु|
0 साहित्यमा प्रयुक्त ग्रामीण जीवनशैली र प्रकृतिको सम्बन्धलाई अध्ययन गर्नु|
0 प्राकृतिक सम्पदाको संरक्षण र विकासमा जोड दिनु अनि लेखनधर्मीहरूमार्फत सर्वसाधरणलाई संरक्षणका लागि प्रेरित गर्नु, गराउनु|
0 महिलालाई प्रकृतिको संरक्षणका क्षेत्रमा अभिप्रेरित गर्नु|
0 प्रकृतिलाई साथमा लिएर मानव सभ्यताको विकासलाई अभिप्रेरित गर्नु|
0 मानव सभ्यताको विकासद्वारा भएका प्राकृतिक क्षयहरूको अध्ययन गर्नु अनि आम मानिसलाई साहित्य वा कलाका माध्यमद्वारा उक्त क्षयको परिपूर्तिका लागि प्रेरित गर्नु|
0 विकास र प्रगतिको नाममा पर्यावरण सन्तुलनमा आएको प्रभावको अध्ययन गर्नु|
0 पर्या-लेखनलाई प्रोत्साहित गर्नु|
0 प्राकृतिक सुन्दरता र सौन्दर्यको व्याख्यान गर्नु अनि मानव जीवनमा प्रकृतिको मूल्यबोध गराउनु|
0 वन्याकरणलाई प्रोत्साहित गर्नु अनि वन विनाशको आलोचना गर्नु|
0 पर्यावरण र मानव जीवनको मूल्यबोध गराउनु अनि पृथ्वीको पारिस्थितिकीतन्त्रको मानव समाजसितको सम्बन्धलाई उजागर गर्नु|
0 मौसम परिवर्तन र त्यसका प्रभावहरूको अध्ययन गर्नु|
0 पर्यावरण, पारिस्तिकीतन्त्र एवं पृथ्वीको संरक्षणमा जोड दिनु|
वास्तवमा आजको परिवर्तित विश्‍वमा मानव सभ्यताको संरक्षण र संबद्धर्नका लागि पर्यावरण र पारिस्थितिकीतन्त्रको संरक्षण आवश्यव भएको छ| प्रतिकूल मौसम परिवर्तनद्वारा पृथ्वीको पारिस्थितिकीतन्त्रमा प्रतिकूल प्रभाव परिरहेको छ| मानिस बॉंच्नका लागि आफू वरिपरीको मात्र होइन् विश्‍वकै पर्यावरण सन्तुलित हुनुपर्छ, अनुकूल हुनुपर्छ| १६-१७ औं शताब्दीदेखि विश्‍वमा शुरु भएको आर्थिक समृद्धताको होडले ल्याएको विकास र परिवर्तन जस्तै औद्योगिक क्रान्ति, वैज्ञानिक उन्नति र चमत्कार, विज्ञानसम्मत कृषि आदि| मानिसलाई यी परिवर्तनले प्रतिस्पर्धात्मक बनायो अनि जीउने नयॉं कला सिकाउँदै जीविकोपार्जनका नयॉं अवसरहरूको सिर्जना शुरु गर्‍यो| परिणामस्वरूप वनविनाश, प्रकृतिसितको खेलवाड, जल-थल र वायु प्रदुषण आदिले पृथ्वीको पर्यावरण र पारिस्थिकीतन्त्रमा प्रतिकूल प्रभाव पर्दै गयो अनि पृथ्वीको मौसम परिवर्तन हुनथाल्यो| आज यहीँ मौसम परिवर्तनका कारण पृथ्वी र पृथ्वीवासी हामी सबै विनाशको संघारमा खडा भएका छौं|
यो पृथ्वीको सुरक्षा र संबर्द्धनको जिम्मेवारी प्रत्येक मानिसको हो र यसबाट कसरी हाम्रा सिर्जनधर्मी कलाकारहरू पछि पर्नसक्छन्| साहित्यकारहरूले हाम्रो पर्यावरण, प्रकृति र पारिस्थितिकी तन्त्रसित सम्बन्ध कायम गर्दै आम पाठकलाई पृथ्वी र यसको प्रकृति संरक्षणमा कसरी अभिप्रेरित गर्दछन् भन्ने कुरोको अध्ययन गर्नु नै पर्या-आलोचनाको मूल उद्देश्य रहेको पाइन्छ|
कथाकार युवा बराल ‘अनन्त’-को कथाकारिताः
युवा बराल नयॉं शताब्दीको उदयसितै उदाएका सिक्किमका एकजना प्रभावकारी कथाकार हुन्| सन् २०००-को छेकदेखि राज्यका विभिन्न पत्रिकामा आफ्ना कथाहरू प्रकाशन गर्न शुरु गरेका बरालको कथाकारिता कति माझिएको छ भन्ने कुरोको पुष्टि त आफ्नो पहिलो दशकको कथा लेखन यात्रामा नै यिनले प्रतिष्ठित तीनवटा पुरस्कार प्राप्त गर्नुले नै स्पष्ट गर्दछ| रचना कथा पुरस्कार, स्रष्टा पुरस्कार र समय कथा २ सम्मानले सम्मानित कथाकार बरालका कथाहरूमा हामी सिक्किमको समृद्ध जीवनशैली, समाज र प्रकृतिलाई चिन्नसक्छौं| मूलतः ग्रामीण परिवेशलाई उनले आफ्ना कथामा जुन प्रकारले प्रस्तुत गरेका छन् त्यसले यहॉंको रीतिथिति र परम्परा सँगसँगै मानिसहरूमा आइरहेको परिवर्तित विचारलाई उदाङ्गो बनाउने कोशिश गरेको छ| गाउँ छोडेर शहरतिरको पलायन, प्रकृतिसितको हातेमालो, प्रकृति विनाश, ग्रामीण परिवेश, बोली, रीति-थिति, संस्कृति, चाढ-पर्व, जिवीकोपार्जन जस्ता विविध पक्षलाई सटीक चरित्रका माध्यमद्वारा प्रस्तुत गर्नसक्नु नै बरालको चतुरता देखिन्छ| एकातिर उनी गाउँको समृद्धशाली परम्परा र सभ्यतालाई देखाउँछन् भने अर्कोतिर प्रकृतिसित मानिसलाई हातेमालो गर्न सिकाउँछन्| बरालका कथाहरूमा मानवीय जीवनचक्रका विविध जटिलता र व्यवधानपछि जीवनप्रतिको नयॉं आशा, पर्यावरणप्रेम अनि पर्यावरण संरक्षणप्रतिको लालसा, पति-पत्नीको सम्बन्ध अनि सन्तानको अभिलाशा अनि त्यसबाट व्युत्पन्न मनोविकार र मनोदशा, समाजमा देखिएका विभिन्न विसङ्गति, प्रदूषणबाट विरक्तिएको समाज, निस्सासिँदै छट्पटाएको हाम्रो गाउँ-घर, जीवन जिउनका लागि मानिससमेत बेच्नुपर्ने बाध्यताका पछि विविध समस्याहरूलाई समेट्नु, शहरीकरणको प्रभाव, परम्परागत मूल्य र मान्यतामा आएको ह्रास, दायित्त्वहीनताले निम्त्याएको विनाश, पारिवारिक मूल्यबोध, मानवतावाद, मनोविज्ञान, साम्प्रदायिक सद्भावनाको सत्प्रयास, परम्परागत खेती-किशान र व्यवसायहरूप्रतिको विमुखता, पौराणिक र आधुनिक सभ्यताबीचको द्वन्द्व, शहर र गाउँबीचको द्वन्द्व, अन्याय र अत्याचारप्रतिको विद्रोह, क्रान्तिकारी चेतना, रीतिथिति, संस्कार अनि विश्‍वासको पर्खाल कसरी भत्किँदैछ अनि सिक्किमको समाजमा आइरहेका सकारात्मक परिवर्तनहरूलाई उनले आफ्ना कथाहरूका विषयवस्तु रोजेको देखिन्छ|
भाषा शैलीका सन्दर्भमा बराल एकजना खप्पिस कथाकारका रूपमा उभिन्छन्| उनको भाषामा ग्रामीण बोली-चालीलाई जस्ताको तस्तै टिपिएको पाइन्छ| सरल, स्वभाविक र सहज भाषा-शैलीद्वारा कथालाई अघि बढाउने बरालको शब्द चयन प्रतिभा विशिष्ट रहेको छ| पात्र अनुरूपको भाषा-शैलीलाई कुन प्रकारले प्रस्तुत गर्नुपर्ने हो त्यो उनी जान्दछन्| गाउँ-घरमा कस्तो भाषाको स्वरूप छ त्यो जान्नका लागि बरालका कथाहरू पक्कै पनि सहायक बन्दछन्| उनको भाषा कृत्रिम छैन तर व्यवहारिक र सहज छ-
‘त्यो नयॉं हलो कपेको रहेछौ, एउटा दिनु नि अब डल्लै रूख मास्नुभन्दा त!’
‘एक सय पचास रुपियॉं!’ भक्तेले दाम तोकेर भन्यो| ‘तर अनौं घर चैं खोपेको छैन| अरू सब रेडीमेड| उधारो चल्दैन| क्यास पैसा!’ आफ्नो गोरुको सय टाका भने झैं, हलोको भाउ महङ्गो बस्यो|
हाम्रा जनजिब्रोले सहजै पचाइसकेका रेडीमेड, क्यास, टाका जस्ता अंग्रेजी, हिन्दी, बंगाली एवं अन्य भाषाका शब्दहरूलाई गाउँघरतिर कुनप्रकारले बोलिन्छ त्यसलाई उनले जस्ताको तस्तै टिप्ने प्रयास गरेको देखिन्छ| त्यतिमात्र होइन, ठेट र झर्रा शब्द अनि शहरी सभ्यताबाट हराउँदै गएका कतिपय शब्दहरूलाई गाउँले कसरी बचाएको छ त्यसलाई पनि उनले आफ्ना कथाहरूमा उतारेका छन्| धुम्मिएको, पातहरू ससर्किएको, लहडमा, जाप, सोस्ति शान्ति, सॉंघुरिँदै, कुलाइन, ताल्चा, हलो-जुवा, कॉंटा-कोदालो, हँसिया-मार्तोल, गाई-गोठ, दलिन, नाम्ला-डोरी, हल्लूँडो, जोतारो, दशनङ्ग्रा ख्याएर, बिहे-बटुलो, पाखुरे, सिकुवा, ढिप ढुङ्गा, जिउनी, भुङ्ग्रो जोरो, वान्ता, प्याला, बॉंदरलाई लिस्नु, च्याब्रुङ्गे, अक्षेता चामल, रूमल्लिएर, कान्ला-कन्दरा, च्यापिल्याएका, आरन, छिप्पिएर, आरनको लिही, होत्रो, भॉंडी घन् , खियाकै, हुतिहारा, थेग्नै पर्‍यो, ओगटेर, खप्पिस, झल्यॉंस्सै, जड्याङ्ग जड्ङ्गिएर, कोक्याउँछ, देवाली, मण्डप, निक्खुर, घुर्‍यान, थला, हत न पत, दुँधेरो, नौनी, बाछा लाइदिन, चूल्हा चौका, लछार-पछार, ढिंकी-जॉंता जस्ता अनेकौं हाम्रो समाजले बिर्सिन लागेको ठेट र झर्रा शब्दहरूलाई उनले सहजै कथाभित्र हुलिदिएका छन्| पात्रहरूले यस्ता शब्दको ग्रामीण लवजमा प्रयोग गर्दा कथा सॉंच्चै जीवन्त बनेका छन् र उनका कथाहरूमा गाउँको सुवास छरिएको छ|
उनका कथाहरूमा जीवनको संघर्ष पाइन्छ| त्यो संघर्षका पछि आशाका नयॉं किरणहरू प्रकाशमान बनेर फिँजिएका छन्| विभत्स घर, डुब्दै गरेको देश, उपक्रम, शून्य सपना, जिउनी, मूल्यबोध, त्यो प्रिय मुहार, आरन, धुवॉं, पहाडकै कान्ला कन्धरातिरको कथा, इत्यादि, हराएको मान्छे, पाइलापछिका पाइला आदि कथाहरूमा जीवन संघर्षलाई जुन प्रकारले प्रस्तुत गरिएको छ त्यसले उनलाई एकजना माझिएको आख्यानकारका रूपमा उभ्याउँछ| प्रत्येक संघर्षका पछि मानिस जिउनुको अर्थ अनि जीवनका विकल्पका ढोकाहरू र नयॉं आशाका किरणहरू सदैव बॉंचेका छन्| संसार यसरी नै चल्छ| आशा छैन भने संसार चल्दैन| संसार आशाकै भरमा बॉंचेको छ भन्ने कुरो बरालका कथाहरूमा उदाङ्गो पारिएको छ|
आधुनिक सभ्यताको विकास अनि शहरीकरणका कारण हाम्रो गाउँघरका मान्यता र मूल्य कसरी ध्वस्त हुदैछन् अनि युवा पुस्ता कसरी गाउँबाट शहरतर्फ बसाईं सर्दैछ, परम्परा, रीतिथिति, संस्कार, मान्यतालाई कसरी नयॉं पुस्ताले लत्याउँदैछ अनि विखण्डित बन्दै गएको समाजमा कसरी छोरा-छोरीले बाबु-आमाको इच्छा-आकांक्षा, आशा र विश्‍वासलाई लत्याउन थालेका छन्, कसरी हाम्रो पारम्परिक व्यवसाय हराउँदैछ जस्ता विषयवस्तुहरूलाई सूक्ष्म रूपमा भित्र पसेर खोतल्ने काम गरिएको छ जिउनी, आरन, धुवॉं, मूल्यबोध, शून्य सपना, विचित्र, देवाली जस्ता कथाहरूमा|
शहरबाट ठूली बुहारीको खबर आइपुग्यो-‘छोरा टूरमा छन्, दवाई ओखती गर्दै गर्नु! नानीहरूको परीक्षा चल्दैछ| उहॉं आएपछि सबैजना छुट्टी मिलाएर आउने छौ|’
‘हो ठूलो मान्छेको ठूलै चाला| कहॉं फुर्सद हुँदो होला र? देश र सरकारको सेवाअघि जाबो बाबु-आमा त को हो र! म पनि कति आशावादी भएछु|’ खिन्न हृदयले घिमिरे बाबै सोच्न थाल्छन्|
बरालका कथाहरूमा प्रकृतिप्रतिको अपार प्रेम पाइन्छ| उनको प्रकृतिप्रेमले कथाहरूलाई पर्याआलोचकीय दृष्टिकोणले हेर्न लालायित तुल्याउँछ| मौैसम परिवर्तन तथा अन्य विविध कारणले मासिँदै गएको हाम्रो पार्वत्य पर्यावरण र प्रभावित् बनेको हाम्रो पारिस्थितिकीतन्त्रबाट उनी निकै विचलित छन् र उनले कथाहरूमा पृथ्वीको संरक्षणका लागि आग्रह गरेका छन्, ठाउँ ठाउँमा|
बरालका कथाहरूमा पर्याचेत्
बरालका कथाको मूल विशेषता नै पर्याचेत् हो| उनका कथामा कला अनि प्रकृतिको अन्तरसम्बन्ध, नैतिक मूल्य वा मान्यता, दर्शन, संस्कार, रूढी, रीतिथिति, परम्परा र संस्कृति आदिमा प्रकृतिको उपस्थिति, मानव मनोविज्ञान र प्रकृतिको अन्तरसम्बन्ध, ग्रामीण जीवनशैली र प्रकृतिको सम्बन्ध, प्राकृतिक सम्पदाको संरक्षण र विकासको वकालती, मानव सभ्यताको विकास र प्रकृतिमा त्यसको प्रभाव, वायु,जल, थल र ध्वनि प्रदुषण, मानव सभ्यताको विकासद्वारा भएका प्राकृतिक क्षय, विकास र प्रगतिको नाममा पर्यावरण सन्तुलनमा आएको प्रभाव, प्राकृतिक सुन्दरता र सौन्दर्यको व्याख्यान, मानव जीवनमा प्रकृतिको मूल्यबोध, वन्याकरण, वनविनाश, मौसम परिवर्तन र त्यसका प्रभावहरूको सुक्ष्म प्रस्तुति पाइन्छ| विभत्स घर, डुब्दैगरेको देश, उपक्रम, दुइ किनारा, जिउनी, आरन, धुवॉं, पहाडकै कान्ला-कन्धराको कथा, इत्यादि, अम्मल, बिनाजरी अनि पाइला पछिका पाइलाहरू कथामा बरालको पर्याचेत् प्रष्फुटित बनेको छ|
डुब्दै गरेको देश कथामा कथाकार बरालले पोलिनेशियाई द्वीप तुवालोको अस्तित्व सङ्कटमा परेको सत्य घटनालाई कथा रूप दिएर आफ्नो पर्याचेतलाई सार्वजनिक गरेका छन्| आठवटा स-साना टापूहरूद्वारा बनिएको सो द्वीप मौसम परिवर्तनका कारण समुन्द्रमा डुब्दै गएको सत्यलाई कथाको रूपमा प्रस्तुत गरिएकोबाट कथाकारले पर्यावरण असन्तुलनबाट यो पृथ्वी कति प्रभावित् बनेको छ अनि मानव सभ्यता तुवालो टापूमा जस्तै सङ्कटको संघारमा उभिएको छ भन्ने कुरो देखाएका छन्| क्रमिक रूपमा तुवालोका टापूहरू समुद्र सतहभित्र पसेजस्तै पृथ्वीको मानव सभ्यता पनि भविष्यमा हुने भयावह विनाश र विध्वंशको संघारतर्फ क्रमिक रूपमा बढिरहेको कुरो स्पष्ट गरेका छन्| पर्यावरण असन्तुलन बनाउन तुवालोवासीको कुनै योगदान छैन, धनी र विकसित राष्ट्रहरूले खडा गरेको प्रतिष्पर्धा र विकासका कारण पृथ्वीको पर्यावरण प्रभावित् बनेको अनि समुद्री सतहमा जलस्तर बढेका कारण निर्दोष तुवालोवासीहरू समुद्रको आँचलमा डुबुल्की मार्न बाध्य बन्दै गएको कथाले मानव सभ्यताको अन्धो होडप्रति तीखो व्यङ्ग्य गर्दै निर्दोष र निर्धाहरूले भोग्नुपरेको विवशतालाई उजागर गरेको छ| परिणामस्वरूप आफ्नो स्वर्गभन्दा प्यारो भूमिलाई परित्याग गरी अन्यत्र बसाईं सर्नुपर्ने अनि जीवनको संघर्षलाई अघाडि बढाउनुपर्ने विवशताहरू मान्छेलाई मान्छेले नै सिर्जना गरिदिएको देखिन्छ|
विश्‍वमा ठूला-ठूला शक्तिशाली देशहरू शक्तियुद्ध लडिरहेछन्, औद्योगिक प्रतिस्पर्धाको खेल खेलिरहेका छन् र हामी यहॉं नतमस्तक त्यसको प्रभावको ताण्डव नृत्य हेरिरहेकाछौं| मेरो बाबा हाम्रो देश डुब्दैगरेको कुरा पत्याउन गाह्रो मान्नुहुन्छ| तर आमालाई हाम्रो आउने भविष्यप्रति अत्यन्तै चिन्ता छ| त्यसैले, भर्खरै मात्र हामीले ब्रिस्बेनमा एउटा जमीन किनेका छौं| अब केही दिनपश्‍चात हामी सबै त्यहॉं गएर बस्नेछौं|
विभत्स घर कथामा कथाकारले प्रकृतिको ताण्डवीय रूपपछि नयॉं जीवनको आँकुरा टुसाएको देखाएर जीवनचक्र र प्रकृतिचक्रको समानतालाई केलाएका छन्| ज्वालामुखी कथामा प्रकृतिको ताण्डवीय रूप ज्वालामुखीसित मानिसको आकांक्षा र अभिलाषालाई जोडिएको छ| उपक्रम कथामा बरालले ध्वनि प्रदूषणका बीच मान्छेले बॉंच्नुपरेको बाध्यलाई देखाउँदै अन्धो शहरीकरणले मानसिक शान्तिलाई हरण गरेको अनि आफ्नो निजीत्व कतै पनि नबॉंचेको सत्यलाई प्रस्तुत गरेका छन्| शहरमा नानी सुताउन नसक्ने वातावरणको सिर्जना अनि बढ्दो र अनियन्त्रित ध्वनि प्रदूषणले सिर्जना गर्ने विवशतालाई सो कथामा उजागर गरिएको छ-
डेकको बक्स बजेको तीव्र ताल अनि थर्कन, थर्किरहेछ ढुङ्ग-ढुङ्ग गर्दै| वाहनहरू गुडेको दूर-दूर आवाजले घरै थर्किरहेछ| भुसुक्क निदाउनलाई यो वातावरण अनुकूल छँदैछैन| कतिबेला पनि झसङ्गै ब्यूँझाउन सक्छ यो अनियन्त्रित काहोलोले| तर निद्रा दिलाउनसम्म नसकिरहेछु, कति विवश म!
दुइ किनारा कथामा कथाकारले नारी जीवनलाई प्रकृतिसित समानता देखाउँदै सानूमा देखापरेका परिवर्तनलाई प्रकृतिमा देखिएको परिवर्तनसित दॉंजेका छन्| ‘पानी’ – जीवनदायी उपहार हो प्रकृतिको, पानीमै जीवन बॉंच्दछ तर पनि पानीका विविध रूप हुन्छन्| भेल, बाढी आदि रूपले विनाश ल्याउने गर्दछ र वर्षाको समय सर्तक रहनुपर्छ भने झैं कथाकी पात्र सानूको यौन उन्मत्तालाई भेलसित दॉंजिएको छ| कथाकारले सानूलाई प्रकृतिको समानतामा खडा गरेर दुवै सन्तुलित बन्नपर्ने बताएका छन्|
आरू फुल्यो, पैयुँ फुल्यो, फुल्नलाई सबै फूलहरू बेलामा ढकमक्क भई फूले| तर फूलै-फूलहरूमाझ सानु फक्रन भने सकिन|
जिउनी कथा बरालको अहिलेसम्मको उत्कृष्ट कथा मान्न सकिन्छ| यस कथामा ग्रामीण जनजीवनलाई प्रत्येक दृष्टिकोणबाट हुबहु प्रस्तुत गरिएको छ अनि गाउँबाट शिक्षित युवाहरू कसरी शहरतर्फ बसाईं सर्दैछन् अनि गाउँ दिन दिनै बूढाबूढीको जिउने स्थलका रूपमा परिणत हुँदैछ भन्ने कुरो सँगै रोजगार र शहरीकरणले ल्याएको गाउँले विवशतालाई देखाइएको छ| गाउँको पारिस्थितिकी तन्त्रलाई संरक्षण गर्ने दायित्वबाट युवा समाज कसरी पलायन बन्दैछ भन्ने कुरो देखाउँदै कथाकारले ग्रामीण शीप, कला, परम्परा, रीतिथिति दोस्रो पुस्तामा हस्तान्तरित हुननसकेको विषयलाई प्रस्तुत गरेका छन्| बूढाबूढीको आशा र अभिलाषा छोरा-छोरी हुन् तर छोरा-छोरीले नै शहरलाई अँगालेपछि गाउँलाई भूलेको अनि बाबु-आमा विरामी पर्दासम्म हेर्न जानसम्म नभ्याउने व्यस्ततामा पुगेको शहरी सभ्यता कसरी दायित्त्वहीन बन्दैछ अनि परिवारहरू कसरी विखण्डित बन्दैछन् भन्ने कुरोलाई मार्मिक प्रस्तुतीका साथ अघि सारिएको छ| मानिसलाई बॉंच्नका लागि प्रकृतिकै काख प्यारो लाग्छ| छोराले लत्याए पनि घिमिरे बाबैलाई बॉंच्नका लागि जमिनको सानो टुक्रो जिउनी भए पुग्छ-
यतिबेला घिमिरे बाबै बोल्न बाध्य बन्छन्-‘हामीलाई, मृत्युले नटिपुञ्जेलसम्म बस्न र दुइछाक हातमुख जोड्न, त्यो बिरौटे खेत र घरबारी अनि त्यो बूढो घर भए, शान्ति| अरू, यिनीहरूको खुशी|’ आफू टुक्रा टुक्रा टुक्रिएर तीन हिस्सामा बॉंटिन लागेको ध्रुवसत्यले रूग्ण बन्दै, स्वयंलाई सम्हालेर, आँखाको ओठसम्म भरिएर आएको आँसुका ढिका भित्रै सोंचेर राख्न सफल भए|
उनको ग्रामीण पृष्ठभूमिमा हुर्किएको कथा आरन र धुवॉंमा पनि पर्याचेत् प्रचुर मात्रमा पाइन्छ| आरन कथामा एकातिर पारम्परिक व्यवसाय आरनले नै दैनिक उपभोगका सामानहरू निर्माण गर्ने गरे तापनि आरनको महत्व कम बन्दै गएको देखाइएको छ भने अर्कोतिर प्रकृति झैं समान व्यवहारको संस्कृति, साम्प्रदायिक सद्भावको विकास हुँदै आएको अनि रूढिवाद र अन्धविश्‍वास एवं सामाजिक विकृति तथा अमानवीय व्यवहार छुवाछुत हराउँदै गएको देखाइएको छ| नयॉं पुस्तासितै समाजबाट छुवाछुत, भेदभाव हटेर गइरहेको छ यसरी-
यत्तिकैमा भर्खरै स्कूल छुट्टी भएर फर्किएका काफ्ले साइँलाको छोरा र शंखरेकी छोरी आइपुग्छन्| भित्रको हल्ला-खल्ला सुनेर दुवैजना हस्याङ-फस्याङ गर्दै उनलाई ठेल-ठाल पारीभित्र पस्छन् र भित्रको कुनै खाली चौकीमा गएर बस्छन्|
पहाडकै कान्ला-कन्दरातिरको कथा-मा कथाकारले मानव सभ्यता अनि मानवीय प्रवृत्तिको तुलना कमिलाको सभ्यतासित गरेका छन्| कमिला र मानवको प्रवृत्तिमा देखिने समानतालाई उनले यस कथामा प्रस्तुत गरेका छन् भने धुवॉं कथामा वनविनाश रोक्नका लागि उपयोगी मानिएको सिलिण्डर ग्यासलाई ग्रामीण जनजीवनले अप्नाउन नसकेको अनि उनीहरू प्रकृतिकै काखमा आगोमै खेल्न र हुर्कन रूचाएको तथ्यलाई प्रस्तुत गरिएको छ| देवाली कथामा रीतिथिति, परम्परा, संस्कार र विश्‍वासको पर्खाल भक्तिएको देखाउँदै देवाली जस्ता प्रकृतिपूजन परम्पराप्रतिको विश्‍वासमा क्रमिक ह्रास आउँदै गएको र प्रकृति र देव पूजाका नयॉं विकल्पहरूको ढोका खोलिएको देखाइएको छ| देवालीमा बली दिने परम्परामा कुलको धामीले मागेको रङको बोको नपाएपछि बैमानी गर्दा पनि हुँदो रहेछ भन्ने प्रमाणित गरेर हिंसाको बाटो परित्याग गरी हवन गरेर देवाली मनाउने नयॉं परम्पराको थालनी गर्न सकिने बाटो देखाइएको छ| यस कथामा परम्परा र विश्‍वास अनि नयॉं पुस्ताको नयॉं सोंचबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ| हिंसाको बाटो परित्याग गर्नु मानवताको सिँढी चड्नु हो अनि मानवताको सिँढी चड्नु नै प्रकृतिको संरक्षण हुनु हो| यस कथाबाट कथाकारले परिवर्तित समाजको परिवर्तित संस्कारलाई देखाएका छन् अनि नयॉं पुस्तालाई परम्पराबाट च्वाट्ट विमुख गर्नुभन्दा विकल्प खोजिदिएका छन्-
हुन त के हुन्छ र| हामी पनि त देवाली बुझाउँथ्यौं| ऐले सबै छोड्यौं| भइराखेको छ| बली चढाउन छोडेर आजकल शुद्ध तवरले पुरोहित पढाई खीरको हवन दिन्छौं| मन, तन, वातावरण सबै सबैको हितकारी|’ यहॉं परिवर्तन हुँकार्‍यो|
बिनाजरी कथामा जरा र पातबिनाको लहरे पहेंलो प्रजातिको वनस्पति जो सिमली आदि रूखका टुप्पामा उम्रन्छ, सर्छ, हुर्कन्छ अनि उसले आश्रय लिएको रूखलाई मर्नु न बॉंच्नु बनाउँछ त्यस्तो बिनाजरी वनस्पतीसित हर्केको जीवनको समानता देखाइएको छ| यस कथाले कसरी आफ्नो गाउँको श्रीसम्पत्ति बिक्री गरेर मानिसहरू शहर पस्छन् बिनाजरी बनेर भन्ने कुरो देखाइएको छ| घर जमिन भनेको टेक्ने र समाउने ठाउँ हो अनि त्यो नै बिक्री गरेपछि मान्छेको जीवन जति नै पैसा भए पनि बिनाजरी नै बन्दछ भन्ने कुरोलाई कथाकारले रोचक रूपमा प्रस्तुत गरेका छन्-
गाई-बाख्रा, काठ-पात, घर-घुर्‍यान सब बेचबिखन गरेर, हिँडे हर्केका सपरिवार, शहरतिर-लट्टीपट्टी कसेर| पैसाको बिटा मुठ्याउन पाएको हर्केले गाउँ घर, छर-छिमेक, शाखा-सन्तान सबैलाई भूल्यो|
..‘हर्केले माथि डॉंडामा पुगेर एकपल्ट फर्केर आफूले छोडेको जमीन नहेरी सकेन| उसले मनमनै भन्यो-‘त्यो सिमलीमा त कतिबेला ‘बिनाजरी’ चडेछ| अब एक पल्ट सिमली मरेरै बॉंच्ने भो|
पाइला पछिका पाइलाहरू कथामा कथाकारले प्रकृतिकी प्रतिमूर्ति नारीको जीवनमा आएको परिवर्तनलाई देखाएका छन् भने अर्कातिर गाउँमा आएको आर्थिक सम्पन्नता र सुधार अनि विकासीय कार्यहरूलाई गरिएका स्वागतहरूलाई रोचक रूपमा प्रस्तुत गरेका छन्| कथाको मूल मर्म नै महिला सशक्तिकरण रहेको अनि त्यसैका माध्यमद्वारा समाजमा आएको सामाजिक-आर्थिक सुधारलाई प्रतिबिम्बित गरिएको छ| कथामा गाउँका स-साना कथा र व्यथालाई टिपेर पुरुषले पनि महिलालाई अघि आउने अवसर सुनिश्‍चित गर्नुपर्ने आजको आवश्यकतालाई देखाएका छन्| विकासका क्रममा प्रकृति र पर्यावरणको सुरक्षा अनिवार्य रहेको अनि पर्यावरणलाई सन्तुलन गरी विकासीय कार्यहरू अघि बढाउनसक्ने सुझाउ दिइएको छ कथा-
‘आजको जमाना, कम्प्यूटरको जमाना, विद्युत चालित उपकरण सञ्चालित युग, उत्तराधुनिक सभ्यताको आधार, हाम्रो पनि उन्नति एवं प्रगति यसैमा निर्भर छ| तसर्थ, हाम्रो कर्तव्य, यस परियोजनाको स्वाकृति| केही हानी पनि हुन्छ, निकै प्रदूषण पनि बढछ, वन-जङ्गल पनि मासिन्छ, हाम्रो जग्गा जमीन आफ्नो पुर्खाको भन्न नपाई, सदा-सर्वदाको निम्ति खोसिन सक्छ| हो, केही पाउनलाई धेरै गुमाउनपर्दा दुःख पनि लाग्छ; तर, परिवर्तनले आफूसँगै लिएर आएको यस्तै नयॉं-नयॉं चुनौतीहरूलाई सामना गर्दै, हामी अझ परिपक्व तथा दह्रिलो भई जीउन सक्नुपर्छ|’
निष्कर्षः
कथाकार युवा बराल ‘अनन्त’ का कथाहरूले एकातिर सिक्किमको ग्रामीण जनजीवनलाई चिनाउने काम गरेका छऩ् भने अर्कातिर पर्यावरणको संरक्षणप्रति कर्तव्यबोध हुनुपर्ने आग्रह गरेका छन्| प्रकृतिको काखमा हुर्किन र रमाउन खोजेका उनका पात्रहरू जीवन्त बनेर उभिएका छन| उनका कथामा ग्रामीण जनजीवनको कथा र व्यथा लुकेका छन् अनि कथाकारले स्वर्ग भने पनि आनन्दलोक भने पनि गाउँलाई सर्वत्र ठानेका छन्| उनका सबै कथाहरूको कार्यपीठिका ग्रामीण क्षेत्र नै छन् भने कथाकारमा शहरप्रतिको विमुखता टड्कारो बनेर उभिएको छ| प्रस्तुत कथासंग्रहका कथाहरूलाई अनेकौं दृष्टिकोणबाट आलोचकहरूले हेर्नसक्नेछन् अनि आलोचनाको नयॉं पर्याआलोचकीय दृष्टिकोणबाट उनका कथाहरूको अध्ययन गर्ने यो सानो प्रयास नै चुडान्त होइन| तर यति चाहिँ पक्कै भन्न सकिन्छ युवा बराल सिक्किमेली कथा फॉंटमा उदाएका एक रापिला घाम हुन्, जसबाट अझै उत्कृष्ट कथाहरूको आगमन हुन बॉंकी नै छ| भनौं भने यी कथाहरू उनका कथा यात्राका प्रथम चरणका कथाहरू हुन् र आउँदा दिनहरूमा उनीबाट अझै उत्कृष्ट कथाहरूको अपेक्षा गर्नसकिन्छ अनि गरिनु पनि पर्छ| अन्त्यमा, नयॉं कथा संग्रह अनि समय कथा २ मा विजेता बनेका कथाकार बराललाई अशेष शुभकामनासहित बधाई अर्पण गर्दछु|

(१ सितम्बर, २०१०, गान्तोक, सिक्किम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *