Skip to content


अविचलित ,अवोध र प्राय: अप्राप्य अनि
ढुंगाका देउताहरुलाई चढाइने
गोलैंचीको फूल जस्तै ,

विवश र विभत्स- अनि
अस्पृस्य
असहाय स्पाइडर’ आमाहरु झैं …

याने तिमी मेरी बहिनी देउकी जस्तै आगोका अपहेलित थुंगाहरुलाई –

भेटुँला यो – जिन्दगीको
उकालो, ओरालो , चिप्लो र लामो बाटोमा ,
सलामी दिउँला मुक्तिको त्यै तिम्रो माटोमा !!!

सीमसार बस्ती र ढापका कान्लाहरुमा,
मान्छेका मन मस्तिस्कहरु विचको पर्खालहरुमा
या
मन्दिर, मस्जिद र चर्चका छानाहरुमा,
स्वर्गका बगैंचाहरुमा
या
सैना मैनाका मुजुराहरुमा
कतिपय
स्पाइडर’ आमाहरु निसर्त मृत्युको गर्भाधान गरिरहेछन्
अर्थात्
जिन्दगीको नाममा सपथ लिएका
एलियन’ भेनोम आदि धर्मपुरुष निर्लज्ज मृत्युको वीर्यदान गरिरहेछन् !!

क्रेतेसियुअस्” युगको महासुनामी
जन्मिनेछ फेरि त्यो गर्भबाट –
युकातनका समुद्री द्वीपहरुमा /

भाग्नेछ – बर्बर युगिन दासता
टाउको उठाउन पाउने छैनन् – ती मैलोली देवीले
हिमाल झुकाउन पाउने छैनन् – सामन्तहरुले /

बेठबेगारीद्वारा निर्मित इटापचलीले
मृत्युदण्ड दिन सक्ने छैन – स्पाइडर’ आमालाई /
स्वयम् मृत्यु जन्माउने आमालाई के को मृत्युदण्ड ?

टाल्ने छिन् तिनै आमाले- फाटेको सपनीका चोली सबै
तर
रोप्ने छैनन् मनमा – नउम्रने विश्वासहरु /
उनले अँधेरी रातहरुलाई जून दिनेछिन् ,
र कहिल्यै पनि त्यो उजेली रातको जून खोसिन दिने छैनन् /

मोठ तहविलका हिसाबहरु मागिने छैनन् – जनतासित
जो आफैं बेहिसाब छन्-
उनै सित के को हिसाब माग्नु ?

अनि तिनको ओठको गीत हुनेछ –
जय होस् हाम्री प्यारी आमाको /

Leave a Reply

Your email address will not be published. Required fields are marked *