कपाल त्यसै फुलेको थिएन बुद्धि सरको । विश्वविद्यालयमा प्राध्यापन गर्न लागेको पनि करिब दुई दशक भैसकेको थियो । विषयवस्तुमा पोख्त, प्राध्यापन पेशामा सिद्धहस्त बुद्धि सर सम्पूर्ण विद्यार्थीका पृय थिए । अध्ययनका सौखिन उनी सबैसँग भन्ने गर्थे अध्ययनशीलताबाट चाहेको कुरा गर्न सकिन्छ । हुन पनि उनी आफ्नो अध्ययनकै बलबुताबाट यहाँसम्म पुगेका थिए । चाकडी चाप्लुसी गर्न नजान्ने उनी कुनै राजनैतिक धार तिर आफ्नो निकटता नभएको जिकिर गर्दथे ।
सायद यहाँनेर चुकेका थिए बुद्धि सर । यसै कारण अघिल्लो दुइपटक डिनको नियुक्तिमा उनिभन्दा कनिष्ठ प्राध्यापकहरू छनोट भएका थिए । यसपाली पनि डिनको नियुक्तिको गाइँगुइँ सुनिँदै थियो । यसपाली सत्तासीन पार्टीका ठूला नेताले विश्वविद्यालयको कुनै एक कार्यक्रममा गरेको भाषण उनले पनि सुनेका थिए ।
“हामी नातावाद कृपावादलाई मलजल गर्दैनौँ,” नेताजी कुर्लँदै थिए । “यसपाली त सायद …,” सोच्दासोच्दै रोकिन्थे बुद्धि सर ।
“सर परिषदको बैठक आज बस्दैछ,” एक निकट मित्रको आत्मीयता ।
“तपाइँलाई त थाहै छ, परिषदले के गर्छ,” बुद्धि सरको निराशा ।
विगतका दृश्यहरू झलझली आँखा अगाडि नाच्न थाल्यो बुद्धि सरको । कक्षा सकिइसकेको र मन केही विचलित भएको कारणले घरतिर हिँडे बुद्धि सर । कोठामा पुगेर हिजो मात्र किनेको एक उपन्यासमा मन भुलाउने प्रयत्न गरे । समय बितेको पत्तै भएन ।
“यसपाली पनि तपाईँ पर्नुभएन होइन ?” श्रीमतीको सान्त्वना ।
बुद्धि सर केही उत्तर नदिई पुस्तकमै रमाउने प्रयत्न गरे । उता श्रीमती भन्दै थिइन । “मैले धेरै पटक भनेँ यसो ठूलाबडासँग कहिलेकाँही त हेलमेल बढाउनु पर्छ भनेर । हजुरले कैले टेरपुच्छर लगाउनु भएन । ऐले देख्नुभयो नि ?”
भाद्र ३, २०६९
