Skip to content

गाउँखाने कथा (कविता)

ShantiRamDhakal


नानीहरू हो !
आजको कथा जंगलको कथा
एउटा जंगल राजको कथा
नानीहरू हो !
त्यो राजमा —-
बिचारको स्वतन्त्रतामा बन्दुक तेर्सिन्थ्यो
पानी, कुलोमा, बाटो सीमामा झण्डा हेरिन्थ्यो
झुण्डहरू बांगो रूखलाई सिधा छ भनेर भन्थे
सिधालाई बांगो रूख भन्थे छक्क पर्थें
बांगोलाई बांगो अनि सिधालाई सिधा भन्न
दायाँ बायाँ तल माथी हेर्नु पर्थ्यो
नत्र कारबाही हुन्थ्यो
त्यो भन्दा पनि पहिले दरबार भन्ने थियो
त्यो दरबार हो भनेर औला देखाउदा
नानी त्यो औला झर्थ्यो

अनि
त्यो जंगली राजमा धेरै राजाहरू हुन्थे
अलिक पर श्यालहरू हुन्थे
बाघ गर्जियो भने पुच्छर लुकाएर
सांक सांक र सूंक सूंक गर्थे
ज्यान जोगाउन
नानी हो
जी हजुरी गर्थे
अहिले त्यो ठाउमा
जंगलको राज छ
लामकाने श्याल राजा छ
नंग्रे श्याल ठाउ नपाएर
फेरि जंगल तिरै जान खोज्दै छ
त्यो कंक्रिटको जंगलमा
अहिले जंगली राज छ

नानी हो !
यो कथा सुन्नेलाई सुनको माला
होइन होइन सुनको भाउ आकाशिएको छ
किन्न सकिन्न
भन्ने लाई फूलको माला
होइन नानी हो ! होइन भन्नेलाई ….
त्यो जंगली राजमा
कंक्रिटको जंगलभित्र
बोल्नेको जिब्रो काटिन्छ
लेख्नेको हात भाचिन्छ
अनि सुन्नेका कान बहिरा हुन्छन
देख्नेका आँखा फुटछन्
त्यो बाघ भालु अनि श्यालको राज्य मा

नानीहरू हो !
यस्तै छ आज को गाउ खाने कथा
गाउँ खानेले आज देशै खाइरहेछ
आज देशै खाई रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *