धेरै बर्षअघि तिमी आयौ मेरो आँगनमा
बास माग्यौ बस्नलाई बास दिए
दुई छाक खान गहारो थियो मलाई
त्यही बाडेर भाग लगाएँ
युद्ध लड्नु पर्छ मुक्तिको लागि भनेर
कति कति रातहरू सँगै लग्यौ
मुक्तिको लागि भन्दै मेरा छिमेकीहरू
यी हाम्रा दुश्मन भन्दै मार्न लगायौ
तिमीले जे भन्यौ मैले सबै माने
तिमीले जे अह्रायौ मैले सबै गरे
फाटेको सुरुवाल र त्यो कमरको सेतो पटुका
आज पनि मसँग त्यस्तै छ
एकजोर पेन्ट र शर्ट तिमीलाई दिएको थिएँ
दशैंमा ससुराली जानलाई सिलाएर राखेको
जे होश तिम्रा महान बिचारमा नतमस्तक थिएँ
युद्ध जित्यौ कि हार्यौ मलाई त थाहा छैन
मैले थाहा पाएँ युद्ध जितिने बस्तु होइन रहेछ
आज मलाई खान धौ धौ छ
छर छिमिकीहरू अझै डराउछन् तिम्रो प्रतापले
पढ्दै गरेका मेरा नानिहरू मुक्तिको नाममा
देश र जनताको नाममा परिवर्तन को नाममा
पुरै परिवर्तन गरायौ
तिम्रा नानि विदेश पढ्थे मैले उहुँसम्म गरिन
मुक्तिको लागि भन्यौ
एक हल गोरु पनि बेचेर तिमीलाई दिए
खोइ के के मुक्ति गरेयौ थाहा छैन
अब युद्ध जितियो भनेर भन्थ्यौ
त्योपछि तिमी आएनौ
मेरो जेठो छोरो तिम्रो बाटो हिड्दा हिड्दै
मैले थाहा नै नपाई शहिद भएछ
मैले उफ पनि गरिन
कान्छो घरको स्थिति देखेर
अरब गएको छ खाडी मुलुक
गएको दुई बर्ष भयो पत्तो छैन
मेरो त यस्तै छ के छ मुक्ति नाथ तिम्रो खबर ..?
म र बुढी दुई जना त्यही घरमा छौ
आजकाल त त्यो बेलाभन्दा बढी चुहुन थालेको छ
खोइ मुक्तिनाथ त्यो सपना त्यो उन्मुक्ति
तिमीलाई दिनै पिच्छे छिमेकीको टेलिभिजनमा देख्छु
शर्ट पनि कति राम्रो कोट पेन्ट झन् राम्रो
कालो जुत्ता कस्तो सुहाएको
कति चिल्लो भएछौ
पहिलेभन्दा तन्नेरी भएछौ
चिल्लो गाडी शुट बूट कति सुहाएको
टाढा छु छेउमा आउन पाए थाह हुन्थ्यो
चमेली को अत्तर पनि लगाएका छौ होला
हामी जस्ता सेवकलाई घर चाहिदैन भन्थ्यौ
राजधनीमा महल ठड्यायोउ अरे
कति राम्रो परिवर्तन – सबैको घर हुन्छ भन्थ्यौ
ठिकै भनेछौ ए मुक्तिनाथ !
ए मुक्तिनाथ यहाँ मेरो छोरो परदेश लाग्दा
लागेको त्यो ऋणले
मेरो खेत बारीकै उठीबास भो
तिमीलाई देख्दा सन्तोष लाग्छ
तिम्रा सन्तानहरूले परिवर्तनको
राज मार्गमा चिल्ला गाडी कुदाउदै होलान
ए मुक्ति नाथ ! उन्मुक्तिको बाटो अझै फराकिलो पार्नु छ भने
आऊ अझै म सहयोग गर्छु
परिवर्तन गर्नु छ भने आऊ म तिम्रो लाममा लागौला
म फेरि बन्दुक बोकौला तर होश गर
अबको बन्दुक जता पनि फर्कन सक्छ
गोली त्यो बन्दुकको
त्यो तिम्रो महलको बार्दलीबाट
भित्र पनि छिर्न सक्छ !
Mukti nath Nepali poem, purbeli times, You tube – live
