जीवन मेरो यस्तै रैछ सँधै दुखै दु:ख,
कहिले होला जीवनमा हुने मलाई सुख ।।१।।
भाग्यले नि सँधैभरि मैलाई ठग्ने कस्तो,
किन भयो जीवन मेरो कागज भन्दा सस्तो।।
कुन जुनीमा के पाप गरेँ र भोग्नु पर्यो अहिले,
रुनु पर्ने किन होला सँधैभरि मैले ।।२।।
कसलाई सम्झी मन बुझाउँ छैन आफ्नो भन्ने,
मेरो जीवन भन्दा ठुलो सबले पैसा ठान्ने।।
सोच्ने गर्छन सबले यहाँ पैसाको छ रुख,
कसले देख्छ गर्नुपर्छ यहाँ कति दु:ख ।।३।।
भाग्यले नि सुख मलाई लेखिदेन किन?
सँधै चोट र पीडा बोकी बित्ने भयो दिन।।
एक्लै रुन्छु, सम्हालिन्छु छैन आफ्नो भन्ने,
आफन्त नै टाढा भए अरु कसले गन्ने ।।४।।
धन कमाई सुख पाउन सात समुन्द्र तरेँ,
तर सबले टाढा पारे आज एक्लो परेँ।।
सबको ईच्छा पुरा गर्ने मेसिन जस्तै भएँ,
दिन दिन प्रदेशमा एक्लिंदै म गएँ ।।५।।
फर्की जाउँ त महंगी छ, दुई छाक टार्नै गारो,
मलाई मात्र किन यस्तो दु:ख पर्ने सारो।।
दुस्ख पर्दा एक्लै रुन्छु छैन कोही देख्ने,
कर्मै खोटी भएपछी रैछ सबले हेप्ने ।।६।।
कति दु:ख गरूँ मैले कति पीडा सहुँ,
आंफ्ना जति टाढा भए दु:ख कसलाई कहूँ।।
एक कल फोन गर्न पनि सबले गारो मान्छन,
सुख सयलमा बसेकी छ भन्ने सबले ठान्छन ।।७।।
फोन गर्छन कि भन्ने आसले हेरिरहन्छु फोन
आफ्नाले नै माया मार्दा सारै रुन्छ मन।।
बाध्यताले बिदेसिएँ के भुल गरेँ मैले,
तर पनि मलाई बुझ्ने कोही भएन अहिले ।।८ ।।
First published: 2012-09-08 14:51:02 +0100
