Skip to content


दुनियाँलाई आफ्नो जालमा फसाउन कसैले धनप्रसादसँग सिकोस् । उ गाउँको मुखिया, महाजन, अन्नदाता, ऋणदाता, के थिएन । गाउँलेहरू पनि अड्को पड्को पर्दा धनप्रसादलाई नै गुहार्न पुग्थे । एकपटक धनप्रसादसँग गुहार माग्नेको जायजेथा अजिङ्गरले आहारा निले झैँ निलेर डकारसम्म पनि नगर्दासमेत गाउँलेहरूले उसको मुखेन्जी चुँक्क बोल्दैनथे । गाउँमा कसैको बाख्रो, पाडी, राम्रो देख्नासाथ साम, दाम, दण्ड, भेद आदि सबै प्रकारको हतकण्डा अपनाउँदै लैजान पछि पर्दैनथे धनप्रसाद ।

आज गाउँमा एउटा छाडा भैँसीको हल्ला चलेको उसले पनि सुन्यो । गाउँलेहरू कसैले पनि आफ्नो भनेर दावी नगरेको पनि थाहा पायो । गोठमा गएर हेऱ्यो सबै भैसीहरू मस्त उघ्राएर बसीरहेका छन् । उसले मनमनै सोच्यो यत्रा भैँसी अटाएका छन त त्यो एउटा कसो नअटाउला । यदि कसैले लाँदैन भने म यतै ल्याउँछु । ऊ फटाफट हल्लाखल्ला भएको ठाउँतिर हानियो ।

गएर हेर्छ त भैँसी देख्दै खाइलाग्दो रहेछ । केही दिन खानपान राम्रो पायो भने सम्याहा त लिइहाल्ला, नभए पनि कटुवामा पठाउँदा केही भने पनि पक्कै आउँछ । तर त्यत्रो समाजको अगाडि मेरो होइन भन्दै कसरी लगोस् । एउटा जुक्ती निकाल्दै भन्यो ।

“ल हेर यहाँ आइसकेछ । सँधै यसरी नै दाम्लो फुकाएर भाग्छ । आज त अलि बलियो सँग बाँध्छु,” भन्दै भैँसी भएतिर एउटा दाम्लो लिएर हिँड्यो ।

धनप्रसादलाई आफूतिर आइरहेको जङ्गली अर्नाले के टेर्थ्यो ? दमदार हेडिङ र जोरदार किकले मरणासन्न पार्दै नजिकैको जङ्गलतिर कुलेलाम ठोक्यो ।

२०६९ भाद्र २४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *