ए श्याम ! घनश्याम ! रुद्रमणी !
काईलाबा ! अनि काका काकीहरू !
के छ हाल खबर कस्तो खुल्ला आकाश
रंगी बिरंगी भएको छ होला
हिजो आज त बाटोहरू फराकिलो भएको सुन्छु
पानीको धारा अविरल छ अरे
लोडसेडिंग पनि सकियो अरे
ए साँची बन्द हड्ताल पनि हुन् छोड्यो रे
नून कानून सुलभ छ अरे
कस्तो सपना देखे मैले हो ?
आजकल देश दुख्न छोडेको हो ?
लक्षन हो कि के हो यस्तो सपना देखे मैले
ज्योतिषीलाई सोधी देऊ है
धामी जैसी पो लाउने हो कि
सपनाको फल कस्तो हुन्छ
आज यस्तो सपना देखें !
परदेश मा छु मेरी प्यारी
पानी बोक्न जानै पर्ला
बाटो बन्द भएकै होला
स्कूल बन्द भएकै होला
नारा जुलुश सस्तै होला
के छ प्यारी तिम्रो खबर ?
मलाई त देखि हाल्यौ
सुनी हाल्येउ
सपनीमा पनि देश दुख्छ
प्यारी तिमीलाई देश दुख्छ कि दुख्दैन ?
टाढा छु परदेशमा रहरहरू साटेर गर्जो टार्दै छु
ए ! कालीप्रसाद दाइ मलाई मेरो देश दुख्न थालेको छ
के छ श्याम, घनश्याम, रुद्रमणी
ए काका काकीहरू !के छ खबर ?
देश दुख्छ कि दुख्दैन ?
कृष्ण सेनलाई देश दुख्दा
मुक्ति नाथलाई देश दुख्दा
एउटा परिवर्तनको लप्का थियो
अर्को परिवर्तनको बाधक थियो
क्रान्ति बाहकहरूको सोचमा
तिम्रो मानसिकतामा तिनीहरूलाई देश दुख्दा
पीडा धेरै भयो होला
शराद गरेर पिण्डदान पनि गरिसक्यौ होला
मुक्तिनाथ कृष्णसेनहरूको
उनीहरूलाई देश दुख्दा तिम्रो बन्दुक उठ्यो
अब त तिम्रो देश भयो होला दुख्न पनि छोड्यो होला
ए मुक्तिनाथ, ए कृष्णसेन !
तिमीले भोगेको इतिहासमा
परिवर्तनको यो भुमरीमा
राजाहरू फेरिएका छन्
इन्कलाव का प्रतिविम्बहरू
मुठ्ठीहरू द्रव्यका लागि उठिरहेछन
क्रान्तिको लागि भन्दै कालो
बादल उठिरहेछ उठिरहेछ
तिमि माथि बन्दुक चलाउनेहरू
देश बाँडेर भाग लाउदै छन
प्रश्न तिमीलाई आजकल तिम्रो देश दुख्दैन ?
मलाइ त मेरो देश दुख्न थालेको छ
बिसे नगर्ची, कालु पाण्डेलाई
देश दुख्न थालेको छ
यो परदेशमा
मलाई मेरो देश दुख्न थालेको छ
राम सिंहहरू राम प्रसादहरू राम्पोचेहरू
विक्रम सिंह अनि पल्टने बाहरू
रंग विभाजनको होली खेल्न कबड्डीको तयारीमा छन्
दौरा सुरुवालको लिलामीमा
मधेश पहाडको नारामा
नाप नक्शा उचाई गोलाईहरूमा
देश दुख्न थालेको छ
आजकल मेरो देश दुख्न थालेको छ
चाडै आउदै छु प्यारी
मलाइ देशको पीडाले अझ च्याप्दै लादैछ
मलाई मेरो देश धेरै दुख्न थालेको छ
ए ! कालीप्रसाद दाइ मलाई मेरो देश दुख्न थालेको छ !!
First published on 2012-09-17 01:54:33 +0900
