यतिखेर
उडान बिर्सेका छन् चराहरू
र, मातेका छन् भूकम्प पिएर
पारिजातका हाँगाभरि ।
एकाध कुहिरो नओढी, जाडो
भर्खरै
धरतीमा ओर्लिएको छ
र, आदिम आकाशको एउटा चन्द्रमा
निर्बन्ध पग्लिरहेछ ।
यतिखेर
इन्द्रकमल फुल्ने कुनै पुरानो तलाउमा
कुनै नयाँ जूनले
आफ्नो अनुहार चिहाइरहेको छैन
साँझमा
कुनै बटुवा ल्याम्प पोस्टमुनि उभिएर
समयलाई मातुन्जेल गाली गरिरहेको छैन
सडक किनारामा
कुनै अराजक तत्त्वले
अँगेनाको अलिकति झिल्को चोरेर
रातो जुलुस निकाल्ने कुरा गरिरहेको छैन
समुद्रलाई ऐना बनाएर
बेलाबेला आफैँ समुद्र बगिदिने आकाशको किनारैकिनार
कतै कुनै पानीचरा डुलिरहेको छैन
जिन्दगीको उचाइभन्दा परको क्षितिजसम्म पुगेर
कविता लेख्दै, कुनै कवि बसिरहेको छैन
र, छैन यतिखेर
कल्पनाको तीव्र उडानमा
कुनै कथाकार, नाटककार, चित्रकार वा संगीतज्ञ ।
जीवनलाई यदाकदा छोएर दगुर्ने हावा
सौन्दर्यलाई जिस्काउन फुलेको फूल
रहरझैँ उडी हिँड्ने निर्बन्ध चरा
हरियो मुस्कान छोड्ने भ्रान्तिवृक्ष ।
हल्लाइरहेछन् सब, यतिखेर
बिदाइका हात
सिमानापारि पुगेका एकाध सपनालाई ।
समय
जो नदीझैँ बगिरहन्छ निरन्तर
यतिखेर
बेचैनीको तलाउमा चुपचाप खसेको छ ।
नेपाल साप्ताहिक, अंक ५१५
२०६९ आश्विन १४
