Skip to content


अब त सजिलो भो होला तिमीलाई प्रहार गर्न
मित्रताको खोल ओढ्नुपरेन
अब त सजिलो भो होला तिमीलाई
लाञ्छना लगाउन,
अपनत्वको आड लिनुपरेन
अब त सजिलो भो होला तिमीलाई
भावभित्रको भाव छिपाउन
कुनै नाटक गर्नुपरेन ।

कुनै कालखण्डमा तिम्रा अप्ठ्यारा मलाई आफ्ना लाग्थे
तिम्रा लाञ्छना मलाई अपनत्व लाग्थे
अवाक् पार्ने तिम्रा तीखा वचनभित्र म मिठास खोज्थेँ
तिमीले दिएको अपमानमा म सम्मान भेट्थेँ
समयले त बेलाबेला नघच्घच्याएको होइन
म आफैँ नै सधैँ आँखा चिम्लेर बस्थेँ ।

मित्रताको चिहान खन्दै रहेछौ एक्लै
सघाउँथेँ म पक्कै केही थाहा दिएको भए
पुर्दै रहेछौ सम्झनाका अनेकन् छायाँहरूलाई
हात बटाउँथेँ म संकेत केही दिएको भए ।

मुरीमुरी साधुवाद तिमीलाई
मलाई पनि सजिलो पारेकामा
मित्रको प्रहारभन्दा कम पीडा हुन्छ शत्रुको प्रहारमा
मुरीमुरी धन्यवाद छ समयलाई पनि
सम्बन्धको नयाँ स्वरूप चिनाएकामा ।

– मनबीषा घिमिरे

नेपाल साप्ताहिक, अंक ५१३
२०६९ भाद्र ३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *