केही दिनदेखि ऊ बेलाबेलामा आत्मसंवादमा हराउन थालेको छ, “उहाँ मान्छे त खासा हो तर..!” उसले त्यो ‘तर..’ को अर्थ धेरै दिन बुझेन ।
त्यो ‘तर…’सँगै अहिले एउटा मान्छेको मूर्त तस्बिर अमूर्त चिन्तनको चक्रमा फनफनी घुम्दै छ, कुमालेको चक्र घुमेजस्तै ।
ऊ सोच्छ, “यो चिन्तन हो कि चिन्ता हो?” क्षीण निष्कर्ष निकाल्छ, “चिन्ता पनि एक चिन्तन हो ।”
ऊ निवर्तमान विगततिर परभि्रमण गर्न थाल्छ । आफ्नो बोझिलो मन र रन्थनिएको मस्तिष्क त्यतै घुमाउन थाल्छ ।
“हो नि त, उहाँ मान्छे साह्रै खासा हुनुहुन्छ । सत्य लेख्नुहुन्छ । उहाँको कलममा… तर…!” उसले सुनेका लघु टिप्पणीले त्यो खासा मान्छे उसलाई झन् खासा लाग्छ । समयको कुचक्रले उसलाई संसारको कुनै कुनामा लगेर थचारे पनि मनले सधैँ नजिक मानेको हुन्छ, दाइ ठानेको हुन्छ उहाँलाई । पुरानो चिनजान पनि ।
उसलाई थाहा थियो, विलियम वट्लरले टैगोरको गीताञ्जली नचिनाएको भए सायद नोबेल पुरस्कार प्राप्त हुने थिएन । कृतिको उज्यालोलाई पाठकका आँखासामु ल्याएर प्रकाशवान् बनाउन भूमिकाको भूमिका र समीक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा ! विलियम वट्लर उनै दाइलाई मान्छ । देउता भेटेजस्तो हुन्छ ।
“दाइ ! भूमिका लेखिदिनुपर्यो ।”
“ए भइहाल्छ नि !” अग्राखको चुरोजस्तो बलियो ढाडस पाउँछ दाइबाट ।
“आफ्नै दाजु ठानेर भनेको हुँ, अन्यथा नलिनुहोला ।” लटरम्म फलले झुकेको वृक्षजस्तो श्रद्धाले झुकेको सम्मानको शिर झुकाउँछ, भन्छ, “साताभित्रमा भए हुन्छ ।”
“ए भइहाल्छ नि! साता त मेरा लागि काफी हो ।” इस्पातजस्तो झन् दह्रो आँट पाउँछ । अभिमानले छाती ढक्क फुल्छ । विदेशबाट ल्याएको एउटा उपहारसहित पाण्डुलिपि टक्र्याउँछ ।
“अनि दाइ, … खोइ… अरू त म के भनँू…!”
“ए भइहाल्छ नि! बुझेँ, बुझेँ । मैले सबै बुझेँ । राम्रोसँग… लेख्छु । अनि, यताउता जे गर्न पर्छ भइहाल्छ नि!” अब आरसिेहरूको पनि मेख मर्ने भयो भन्ने ठान्छ । मनको ढिस्को चुलिएर सगरमाथा भएको अनुभूत गर्छ । दाइको त्यो असीम समर्थनलाई अमूल्य प्राप्तिको रूपमा लिन्छ ।
साता दिन नपुग्दै दाइको फोन आउँछ । १ बजेतिर भेट्ने कुरा हुन्छ । दाइले भनेको ठाउँमा पुग्छ ।
“क्या गजब मान्छे ! क्या अमेरकिन टाइम ! ल जाउँ कतै बसौँ!” दाइको पछि लाग्छ । दाइसँगै एउटा रेस्टुराँमा छिर्छ ।
“केही खाऊँ अनि सुनौँ है!” फिसिक्क हाँस्दै दाइको अभिव्यक्तिमा समर्थनको मुन्टो हल्लाउँछ । दाइले अर्डर गर्नुहुन्छ । चिसो कार्ल्सवर्गको बिर्कोको पुऽक्क आवाजसँगै भूमिका वाचनको आवाज दाइको मुखबाट निस्किन थाल्छ । मुखमुद्रामा चाँदनी पोतिएको छ ।
भूमिकामा लेखिएको हुन्छ, “उनको लेखनमा पूर्ण गम्भीर्य छ… ।” दाइले पढेको सुनेर भित्रभित्र उम्लिन्छ, भुइँमा न भाँडामा हुन्छ ।
आत्माभिमानले चुलिन्छ । एकैछिनमा स्वास्नीलाई फोन गरेर सुनाउँछ, भूमिकाका केही भाग । स्वास्नी पनि फुरुक्क पर्छे । स्वास्नीको फुक्र्याइले आत्मगौरवको ताप शरीरमा झन् ह्वात्तै बढ्छ ।
स्वास्नीसँग भन्छ, “उहाँले हतपत कुनै किताबलाई राम्रो भन्नुहुन्न तर मेरो त अपवाद नै भयो नि! अब यो किताब बजारमा ‘हटकेक’ नै हुन्छ । त्यसमाथि पनि नारी यौन मनोविज्ञान ! त्यसमाथि त्यसको नाउँ…! उसको नाकले घिरौँलाको साइज लिन्छ ।
“दाइ, अरू पनि यसो के के… म त धेरै वर्ष भो बाहिर बसेको, धेरै मान्छे पनि चिन्दिनँ ।”
“ए, भइहाल्छ नि! म सबै गरहिाल्छु नि भाइका लागि ।” दाइको हँसमुख झन् हँसिलो हुन्छ ।
आत्माभिमान झन् चुलिन्छ । डायास्पोरामा मात्र होइन, देशकै समकालीन कथाकारको लाइनमा आफूलाई अग्रपंक्तिमा देख्छ ।
भूमिका लगेर प्रेसमा बुझाउँछ । भट्टीमा पसेर दुई बोतल एक्लै बजाउँछ । रमरम हुन्छ । मनमनै मनग्य कुरा गर्छ, अब ‘जैमली’ माने साहित्यमा ‘हटकेक’ ! स्वप्नलोकमा विचरण गर्न थाल्छ ।
“एउटा असल मान्छे हुनलाई कतिको नजरमा कति कमसल भएर बाँच्नुपर्छ? यस्तै हुन् दाइ पनि । यस्ता असल मान्छेलाई किन धारे हात लगाउँछन्? यस्ता महान् मान्छेलाई किन देख्न सक्दैनन्?”
भोलिपल्टै दाइको फोन आउँछ । हिजोकै ठाउँमा भेट्ने कुरा हुन्छ । हिजोकै ठाउँमा गएर हिजो पिएकै चीज पिइन्छ । आज थोरै कुरा हुन्छ, “कथा अब्बल छन् । चिन्तै नगर भाइ… ।” हिँड्ने बेला दाइको अनुहारमा छाएको हिजोको त्यो जूनमा कताकति ग्रहण लागेजस्तो छ आज । रमरम भएर दुवै छुट्टन्िछन् ।
भोलिपल्ट फेरि दाइको फोन आउँछ । उही हिजोकै ठाउँमा भेट्ने कुरा हुन्छ ।
दाइ के के कुरा गर्न खोजेजस्तो गर्नुहुन्छ तर गर्नुहुन्न । बोल्न खोजेजस्तो गर्नुहुन्छ तर बोल्नुहुन्न । रसहीन हाँसो हाँस्नुहुन्छ । अनकनाउनुहुन्छ, फेरि रोकिनुहुन्छ । बेथा लागेर पनि खोल्न नसकेजस्तो ।
कुरा बुझ्न निकै गाह्रो हुन्छ, तैपनि अनुमान लगाउँछ, “कुरा पक्कै दुम्डीको हुनुपर्छ !”
“दाइ खास केही थियो कि? भन्नुभए भइहाल्छ नि, म तपाईंकै भाइ त हो नि!”
“खोइ के भन्ने? यत्रो मिहिनेत गरेको छु ।” दाइको बोलीको लवज हिजो र आज फरक भए पनि अन्तर्वस्तु एउटै भएको महसुस गर्छ ।
“होइन दाइ, मैले त्यो कुरा त प्रमेशलाई भनिसकेको छु । किताबको सबै उसैले हेरेको छ ।”
दाइको अनुहारमा दुःखको छायाँ झल्किन्छ । मनमा पीडाले बनाएको घरका बलाभाटा निधारमा तेर्सिन्छन् ।
उसका कुरा दाइलाई भेडालाई पेँडाजस्तो हुन्छ । दाइले मुख फोर्नुहुन्छ, “म किन प्रमेशको पछि लाग्ने? यो डिल त तिमीसँग भएको हो नि!” जिब्रोले ओठ भिजाउनुहुन्छ ।
“हुन्छ दाइ केही छैन तर अहिले त मैले बोकेर आएको छैन । फोनमा पनि दाइले केही भन्नुभएन ।”
छोटो समयमै दाइमा कताकति विचलन आएजस्तो लाग्छ उसलाई । सगरमाथाजस्तो बनेको मनको त्यो ढिस्को होच्चिएजस्तो भारी आत्मसंकेत हुन्छ ।
“म त यसरी सधैँ त्यसैको पछि लागेर हिँड्न सक्तिनँ नि!” दाइको निर्बन्ध भावले संवादको बाटो छेक्लाजस्तो हुन्छ । सम्बन्धको वटवृक्ष ढल्लाजस्तो हुन्छ ।
फेरि दाइप्रतिको उसको अन्तरविश्वासले भन्छ, “दाइलाई तैँले खुसी बनाउनुपर्छ । खुसीमा चल्ने धन्दा हो यो पनि । साहित्यमा पनि फौबन्जारी प्रशस्तै चलेको छ ।”
“हुन्छ नि दाइ, उसो भए घरमा जाऊँ न त!” तत्काललाई दाइको मनोरोग बिसेक हुन्छ । अँध्यारो पोतिएको अनुहारमा एकाएक उज्यालो लपक्कै ढाकिएर आउँछ । ज्योतिर्मय बन्छ त्यो अनुहार । दुवै बस चढेर एयरपोर्टतिर लाग्छन् ।
खुसुक्क प्रमेशलाई फोन गर्छ । “दाइलाई कति दिने हँ?”
किन दिनैपर्छ र? आफ्नै दाइजस्ता हुन्, लिन्छन् के? फेरि रिसाउलान् नि ! के मैले पैसाका लागि लेखेको हो? पैसाको फूर्ति देखाउँछस् भनेर ! विचार गर् है !”
“तर, केही त दिनुपर्यो नि! आखिर संसारमा कसले के नै गर्छ र सित्तैँमा! गराउनु पनि हुन्न!”
प्रमेश अनकनाउँछ । प्रमेश यथार्थभन्दा टाढा छ । प्रमेशलाई यो यथार्थबाट टाढै राख्न चाहन्छ र भन्छ, “ल, म टेककेयर गर्छु ।”
दाइलाई घरमा लिएर जान्छ । आतिथ्यका लागि उही कार्ल्सवर्ग बियर मगाउँछ । गिलासमा खन्याउँछ । दाइसँग ट्वाङ्ङ गिलास बजाउँछ । तिर्खाएको ऊँटले पानी पिएजस्तो गरी बियर पिउँछ र सोध्छ, “दाइ, कति टक्र्याऊँ?
“ए मैले … भन्दा कम लिने गरेको छैन ।” दाइका आँखामा आफ्ना आँखा दौडाउँछ । ती आँखामा आफ्नो होइन, पैसाको तस्बिर देख्छ । जिल्ल परेर एकछिन हेरिरहन्छ । बोल्दैन । उसलाई पत्यार लाग्दैन दाइले दिल्लगी गरेको हो कि साँचो हो !
“हो, मैले यसभन्दा कम लिने गरेकै छैन ।” अहिले दाइको मुख होइन, मन नै बोल्छ । ऊ छाँगाबाट खसेजस्तो हुन्छ । अनुहार सालको सुकेको पातजस्तो हुन्छ । पीडामिश्रति हाँसो खिसिक्क हाँस्छ ।
‘दाइले लिन्छन् के? रिसाउलान् नि !’ प्रमेशको वाक्य सम्झन्छ । मनमनै हाँस्छ । मनको हाँसो अनुहारतिर कताकति छछल्किन्छ ।
“हो भन्या, कथाका बारेमा त्यस्तो वर्णन गरेको छु, त्यति त लिने नै गरेको छु ।” हाँसोमा हाँसो थप्दै दाइले थप पुष्ट्याइँ गर्नुहुन्छ । दाइको मागले भित्रभित्रै सिङजुरो नपलाएको होइन तर मान्छेको मूल्यांकन एउटै मात्र कुराले गर्नुहुँदैन भन्ने ठान्छ । अर्को कोठामा जान्छ । खाममा पैसा हालेर ल्याउँछ, दाइलाई दिन्छ । दाइले सोझै भित्री पकेटमा खाम कोच्याउनुहुन्छ ।
“अब एउटा बियर पिऊँ अनि लागूँ ।” दाइले अन्तिम इच्छा खोल्नुहुन्छ । दाइको अनुहारमा खुसीको म्याराथन चल्छ । तँछाड-मँछाड गर्दै रोमाञ्चक तरंग अनुहारभरि दौडन्छन् । सायद, मनको ब्याट्री फुल चार्ज हुन्छ ।
दाइलाई बिदाइ गर्छ । ऊ माथि छतमा गएर हेर्छ । अलिपर कुइनेटामा पुग्नेबित्तिकै दाइ रोकिनुहुन्छ । भित्री खल्तीबाट खाम निकाल्नुहुन्छ । थुक लाएर पैसा गन्न थाल्नुहुन्छ । मुसुक्क हाँस्दै सन्तोषको मुन्टो हल्लाएर बाटो लाग्नुहुन्छ । त्यो देखेर उसको पेटको हाँसो ओठबाट फुत्किन्छ ।
पानीका फोका फुटेजस्तो उसका विश्वास एक-एक गरेर फुट्दै जान्छन् । “के ती तिनै दाइ हुन्? देखेको मान्छे र भोगेको मान्छेमा कति फरक?” एउटा प्रश्नको झटारो रन्थन्याउँछ उसलाई ।
विमोचनमा दाइले फेरि मुक्तकण्ठले कथाको प्रशंसा गर्नुहुन्छ । “क्या चित्ताकर्षक शैलीका कथा !” गलामा फूलको माला, मनभरि प्रशंसाका गुच्छा ! उम्दा-गुणवत्ता कृतिमा गनिन्छ, उसको कृति त्यहाँ । बेलुका दाइसँगै बसाइ हुन्छ । मान्छे भन्दा बढी हुन्छन्, रित्ता बोतलहरू । सँगुरको कुनै आइटम नखाए पनि रेस्टुराँको बिल ह्याम्पसायर जातको सँगुरभन्दा मोटो आउँछ ।
धर्तीमा भर्खरै पोखिएको नयाँ वर्ष सन् २०१२ को अखबारी रमझम सकिएको छैन । एक अखबारमा दौडिरहेका उसका आँखा एउटा स्तम्भमा टक्क रोकिन्छन् । हतार-हतार पढ्छ । तमाम किताब र लेखकका पंक्तिमा उनै दाइले उम्दा ठानेको आफ्नो कृतिको नाउँ खोज्छ, भेट्दैन । दोहोर्याएर पढ्छ, भेट्दैन । स्वास्नीतिर हेर्दै भन्छ, बामू, जमैलीको पुनर्मृत्यु….! बोल्दाबोल्दै घाँटीमा ठूलो हड्डी अड्किएजस्तो हुन्छ, रोकिन्छ ।
आफूलाई भ्रम भएको हो कि भन्ने ठान्छ । स्वास्नीलाई पढ्न लगाउँछ । उसले पनि दोहोर्याएर पढ्छे । स्याउजस्तो रसिलो स्वास्नीको अनुहार चाउरिएको च्याउजस्तो हुन्छ ।
हुन त पैसाको दुर्गन्धले स्वाभिमानको सुगन्धलाई मार्न कतिबेर पो लाग्छ र?
आदरले चुलिएको मनको त्यो सगरमाथा गर्लम्म ढलेर ढिस्कोमा परण्िात हुन्छ, हुँदाहुँदै चिसो सुममा बदलिन्छ । त्यो अमूर्त चिन्तनको चक्र रोकिन्छ । सम्भावनासँगै एउटा अवतार विघटन भएजस्तो लाग्छ । धेरैबेर सन्तप्त हुन्छ । गहिरो अनुभूतिमा निकै बेर हराउँछ । ठान्छ, “मान्छेको सच्चा स्वरूप बेहोरेपछि मात्रै देखिन्छ ।” यस्तै केही अन्य तथ्य र तस्बिरहरू मस्तिष्कमा नाच्छन् ।
एकाएक कवि होर्केको भनाइ सम्झिन्छ ः ‘संसार कति बेकार छ हेर्नूस् त ! मान्छे फर्स्ट क्लासमा यात्रा गर्छन्, किताब माल डिब्बामा । ‘
चित्त बुझाउँछ, मैले पनि त्यस्तै कतैको थोत्रो डिब्बा भर्न कागजको नास मात्र गरेछु ! धन्यवाद दाइ ।
फेसबुकमा स्ट्याटस लेख्छ, बल्ल थाहा भो हाम्रा लेखक-समीक्षकहरू के खाएर लेख्दा रहेछन् ?
नेपाल साप्ताहिक, अंक ५१२
२०६९ भाद्र २४
