Skip to content


नीलो आकाशको छानुमुनि
पल्टिएर आज रात
कस्तो अत्यासलाग्दो दृश्यावलोकन !

होइनझैँ लाग्ने यो सहर
जो ब्रह्मपुत्रको बाढीझैँ उर्लिन्छ दिनमा
कोसी र कर्णालीको आयतनमा
कोचाकोच फैलिन्छ सहरका दुई किनार,
असत्यझैँ लाग्ने गरी चकमन्न छ सहर
टुटेको यो कोलाहलको कहर !

छन् चम्किरहेका ताराहरू
किनारा ठम्याउनै नसकिने
महासागर आकाशमा
जो मेरो वासको ओत भएको छ
अनन्त अम्बर,
कञ्चनजंघा, सगरमाथा, माछापुछे्र
र, लामबद्ध सिपाहीझैँ हिमालहरू
साउती मारिरहेछन्, जूनको उज्यालो
पैँचो लिएर, बात मारिरहेछन्-
शिवपुरी, चन्द्रागिरि र फूलचोकी
पुच्छ्रेताराको पुल्ठो हल्लाएर
आँखाको भाकामा,
घरीघरी हेर्छन् पनि निहुरिएर
बार्दलीबाट आँगनतिरझैँ
म पल्टिएको अजंग सहरतिर
जो रूपान्तरित छ श्मशानमा यतिखेर ।

ओहो कस्तो स्तब्धता
शरद्को जुनेली रात
न चरा न हुचिल,
खहरेहरू खोलामा र
खोलाहरू नदी हुँदै
महासागरमा मिसिएझैँ
एकाकार छ परिवेश,
अस्तित्वकै अस्तित्व
विलीन भएको यो रात !

तर्साइरहेको छ
आफ्नै श्वासप्रश्वास मलाई,
मौन छ पिँजरामा विरह गाउने सुगा,
ठप्प छ चिहानघारीमा चहलपहल
स्यालको,
विष्णुमती, वाग्मती, इक्षुमती
र रुद्रमतीको कलकल छ यतिबेला,
मिसिएर मनोहरासँग पूर्वी खोँचबाट
चोभारतिर गइरहेका
खोल्साखोल्सीको कल्याङमल्याङ
आजलाई बन्द भइसक्यो ।
बंैसको बजार
सहरका रइसहरू शवासनमा पल्टिएका छन्,
शान्त छ विमानघाट
जहाजहरूले उडान भरिसके,
ब्रह्मनाल आफैँ वाग्मतीमा
चेपिएको छ- नयाँ लासको प्रतीक्षामा
निःशब्द छ आर्यघाट ।

कस्तो सन्नाटा भने,
गोष्ठी, बैठक र सभाहरूमा
बान्ता गरिएका शब्दहरू
मैमाथिबाट उडिरहेका छन्
गुँड फर्किएका बचेराझैँ,
शान्तिको कोलाहलले
भुवाहरू आत्तिँदै सिमलको
कोयामा फिर्ता भइरहेका छन्
श्मशान शान्तिमा ढसमस छ, सहर ।

ठग, राजनेता
व्यापारी, दुराचारी र व्यभिचारी
देहव्यापारी सबै सबै लमतन्न यतिबेला
केवल हामी मात्र जागै छौँ यहाँ-
बन्चरोको कठोर प्रहारको प्रतीक्षामा
उग्राउन बिर्सेकी बूढी भैँसी,
अनाडी बगरेको खुकुरी चोट सम्झेर
थरथर काँपिरहेका बाख्राबाख्री
गत्ताको सिरानी र अखबारमा
बेरिएर पेटीमा पल्टिरहेका
प्यारा भाइबहिनी,
जालझेल, कपट र परपीडाको व्यसनमा
लिप्त यो चिसो सहरको
म एउटा शरणार्थी
आत्तिएका छौँ यो शान्तिबाट
पीडादायी महाशान्तिबाट ।

नेपाल साप्ताहिक
अंक: ५१८
२०६९ कार्तिक ५
Oct 21, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *