Skip to content


निवर्तमान कमरेडहरू !
अचेल किन मगमग बसाउँछ
ठस्स गनाउने अपानवायु
कहिलेदेखि विस्थापित भयो नौरंगी डाँफे
र, सजाउनुभयो शयनकक्षमा जटायु !

दुःखले आजित भएपछि दुःखराम
सुखको संसार रच्न मुक्तिसमरमा लामबद्ध भयो
निर्बाध मन्दिरमा प्रवेश पायो लुते कुकुरले
र, जिस्क्यायो चुके दमाईलाई
अनि, ऊ विभेदको धर्सा मेट्ने ‘इरेजर’ खोज्दै हिँड्यो
र, समात्यो काले कामीले बनाएको भरुवा बन्दुक ।

उत्पात भयो नेपालमा
उर्लियो जनताको बाढी
बग्यो चक्रवर्ती बादशाहको दरबार
र, शरणार्थी बन्यो कुनै धर्मशालामा ।

खण्डहर भयो एउटा दरबार
तर, त्यही खण्डहरमा बन्यो अर्को दरबार
र, आरूढ भयो सिंहासनमा
ताज्जुबको नयाँ बादशाह
न राजदण्ड छ उसको हातमा
न राजमुकुट छ उसको माथमा ।

निवर्तमान कमरेडहरू !
सक्नुहुन्छ भन्न
कि त्यो नयाँ बादशाह को हुन सक्छ ?

नेपाल साप्ताहिक
अंक: ५१८
२०६९ कार्तिक ५
Oct 21, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *