Skip to content

मेहेनतको कमाई (लघु कथा )

ShantiRamDhakal-06


अल्छी हर्के आज पनि उठेको छैन । हर्केका बाबु धनजीतले बिहान ४ बजेनै उठेर कान्लाको खेत जोती सकेर घरमा १० बजे फर्किएर जुवाबाट गोरु खोले, अझै पनि हर्के ओछ्यानमै सुतिरहेछ ।

धनजीत गनगनाउन थाले – यो काम लाग्दैन, यसले गरि खादैन आमाले छोरो बिगारी, समयमा उठाएर काम लगाउन सक्दिन ।

त्यो सुनेर हर्केकी आमा भित्रैबाट कराउन थालिन – राति ढिलो सुतेको हो उठ्छ नि त हौ अब कत्ति कराको ?

हर्केको बाबु धनजीत झन् जंगिए – बाँदरलाई लिस्नु नलगा है बुढी । यो अल्छेलाई बिगार्ने तैं पनि होस् । कहिले कहीं पो हुन्छ त सधैं अल्छी गरेर हुन्छ ?

खल्ली बल्ली सुनेर हर्के उठेर आंग तान्दै सिकुवामा आएर हाइ काढ्न थाल्यो ।

धनजीत कराई रहेका थिए साथै सुन्तलीले अन्खोरामा राखेको पानीले हातमुख धोएर “खाना पस्की है बुढी” भनेर छेउको पिरामा बसे अनि भन्दै गए – हेर हर्के ! २० बर्ष पुगिसकिस तेरो उमेरमा हामी कति काम गर्थ्यौ तँ ज्यादै अल्छी भईस । यसरी जिन्दगी चल्छ ? पढ्न पनि सकिनस । यस्तो जमाना यायो पैसा बेगर केही चल्दैन महंगी त्यस्तै छ । एक जनाको कामको कमाईले घर कसरी चलाउनु ? अर्को साल त तेरी बैनी सानी पनि १९ पुग्छे । त्यसको बिहे गर्नु पर्छ त्यो पछि तेरो पनि बिहे गर्नु पर्छ । हेर त तल्ला घरेको छोरो शिवेले कत्ति सहयोग गर्छ त्यसको बाबुलाई ! तँ त काम लाग्दैनस कि के हो ….?

बाबुको कुरा हर्केको मनमा बिझ्यो । अब बाबुलाई केही कमाएर त दिनु पर्यो भन्ने लाग्यो । आमालाई भन्यो – बा ज्यादै रिसाउनु भाको छ आमा । कसरी बाबुलाई पैसा कमाएर ल्याएर दिउँ ?

सुन्तलीले छोरालाई भनी – कराउदै गर्छन नि ति बुढा । ला लैजा यो ५००को नोट । भरे बेलुका हातमा हाली दिनु कमाएर ल्याएको भन्नु ।

त्यसै गर्यो हर्केले । बेलुका बाबुको हातमा आज काम गरेर ५०० कमाएँ यो राख्नुस भन्यो । धनजीत जंगिए त्यो नोटलाई कच्याक कुचुक पारेर अँध्यारोमा फाली दिए । हर्के छक्क पर्यो केही बोलेन धनजीत झन् रिसाए ।

भोलिपल्ट हर्के उठ्यो बजारमा गयो ३०० रुपैयाँ कहाँबाट कसलाई ठगेर ल्याएर त्यसरी नै बेलुका बाबुलाई हातमा दियो । बाबु फेरि जंगिए । तथानाम गाली गरे । छोरो कुलंघार भयो भन्दै सुत्न गए । आज पनि हर्के बोलेन । उसलाई मनमा लाग्यो – बाबुले हिजो आमाले दिएको हो भनेर अनि आज बजारबाट चोरेर ल्याएको भन्ने कसरी थाहा पाए ? मैले त कसैलाई भनेको थिएन भन्दै रातभर सुत्नै नसक्ने चिन्तनमा कुम्भकर्ण हर्के पर्यो ।

भोलि पल्ट बिहानै हर्के उठ्यो कसैलाई केही नभनी बजार गयो साहु रामलालसँग काम माग्यो । दशैं तिहारको रमझम सुरु भैसकेको थियो । मान्छे चाहिएको थियो । रामलालले हर्केलाई काम दिए । त्यो पनि चिनेकै मान्छे । धनजीतको छोरो इमान्दार थिए धनजीत । बेलुका घर जाने बेलामा १०० रुपैयाँ को नोट हर्केको हातमा राखिदिए रामलालले अनि भने – यो आजको तिम्रो कमाइ हो । भोलि देखि आएर मैनावारीको हिसाब गरौला है !

हर्के लखतरान भएर घर फर्कियो । आँगनमा धनजीत भैंसीलाई कुँडो पकाएर बसिरहेका थिए । हर्केले बाबु भए ठाउमा पुगेर त्यो १००को नोट हातमा राखिदियो ।

धनजीतले आज पनि जंगिदै त्यो १०० को नोटलाई कच्याक कुचुक पारेर फ्याकिदिए । त्यति मात्र के भएको थियो आज हर्के जंगियो । किनकि उसले त्यो नोट दिनभर काम गरेर मेहेनतले कमाएको थियो हर्के साच्चै नै बाबुसँग रिसायो । धनजीत त्यसपछि खुसी भए । छोरोलाई छेउमा बोलाएर अँगालो मारे अनि भने – हेर त हर्के ५०० फ्याक्दा चुप लागिस ३०० फ्याक्दा चुप लागिस । आज त्यो १००को नोटमा रिसाइस मेहेनतको कमाइ भनेको त्यो हो बुझिस ।

आज त्यो गाउँमा हर्केको ठुलो पक्काको घर छ । धनजीत अनि सुन्तली रमाइलोसँग नाति खेलाएर बुहारीले पकाएको मिठो खाना खाँदै बिहान बेलुका धार्मिक टि भी च्यानल हेरेर गाऊ घरमा अर्ती उपदेश बाड्दै प्रेम पुर्वक जिन्दगी बिताइरहेछन् । हर्केले रामलाल साहुको नजिकै ठुलो दोकान खोलेर बसेको छ, उसलाई भ्याई नभ्याई छ अल्छी हर्केबाट मेहेनतको उदाहरण भएको छ साहु हर्कलाल ।

(लोक कथामा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *