शरद ऋतुको उमङ्गसँगै नेपाली परिवेशमा भित्रिएको तिहार रमझमले दिदी र भाइको सम्बन्धलाई प्रघाट बनाउने मात्र हैन नेपाली साहित्य जगत केही हस्ती र सयपत्रि प्रतिष्ठानसँग मेल गराईदिएको छ ।
नेपाली साहित्यिक क्षेत्रका सबैभन्दा लोकप्रिय साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको जन्म पनि तिहारको लक्ष्मी पूजाको दिनमा भएको हुँदा नेपाली साहित्य क्षेत्रले आजको दिनलाई विशेष रुपमा मनाउने गरेकाछन् । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२औं जन्मजयन्ती हो । उहाँको जन्मजयन्तीलाई धुमधामसम्म मनाउन मुलुकभरका साहित्यि संस्थाहरू सक्रिय रुपमा लागिरहेका छन् ।
यसै क्रममा काभ्रे जिल्लाको जनागालमा स्थापित सयपत्री प्रतिष्ठान नेपाल पनि लक्ष्मी जयन्ती मनाउन कम्मर कसेर लागेको छ । प्रतिष्ठानले १५ वर्षदेखि निरन्तर लक्ष्मी जयन्तीमा साहित्यिक कार्यक्रमहरू संचालन गरेर नेपाली भाषा र सहित्यमा उत्कृष्ट योग्दान गर्नुहुने स्रष्टालाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दे आएको छ ।
भनिन्छ काभ्रेमा साहित्यिको खेती हुन्छ । त्यही खेतीमा सयपत्री प्रतिष्ठानले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएको छ । सयपत्री प्रतिष्ठान साहित्यिक संस्था नभएर पनि यसले नेपाली साहित्यिक क्षेत्रको विकासमा सक्रिय भएको र राष्ट्रको गहनाका रुपमा रहेका साहित्यिकारहरूलाई सम्मान गर्ने परम्पराको थालनी गरेर उदाहरणीय कार्य गरेको बरिष्ठ साहित्यकार एवं जनमत प्रकासनका प्रधान सम्पादक मोहन दुवाल बताउनु हुन्छ ।
समाजिक संस्थाको रुपमा स्थापना भएको प्रतिष्ठानले २०५५ सालमा काभ्रे जिल्ला व्यापी कविता प्रतियोगिता संचालन गरेर साहित्यिक यात्राको सुरुवात गरेको थियो भने २०५७ सालदेखि स्रष्टा सम्मान गर्दे आएको छ ।
प्रतिष्ठानले २०५७ सालमा दैवज्ञराज न्यौपाने र भरतमणि जंगम, २०५८ सालमा कृष्णप्रसाद पराजुली र घनश्याम राजकर्णिकार, २०५९ सालमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र महाकाली घिमिरे (दम्पत्ति), २०६० सालमा कृष्णचन्द्र सिहं प्रधान र रमेश विकल, २०६१ सालमा चित्तरञ्जन नेपाली र माधवलाल कर्माचार्य, २०६२ सालमा तुलसी दिवस र गीता केशरी, २०६३ सालमा डा. ओमविर बस्न्यात र शेषराज शिवाकोटी, २०६४ सालमा आनन्ददेव भट्ट र डा. तुलसी भट्टराई, २०६५ सालमा मोहन दुवाल तथा भारती श्रेष्ठ (दम्पत्ति) र डा. कृष्णप्रसाद (विराज)भट्टराई (दम्पत्ति), २०६६ सालमा मोदनाथ प्रश्रित र परशु प्रधान, २०६७ सालमा मञ्जुल तथा सुस्मिता नेपाल (दम्पत्ति) र डा. खगेन्द्र प्रसाद लुइटेल तथा लीला लुईटेल(दम्पत्ति), २०६८ सालमा कपिल अज्ञात (चितवन) र डा. गोशकुमार पौडेल(मकवानपुर)लाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गरि सकेको छ ।
प्रतिष्ठानको कार्यक्रमबाट प्रभावित भई जिल्लाका मात्र नभएर राष्ट्रका वरिष्ठ साहित्यकारहरू माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, कृष्णचन्द्र सिंह प्रधान, डायमण शम्सेर राणा, कमलमणि दिक्षित, केवलपुरे किसान, मोहन कोइराला, श्यामप्रसाद शर्मा, स्वामी डा. प्रपणाचार्य, स्वमी विसुद्धदेव्, धुस्वाँ सायमी, रोचक घिमिरे, डा. सुरेशराज शर्मा, खगेन्द्र संग्रौलाले प्रमुख आतिथ्यता ग्रहण गरेर हौसला प्रदान गर्नु भएको प्रतिष्ठानका अध्यक्ष कृष्णकुमार केसी बताउनु हुन्छ ।
यस वर्ष पनि प्रतिष्ठानले आफेनो साहित्यिक यात्रालाई निरन्तरता दिदै विशेष कवि गोष्ठी सहित महकविको १०२औं जन्म जयन्तीको अवसरमा बरिष्ठ समालोचक प्राध्यापक राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा बरिष्ठ समालोचक एवं कवि डा. रामप्रसाद ज्ञवाली तथा उहाँकी जीवन संगिनी उषा पन्थी र हाँस्यव्यङग्य क्षेत्रका चर्चित कवि अर्जुन पराजुली एवं उहाँकी जीवन संगिनी उर्मिला घिमिरे(पराजुली)लाई सयपत्री राष्ट्रिय सम्मान २०६९ ले सम्मानित गरेको छ ।
कार्यक्रममा राष्ट्रिय एवं काभ्रे जिल्लाका साहित्यिकारहरूले विशेष कविता वाचन गर्ने कुरा प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।
प्रतिष्ठानले जिल्लाका नवप्रतिभाहरूको सूजनाहरू प्रस्फुटन गराउने अवसर जुटाईदिएको छ भने राष्ट्रमा ख्याती कमाएका वरिष्ठ साहित्यकारहरूलाई काभ्रे जिल्लामा आमन्त्रण र सम्मान गरेर जिल्लाका साहित्यकारहरू विच परिचित गराउन र नव प्रतिभाहरूलाई प्रेरणा जगाउन सफल भएको छ ।
