Skip to content


रछ्यानको छेवैको जमीनमा माटो कोट्याउँदै बाहिर निक्लन लागेको उखुको टुसोले भयभीत हुँदै सिउँडीलाई हेर्न थाल्यो । त्यो देखेर घरको पर्खाल बनेर घरको सुरक्षाको जिम्मा लिएको सिउँडीले भन्यो
“डराउनु पर्दैन बाबु, तिमी हामी एकै वनस्पति जातका हौँ ।”

उखु बिस्तारै, रछ्यानको मलपोसको कारण हुर्कँदो भयो । घरधनीले गोडमेल तथा मल जल पनि गर्ने गरेका कारणले ऊ अझै खाइलाग्दो भएर हुर्कियो । सिउँडी भने घरधनीको उपेक्षाको सिकार भएको उखुले पनि देख्यो र बिस्तारै उसमा घमण्ड बढ्न थाल्यो र सँधै मालिकको गुणगान र सिउँडीको उपेक्षा गर्न थाल्यो । सिउँडी भने उसलाई सुखमा नमात्तिन दुःखमा नआत्तिन अर्ति दिने गर्थ्यो । सिउँडीको यो उपदेश उखु एउटा कानबाट सुनेर अर्कोबाट उडाउने गर्थ्यो । उखु दिवास्वप्नमा लीन हुन थाल्यो र सिउँडीलाई भन्ने गर्थ्यो
“अब मेरो बोटमा फूल लाग्छ र उक्त भुवायुक्त फूलमा रहेका साना साना बीजहरू बारी भरी फैलँदै पुरा बारी ढाकीन्छ । त्यसपछि मेरो महत्त्व तिम्रो भन्दा धेरै माथि रहनेछ । तिमी नाथे सिउँडीलाई कसले गन्छ र ?”

सिउँडी उसलाइ भन्ने गर्थ्यो
“महत्त्वाकांक्षी कुरा नगर बाबु, भोली कसले देखेको छ र ?”

भोलीपल्ट दिउँसो रछ्यानमा फ्याँकिएका उखुका बोक्रा र छोक्रा हेर्दै सिउँडीले मन अमिलो बनायो र भन्यो “मैले भनेकै थिएँ नि, भोली कसले देखेको छ र ?”

२०६९ पौष ५ गते
रत्ननगर, सौराहाचोक, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *