त्यो “पाख्रीको बोट”जसको छहारीमा मेरो शैशवकाल बित्यो । त्यो पाख्रीको बोट जसले मभित्र बालाचरको बेर्ना तयार पार्यो । र, त्यो पाख्रीको बोट जसको बाहुलीमा मैले बालक्रीडाको अथक अभ्यास गरेँ । जसको डालीहरूमा मेरा शिशु-अंगुलीहरूले ल्याप्चे ठोकेका छन् । जसको आंख्लाहरूमा पैतालाका डामहरू छापिएका छन् । पाख्रीको बोटमा एउटा रमाइलो संसार आरक्षित छ । कापहरूमा सुनगावा फुल्छन् । हाँगाहरूमा अमरलता झुल्छन् । टोड्काहरूमा टिकटिकेहरू गूँण लाउँछन् । र, फेदमा ‘गैंयादेवी’ पूजिन्छिन् । देवी विराजमान भएकीले पाख्रीको बोटको बोलाउने नाम भने ‘देवीथान’ छ । यही बूढो रुखको नायकत्वको सेरोफेरोमा यो कहानीले गति लिएको छ ।
धेरै बर्ष पछाडि पाख्रीको बोटलाई भेटेकोले मभित्र थुनिएको सम्झनाको बाँध फुटेको हो । करीब चार बर्षको उमेरदेखिनै म पाख्रीको बोटसित झ्याम्मिन थालेको थिएँ । त्यो उमेरभन्दा अगाडि नै रत्तिएको भए पनि मेरो सम्झनाको पर्दामा ती पलहरू छापिन नसकेका पनि हुन सक्लान् । मभन्दा लगत्तै मुनिको भाइले पनि पाख्रीको बोटलाई देखिसकेको थियो । त्यो जीव शुरुमा मलाई पटक्कै मन पर्दैनथ्यो । त्यसले मेरो दूधेकाख लुटेको थियो । त्यतिमात्र कहाँ हो र, त्यो पाजीले मेरी आमाको काखमा उपरखुट्टी लगाएर दूधको थैली रित्त्याई दिएको थियो । मेरो भाइ मस्त घुरेको बेला आमासित जिद्धी गरेर मैले मेरो हक फीर्ता मागेको थिएँ । आमाको मन न हो, नकार्न सक्नु भएन । र, मैले मेरो अमृत घडामा मुख गाड्न पाएँ । जिब्रोमा तीतोले डामेपछि भने मेरो थुतुनो रन्थनिएको थियो । अरु दुई-तीन यस्ता मौकाहरूमा पनि अमृत चाट्न नपाएपछि आमाको दूध मैले मेरो भाइको अंशमा छोडिदिएँ । म हुर्किसकेपछि पो थाहा पाएँ आमालाई भाटीको मुन्टाले सहयोग गरेको रहेछ ।
आमाले मलाई तीतो मुन्टा चुसाउनु थाल्नु भएपछि म तारी गाईको शरणमा गएँ । सुनतारी पनि जन्मिई सकेकी थिई! मेरो ठुल्दाइले सुनातारीलाई उसकी आमाबाट अलग्याएर अलि पर किल्लामा बांधिदिनु हुन्थ्यो । त्योबेलासम्म मेरी कान्छी बहिनी नजन्मिई सकेकीले सुनतारी मलाई मेरी बहिनीजस्तै लाग्थी । आफू दूधकटुवा भएकोले मैले सुनातारीलाई माया गरेको हैन । किन हो किन, मलाई सुनतारीमाथि घोर अन्याय भएकोजस्तो लाग्थ्यो । मैले उसको दाम्लो फुकाइदिएँ । सुनतारी बुर्कुसी मार्दै आमाको लाम्टा चुस्न दगुरी । सुनातारीले उफ्री-उफ्री दूध चुसेको देखेर मेरो पनि रहर जाग्यो । डराइ-डराइ मैले तारी गाईको अर्को थुन चुस्न शुरु गरेँ । तारीले उनकी छोरीलाई झैं मेरो गालामा पनि चाट्न थालेपछि मैले मेरो आमालाई बिर्सिएँ । थुन रित्तियो । तारीमा छटपटाउन लागिन् । मैले सुनातारी बहिनीलाई उनकै थलोमा लगेर थन्काईदिएँ । बेलुकीपख ठुल्दाइ बाल्टिनी लिएर गोठमा छिर्नु भयो । तारीमाले खुट्टा बजारिन् ।”
के भो यो पड्केलाई आज?” ठुल्दाइ मुरमुरिनु भयो । मेरी बहिनी उग्राई रहेकी थिई । म भने डरले काम्दै थिएँ । मौका पर्नासाथ मैले यो चोरीलाई निरन्तरता दिन थालें । आखिर, एक दिन म सप्रमाण समातिएँ । र, मेरो दूधेगालामा ठुल्दाइको दाहिने हातको शंख-चक्र छापियो । म डाको छोडेर पाख्रीको बोटतिर दगुरें ।
म मुनिको त्यही भाइकै पालामा आमा सुत्केरी हुँदा एउटा गजबको घटना घटेको थियो । त्यो घटनाको जिउँदा साक्षी हुन् पाख्रीको बोट र मेरी ठुल्दिदी । मध्यान्हको घाममा तेल-मालिस भैसकेपछि आमा झकाउनु भयो । दिदी भने साग-सब्जी गोड्न करेसाबारी छिर्नु भो । आमालाई ज्वानुको झोल खुवाउने बेला भएपछि दिदीले खानदानको बिर्को खोल्दा घीऊको साटो रातो माटो टन्न देखेपछि पो दिदीको होस ठेगानमा रहेन । खैला-बैला चल्यो । कल्पनासम्म नगरिएको अनौठो घटना घटेको थियो । दोषीको धुमधामले खोजी भयो! आफू त सानो बच्चा, बचिने नै भो । शंकाको घेरामा स्वत: पर्नेमा ठुल्दाइ, माहिला दाइ र साहिंला दाइ । घरभित्रबाट चोर पत्ता नलागेपछि छर-छिमेकका केही चर्चित बिग्याहाहरूको नयाँ सूची पनि तयार भयो । त्यो मेसोमा साँझ झमक्क भैसक्दा पनि भुरे-सदस्य घर नभित्रिएको हेक्का ठूलाहरूलाई नहुनु स्वाभाविक नै हो । खाना पस्किने बेलामा मात्रै पो मेरो खोजी भयो । धुँईपाताल खोजेपछि बुईगलको कुनामा ठसठस कन्दै हात-गोडा फालेर लडिरहेको अबस्थामा दिदीले मलाई फेलापार्नु भयो ।
उपद्रो नांगिईसकेको भएता पनि दिदीले मेरो मन जाँच्नु भयो – “खानदानको घीऊ कस्ले खाएछ हँ ?”
आँखा नखोलिकनै मेरो पालो पनि जवाफ फर्काइदिएँ – “मैले, मैले ।”
केही बेरको लागि हाँस्यपात्र बने पनि सबैको लागि नयाँ पीर भने थपियो- “यो काँइलोले एक माना घीऊ कसरी पचाउला?”
भोलिपल्ट दिनभरि पाख्रीको बोटको सिंयालमा झोक्राएपछि म तंग्रिएँ ।
बाले फोक्सो फुक्न छाड्नु भयो । त्यतिबेला म एघार बर्षको थिएँ । ठाँइलो र मेरो यौटै लगनमा ब्रतबन्ध पनि भैसकेको थियो । गडौलीखोला र ग्वाङखोलाको दोभानमा बा पुत्पुत् धुवाऊँदै हुनुहुन्थ्यो । बा दनदनी बल्न थाल्नु भएपछि म भक्कानिएँ । मेरो भाइ भने बालुवाको घर बनाउन व्यस्त थियो । बिद्ध्यालय जानु नपरेकोले होला त्यो दिन ऊ अलि दङ्ग नै देखिन्थ्यो । अथवा, गुणराज सरले दिनु भएको गृहकार्य गर्नु नपरेकोले ऊभित्र मीठो आनन्दको संचार भईरहेको थियो । जे होस्, मलामीहरूमध्येमा केवल मेरो भाइभित्र मात्र बुद्ध बसेका थिए । म मेरो ठुल्दाइसित भने रुष्ट थिएँ । बाको शरीरमा आगो ठुल्दाइले नै झोस्नु भएको थियो । धुँवा आकाशमा घुल्दै गयो । बा बालुवामा भुङ्गरिनु भयो । घारे बाहुनले भुंग्रो भिजाएर घारोले अंगार खोतले । एउटा कालो डल्लो टिपेर ठुल्दाइको हातमा थमाऊँदै उनले कानमा केही कुरा फूके । त्यो कालो डल्लोसित बाको साईनो बुझ्न नसकेर म हैरान थिएँ ।
मैले त्यो अगम कालो डल्लोको पिछा छोडिन । त्यो डल्लोसित मेरो भावनात्मक सम्बन्ध जोडिई सकेको थियो । अझै भन्नुपर्दा, त्यो कालो डल्लोलाई नै मैले मेरो बा मान्न लागिसकेको थिएँ । कोराबास सकिएको भोलिपल्ट नै दाऊ छोपेर मैले त्यो डल्लोलाई पूजाकोठाबाट चोरेर पाख्रीको बोटमुनिको सिमसारमा लगेर गाडिदिएँ । मलाई लागेको थियो, फर्सीको बियाँझैं मेरो बा पनि कुनै दिन टुसाउनु हुनेछ । त्यस पछाडिका हरेक बिहानीहरूमा मैले पख्रीको बोटमुनि चियो गर्न थालें । नभन्दै केही दिनपछि त्यहाँ धुर्सेलो उम्रियो । माटोमा गाडिदिएपछि जे पनि उम्रिन्छ भन्ने मेरो कट्मिरो सोचलाई अरु पोषण मिल्यो । मेरो गिदीमा त्यस्तो अनौठो सोचाइ आउनु अस्वाभाविक थिएन । त्यो उमेरसम्म मलाई मान्छे उम्रिने बिधिको ज्ञान नै थिएन । ठुल्दाइ देउघाट जानेबेलामा घरमा खैला-बैला मच्चियो । पूजाकोठाबाट ‘बाको अस्तु’ हराएको थियो । त्यो पटक भने मेरो चोरी ओझेलमा पर्यो । यदि अहिले भेट हुन सक्ने भए म त्यो निर्दोष ढाडे बिरालोसित अवस्य क्षमा माग्ने छु ।
छिट्टै मर्नु भएकोले यतिखेर मलाई बाको केही कुलतहरूको बढी याद आइरहेको छ । बाको मात्र धेरै कुरा गर्दा सुन्नेहरूलाई वाक्क पनि त लाग्न सक्छ । अत: बाको ऋणात्मक भूमिकालाई छोट्याएर पस्किने छु । मेरो बाले चाहानु भएको भए अरु धेरै बर्ष जिउन सक्नु हुन्थ्यो होलाजस्तो मलाई लागेको छ । त्यो भेगका तात्कालिन टाठा-बाठाको सूचीमा नछुट्ने नाम हो “पण्डित बाजे”। त्यो मेरो बाको बोलाउने नाम मात्र थियो । त्यो नामनै मेरो बाको पहिचानको लागि पर्याप्त पनि छ । बालाई मनपर्ने कुलतहरूमा तीतो सुपाडी र काँचो सुर्ती पर्ने गर्दथे । त्यसैले बा बिउँझिएदेखि ननिदाएसम्म नै उग्राइ रहनु हुन्थ्यो । रैथाने किराना पसलेहरू गुरुलाई मक्किएको सुपाडी दान गर्न पाएकोमा गर्व गर्थे । पण्डितबाले जे गरे पनि सुहाइ हाल्थ्यो क्यारे । बिद्वानले गरेको झिना-मसिना गलतीलाई सहर्ष स्वीकारियो । आफ्नो योग्यताको, क्षमताको र मर्गदिशाको प्रष्ट ज्ञाता जो ठहरिनु हुन्थ्यो मेरो बा । मेरो बाले झर्को नमानीकन आफ्नो कात्रो आफैंले बुन्दै जानुभयो ।
ठुल्दाइ जागीरलाई पछ्याउँदै अर्को जिल्लामा पुग्नु भयो । माहिलो दाइनै बाको दाहिने हात बन्नु भयो । प्रबेशिका परीक्षा उत्तीर्ण माहिलो दाइ स्थानीय प्राथमिक बिद्ध्यालयमा शिक्षा दान गर्नु हुन्थ्यो । कलम मात्रै हैन कोदालो पनि चलाउनु हुन्थ्यो । पक्का गाउँले हुनुहुन्थ्यो । ‘चक-डस्टर’ मात्रै हैन झुलो-चकमक पनि चलाउनु हुन्थ्यो । मलाई धेरै पढाएर ठूलो ओहोदामा पुर्याउने चाहना माहिला दाइ राख्नु हुन्थ्यो । बीशबर्षे लक्का जवान, अविवाहित तरुनी छोरीका थुप्रै बाउहरूको आँखाको तारो बन्नु भयो उहाँ । त्यो भन्दा पहिले नै ठूली भाउजूको आँखाले डसिसकेको रहेछ मेरो महिला दाइलाई । । ठूली भाउजूको कान्छा बाको छोरीले सत्र बर्षमा टेकिसकेकी थिईन् । टीकोटालो भयो । झलकमानको सनईले श्वास फेर्यो । विवाहको पन्ध्रौँ दिनमा सोह्रदिने साईत फुकाउने तयारी हुँदै थियो । माहिला दाइ अचानक बिरामी पर्नु भयो । मेरो माहिला दाइले सोह्रौं दिनको सूर्योदय देख्नु भएन । आलो सिन्दूर पखालियो । रंगिन चुराहरू भुटे । आँशु सबैको यौटै हुन्छ । रुने बहाना मात्रै त फरक हुने हो नि । सायद मेरो बा छोरोको मृत्यू भन्दा पनि धेरै जवान बुहारीको पीडामा मिसिएर रुनु भयो । बार्षिकी सकिनासाथ बाले बिधुवा बुहारीको दोश्रो विवाहकोलागि पहल गर्नु भयो । त्योबेलाको कट्टर ब्राह्मणवादी समाजमा बाको त्यो कदम घातक नै थियो । यस्तैखाले दुई-चारवटा शुभ गुणहरूले गर्दा म मेरो बाको सुर्ती-सुपाडी खाने कुलतलाई क्षमा दिन्छु । मेरी माहिली भाउजूको पूनार्विवाह भयो ।
माहिलो दाइको लगत्तै पछाडि र बाको भन्दा पहिले तारीमा बाटो लागिन् । कुनै बिषालु साँपको डसाइबाट उनी बितेको अनुमान गरिएको थियो । तारीमाको निधनमा मैले एक्लै रुनु परेको थियो । सुनातारी बहिनीलाई आमा मरेको पत्तो नै भएन । माइला दाइलाई वैतरणी नदी तारिदिनु पर्ने भएकोले उनी कुलपुरेत भट्टराई गुरुको गोठमा बसाईं सरिसकेकी थिई । तारीमाको पेट डम्म फुलेको थियो । पल्लागाउँका मसिने दाइ छोराहरूसहित मलामी जान आँगनमा भेला हुनु भयो । जब तारीमालाई घिसारेर देवीथानतिर झार्न शुरु गरियो, उनको पुच्छर तानेर म हिक्कहिक्क गर्दै रोएँ । अन्तिम यात्रामा हातेमालो गरेको बदलामा मसिने दाइलाई तारीमाले आफ्नो छालाबाहेक अरु केही पनि दिन सक्नु भएन ।
आमाले पशुपतिनाथको दर्शन गर्ने ईच्छा गर्नु भएकोले ठाँइलो भाइ तम्सियो । म राजधानीमै थिएँ । भाइले आ. वा. मार्फत आमालाई रात्री बसमा लिएर आउंदै गरेको खबर दिएको थियो । म आमालाई भेट्न पाउने खुशीमा गदगद थिएँ । मेरो कोठामा ठाँइलो भाइ प्रवेश गर्दा ऊ अलि निदाउरो देखिन्थ्यो । ऊ रात्री बसको यात्री हो भनेर उसको मुहार र बस्त्रले बोलिनै रहेका थिए ।
मैले सोधें- “आमा खै त ?”
उसले रुन्चे स्वरमा भन्यो- “बसमै हुनुहुन्छ ।”
म आमालाई भेट्न हतारिएँ । बसभित्र छिरिसक्दा पनि आमालाई नदेखेर म हैरान भएँ- “आमा खै त भनेको?”
भाइले डाँको छोड्यो- “आमा भुइँमा सुत्नु भा’छ ।”
आमाको मुखबाट उहाँको मजेत्रो हटाएर मैले आमालाई भेटें । माहिलो दाइ, बा र तारीमाको बिदाइमा झारेर बाँकी रहेको सम्पूर्ण आँशु मैले आमाको छातीभरि पोखिदिएँ । आर्यघाटमा आमाको मुखमा दागबत्ती दिंदा मैले ठुल्दाइसित क्षमा मागेँ- “माफ गर्नुहोला दाइ, मैले तपाईंको पालो मिचें!”
मूलघरमा फर्किएपछि हामीलाई देख्नासाथ साहिँलो दाइ डाँको छोडेर रुनलाग्नु भयो । उहाँले छाती पिटीपिटी आमासित गुनासो पोख्नु भयो- “मैले तिमीलाई पालें, पोसें । मर्ने बेलामा पानी खुवाउने मौका पनि दिइनौ, आमा !”
सबैका आँखा बर्षिए । कोराबासकोलागि भान्छाको एक खण्डलाई काँचो धागोले घेरियो । करकरे खोल्सीको बगरमा आमाको ढिकुरो स्थापित भयो । पाँच पाण्डव बनवास हिंडेझैं पुरेतबाजेको पछि लागेर हरेक दिन करकरे पुग्नु पर्थ्यो । खाना बनाउने पालो लागेको थियो । मरीचको धुलो र मिस्री मिसाएको घीऊको चाम्रे अनि घीऊमै अदुवा फुराएर तारेको आलुको भुजिया – त्यो अलिनो “किरियापुत्री लन्च मेन्यू” सम्झिँदा अहिले पनि आँत अमन हुन्छ । पुरेतबा गरुड पुराण भट्याएर हिंडेपछि प्राय: हामी सुस्ताउँथ्यौं । एक दिन मलाई निन्द्रा लागेन । दिमागको बिद्रोही कुनामा ‘नुनिलो बिचार’ फुर्दै थियो । भोलिपल्ट मेरो खाना पकाउने पालो परेको थियो । पिण्ड-तर्पण सकिएपछि ‘बगरे भोज’ खाने तयारी भयो । पहिलो गाँस मुखमा पर्ने बित्तिक्कै दाइहरू मुखामुख गर्न थाल्नु भयो । भाइहरू दङ्ग परे । हिजो दिउँसोनै मैले भान्छाबाट नूनको धुलो सुटुक्क चोरेर कछाडको टुप्पोमा पोको पारिसकेको थिएँ ।
बाले मनग्य जमीन-जेथा जोडिदिनु भएको थिएन । बाँच्नकोलागि चाहिनेभन्दा बढी कनिका संचय नगर्ने उहाँको प्रशंसनीय सिद्धान्त थियो । मेरो बा भएकोले मैले उहाँको गुणको सह्रनी गरेको हैन । मेरो बापछिका सबै बुज्रुकहरूले पनि यदि त्यस्तैखाले सोच पालिदिएका भए मुलुकले नयाँ काँचुली नि:सन्देह फेरिसक्ने थियो । सम्पत्ति जोड्ने कुरामा लोसे भए पनि बच्चा जन्माउने बिषयमा भने फुर्तिलो हुनुहुन्थ्यो मेरो बा ।”सन्तानले डाँडाकाँडा ढाकोस्”भनेर आशीर्वाद दिने/लिने बखतको मेरो बालाई बेपर्बाही भन्न पनि त मिल्दैन नि । फेरि त्यतिबेला खै ती के-के जाति कुराहरूको प्रचार-प्रवर्धन पनि त भैसकेको थिएन नि । मेरो आमाको पाठेघरको पीडामा समयले मलम त लगाइदियो नै । मेरो बा अलिकति सचेत भैदिनु भएको भए राम्रै हुन्थ्यो कि जस्तो लागेकोले बाको यो अति निजी मामलामा थोरै हस्तक्षेप गरेको हूँ । वास्तवमा भन्ने हो भने मेरो जन्मनै नहुनु पर्थ्यो । हुन त, मनै नजन्मिएको भए न मेरा भाइ-बहिनीहरूले जन्मिन पाउने थिए न यो कथा नै जन्मिन्थ्यो ।
हाम्रो अंश-बण्डा भयो । मालपोतमा कित्ताकाट गरेर फर्किएपछि ठुल्दाइले तर्जनी तेर्साएर मेरो अंश चिनाइदिनु भयो- “ऊ त्यो पाख्रीको बोट र त्यसमुनिका दुईवटा गह्राहरू तेरो भागमा पर्यो काइँला ।”
ठुल्दाइले क्रमश: साहिँलो दाइ, ठाँइला भाइ र कान्छो भाइलाई पनि अंश चिनाइदिएर आफ्नो पदेन दायित्व पूरा गर्नु भयो । सबै अंशियारहरू बाटा लागे पनि आलीमा टुक्रुक्क बसेर म धेरैबेर टोलाइरहें । जति हेरे पनि आँखामा बिझाएन त्यो पाख्रीको बोट । आँखामा बसाएर आँतले धेरैबेर पिइरहें पाख्रीको बोटलाई । त्यसको छाँयामा झलझली बा, आमा, माहिलो दाइ र तारी गाईलाई देख्न थालें । त्यो दूर्लभ क्षणले मलाई परेलीहरू भिजाएर भावुक मात्रै बनाएन, पाख्रीको बोटले मेरो साथ नछोडेकोमा म नतमस्तक भएँ । लालपूर्जामा अनगिन्ती नामहरू फेरिंदै आए होलान् । मेरो भनिएको भूमिको त्यो टुक्राको वास्तविक जग्गाधनी त म पनि हैन । म पनि भूतपूर्व पूर्जाधनीझैँ नासिएर जाने निमित्त पात्र मात्र हूँ । मैले मेरो पिताको छालालाई पाख्रीको बोटको नाममा नामसारी गरिदिएको छु ।
