Skip to content


आफैँमा भरी सिर्जनाहरू सबै आफैँ बनी सक्षम
यौटै लक्ष्य बनाउनु छ सबले यो देश पोखी श्रम
फाल्नु हुन्न कदापि यी दिन सधैँ गल्ली र गल्ली घुमी
यौटा सुन्दर शान्त स्वच्छ छविको मान्छे बन है तिमी ।

मान्छेभित्र छ सीप सागर सधैँ उर्लिरहेको तर
पोखिन्छन् जसरी नदी नद सरी बग्दैछ यो आखिर
छेक्दै यी नदी देश झल्मल हुने शक्ति निकाले तिमी
यौटा सुन्दर शान्त स्वच्छ छविको मान्छे बने है तिमी

गर्नुहुन्न कदापि लोभ अरूको देखेर क्यै ताकत
बन्नु हुन्न कदापि आश्रित यहाँ माग्ने सधैँ राहत
आफ्नै ताकतलाई छेक अब लौ बन्दै खिरिलो तिमी
यौटा सुन्दर शान्त स्वच्छ छविको मान्छे बने है तिमी

जान्ने बन्नु सधैँ समाज कसरी अर्कै बनेको छ यो
खोज्दै सिर्जनको अनेक रटना रच्दै अनौठा बन्यो
सारा संरचनासँगै झिलिमिलि यो देश पारे तिमी
यौटा सुन्दर शान्त स्वच्छ छविको मान्छे बने है तिमी ।

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *