म आफ्नो वेदना पोखिरहन्छु
त्यसलाई आफ्नो बनाउने कोसिस कसैले गर्दैनन्
म गाइरहन्छु वेदनाका गीतहरू
आखिर त्यसलाई सुन्ने कोही हुँदैन
म देखाउन चाहन्छु मेरा दुःखहरू
त्यसलाई देख्ने कोसिस कसैले गर्दैन
म वेदनाका पीरहरूसँग लडिरहन्छु
तर त्यसलाई छुट्याउने कोसिस कसैले गर्दैन
म जति रोए पनि यो संसार अन्धो हुन्छ
तर त्यसलाई हेर्ने कोसिस कसैले गर्दैन
कसरी बाँच्नु पर्ने यो जिन्दगी
कहिले सुखमा त कहिले दुःखमा
सङ्घर्ष सधैँ गरिरहनु पर्ने
कहिले हाँसोमा त कहिले रुवाइमा
जसरी बाँचे पनि यो जिन्दगी
मरेर फ्याँक्नु पर्छ खरानीमा
हाँसो ओठमा दुःख मनमा लिई
बाँचेर उभिनु पर्ने यो समाजमा
कसलाई भनु कहाँ पोखुँ यो मनको वेदना
शर्मिला बस्नेत
बालाजु, धर्मस्थली
मधुपर्क २०६९ बैशाख
